सबैले रोज्ने भन्सारको ज्वाइँ, कसरी घट्छ भ्रष्टाचार ???

यमुना अर्याल

श्रावण १५, २०७४  

ए बूढा ! ठूली छोरीलाई जस्तो कुल इमान्दार, सोझो केटो भन्दै महिना मर्दा एकदिन सुख्खा तलब मात्र बुझ्ने केटालाई कान्छी छोरी दिने होइन है भन्द्या छु । यसपटक कान्छीको विवाह गर्नुपर्छ रे, यो लगनमा विवाह भएन भने चार वर्षसम्म गर्नु हुँदैन भनेका छन् ज्योतिषीले । अहिलेको लगन गुमाउनु भएन भनेर फेरि जस्तोतस्तो केटालाई भिराउने पनि होइन नि । आदर्शवान् बनेर केटा छान्दाछान्दा ठूली छोरीले कति दु:ख पाएकी छे । कति ठाउँबाट कुरा आएको थियो, टेरपुच्छर लगाउनु भएन उतिबेला ।

छिमेकी काकीले काकालाई झाँको झार्ने तरिकाले हकारिन् । काका तीन वर्षअघि रिटायर्ड भएका सरकारी कर्मचारी हुन् । कुनै दिन काकीको राम्रो बोली नसुनीकनै आफ्नो जागिरे जीवनबाट रिटायर्ड भए काका । सधैंको एउटै गुनासो पैसा भएन, यो भएन, त्यो भएन यस्ता कुरा सुन्दासुन्दा काका बानी परिसके । त्यही भएर पनि काकीका कुरा र गुनासाको मतलब गर्न छाडिसकेका छन् उनले । आज पनि त्यस्तै केही प्रवचन होला भन्दै काकीको कुरा एकतमासले सुनिरहेका काका बोलेका छैनन् ।

होइन किन नबोलेको हजुर ? कान्छी छोरीका लागि अलि खान्दानी केटा खोज्नुपर्‍यो भन्या । अस्ति एक ठाउँबाट कुरा आथ्यो, केटा भन्सारको जागिरे रे, जात पनि मिल्ने रहेछ ठाउँचाहिँ खै कता भन्थे, जताको भए पनि के फरक पर्छ ? जागिर खाँदा कहाँको मान्छे कहाँ पुग्नुपर्छ, त्यो केटालाई जसरी भए पनि हाम्री छोरी पार्नुपर्छ अरू कुरा थाहा छैन । यस्तो मौका घरीघरी कहाँ आउँछ ? भन्सार भनेको भन्सार हो, भन्सारको खरिदार र हुलाकको सचिव भए पनि भन्सारकैले जित्छ । पैसाको जमानामा पदको के अर्थ ?
जागिरे ज्वाइँ त छन् नि ठूली छोरीको तर के गर्नु ? उसको हालत हेर्नु त ? विवाह गरेको १० वर्ष भैसक्यो डेराबाट माथि चढ्न सकिन । ज्वाइँ सधै इमान्दारिताका कुरा गरेर नथाक्ने, सोझो औंलाले घिउ कहाँबाट आउँछ ? एउटा नाति पढाउन पनि सस्तो स्कुल चहार्दै हिँड्छन् । यति धेरै स्कुल छन्, महिनामा २ हजार तिर्ने स्कुलमा पढाउँदा पनि कति महँगो स्कुल ? हाम्रो पालामा त दुई हजारले १० कक्षासम्मै पढ्न पुग्थ्यो भन्छन् ज्वाइँ । इमान्दार कर्मचारी भएर केही चल्नेवाला छैन । अस्ति कुरा ल्याउने पल्लो घरका केदारका भान्जा हुन् उनलाई भेटेर त्यो केटालाई उम्किन दिनुहुँदैन ।

त्यसपछि काकाले मुख खोले, अब म बोलुँ कि अझै कुरा बाँकी छ ? बाँकी भए अझ सुन्न तयार छु । काकाको कुराले काकी आगो भइन् । तपाईंको यही व्यवहारले गर्दा हामीले त दु:ख पाइयो–पाइयो यी छोरीलाई पनि दु:खी पार्नुुहुने भयो होइन ? न आफूले दायाँबायाँ गर्न सक्ने ? न गर्नेको संगत गर्न सक्ने ? बडो इमान्दार कर्मचारी भएको फुर्ती लगाउनुहुन्छ, खै त सरकारले तपाईंलाई इमान्दार कर्मचारी भनेर फुली लगाइदिएन ? कहिल्यै सम्मान गरेन अनि किन इमान्दारिताको मन्त्र जपिरहनुहुन्छ ? रिटायर भएर आउँदा गलामा एउटा खादा र माला थियो गोजी रित्तै थियो क्यारे ।

जेठी छोरीको अवस्था हेर्नुस् त ? ऊसँगै विवाह गरेकी बहिनीकी छोरीको सान कस्तो छ ? बहिनीका ज्वाइँ राजस्वका सुब्बा मेरा ज्वाइँ नाम मात्रका अधिकृत । ज्वाइँका कारण बहिनीको समेत घिरौलाजत्रो नाक छ । अस्ति घर किन्नका लागि सबै पैसाको व्यवस्था ज्वाइँले नै गरिदिए । पास मात्र हामीले गरेका हौं दिदी बाँकी पैसाको जोहो ज्वाइँले गरिदिनुभयो भन्दै थिई । आफ्ना ज्वाइँ अलि चाँडै आउनुहोस् न ज्वाइँ टीका लगाएर खाना खानुपर्छ भन्यो भने ट्याक्सीले त धेरै पैसा लिन्छ हेर्नुहोस् न सार्वजनिक गाडीमा आउँदा कहिल्यै समयमा आउन सकिँदैन भन्दै लाजमर्दो पारा देखाउँछन् । आफूले अलि पैसा हुने अफिसमा सरुवा गरेर पैसा कमाउनतिर सोच्नु छैन खालि पढाइ–पढाइ.....।

यस्तो पाराले हाम्रा ज्वाइँ सचिवै भए पनि केही लछारपाटो लगाउँछन् जस्तो लाग्दैन । डेरा लिएर काठमाडौंमा बस्न थालेका, डेराबाटै रिटायर्ड हुने भए । बहिनीकी छोरी पर्ने ठाउँमा मेरी छोरी परेकी भए.....कहाँबाट कहाँ पुग्थ्यो सान ..... काकीका कुरा अझै सकिएनन् ।

अस्ति छोरीले जन्तर बनाउँछु भनी, मैले २० हजार दिएँ । तपाईंका ज्वाइँले ल्याएको तलब कोठाभाडा तिर्दा, खाँदा, छोराको फिस तिर्दा सकिन्छ बचत नै हुँदैन आमा भनी, आमाको मन हो खुरुक्क पैसा निकालेर दिएँ । अहिलेको जमानामा सोझा मान्छे र इमानी कुराको केही भ्यालु छैन । बहिनीकी छोरीले पेप्सीकोलामा दुईतले घर किनी । आफ्ना छोरी–ज्वाइँ वर्षमा तीनठाउँ कोठा सर्छन् । एक हात जमिन किन्न सकेका छैनन् । तपाईंलाई कान्छी छोरी पनि जेठाजस्तै इमान्दार ज्वाइँ खोजेर टीका लगाइदिने मन होला तर म त दिनेवाला छैन ।

काकीको गनगनले वाक्क मानेका काकाले काकीलाई निकै सम्झाए तर उनी सम्झने पक्षमा देखिइनन् । हेर सम्झना– (काकीले बूढा भने पनि काकाले नामबाटै बोलाउँछन्) कति जनाले मलाई पैसा कमाइनस्, सम्पत्ति जोडिनस् भने होलान्, कतिले सुन्ने गरी भने कतिले बुझ्ने गरी भने जो जसले जे–जे भने पनि भनून् म सहन्छु, सहेकै छु तर इमान्दारिता चाहिँ जोडेको छु कोही शत्रु लागे पनि ममाथि दाग लगाउन सक्दैनन् । अख्तियारले भटाभट आफ्ना साथीलाई पुर्जी थमाउँदा मलाई कुनै डर लागेन नबिराउनु–नडराउनु भन्ने कुरा थाहा थियो । इमान्दारिताले कमाएको सम्पत्तिको माया हुन्छ, आफ्नो हो भन्ने अनुभूति हुन्छ । लुटेर, दुनियाँलाई ठगेर बेइमानीपूर्वक कमाएको सम्पत्तिको माया हुँदैन, महत्व थाहा हुँदैन । यो धन जसरी कमाएको हो त्यसैगरी नाश हुन्छ । कतिजना मेरै साथीले अख्तियारको डरले सेवा अवधि दुई–चार वर्ष बाँकी हुँदै राजीनामा दिए, सम्पत्ति छानबिन होला भनेर हायलकायल भए । मैले पनि सेवाअवधि भरको सञ्चयकोषको पैसा निकालें, अलिअलि ऋण खोजें, गाउँको घरखेत बेचें, अहिले काठमाडौंमा दु:खसुख जे जसरी भए पनि तिमीहरूलाई आफ्नै घरमा बस्न सक्ने वातावरण मिलाएको छु ।

सरकारले दिने स्केल, हुलाकका हाम्रा ज्वाइँले पाउने पनि त्यही हो भन्सारका तिम्रा बहिनीका ज्वाइँले पाउने पनि उही हो कहीँ विभेद हुँदैन । कहाँ कसरी के गरेर धेरै पैसा आर्जन हुन्छ त्यसको इतिहास लामो हुनसक्छ । त्यसको परिणाम पनि त्यस्तै हुन्छ । धापासीमा खुब चर्चा गथ्र्यौ नि तिमीले, ओहो सरकारी कर्मचारीको घर यस्तोसम्म पनि बन्दो रहेछ । पोहोर साल अख्तियारले पत्र काट्दा के भयो ? टोलमा समेत नाकमुख देखाउन लाज भयो आफन्तलाई ।

एकछिनको चुरीफुरी केही दिनमा कुनापसी हुन्छ । कमाउनुसम्म कमाए, टोलमा सान बढ्यो, सबैले कमाओस् त फलानाले जस्तो भन्न थाले तर जब भ्रष्टाचारीको पुर्जी ठडियो त्यसपछि यस्तो बदनाम हुनुभन्दा त भोकै बसेको भए हुन्थ्यो नि भन्न थाले । सबैको हालत त्यस्तै हो । नेपाल सरकारले दिएको तलबले यहाँ फुर्ती लगाएर

बस्न कसैलाई पनि पुग्दैन । तिमीजस्ता श्रीमतीको करकर अनि छिमेकी र आफन्तलाई देखाउन बाध्य भएर मान्छे दुईनम्बरी धन्दामा लाग्न पुग्छ । मेरै तराईको एकजना साथीले छोरीको विवाहमा १० लाख नगद दाइजो दियो, त्यो पैसा त उसले जसरी पनि उठाउनुपर्‍यो । त्यही पैसा उठाउन ऊ दुईनम्बरी धन्दामा लाग्यो, पाँच–छ महिनाअघि रंगेहात समातियो । यस्ता घटना धेरै छन् । हामीले हाम्रा छोराछोरीलाई इमान्दार भएस्, इमानले कमाएस्, भ्रष्टाचारी नभएस्, इज्जत नफालेस् भनेर कहिल्यै आशिष दिएनौं, डाक्टर भएस्, पाइलट भएस्, इन्जिनियर भएस् मात्र भन्यौं त्योभन्दा अरू पेसामा लाग्नेहरूको कुनै इज्जत छैन ? भ्रष्टाचारी त हाम्रो मानसिकता र विचार हो ।

कसका श्रीमतीले भन्छन्, तपाईंको तलबले पुग्दैन मलाई गहना चाहिँदैन, महँगा लुगा चाहिँदैन भनेर तर निर्वाह गर्नुपर्छ, अनावश्यक खर्च नगरौं । फलानोले यस्तो लगाए अर्कालाई उस्तै चाहियो देखावटी कम गर्नै भएन बिचरा एक महिनाभरि काम गरेर एकदिन तलब ल्याउने श्रीमान्ले घर खर्च, बालबच्चाको पढाइ खर्च, आमाबाबुको हेरचाह, आफन्त एवं परपाहुनाको व्यवस्था के–के गरेर श्रीमतीले भनेजस्तो पुर्‍याउँछ ? श्रीमतीको इच्छा पुर्‍याउनकै लागि बाध्य भएर कतिपय श्रीमान् दुईनम्बरी धन्दामा फसेका छन् ।

मान्छे पैसाको लतमा फसेपछि अरूको महत्व र मतलव गर्दैन । ती ज्वाइँ त्यस्तै भएका छन्, पैसा नकमाउनेलाई आफन्त हो भन्न पनि नाक खुम्चाउँछन् रे । सबैले भन्सारका ज्वाइँ खोज्ने, नापीका मात्र खोज्ने, इन्जिनियर, ओभरसियर, डाक्टर मात्र खोज्ने हो भने अरू त्यसै बस्ने ? भ्रष्टाचारी व्यक्ति होइन तिम्रो हाम्रो मानसिकताको उपज हो । हामी सबै भ्रष्टाचारी हौं । हामीलाई आफ्नो औकातभन्दा ठूलो बन्नु छ, अरूको सामु सानदार जिन्दगी बिताउनु छ । सबैलाई आफू आर्थिक रूपमा ठूलो भएको देखाउनु छ, भएकाले देखाउँछ तर नभएकाले कहाँबाट देखाउने ?

फलानोले यत्रो फड्को मार्‍यो भने म किन कम ? भन्दै दुईनम्बरी धन्दामा फसेर आडम्बरी बन्ने कि आफ्नो इमानदारितामा बसेर सदाचारी बन्ने ? तिमीले जति जिद्दी गरे पनि कान्छी छोरीको विवाह इमान्दार ज्वाइँसँग हुन्छ, अहिले नभए के फरक पर्छ ? ढिलो होस् तर अकुत सम्पत्ति कमाएर अहिले हाइहाई बन्ने पछि भ्रष्टाचारीको बिल्ला भिरेर अँध्यारो मुहार लगाउँदै हतकडी लगाउने खालको खोज्दिन, यो पक्का हो । काकाका कुरा एक तमासले सुनिरहेकी काकी लौ जे गर्ने हो गर्नुहोस् आफूले त भोगेको कुरा भनेको हो । कान्छी छोरी पनि ठूलीजस्तै त हुने होली भन्दै आफ्नो काममा लागिन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्