पहाडझैं अटल जोडी

नारी संवाददाता

श्रावण २, २०७४ सुनकुमारी विक, श्रीमती दलजित श्रीपाली, मन्त्री युवा तथा खेलकुद, नेकपा माओवादी
द्वन्द्वकालमा उनलाई पटक–पटक विधवा घोषित गरियो । ५ पटक त उनीहरूलाई सहिद परिवार नै घोषणा गरिएको थियो । दूधे बालबच्चा काखमा च्यापेर सुनकुमारीले श्रीमान्को अभियानमा साथ दिइरहिन् । उच्चशिक्षित नभए पनि उनको अदम्य साहसको आँकलन गर्न जोकसैलाई हम्मे–हम्मे पर्छ । पछिल्लो समयमा दुवै किड्नी फेल भएर छोटिएको जिन्दगी लम्ब्याउने प्रयासमा रहेकी सुनकुमारीले श्रीमान् यो स्थानसम्म आइपुग्दा आफैले पनि ठूलो त्याग गरेकी छिन् । जीवनको सक्रिय समय र परिश्रमलाई सुनकुमारीले मुलुकका लागि खर्चिएकी छिन् । आफ्नै आँखाअघि कयौंपटक श्रीमान्को शरीरमा गोलीका छर्रा बर्सिए, बम पड्किएर शरीरका कपडा डढे, स्वयं उनी एम्बुसमा परिन् तर सुनकुमारीले बलियो पहाडझैं अटल रही दलजितलाई सहयोग गरिरहिन् ।

दलजितलाई आफ्नी श्रीमती देख्दा नारीको साहस र शक्ति अवर्णनीय छ भन्ने लाग्छ । रुकुमको काँक्री गाविसका किसान रामु कामी तथा कर्मता विककी साहिँली छोरी सुनकुमारी जनसेनाबाट सक्रिय राजनीतिमा प्रवेश गरेका दलजित श्रीपालीको कर्मठ, मुलुकप्रति निष्ठावान् र जनताका लागि समर्पित भावलाई असाध्यै सम्मान गर्छिन् ।

प्राथमिक विद्यालय रुझिखोला रुकुमका नवशिक्षक दलजितले त्यहाँ गएको ३ दिनमै तीतो अनुभव गर्नुपर्‍यो । उनी पढाउन गएको विद्यालय मात्र नभई थुप्रै विद्यार्थी र शिक्षकलाई समेत खोलाले बगायो । धन्न उनी भने बाँच्न सफल भए । त्यतिबेला माले र मसालको टसलमा खुकुरी हानाहानको अवस्थामा उनलाई लखेटियो । भाग्दै जाँदा उनी एउटा घरभित्र पसे । त्यहाँबाट निस्किइन् एक पन्ध्र वर्षीया सुन्दर युवती । त्यसपछि उनीहरूको विवाह १७ दिनसम्म चल्यो । सोही वर्ष नै दलजित वर्गसंघर्षमा लागे । मुसिकोट क्याम्पस पढ्न गएका श्रीपाली ०५२ देखि भूमिगत नै भए ।

सपना नै त्यही बोकेर हिँडेपछि साकार पार्नलाई मैले सहयोग गर्नुपर्ने कर्तव्य थियो–सुनकुमारीले भनिन्–‘त्यसो त मेरी सासूले एउटा छोरा जनयुद्धका लागि भनेर उहाँलाई टीका लगाएरै पठाउनुभएको थियो । त्यो सब तत्कालीन समयमा दलितमाथि हुने शोषण, अत्याचार, भेदभाव, दुव्र्यवहारको परिणाम थियो ।’ प्रतिरोधले परिवर्तन ल्याउने सुनकुमारीको बुझाइ एवं अनुभव छ । राजनीतिलाई समाज परिवर्तनको अस्त्रका रूपमा बुझेकी उनी स्वयं  ०५४ सालदेखि पूर्णकालीन भूमिगत जीवन बिताई विभिन्न स्थानमा लडेकी योद्धा हुन् । चार वटी चिचिला छोरी च्यापेर जनयुद्ध लड्नुलाई श्रीमानप्रतिको प्रेम, विश्वास र समर्पण भन्न रुचाउने सुनकुमारी नेताका श्रीमतीलाई जहिल्यै कसरी इज्जत ढाक्ने भन्ने चिन्ता भैरहने बताउँछिन् । परिवारसँगै समय बिताउने रहर हुन्छ उनलाई तर श्रीमान् जहिले व्यस्त, जसले उनलाई कहिलेकाहीँ दिक्क बनाउँछ तर दलजित परिवारका लागि सक्दो समय निकाल्छन् । श्रीमती बिरामी भएपछि सम्पूर्ण घरायसी खर्चलगायत अन्य व्यवस्थापन आफूलगायत छोरीहरू मिलेर गर्ने गरेका छन् । अहिले त उहाँ मलाई कहीँ–कतैबाट कुनै समस्या आउन दिनुहुन्न–सुनकुमारीले भनिन्–म खुसी रहूँ भनेर बिहानको चिया–नास्तामा सँगै रहनुहुन्छ । अहिले बालबच्चा ठूला भए, अलि सजिलो हुने बेला यसरी रोगले थलिनुपर्‍यो । अहिले म १६ वर्षको अन्तरालमा जन्मिएकी पाँचौं छोरी खुसीसँग दिनहरू बिताउँदै आएकी छु ।

सुनकुमारीका सम्बन्धमा दलजित
उनी मेरी सुख–दु:खकी साथी हुन् । उनले मलाई कहिल्यै बेखुसी हुने मौका दिइनन् । म बेखुसी छु त भगवान्सँग । ०६८ सालमा उनका दुवै किड्नी फेल भएर जेठी छोरीले आफ्नो एउटा किड्नी दिइन् र पनि पछि उनको शरीरले त्यसलाई स्वीकार गरेन । त्यही बेलादेखि म प्रत्येक रात मर्ने गरेको छु । बाहिर देख्दा मन्त्री पद, प्रतिष्ठा, शक्ति भए पनि मानिसको वास्तविक जीवन देखिएजस्तो नहुँदो रहेछ । उनले मेरो जीवनमा दिएको साथ–सहयोग, त्याग र प्रेमको म शब्दमा व्याख्या गर्न सक्दिन । मेरा लागि उनले आफ्ना थुप्रै इच्छा–चाहनाहरू मारेकी छिन् तसर्थ उनी मेरा लागि यो वा यति मात्र हुन् भनेर भन्न सक्दिन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्