महिला आरक्षण सिट

निरूपा प्रसून

असार ३०, २०७४
   
एकदिन म बालुवाटारबाट कोटेश्वर जान नेपाल यातायात चढेकी थिएा । दिउँसो ‘अफ टाइम’ भएर होला बसमा त्यति भीड थिएन तर बस्ने सिट पनि खाली थिएन । कोचाकोच नहुँदा त उभिन त्यति मुस्किल पर्दैन  । पुतलीसडकमा तीन यात्रु थपिए त्यसमध्ये एक युवती थिइन्, दुब्ली–पातली, अन्दाजी २५ वर्षकी ।  महिला आरक्षण सिटमा एक वृद्ध हजूरबुवा बसेका थिए । ती हजुरबुवाले म बसभित्र छिर्दा ‘नानी बस्नुहुन्छ’ भनेर सोधेका थिए । मैले ‘बस्दिन हजुर नै बस्नुहोस्’ भनेर उभिन नै आनन्द मानेकी थिएँ । ती दुब्ली–पातली युवतीले काँचै खाउँलाझैँ झम्टिइन् बिचरा ती वृद्धलाई । चुपचाप उठे उनी । मेरो मन अमिलो भयो । कन्डक्टरले पनि केही भनेनन् । मेरो पनि केही भन्ने हिम्मत भएन । ती हजुरबुवा उभिएरै बानेश्वर पुगे । ती युवतीको स्वभाव देखेर मलाई उदेक लाग्यो । मेरो मनभरि आरक्षणका बारेमा कुरा खेलिरहे ।

अर्को घटना पनि सम्झिएँ । यही महिला आरक्षण सिटकै लागि मेरी एउटी साथी र एक युवकबीच भनाभन भयो । हामी नारायणगोपाल चोकबाट स्वयम्भू जाँदै थियौं । बसमा भीड थियो । एक युवक महिला आरक्षण सिटमा निदाइरहेका थिए । मेरी साथीेले उनलाई उठाइन् । युवक झस्किए । साथीले महिला सिट भएको जानकारी गराइन् । युवक थकाइ लागिरहेको बताउँदै थिए । मेरी साथी महिला तथा बालबालिकासम्बन्धी संस्थामा आबद्ध थिइन् । उनी प्रवचन दिन थालिन् । आफ्नो अधिकारले पाएको कुरा पनि उपभोग गर्न नपाउनु भन्न थालिन् । महिला अधिकारले पाएको किन छाड्ने ? युवक पनि कमजोर थिएनन् । उनी भन्दै थिए–तपाईंलाई जस्तो हामीलाई थकाइ लाग्दैन ? महिला–पुरुष बराबरी भन्ने नारा लगाउन सक्नुहुन्छ एकछिन उभिन सक्नुहुन्न ? अन्तत: युवकलाई उठाएर मेरी साथी महिला सिटमा बस्न सफल भइन् । बसभित्रका सबै यात्रु महिला सिटमा महिला नै बस्न पाउनुपर्ने जिकिर गर्दै थिए । युवकको पक्षमा कोही थिएनन् ।

मैले साथीलाई सम्झाएकी पनि थिएँ–बिचरालाई बस्नदेऊ न त भनेर, तर उनी पटक्कै मानिनन् । भन्न थालिन्–‘चुप लागेर बस्यो भने हेप्ने हो पुरुषले !’ मलाई  लागेको थियो त्यो समय, उनलाई उक्त सिटमा बसेबापत कसैले ताज नै पहिराइदिनेवाला छ । उभिन नसक्ने थिइनन् क्यारे ! कति बर्बाद बनाइएका महिलाहरूलाई हकअधिकार दिलाएकी थिइन् कि थिइनन् महिला अधिकारकर्मी भएको नाताले तर उनलाई आफ्नो यति सानो अधिकार पनि प्रयोग गर्नुपर्ने । त्यो दिन पनि मलाई दिक्क लागेको थियो ।
जतिबेलादेखि यो महिला आरक्षण सिट छुट्याइन थालियो त्यही बेलादेखि यो सिटका लागि बसभित्र किचलो सुरु भयो । वृद्ध आरक्षण सिट, अशक्त–अपाङ्ग आरक्षण सिट र महिला आरक्षण सिटमध्ये वृद्ध आरक्षण सिट र अशक्त–अपाङ्ग आरक्षण सिटहरूको नियम लागू भए–नभएको त्यति वास्ता हुँदैन तर महिला आरक्षण सिटको नियम लागू भएको छ । मलाई यस्तो नारीवाद मन पर्दैन । के यो महिला आरक्षण सिट आउनुअघि कुनै पुरुषले गर्भवती महिला उभ्याएर आफू बसेका थिए र ? कुन सज्जन मानिस अशक्त, अपाङ्ग र वृद्ध देख्दादेख्दै सिटमा बस्न सक्थे र ? सिट छाडिदिन्थे आरक्षण नभनिए पनि ।
   

सबै कुरा नियम–कानुनभित्र पनि पर्दैनन् । कतिपय कुरा त्यस्ता पनि हुन्छन् जुन मनमुटुका नजिक हुन्छन् । भावनाका कुरा, धारणाका कुरा र नैतिकताका कुरा । यत्ति हो कि हामीलाई बानी परेको छ नियम–कानुनभित्र बस्ने, बानी पनि होइन हामी बाध्य भएपछि मात्र लागू गर्छांै जे पनि । आफ्नै हितका लागि पनि नियम बनाउनुपर्छ । अझ हामी त राज्यको नियम तोड्न पनि आनन्द मान्ने प्रकृतिका जाति हौं । उदेक लाग्छ यो महिला आरक्षण सिटको नियम भने पूरा लागू भएको देख्दा । यो आरक्षण सफल हुनुमा एउटा कुराको मुख्य भूमिका देख्छु म  । हिजोआज महिलाहरू अतिवादी महिला सोच राख्दै कुनै पनि हालतमा आफ्नो कानुनी अधिकार उपभोग गर्न चाहन्छन् । अधिकार मागेर पाइँदैन खोसेर भए पनि लिनुपर्छ भन्ने मान्यतालाई शिरोधार्य गर्दै बसिरहेका पुरुषलाई उठाउँछन् र उक्त सिटमा आफू बस्न सफल हुन्छन् । पुरुष बिरामी होस् वा अशक्त छ उनीहरूलाई मतलबको विषय हुँदैन । महिला सिटमा कुनै पनि हालतमा महिला नै बस्नुपर्‍यो ।

यो अतिवादी सोच होइन त ? पुरुषहरू पनि हाड, छाला र मासुले नै निर्मित हुन्छन् कुनै फलामले बनेका हुँदैनन् । उनीहरूमा पनि अनेकौं शारीरिक समस्या हुन सक्छन् । किन यति सानो कुरा प्राप्तिका लागि हामी मरिमेटेर लागि पर्छौँ ? झगडा गर्छौं ? हो यो यही ठाउँ हो जहाँ अरू अनेकौं समस्या छन् जसका लागि लड्नु छ । पीडित, शोषित र अन्धकारमा पिल्सिएका महिलाका लागि सही मार्गदर्शक बन्नु छ, अधिकार दिलाइदिनु छ र गतिलो कानुन निर्माण गर्नुछ तर हामी कस्तो नचाहिने कुरामा अधिकार माग गरेर समय खर्चिरहेका छौं ? महिला अधिकारका लागि अधिकारवादी प्रशस्त छन् तर बिचरा पीडित ती महिलाहरूको स्तर भने जहाँको तहीँ छ । यसको कारण यही हो कि हामी सुगम खोज्छौं । हामी गहिराइमा डुब्न होइन सतहमा उत्रन रमाउँछौं । सहरमा बसेर कालिकोटमा छाउपडीका कारण वर्षमा यतिजना किशोरी मरे भनेर तथ्यांक तयार पार्छौं अनि थप बजेट माग गर्छौँ तर आफू कालिकोट नै गएर कसैलाई केही सिकाउँदैनौँ , पुगे पनि उनीहरूको मस्तिष्कसम्म पुग्ने ज्ञान दिन असक्षम छौं हामी । आज पनि दाइजोको नाममा जल्न विवश बुहारीहरू छन् तर खोइ नियम–कानुन ? नियम–कानुन भए पनि खै लागू भएको ? खै त्यो अज्ञानतालाई उखेलेर फाल्न सकेको ? जाबो बसको सिटमा मात्र सीमित हो महिला अधिकार ?
 

दैनिक सार्वजनिक बसका समीर सापकोटा भन्छन्–‘आरक्षण असमर्थताका लागि हो, कमजोरका लागि हो । महिला कसरी असमर्थ र कमजोर भए ? आफै सक्षम छौं भन्छन् फेरि भाग खोज्छन् । कमजोर पुरुषलाई उठाएर बलिया महिला सिटमा बस्दा नराम्रो लाग्छ । यो ठीक लाग्दैन मलाई ।’ ठीक यस्तै धारणा राख्छिन् चन्डोलस्थित एनसीसीएस स्कुलकी शिक्षिका अर्पणा प्रिरिकोटी ‘म त बस्दिन आरक्षण महिला सिटमा, भिक्षामा पाएको भिखजस्तो लाग्छ । के हाम्रा खुट्टा त्यति नाजुक छन् बस्नका लागि पनि आरक्षण चाहिने ? असक्षमका लागि हो आरक्षण, हामी आफै सक्षम छौं । किन चाहियो आरक्षण ? आई हेट रिजरभेसन !’

सबै कुरा सबैलाई मन पर्छ नै भन्ने पनि छैन । कतिपय महिला नै चाहँदैनन् आरक्षण सिट भने कतिपय महिला आरक्षण सिटका लागि मरिमेट्छन् । प्रत्येक मान्छे आ–आफ्ना विचार र सिद्धान्तमा बााचेका हुन्छन् जसलाई जे गर्न मन लाग्छ त्यही गर्छन् । आफूले गरेको कुरा जहिले पनि सर्वोत्कृष्ट लाग्नु त स्वाभाविक हो । हामी कानुन एवं हकहितका कुरा गर्छौं तर कर्तव्य बिर्सन्छौं । थोरै दयामाया मनभित्र राख्न जरुरी मान्दैनौं । हामीलाई देशको लोकतान्त्रिक व्यवस्थाले गिजोलेको छ । हामीले न सभ्य हुन सिक्यौं न विकासले भरिपूर्ण छौं । जमाना परिवर्तन भएको छ । जमानासागै मानिसको सोचमा पनि परिवर्तन आएको छ तर आधुनिकता, विकास एवं अधिकारका नाममा हामीले नैतिक शिक्षा भुल्दै गएका छौं । हामी आफूमात्र सुख खोज्छांै । घरमा सिकाइने नैतिक पाठ अब बेकामको भएको छ । के आफूभन्दा ठूला मानिसलाई उठाएर आफू बस्नुपर्छ भन्ने कुरा लोकतान्त्रिक व्यवस्थाले सिकाएको हो हामीलाई ? सभ्य होइन क्रुर हुन सिकाइएको छ । त्यस्तै हो यो महिला सिटको आरक्षण ! झगडाको बीउ । यो त आरक्षणको नाममा महिला कमजोर छन् भन्ने देखाइएको थप प्रमाण मात्र हो ।
 

माथिका घटना त नमुना मात्र हुन् । म केही पुरुषभित्र विशेष पुरुष अहम् पनि देख्छुुु । महिला नभए पनि महिला सिट खालि छाडिदिन्छन् । हेपेर भन्छन्–‘मैला ठाउँमा बस्न हुन्न फोहोर लाग्छ ।’ मानौं त्यो महिलाका लागि सिट होइन कि त्यहाँ ‘मैला’ को थुप्रो नै छ जस्तो गरी तर्कन्छन् । महिला सिट खाली भए पनि उभिएरै पुग्छन् आफ्नो गन्तव्यसम्म । बस्नै हुन्न जस्तो गर्छन् । कतिपय त महिला सिटमा बस्दा इज्जत नै जाला जस्तो गर्छन् । खाली हुनुभन्दा त के हुन्छ र बस्न ? नियम पालना गरेका होलान् । एक त पुरुषलाई बस्न दिइँदैन भने कतिपय पुरुष आफै बस्दैनन् । त्यसो त म पनि महिला आरक्षण सिट खोज्दिन । उतिबेलाका श्रीमान्हरूले आफू अघाएपछि श्रीमतीका लागि छाडिदिएको भातजस्तो लाग्छ मलाई यो सार्वजनिक बसमा छुट्याइएको महिला आरक्षण सिट ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्