वर्षका चर्चित महिला

भोजपुरमा जन्मिएकी मीराका लागि पहाडी क्षेत्रमा दौडनु सामान्य कुरा थियो । अल्टा्र धावनलाई उनले आफ्नो जीवनकै लक्ष्य बनाइन् । फलस्वरूप उनी इटलीमा सम्पन्न अल्ट्रा रेसमा प्रथम भइन् ।

अश्विनी कोइराला

वैशाख २७, २०७४  

माथिल्लो तहमा महिलाहरूको प्रभाव बढ्दै जाँदा विस्तारै गाउँघरका पुरुष केन्द्र पनि भत्कदै गएका छन् । गाउँ–गाउँमा गठन भएका आमा समूहहरू थप शक्तिशाली भएका छन् । गाउँघरमा पुरुषको कमी हुँदा पुरुषले गर्ने सबै किसिमका काम महिलाहरूले गर्न थालेका छन् । 

 

वर्ष २०७३ सालमा सञ्चारमाध्यममा सबैभन्दा बढी छाउने महिला को होलान् ? निश्चय नै कौतूहलको विषय बन्न सक्छ । वर्षभरिका न्युजमेकर महिलाहरूको खोजी गर्ने क्रममा नारीले सबैजसो सञ्चारमाध्यमका समाचारलाई फर्केर हेर्ने प्रयास गरेको थियो । यो प्रयासमा केही अनौठा तथ्य बाहिर आए । विगतका वर्षझैं यो वर्ष पनि महिलाहरूको चर्चा राजनीति तथा आर्थिक क्षेत्रमा भन्दा मनोरञ्जन एवं समाजसेवामा बढी भएको रहेछ । अझै पनि महिलाहरू राजनीति, प्रशासन एवं व्यापार–व्यवसायमा अपेक्षित ढंगमा अघि बढ्न नसकेको वर्षभरिका समाचारले देखाउँछन् । देशको राष्ट्रप्रमुख, सभाध्यक्ष तथा प्रधानन्यायाधीश महिला नै भएको देशमा महिलाहरू प्रमुखताका साथ सञ्चारको केन्द्रमा रहन नसकेको तथ्य आफैमा अस्वाभाविक लाग्न सक्छ । 

 

यद्यपि नेपाली समाज पहिलेझैं पूर्णरूपमा पुरुषलाई केन्द्रमा राखेर चलेको छ भन्ने कुरा पनि सत्य होइन । माथिल्लो तहमा महिलाहरूको प्रभाव बढ्दै जाँदा विस्तारै गाउँघरका पुरुष केन्द्र पनि भत्कदै गएका छन् । गाउँ–गाउँमा गठन भएका आमा समूहहरू थप शक्तिशाली भएका छन् । गाउँघरमा पुरुषको कमी हुँदा पुरुषले गर्ने सबै किसिमका काम महिलाहरूले गर्न थालेका छन् । जग्गा खरिद गर्दा सरकारले दिएको विशेष सहुलियतका कारण महिलाका नाममा प्रशस्तै जग्गा नामसारी हुन थालेका छन् । सरकारी जागिरमा पनि महिला वर्चश्व बढ्दै गएको छ । संघीय शासनअन्तर्गत गाउँपालिकामा बढी महिला चुनिने संवैधानिक व्यवस्थाका कारण महिलाहरूको राजनीतिक सक्रियता पनि ह्वात्तै बढ्ने देखिएको छ । २०७३ सालमा सबैभन्दा बढी चाख लिएर पढिने, सुनिने र कुरा गरिने एक दर्जन बढी महिला देखिए जसले वर्षभरि कुनै न कुनै रूपमा नेपाली समाजलाई प्रभावित तुल्याएको पाइयो । 

 

पुष्पा वस्नेत, समाजसेवी
२०६९ सालमा सिएनएन हिरोको उपाधि जितेपछि चर्चा पाएकी पुष्पा बस्नेत ४ वर्षपछि पुन: सुपर हिरोको उपाधि जितेर समाचारमा छाइन् । समाजसेवा सुरु गरेको एक दशक बितेलगत्तै उनले गरेका कामको खोजी नेपाली मिडियामा मात्र होइन, विश्वभरका मिडियाहरूमा पुग्नु पुष्पाको ठूलो उपलब्धि हो । गएको वर्ष उनले सिएनएन हिरोको उपाधि प्राप्त गरेका व्यक्तिहरूमध्येबाट सुपर हिरोको उपाधि जितेकी हुन् । ३४ वर्षमै प्राप्त यो सफलताका कारण उनलाई यो वर्ष सबैभन्दा बढी चर्चा पाउने महिला मानिएको छ । 
१२ वर्षअघि समाजशास्त्रमा स्नातक गर्ने क्रममा इन्टर्नसिपका लागि जेल पुगेकी पुष्पाले निर्दोष बालबालिका आमासँगै त्यहाँ थुनिएको देखेकी थिइन् ।

 

आमाले अपराध गरेर जेल गए पनि निर्दोष बालबालिकाहरू प्रतिकूल अवस्था भएको जेलमा हुर्कनु विडम्बना थियो । त्यही विडम्बनालाई चिर्न उनले सुरु गरेको ‘पुतली घर’ नामक बालबालिका पुनस्र्थापना केन्द्र अहिले अन्तर्राष्ट्रिय चर्चामा छ । उनले विभिन्न कारणले जेलमा परेका आमासँग रहेका बालबालिकाहरूलाई जेल बाहिर ल्याई बस्न–खाने साथै पठनपाठनको वातावरण बनाएपछि उनको समाजसेवा सुरु भएको थियो । व्यवसायी बुवा तथा केही सहयोगी साथीहरूको साथबाट प्रारम्भ गरिएको यो कामले चाँडै देशभित्र र केही वर्षभित्रै विदेशमा पनि महत्व पाउन थाल्यो । 

 

श्वेता खड्का, नायिका–व्यवसायी
पृथ्वीमा दैनिक लाखौं मानिसको देहान्त हुन्छ । केही त्यस्ता भाग्यमानी हुन्छन्, जसले जीवनभर त नाम कमाउँछन् नै, मृत्युपर्यन्त लाखौंको मनमा सजीव रहन्छन् । २०७१ सालमा नायक श्रीकृष्ण श्रेष्ठ विवाह भएको ३१ दिनमा स्वर्गारोहण भएका थिए जसको मृत्युको समवेदना दिन दर्शकहरूको ओइरो लागेको थियो । मृत्युयता उनको नाम दर्शकले त सम्झिएका छन् नै, नायिका श्वेताका कारण उनी मृत्युपर्यन्त समाजसेवामा जोडिएका छन् । वर्ष २०७३ मा नायिका श्वेताले श्रीकृष्णको नाममा श्वेताश्री फाउन्डेसन स्थापना गरिन् । ठूलो पीडाबाट बाहिर आएकी श्वेताले श्रीकृष्णका नाममा समाजसेवा गरेर उनको नामलाई अमर बनाइरहेकी छिन्, त्यो भन्दा बढी आफू खुसी भएर समाजलाई खुसीका साथ बाँच्ने सन्देश दिइरहेकी छिन् । 

 

तेरिया मगर, नृत्या·ना
बुटवलकी तेरिया मगरले २०७१ सालमा कुशल नृत्याङ्गनाका रूपमा नेपाललाई चिनाएकी थिइन् । भारतको लोकप्रिय टेलिभिजन च्यानल ‘जी’ ले आयोजना गरेको नृत्य प्रतियोगितामा तेरियाले हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै ‘लिटिल च्याम्प’ उपाधि जितेकी थिइन् । त्यसपछि डान्स इन्डिया डान्समा पनि उपाधि जितेकी तेरियालाई नेपाल सरकारले ‘लुम्बिनी शान्तिदूत’ बनाएर सम्मान गरेको छ । तेरियाले वर्ष २०७३ मा झलक दिखलाजामा उपाधि जितेर ५० लाख रुपैंयाँ तथा एउटा कार हात पारिन् । नृत्यकै कारण २३ देश पुगिसकेकी १४ वर्षीया तेरियाको चर्चा गतवर्ष शीर्षमै रह्यो । 

 

झमककुमारी घिमिरे, साहित्यकार 
वर्ष २०७३ मा नेपाली साहित्यमा तीन महिला स्रष्टाका कृतिले चर्चा पाए भने एउटी स्रष्टाले विद्यावारिधि हासिल गरिन् । गएको वर्ष अपाङ्ग साहित्यकार झमक घिमिरेले मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि हासिल गरेकी हुन् । बोल्न, सुन्न मात्र होइन, हातका केही औंलाबाहेक कुनै अङ्ग चलाउन नसक्ने झमकले घरमै बसेर अक्षर मात्र चिनिनन्, नेपाली साहित्यका लागि गम्भीर कृति समेत दिइन् । उनको आत्मकथा ‘जीवन काँडाकी फूल’ ले मदन पुरस्कार प्राप्त गरेको थियो । यो वर्ष साहित्यमा ‘कम्प’ की लेखिका शारदा शर्मा तथा ‘इति’ की लेखिका उमा सुवेदीले विशेष चर्चा पाए । त्यसबाहेक लेखिका नीलम कार्की ‘निहारिका’ ले ‘चीरहरण’ बाट २ लाख राशिको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिन् । 

 

दीपाश्री निरौला, निर्देशक
दीपाश्री निरौला यस्ती कलाकार हुन्, जो दुई दशकदेखि आफूलाई लाइम लाइटमा ल्याउन सफल भैरहेकी छिन् । रेडियो नेपालमा मधेसी महिला ‘धनियाँ’ को भूमिका निर्वाह गरेकी दीपालाई त्यही एउटा कार्यक्रमले जनताको भाषा बोल्ने कलाकारका रूपमा चिनायो । केही चलचित्र एवं टेलिफिल्मपछि उनी ‘तीतो सत्य’ मा फरक तरिकाले जम्न थालिन् । तीतो सत्यपछि पनि उनको प्रगतिको यात्रा रोकिएन । नेपाल टेलिभिजनको छोटोपर्दाको लोकप्रियतालाई उनले ठूलोपर्दामा समेत निरन्तरता दिइन् र दुईवटा चलचित्रको लगानीकर्ता एवं सहायक निर्देशक भएर काम गरिन् । यद्यपि दीपाको जीवनको सबैभन्दा ठूलो उपलब्धि भने ‘छक्का–पञ्जा’ बनिदियो । २०७३ सालमा प्रदर्शन भएको ‘छक्का–पञ्जा’ नेपाली चलचित्रको इतिहासमै सबैभन्दा बढी कमाउने चलचित्र हो । दीपा उक्त चलचित्रकी निर्देशक हुन् । नेपाली चलचित्र उद्योगमा महिला निर्देशकको अभाव खड्किरहेका बेला दीपाश्रीको निर्देशकीय क्षमताले चलचित्र उद्योग नै तरंगित भयो । 

 

मीरा राई, धाविका 
४ वर्षदेखि अल्ट्रा धावकका रूपमा ख्याति कमाएकी मीरा राई यो वर्ष नेसनल जियोग्राफिक च्यानलबाट वर्षकी साहसी व्यक्ति घोषित भइन् । नौ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले विश्वकै महत्वपूर्ण मानिने साहसी व्यक्तिको पदवी पाएकी हुन् । स्कुल पढ्दापढ्दै माओवादी छापामार बनेकी मीराको धोको नेपाली सेनामा जागिर खाने थियो तर अनमिनको प्रमाणीकरणमा ‘अयोग्य’ भएपछि उनी खेलकुदतर्फ लागिन् । भोजपुरमा जन्मिएकी मीराका लागि पहाडी क्षेत्रमा दौडनु सामान्य कुरा थियो । अल्टा्र धावनलाई उनले आफ्नो जीवनकै लक्ष्य बनाइन् । फलस्वरूप उनी इटलीमा सम्पन्न अल्ट्रा रेसमा प्रथम भइन् । त्यसपछि हङकङ, अस्ट्रेलिया, इटली र फ्रान्सका प्रतियोगिताहरूमा पनि महत्वपूर्ण उपलब्धि हासिल गरिन् । अल्ट्रा धावकका रूपमा ८ वटा स्वर्ण हात पारिसकेकी मीरालाई नेसनल जियोग्राफिकले वर्षकी साहसी व्यक्ति घोषणा गरेपछि उनी वर्ष २०७३ मा सर्वाधिक चर्चा पाउने महिला भइन् । 

 

सरस्वती भट्टराई, धाविका
वर्ष २०७३ मा खेलतर्फ सरस्वती भट्टराईले आफ्नो क्षेत्रमा राम्रो नाम कमाएर चर्चित महिलाको सूचीमा आफूलाई सामेल गराइन् । सन् २०१६ मा भएको ग्रीष्मकालीन ओलम्पिकमा १ हजार ५ सय मिटर दौडमा उनी नेपालका तर्फबाट सहभागी भएकी थिइन् । घरेलु खेलमा निकै राम्रो खेलाडी मानिने सरस्वतीले ओलम्पिकमा विशेष खेल त देखाउन सकिनन् तर ४ मिनेट ३३ सेकेन्डमा १ हजार ५ सय मिटर दौडेर यसअघि नेपाली महिलाले राखेका सबै रेकर्ड तोडिन् । नेपाली सेनाकी जागिरे सरस्वतीले राष्ट्रिय प्रतियोगिताहरूमा अनकौं स्वर्ण पदक जितेर नेपाली एथलेटिक्समा आफ्नो नाम अनिवार्य बनाएकी छिन् । 

 

लुना रञ्जित, सामाजिक अभियन्ता 
वर्ष २०७३ सालमा सामाजिक अभियन्ताहरूमा लुना रञ्जितको नाम पनि चर्चित रह्यो । यो वर्ष सामाजिक न्यायका लागि अग्रसर भएर काम गरेको भन्दै लुनालाई अमेरिकी सरकारले ५० हजार डलरको ग्रीनेल पुरस्कार प्रदान गर्‍यो । त्यति मात्र होइन, अंग्रेजी महिना सेक्टेम्बर २८ तारिखका दिन अमेरिकी सहर न्युयोर्क सिटीले लुना दिवस मनाउन थालेको छ । पुरस्कार वितरण समारोहमा न्युयोर्कका मेयरले हरेक वर्ष सेक्टेम्बर २८ तारिकलाई न्युयोर्कमा लुना डे मनाउने मनाउने घोषणा गरे । सन् २००५ देखि एचआइभी एड्सविरुद्धको अभियानमा सामेल भएकी रञ्जित अमेरिकामा बसोबास गर्छिन् र उनी त्यहाँ अमेरिकामा विश्वभरबाट पुगेका नागरिकहरूविरुद्ध हुने विभेदविरुद्ध लडिरहेकी छिन् । लुनाकै संस्थागत पहलमा न्युयोर्कमा घरेलु कामदार बालिकामाथि हुने विभेद बाहिर आएको थियो । यसअघि पनि उनले १ लाख डलरको पुरस्कार हात पारिसकेकी थिइन् । 

 

सरिता गिरी, नाट्यकर्मी
केही समयअघिसम्म महिला नाट्यकर्मीको नाम लिँदा निशा शर्माको नाम सबैभन्दा पहिले आउँथ्यो । अहिले निशाको नाम कम त भएको छैन, तर निशाको कामलाई अघि बढाउन अरुणा कार्की, सरिता गिरीजस्ता महिला नाट्यकर्मीहरू अघि सरेका छन् । १५ वर्षदेखि नाट्यकर्ममा समर्पित सरिता गिरी वर्ष २०७३ की सर्वाधिक लोकप्रिय नाट्यकर्मी हुन् । यो वर्ष ‘बोक्सीको घर’ मा उनले गरेको अभियन सबैका लागि आश्चर्यको विषय बन्यो । उक्त नाटकमा सरिताको एकल अभिनय थियो । यसअघि उनको निर्देशनमा मञ्चन भएको नाटक ‘अश्वत्थामा हतोहत’ बाट सौगात मल्लले उत्कृष्ट अभिनयको पुरस्कार प्राप्त गरेका थिए । ४ वटा नाटकमा एकल अभिनय गरिसकेकी सरिताले वर्ष २०७३ मा नेपाली नाटकको स्तर मात्र बढाइनन्, नेपाली नाट्य क्षेत्रमा महिलाको स्थान कति माथि पुुगिसकेको भन्ने कुरा पनि प्रमाणित गरिदिइन् । 

 

कुञ्जना घिमिरे, कलाकार
दुई वर्षअघि भूकम्प जाँदा सयौं कलाकार भूकम्प पीडितको उद्धारमा खटिएका थिए । यद्यपि त्यसलाई निरन्तरता दिने व्यक्ति भने सीमित रहे । यही मेसोमा सीताराम कट्टेल र कुञ्जना घिमिरेले सामाजिक सेवाका लागि मिलेर खोलेको ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले भूकम्प पीडितहरूका लागि गरेको काम उदाहरणीय बन्यो । दुई वर्षमा भूकम्पबाट पूर्णरूपमा भत्किएका दुईवटा गाउँलाई नमूना बस्तीमा परिवर्तन गरेको उक्त संस्थाले वर्ष २०७३ मा महोत्तरीको बर्दिबासमा मुसहर बस्तीको निर्माण पूरा गरेको छ । अघिल्लो वर्ष नेपाल सरकारले सफाइदूत नियुक्त गरेपछि प्रचारका क्रममा कुञ्जना उक्त मुसहर बस्ती पुगेकी थिइन् । कुञ्जना त्यसअघि भूकम्पले क्षतिग्रस्त काभ्रेका दुई गाउँको पुनर्निर्माणमा पनि देश–विदेशबाटमा सहयोग जुटाउन तथा कार्यक्षेत्रमा खटिएर महत्वपूर्ण योगदान पुर्‍याउन सक्रिय थिइन् । 

 

कोमल वली र रेखा थापा, राजनीति
यो वर्ष राजनीतिका ठूल्ठूला घटना घटे पनि महिला राजनीतिज्ञहरू भने उतिसारो चर्चामा आएनन् । पत्रकार एवं लोकगायिकाका रूपमा ख्याति कमाएकी कोमल वली तथा प्रसिद्ध नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा गरेको प्रवेशले भने ठूलो चर्चा पायो । रेडियो नेपालको जागिर छाडेर वली कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा प्रवेश गरेकी हुन् भने रेखा थापा यसअघि माओवादी नजिक थिइन् । यी दुवै सेलिब्रेटीले राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएर पार्टीभित्र आफ्नो पकड पनि बलियो बनाएका छन् । वलीले खुला तर्फबाट निर्वाचन जितेकी थिइन् भने थापाले महिला कोटामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । वली र थापाले निर्वाचनमा निकै राम्रो मत प्राप्त गरेका थिए। 

सीता देवी यादव, राजनीति 
यो वर्ष नेपाली कांग्रेसकी नेतृ सीता देवी यादव पनि चर्चामा आइन् । दोस्रो संविधानसभामा सिराहा तीनबाट निर्वाचित सीता देवीले नेपाली कांग्रेसको महाधिवेशनमा कोषाध्यक्ष पदमा जित हात पारेकी थिइन् । नेपाली कांग्रेसभित्र खुलारूपमा यति ठूलो पदमा पुग्नुलाई महत्वपूर्ण उपलब्धि मानिन्छ । सशस्त्र द्वन्द्वको समयमा २०५७ सालमा माओवादीद्वारा पति चन्द्रनारायण यादवको हत्या भएपछि उनी राजनीतिमा आएकी हुन् । चन्द्रनारायण यादव सिराहाका लोकप्रिय कांग्रेस नेता थिए । यादव अहिले शान्ति तथा पुनर्निर्माण मन्त्री पनि छिन् । मन्त्री भएयता उनी द्वन्द्वका समयमा मारिएका व्यक्तिहरूको अभिलेख राख्ने तथा बेपत्ताको खोजी गर्ने काममा सक्रिय छिन् । 

 

अरुणा गुरुङ, समाजसेवा 
२०७३ सालमा विदेशमा उच्च सम्मान पाउने महिला अरुणा गुरुङ पनि हुन् । अरुणालाई हङकङ सरकारले महिला आयोगको सदस्यमा नियुक्त गरेको हो । गुरुङ हङकङको २१ सदस्यीय महिला आयोगमा नियुक्त हुने एक्ली विदेशी हुन् । यसअघि २०१२ मा उनी हङकङ सरकारले प्रदान गर्ने महत्वपूर्ण पुरस्कार चिफ एक्जुकेटिभ कमेन्डेसनबाट सम्मानित भएकी थिइन् । पोखरा स्थायी घर भएकी अरुणा लामो समयदेखि हङकङमा बस्दै आएकी छिन् । उनले यसअघि हङकङमा जातीय सद्भावना प्रवद्र्धन समितिको सदस्यका रूपमा काम गरिसकेकी थिइन् । अरुणा चीनको चर्चित एयरलाइन्स ड्रागन एयरको इन फ्लाइट म्यानेजर पनि हुन् । उनको नेतृत्वमा अंग्रेजी पत्रिका नेपाल पोस्ट सर्भिसेज पनि प्रकाशन हुन्छ । काठमाडौंको पद्म कन्या क्याम्पसबाट स्नातक गरेकी अरुणा खेलाडी पनि हुन् । उनले नेपालको पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ५ हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् । 

 

भवानी राणा, व्यवसायी
नेपालमा उद्योग चलाउने भन्नेबित्तिकै पुरुषको सम्झना आउँछ । महिलाहरूले उद्योग चलाएको, नेतृत्व गरेको र समस्या समाधान गरेको कमै देखिन्छ । यद्यपि भवानी राणा फरक छिन् । गार्मेन्ट उद्योगबाट व्यवसाय प्रारम्भ गरेकी भवानी राणा अहिले चर्चित पर्यटन व्यवसायी हुन् । पर्यटन हुँदै पूर्वाधार विकासमा समेत हात हालेपछि राणा अहिले उद्योग वाणिज्य महासंघको अध्यक्षमा सर्वसम्मत भएकी छिन् । करिब १२ वर्षदेखि उद्योग वाणिज्य महासंघको विभिन्न निकायमा काम गरेकी भवानीले उद्योगीहरूको संगठनको नेतृत्व गर्न थालेपछि उनको चर्चा चुलिएको छ । सुरुमा महिला भएकै कारण नेतृत्वमा आएकी राणा विगत ८ वर्षयता खुलारूपमा पुरुषहरूसँग प्रतिस्पर्धा गर्दै माथि आएकी हुन् । २०७३ सालअघि राजनीतिको केन्द्रमा महिलाहरू थिए भने २०७३ सालले व्यवसायमा पनि महिलालाई केन्द्रमा पुर्‍याएको छ । 

 

कुसुम श्रेष्ठ, तरकारीवाली
कहिलेकाहीँ कर्मभन्दा भाग्य प्रधान हुन्छ भन्ने उदाहरण कुसुम श्रेष्ठको जीवनमा लागू भयो । रूपचन्द्र महर्जनले गोरखा भुल्मिचोक र पृथ्वी राजमार्गको बरौंदी बजार जोड्ने झोलुङ्गे पुलमा तरकारी बिक्री गर्न आएकी युवतीको तस्बिर खिचेका थिए । उनले उक्त तस्बिर आफ्नो फेसबुकमा पोस्ट गरे । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुसुम तरकारीवालीका नामले प्रख्यात भइन् । उनको तस्बिर लाखौं पटक सेयर भयो भने युट्युबमा दर्जनौ भिडियो बने । उनका अन्तर्वार्ताहरूसमेत प्रख्यात भए । केही चलचित्रबाट प्रस्ताव आए पनि उनले नर्सिङ पढ्ने रुचि देखाइन् । अहिले उनलाई चितवनको कोएस्ट कलेजले छात्रवृत्तिमा अध्यापन गराइरहेको छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्