महिलाहरुले  स्वतन्त्रता केलाई मान्ने ??

लक्ष्मी भण्डारी थापा

वैशाख २६, २०७४  

स्वतन्त्रता केलाई मान्ने ? चाहेको क्षेत्रमा जागिर खान पाउनु वा मन लागेको विषय पढ्न पाउनु अथवा मन लागेका पहिरनमा सजिएर हिँड्न पाउनु ? के हो स्वतन्त्रता ? उत्तर सहज छैन । यद्यपि समान अधिकार, सहअस्तित्व एवं सहस्वामित्वजस्ता कुराहरू समान परिणाम दिने खालका हुन्छन् जसले स्वतन्त्रता मापनका लागि मापदण्डको काम गर्छन् । नेपाली परिवेशलाई तुलनात्मक रूपले हेर्दा हिजोभन्दा आज महिलाहरू कानुनी अधिकारबाट बलिया हुँदैछन् तर उनीहरूको आर्थिक, सामाजिक एवं व्यावहारिक हैसियतमा तात्विक अन्तर आइसकेको छैन ।

बिनिता कार्की

वि.सं २०१५ साल तथा जनआन्दोलन (वि.सं.२०६२–०६३) पछिको संविधानमा पनि महिलाका पक्षमा थुप्रै कुरा कानुनमै सुनिश्चित भएर नआएका होइनन् तथापि भर्खरै जारी नयाँ संविधानपछि समेत महिलाका व्यावहारिक एवं सामाजिक पक्ष उस्तै छन् । हामीले पूर्ण अधिकार (पर्फेक्ट राइट्स) पाएका छैनौं अधिवक्ता विनीता कार्की भन्छिन्–जस्तो कि संविधानमा महिलाका धेरै अधिकार उल्लेख गरिएका छन् तर उदाहरणका लागि महिला आयोगकै विधेयक हेरौं, जसमा महिला हुनुपर्छ भन्ने कुरा कतै उल्लेख छैन । हुनत: स्वत: आइहाल्छन् भनेर होला तर संसारमा कहीँ–कतै कुनै पनि कुरा स्वत: आउँदैन । हामीकहाँ महिला अधिकारसम्बन्धी व्यवस्थाहरूमा यसरी नै विरोधाभाष देखिन्छ । कानुनसमेत हेर्दा सानातिना तर ठूला प्रभाव पार्ने खालका कुराहरू छुटेको अनुभव हुन्छ ।

प्रेमा बिष्ट थापा

‘टु रङ, डज नट मेक राइट्स’ भन्दै महिला अधिकारकर्मी प्रेमा विष्ट थापाले महिला स्वतन्त्रताका बारेमा भनिन्–हाम्रो अधिकार सुनिश्चित गर्न खोज्नु भनेको पुरुषलाई दबाउनु वा पछि पार्नु हुँदै होइन । संस्कारले त हामीलाई मात्र होइन पुरुषलाई पनि उत्तिकै गाँजेको छ तर दमित हुने वा विभेदमा पर्ने प्रतिशत कसको बढी छ, त्यसको लेखाजोखा हुनु जरुरी छ । मुलुकका उच्चप्रतिष्ठित पदमा जति पनि महिला आए ती हाम्रा लागि सांकेतिक उपलब्धि हुन् । अब यही कुरा तल्लो तहका महिलादेखि नै लागू हुनु आवश्यक छ । नेपालका समग्र महिलालाई एउटै बास्केटभित्र हालेर हेर्न नहुने प्रेमाको धारणा छ । अर्को कुरा महिला मात्र भनेर होमियोजेनियस गु्रप बनाउन थालियो भने पछि भनेजस्तो परिणाम प्राप्त नहुनसक्छ तसर्थ स्वतन्त्रता, अधिकार एवं यी कुरा उपभोग गर्ने महिला कुन स्तरका हुन् ? कुन क्षेत्र वा तह–तप्काका महिलाको कुरा हामी गरिरहेका छौं भन्ने विषय पनि विचारणीय छन् ।

शोभा पौडेल पराजुली

अधिवक्ता सिन्धु सिटौला थपलिया भन्छिन्–एउटी महिलाले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने अधिकार हुँदाहुँदै पनि परम्परावादी सोच, अविश्वास, कुप्रथा, महिलाप्रतिको गलत सोचाइ आदिका कारण लगायत कतिपय कानुनको कमजोरीले दिनहुँ कुनै न कुनै बहानामा महिलाहरू हिंसाको सिकार भैरहेका छन् । महिलाविरुद्धका हिंसा सबैभन्दा लज्जाजनक मानव अधिकारको उल्लंघन हो । यस्तो हिंसालाई कुनै भू–भाग, संस्कृति अथवा धनको सीमाले छेकबार लगाउन सकेको छैन । यस्ता हिंसा लगातार जारी रहने हो भने हामी समानता, विकास एवं शान्तिको बाटोमा लाग्न सक्दैनौं । यस्तो अवस्थामा महिला स्वतन्त्रताको अवस्था के होला आफैं आँकलन गर्न सकिन्छ ।

 

दूरदराजका महिला जसलाई घरभित्रैको पहिचान र सम्मानको मुद्दा प्रमुख छ भने पढेलेखेका सचेत व्यावसायिक महिलाहरूलाई सामाजिकीकरण, संस्कार, मूल्य–मान्यता अनि तेहोरो जिम्मेवारीले थिचेको छ ? आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक आदि कुराले गाँजिएको अवस्थामा कसरी स्वतन्त्र हुन सकिन्छ ? पोखरामा क्रियाशील अधिवक्ता शोभा पौडेल पराजुली भन्छिन्–‘कानुनी रूपमा भने हामी नेपाली महिला स्वतन्त्र छौं ।

सिन्धु सिटौला थपलिया

अबको स्वतन्त्रता भनेको इक्वेल स्ट्याटस अनि इक्वेल बर्डनमा हुनुपर्छ अर्थात् समान हैसियत समान तनाव ।’ पौडेललाई लाग्छ घरको चुल्हो–चौकोमा सीमित हामी महिला बिस्तारै बाहिर निस्किएका छौं दोहोरो होइन तेहेरो जिम्मेवारीका साथ । यद्यपि हामीले पूर्णरूपमा आफ्ना अधिकार उपभोग गर्न पाइरहेको अवस्था छैन । केही अघि आफू स्याङ्जाको एउटा गाउँमा जाँदा भेट भएकी महिलालाई सम्झँदै पौडेल भन्छिन्–ती महिलालाई आफ्ना अधिकार त के, भर्खरै संविधानसभाको निर्वाचन भएको र मुलुकमा संविधान आएको समेत थाहा थिएन । नेपालमा केही नै कुरा थाहा नपाउने महिलाहरूको संख्या बढी छ । यस्तो अवस्थामा महिलाले स्वतन्त्रता उपभोग र प्रयोग गर्न पाउनु भनेको धेरै टाढाको
कुरा हो ।

 

राम्रो र असल महिलाको परिभाषा के ? आफ्ना कुरा सुरु गर्नु अगावै संयुक्त राष्ट्र संघअन्तर्गतको कानुनी शासन कार्यक्रमकी अधिवक्ता रोशनी पौड्यालले प्रश्न गरिन्–कस्ता महिलालाई राम्रा र असल भन्ने, अब यसलाई पुन:परिभाषित गर्नुपर्ने बेला आएको छ तब मात्र महिलाहरू स्वतन्त्र भएर बाँच्न सक्छन् अन्यथा स्वतन्त्रता सधैं चरित्रसँग जोडिएर आउँछ महिलाको हकमा । रोशनीलाई लाग्छ संविधान र कानुनले महिलालाई थुप्रै अधिकार नदिएको होइन र पनि त्यसभित्र त्यति नै धेरै व्यावहारिक अड्चन छन् । व्यावसायिक महिला बाहिर आउन घरपरिवार भित्रै संघर्ष गर्नुपर्छ । हामी महिला स्वतन्त्रतापूर्वक आफ्नो क्षेत्रमा जमेर लाग्न पाउने हो भने असम्भव केही छैन ।

 

उदाहरण दिँदै पौड्यालले भनिन्–मजस्तै पढेलेखेका, मैले जत्तिकै कमाउने र मेरै क्षमताको पुरुषसँग तुलना गर्दा के म स्वतन्त्र छु त ? भन्ने कुरामा दुईपल्ट सोच्नुपर्छ भलै म अरु महिलाको दाँजोमा स्वतन्त्र हुँला । त्यसैले हामी समान छौं भन्ने नारा जति लगाए पनि दाबी गर्न हिच्किचाउनुपर्ने अवस्था छ । सबैको माया हामीलाई मात्र लाग्छ । श्रीमान्को करियर, सन्तानको पालनपोषण सबै महिलाले नै भ्याउनुपरेको छ ।

रोसनी पौडेल

वल्र्डवार व्यवस्थापन हुन गाह्रो नहोला तर कोल्डवार व्यवस्थापनका लागि ठूलो त्याग गर्नुपर्छ भन्दै शोभा भन्छिन्–हामी अधिकार बुझेकाहरू पनि आफ्नो सामाजिकीकरण, संस्कार एवं मूल्य–मान्यताले गर्दा आफ्नो अधिकार उपभोग गर्न सकिरहेका छैनौं । महिलाले अधिकार प्रयोग गर्न खोजे भने दम्पतीबीच कोल्डवार सुरु हुन्छ । नेपाल बार एसोसियसनका १ हजार ५ सयजना वकिलमध्ये बल्लतल्ल ७ प्रतिशत महिला वकिल भएको बताउँदै रोशनीले प्रश्न गरिन्–किन त ? तसर्थ महिलाका लागि एडिसनल ब्यारियर छ भनेको । जागिर खान गयो, त्यसलाई के नपुग्दो थियो र मरीमरी फिल्ड जानुपरेको ? भन्छन् । जागिर खाने भनेको आफू एडभान्स हुन, सशक्त हुन होइन कि खान नपुगेर भन्ने मानसिकता अझै छ । मेरो चाहना, इच्छा, रहर एवं आकांक्षा अनि म खोइ त ? यसरी हुन सकिन्छ स्वतन्त्र ?

 

प्रेमाका अनुसार संविधान जारी भएपछि थुप्रै राजनीतिक अधिकार सुनिश्चित भएका छन् । यसले हामी महिलामा आशा जगाएको छ तर यत्तिमै सन्तुष्ट भएर बस्ने होइन । हामीे निरन्तर जागरुक भएनौं भने न्यायपरिषद् ऐनमा न्यायाधीश नियुक्तिमा महिलाको सहभागिता समानुपातिक हुनुपर्छ भनिए पनि समानुपातिक नभएजस्तै हुनेछ । संविधानको धारा ४२ मा सामाजिक न्यायको हक उल्लेख छ–विनीताले भनिन्–अब हरेक क्षेत्र, तह र तप्कामा यसैअनुसार समानुपातिक समावेशीमूलक ढंगले कार्यान्वयन हुुनुपर्छ । जब महिलालाई अधिकार दिने कुरा आउँछ यिनले दुरुपयोग गर्छन् भनिन्छ । त्यो अधिकार नदिने रणनीति हो जस्तो लाग्छ । होला हजारमा १–२ जनाले दुरुपयोग गरे होलान् तर समग्र जनसंख्यालाई हेर्नुपर्छ । औषधिको त साइड इफेक्ट हुन्छ । त्यसो भन्दैमा औषधि नै नख्वाई मानिस मार्ने ? त्यसो त गर्नु भएन नि । यता हामीले पनि हरेक कुराको सकारात्मक पाटोलाई प्रयोग गरी अघि बढ्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्