प्रेरणाकी एक मात्र स्रोत

सिर्जना दुवाल श्रेष्ठ

वैशाख २४, २०७४ स्मृति दाहाल, नर्स तथा मोडल

आमा : कल्पना दाहाल, गृहिणी
आमा भन्नासाथ म आमाको न्यानो काख र माया महसुस गर्छु । हरेक सन्तानका प्रथम गुरुआमा नै हुन्छन् । मैले पनि आमाबाट बोल्न, हिँड्न र खान मात्र होइन जीवनको सही दिशा पहिल्याउन सिकेकी छु । हामी सानोमा भारतमा बस्थ्यौं । दाजु र दिदीले उतै पढ्नुभयो । म र अर्की दिदीले मात्र नेपालमा पढ्यौं । हामीलाई आमाले उचित संस्कार एवं शिक्षा दिनुभयो । सानैदेखि आमाले नै कुन कुरा सही हो र कुन गलत हो छुट्याएर अघि बढ्न सिकाउनुभयो । कहिल्यै मेरो कुनै रहर वा सोचमा कुनै प्रकारको रोकटोक लगाउनुभएन ।

 

मेरो जीवनमा आमा नै मेरो क्लोज फ्रेन्ड हुनुहुन्छ । कान्छी छोरी भएर पनि होला म अरु भन्दा आमासँग बढी क्लोज छु । म आमासँग खुलेर सबै कुरा सेयर गर्न सक्छु । आमाले नै पढाइका लागि बढी फोर्स गर्नुहुन्थ्यो । अहिलेको जमानामा पढाइ नभई केही गर्न सकिँदैन भनेर पढ्ने वातावरण पनि आमाले नै बनाइदिनुहुन्थ्यो । नर्सिङ अध्ययनरत छँदा ममा मोडलिङको रहर जाग्यो ।

 

बुवाले मोडलिङमा काम गर्न रोक लगाउन खोज्नुभयो तर आमाले ठीकै छ नर्सिङ पनि पढ्छे, आफ्नो रुचिको मोडलिङ पनि गरोस् भनेर सहज वातावरण बनाइदिनुभयो । आमाले हरेक कुरामा सपोर्ट गरेर मलाई प्रेरणा दिइरहनुभयो । अहिले म ओम हस्पिटलमा नर्सका रूपमा कार्यरत छु । समय र मौका मिल्दा मोडलिङतिर पनि सक्रिय हुन्छु । मलाई आमाको सकारात्मक सोच एवं सन्तानप्रतिको आशा देख्दा निकै खुसी लाग्छ । मेरी आमा मेरो जीवनको प्रेरणाकी एक मात्र स्रोत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्