मेरा लागि मिस नेपाल मेरी आमा

सिर्जना दुवाल श्रेष्ठ

वैशाख २३, २०७४  

इभाना मानन्धर, मिस नेपाल–२०१५

आमा : इरा मानन्धर, इन्टेरियर डिजाइनर तथा फेसन डिजाइनर
आमा शब्दलाई कसरी वर्णन गर्ने ? लाइफभरि तिरेर पनि तिर्न सकिँदैन आमाको ऋण । एउटा असल मार्गनिर्देशक, जसमा कुनै स्वार्थ छैन । उहाँमा छोरी सिर्फ असल व्यक्ति बनोस् भन्ने चाहना मात्र छ । आमाले सधैं अध्ययनलाई पहिलो प्राथमिकता दिनुहुन्थ्यो । एजुकेसन र डिसिप्लेनमा मेरी आमा निकै कडा हुनुहुन्छ । मलाई बायोलोजी र नेपाली व्याकरण आमाले नै सिकाउनुहुन्थ्यो ।

 

आमाले हाम्रा हरेक इच्छा एवं रुचिहरूको त्यत्तिकै ख्याल राख्नुहुन्थ्यो । सानैदेखि हामी साँझको समय दिनभरिका कुरा आमासँग सेयर गथ्र्यौं । जसले गर्दा कुनै पनि कुरा गर्न अप्ठ्यारो भएन र बाहिरका साथीहरू नै चाहिएनन् । करियर छान्ने बेलामा मेरो इच्छाअनुसार पढ्न दिनुभयो । मैले पनि उहाँको कुराअनुसार नै अमेरिकाबाट अध्ययन पूरा गरेर मिस नेपालमा भाग लिएँ । म मिस नेपाल भएको दिन आमाको मुख हेर्ने दिन थियो । त्यो क्षण मेरा लागि सबैभन्दा खुसीको क्षण थियो । घर गएर मैले आफ्नो क्राउन आमालाई लगाइदिएँ । मेरा लागि मिस नेपाल मेरी आमा नै हुनुहुन्छ ।

 

मिस नेपालमा मैले लगाएका गाउनहरू आमाले नै बनाइदिनुभएको हो । मेरो स्टाइलिस्ट पनि उहाँ नै हो । मेरो अहिलेसम्मको सफलतामा आमाकै मुख्य भूमिका छ । सानैदेखि आमाको रुटिनमा हुर्किएकीले अहिलेसम्म पनि कस्तो साथी बनाउने, कति बेलासम्म बाहिर बस्ने, के काम गर्ने भन्ने कुरामा उहाँकै निर्णय चल्छ । मेरी आमा एकदमै मेहनती एवं इमान्दार हुनुहुन्छ । उहाँ आफै एक सक्षम नारी हुनुहुन्छ । सानैदेखि मलाई इमान्दार र आत्मनिर्भर हुनुपर्छ भनेर प्रोत्साहन दिइरहनुहुन्थ्यो । मैले मेरी आमाले जस्तो कडा परिश्रम गर्ने र क्रियटिभ मान्छे देखेकी छैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्