प्रथम गुरु आमा

सिर्जना दुवाल श्रेष्ठ

वैशाख २०, २०७४  

आमाछोरीको सम्बन्ध अरु सम्बन्धभन्दा निकै माथि एवं अतुलनीय हुन्छ । छोरीहरूले अरुसँग भन्न नसकेका, व्यक्त गर्न नसकेका मनका भावनाहरू आमासँगै आएर व्यक्त गर्छन् । एकजना असल साथीले जस्तो व्यवहार गरेर छोरीलाई असल मार्गतर्फ लानु आमाको प्रथम दायित्व हो । बालबालिकाहरू आमा–बुवालगायत परिवारका हरेक व्यक्तिसँग उत्तिकै घुलमिल हुन्छन् तर शारीरिक एवं मानसिक विकास हुँदै किशोरावस्थामा पुगेपछि उनलाई अझ नजिकबाट बुझ्न, सम्झाउन एक असल मित्रको आवश्यक पर्छ । सही वा गलत निर्णय गर्न नसकेर अलमलिने यो उमेर वा अवस्थामा आमाले छोरीहरूलाई सही दिशा देखाइदिन्छिन् । आमाको आत्मीयताले नै छोरीहरू आमासँग बढी निकट हुन्छन् र हरेक कुरा सेयर गर्छन् । आजका आमाहरूलाई छोरीको रुचि, साथीसंगत सबैको राम्रो जानकारी हुन्छ । उनीहरू छोराछोरीलाई अनुशासित बनाउन चाहन्छन् भने समयअनुसार स्वतन्त्रता पनि दिइरहेका हुन्छन् ।

 

माया ठकुरीकी छोरी भन्न पाउँदा गर्व

आमा : माया ठकुरी, कथाकार

मेरो असल साथी अनि गुरु पनि मेरी आमा नै हुनुहुन्छ । मेरा लागि मायाको सुरुवात र अन्त्यको नामजस्तो लाग्छ, आमा । आमाको मायाविनाको मेरो संसार कस्तो होला, कल्पना गर्न पनि डर लाग्छ । एक्लो सन्तान भएर पनि होला म आमासँग एकदमै नजिक रहें । अल्छी गरेर बस्दा यो अमूल्य समय यसरी बिताउनु हुँदैन, सिर्जनात्मक हुनुपर्छ भनेर सधै हौसाइरहनुहुन्थ्यो मेरी आमा । म पनि सानैदेखि पुस्तकहरू पढिरहने, लेखिरहन रुचाउने स्वभावकी थिएँ । आमा यो उमेरसम्म पनि साहित्यमा सक्रिय भएको देख्दा ममा अझ ऊर्जा थपिन्छ । मैले धेरै साथीका आमाहरू उमेर बढ्दै गएपछि चेन्ज हुने, पुरानै सोचमा अडिग हुने देखेकी छु तर मेरी आमा समयको वेगसँग उहाँ पनि परिवर्तन हुँदै जानुभयो । अहिले पनि बिहान ४ बजे नै उठेर एक्सरसाइज गरेर लेख्न, पढ्न बस्नुहुन्छ । मेरी आमा संगीत सुन्न, लेख्न, पढ्न र फूलहरू स्याहार्न रुचाउनुहुन्छ । सानैदेखि आमाका कथाहरूको पहिलो ड्राफ् सुन्ने श्रोता भएकीले पनि होला म पनि आमालाई आफ्ना कथाहरू लेख्नासाथ सुनाउँछु । हनिकै दु:ख गरेर आजको ठाउँमा पुगेकी मेरी आमा संघर्षकी पर्याय नै हुनुहुन्छ । करियर र जीवनका हरेक मोडमा आमाकै सहयोगले गर्दा म सफल छु । आविनाको मेरो जीवन शून्य हुन्छ । मलाई माया ठकुरीकी छोरी भन्न पाउँदा गर्व लाग्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्