आज आमाको मुख हेर्ने दिन

नारी संवाददाता

वैशाख १३, २०७४ आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।

 

मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताए ।

 

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ उनले भने । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

 

जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्