रिफ्रेसमेन्ट र रिजुभेसनका लागि रिसोर्ट तथा रेस्टुराँ

खुट्टा डुबाएर खाना खाने व्यवस्थासमेत छ । ठूलो गार्डेन, क्रिकेट, फुटबल आदिको खेल मैदानयुक्त यो होटलमा रेस्टुराँ, इन्डोर रेस्टुराँ तथा आउटडोर गार्डेन रेस्टुराँका साथै ४ वटा कन्फरेन्स हल छन् । यहाँ भेजिटेरियन र ननभेजका लागि अलग्गै किचनयुक्त रेस्टुराँको व्यवस्था छ ।

लक्ष्मी भण्डारी थापा

वैशाख १२, २०७४  

 

हिजोआज नेपालमा फेमिली आउटिङको ट्रेन्ड बढ्दैछ । व्यस्तताका बाबजुद समय निकालेर शारीरिक एवं मानसिक रूपमा रिफ्रेस हुन छोटो–लामो भ्रमणमा निस्कने लहरका कारण अहिले फरक सेवाका साथ पृथक् शैलीका रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम बढेको हो । व्यवसायीहरू बाह्यभन्दा आन्तरिक पर्यटकले यस्ता रिसोर्ट तथा रेस्टुराँ धानिरहेको कुरासँग सहमत छन् । ठूलो लगानीमा अत्याधुनिक सेवा–सुविधायुक्त होटल, रिसोर्ट तथा रेस्टुराँ खुल्ने क्रम धमाधम बढिरहेका बेला सम्बन्धित व्यवसायीहरूको पनि सक्रियता वृद्धि भएको छ । अहिले सप्ताहन्तको छुट्टी मनाउन होस् वा बर्थ डे, एनिभर्सरीलगायत अन्य गेटटुगेदरका लागि होस् साथीभाइ एवं परिवारका साथ नाइटस्टे जाने प्रचलन बढेकाले त्यस्ता स्थानमा भीड लाग्न थालेको पाइन्छ । मुलुकमा आइपरेको प्राकृतिक प्रकोपका कारण हिजोसम्म हतोत्साही रिसोर्ट–रेस्टुराँ व्यवसायीहरू अहिले यसको भविष्य भएको बताउन
थालेका छन् ।

 

चुम्लिङटार सिद्धार्थ रिभरसाइड रिसोर्ट काठमाडौंतर्फबाट आउँदा मनकामनाभन्दा ५ किलोमिटर वर तथा फिस्लिङबाट ३ किलोमिटर (कुरिनटारतर्फ) पर अवस्थित छ । यो रिसोर्ट भर्खरै संचालनमा आएको हो । रिसोर्टका म्यानेजर कृष्ण न्यौपानेका अनुसार यसमा स्वीमिङ पुल त छ नै उक्त पुलभित्र खुट्टा डुबाएर खाना खाने व्यवस्थासमेत छ । ठूलो गार्डेन, क्रिकेट, फुटबल आदिको खेल मैदानयुक्त यो होटलमा रेस्टुराँ, इन्डोर रेस्टुराँ तथा आउटडोर गार्डेन रेस्टुराँका साथै ४ वटा कन्फरेन्स हल छन् । यहाँ भेजिटेरियन र ननभेजका लागि अलग्गै किचनयुक्त रेस्टुराँको व्यवस्था छ । चुम्लिङटार सिद्धार्थमा नदी किनारमा बार्बिक्युव गर्दै टेन्टभित्र लेटनाइट मनोरञ्जन गर्ने र त्यहीँ नै सुत्न मिल्ने सुविधा छ । त्रिशूली नदीमा र्‍याफ्टिङ होटलले नै मिलाइदिन्छ ।

 

मनकामना दर्शनका लागि विशेष सुविधा पनि रिसोर्टकै तर्फबाट प्राप्त हुन्छ । कर्पोरेट हाउसको तालिम, सेमिनारलगायत पारिवारिक घुमघामका लागि उपयुक्त गन्तव्य बन्नसक्ने यो रिसोर्टको क्षेत्रफल हाइवेदेखि त्रिशूली नदी किनारसम्मै फैलिएकाले पर्याप्त मनोरञ्जन गर्न सकिन्छ । सुलभ मूल्यमा लोकल अर्गानिक खाना खान पाइने यहाँका परिकार स्वादिष्ट हुनुका साथै गुणस्तरीय छन् । हाइवेमा ट्राभल गर्नेहरूका लागि आफूहरू तीव्र सेवामा खटिएको बताउँदै न्यौपाने भन्छन्–हतारमा हुने ग्राहकका लागि शीघ्र सेवा र सुविधा छन् । जनचेतनाको विकासका साथै परिवार लिएर घुम्ने कल्चर बढेका कारण आन्तरिक पर्यटकले नै यस्ता रिसोर्ट धानिरहेका छन् ।

 

पानोरमा धुलिखेलका चन्दन श्रेष्ठ भन्छन्–धुलिखेल देवीस्थानस्थित अग्लो स्थानमा अवस्थित पानोरमा रिसोर्ट एन्ड स्पाबाट ३ सय ६० डिग्री भ्यु देख्न सकिन्छ । यो यस्तो प्वाइन्टमा रहेको रिसोर्ट हो जहाँबाट ५ सय मिटरको उचाइको जमिनदेखि लिएर ८ हजारभन्दा बढी उचाइसम्मको भ्यु हेर्न सकिन्छ । १ सय ८० डिग्रीको हिमालयन रेन्ज हेर्न सकिने पानोरमाबाट ३ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको दृश्यावलोकन गर्न सकिन्छ । सहर र बजारको कोलाहलबाट टाढा यो रिसोर्ट डेढ  किलोमिटरको जंगल पार गरेपछि पुगिन्छ । यो रिसोर्ट हाइजिन रेस्टुराँ, आकर्षक बार, शान्त वातावरणयुक्त कोठाहरूलगायत यथेष्ट पार्किङको सुविधायुक्त छ ।

यहाँ वाइल्ड लाइफ, जंगल वाकिङ, वर्ड वाचिङ आदि कृयाकलाप सहजै सम्पन्न गर्न सकिन्छ भने यहाँबाट काठमाडौंको दूरी ३० किलोमिटर छ । मौलिक स्वादका साथमा नेपाली, नेवारी, इन्डियन तथा कन्टिनेन्टल परिकार यहाँका विशेषता हुन् । सुलभ मूल्यमा उच्च गुणस्तरीय खाना पस्किने पानोरमा रिसोर्ट सेमिनार तथा हाइकिङ जान चाहनेहरूका लागि उपयुक्त तथा थकान मेटाउने उचित गन्तव्य हो । सनराइज, सनसेट सहजै अवलोकन गर्न पाइने यो स्थानबाट प्राय: पर्यटक नमोबुद्ध हाइकिङ जान्छन्।

 

काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा अवस्थित भर्खरै संचालनमा आएको धुलिखेल भिलेज रिसोर्ट शान्त वातावरण, गुणस्तरीय खाना एवं मनोरञ्जनका विविध साधनले भरिपूर्ण छ । यहाँबाट हिमाली शृंखला सहजै अवलोकन गर्न सकिन्छ । नेपाली, कन्टिनेन्टल, चाइनिज, अमेरिकन, इन्डियन आदि परिकार उपलब्ध हुने यो रिसोर्टमा सेमिनार हलको समेत व्यवस्था छ । धुलिखेल भिलेज रिसोर्टका वेनकण्ठ श्रेष्ठका अनुसार आन्तरिक पर्यटकका साथै यहाँ आराम गर्न आउनेहरू पनि उत्तिकै हुन्छन् । नमोबुद्धको दूरी जम्मा १६ किलोमिटर भएकाले यहाँ आउने पर्यटक नमोबुद्ध हाइकिङ छुटाउँदैनन् ।

 

काठमाडौंबाट ४४ किलोमिटरको दूरीमा अवस्थित फूलबारी नमोबुद्ध रिसोर्ट हरियाली वातावरणमा माउन्टेन रेन्ज देख्न सकिने गरी निर्माण भएको छ । फूलबारी नमोबुद्ध रिसोर्टका सिइओ दीपक धिताल भन्छन्–विशेषत: लोकल खाना पाइने यो रिसोर्टमा मल्टी कुजिन खाना प्राप्त हुने भएकाले कामको बोझ र व्यस्तताले दिक्क भएकाहरूले यहाँ फरक स्वाद प्राप्त गर्न सक्छन् । आन्तरिक तथा बाह्य पर्यटक उत्तिकै आउने यो रिसोर्टको गुणस्तरीयता एवं कस्टमर केयरिङ सेवाका कारण ग्राहकहरू दोहोर्‍याएर पुग्छन् । यहाँको पानोरामिक भ्युका कारण ग्राहक आकर्षित छन् भने काठमाडौंबाट एकैदिनमा ओहोर–दोहोर गर्न सकिने भएकाले यहाँ ग्राहकको आवागमन बढ्दै गएको छ ।

बल्थली भिलेज रिसोर्टका आशीष हुमागाईंलाई पछिल्लो समयमा देखा परेकोपरिवर्तित जीवनशैली एवं बढ्दो व्यस्तताले गर्दा रिसोर्ट व्यवसाय फस्टाएको हो भन्ने लाग्छ । काठमाडौंभन्दा ४० किलोमिटर पूर्वमा अवस्थित बल्थली भिलेज रिसोर्ट शान्त वातावरणमा गाउँले परिवेशमा निर्माण भएको छ । लोकल खाना, हिमालको आकर्षक भ्यु, मनोरम हाइकिङ रुट यहाँका विशेषता भएको हुमागाईंले बताए।

 

सुलभ मूल्यमा गुणस्तरीय तथा स्वादिष्ट खाना पस्कने यो रिसोर्टमा बेलुका बार्बिक्युब गर्नेहरूका लागि विशेष सुविधा उपलब्ध छ । नेपाली, कन्टिनेन्टल, चाइनिज, इन्डियन आदि परिकार उपलब्ध हुने बल्थली भिलेज रिसोर्ट पुग्ने जोकोही त्यहाँको सरल गाउँले परिवेशबाट लोभिन्छन् । काठमाडौंबाट नजिकको दूरीमा अवस्थित यो रिसोर्टमा डिलक्स तथा स्ट्यान्डर्ड रुमहरू आरामदायक एवं मुडलाई रिफ्रेस पार्ने खालका छन् ।

 

पद्मज्योति होटल, नासिकास्थान साँगाका प्रदीप कार्की भन्छन्–गत वैशाखदेखि संचालनमा आएको हाम्रो होटल रेस्टुराँमा खान मन पराउनेहरूका लागि विशेष स्थान हो । काठमाडौंबाट लगभग १५ किलोमिटर पूर्वमा अवस्थित यो होटल पारिवारिक वातावरणयुक्त छ । पद्मज्योतिको विशेषता लोकल कुखुरा, ढिँडो अनि खाजासेट हो । सुलभ मूल्यमा उच्च गुणस्तरीय र हाइजिन खाना पाइने पद्मज्योतिमा आफ्नै हातले पोखरीबाट माछा मारेर ल्याई पकाएर खान पाइन्छ । सधै कोल्ड स्टोरमा फ्रिजिङ गरिएको माछा–मासु खाइरहेकाहरूले यहाँ भिन्न स्वाद प्राप्त गर्न सक्छन् ।

 

नयाँबानेश्वरबाट १० किलोमिटरको दूरीमा पर्ने नैकाप भिलेज रिसोर्टमा स्वच्छ हावापानी, प्रदूषणमुक्त, हाइकिङ, चराचुरुङ्गी सुमधुर आवाज, लालीगुराँसयुक्त हरियाली वन अवलोकन गर्न सकिन्छ । नजिकै कालु पाँडेलाई गाडिएको स्थानसमेत भ्रमण गर्न सकिने यो स्थानबाट गोर्खा जिल्लाको केही भाग पनि देखिन्छ । रिसोर्टका विष्णुप्रसाद कँडेलका अनुसार यो पिकनिक स्पट, फेमिली प्याकेज, सेमिनार–तालिम वा गोष्ठी संचालनका लागि पनि निक्कै उपयुक्त स्थल हो । लोकल कुखुरा, लोकल खसी–बोका, अर्गानिक लोकल तरकारी, फापर एवं कोदाको ढिँडो यहाँका विशेषता हुन् ।

 

यहाँ कालिज, डाँफे, ढुकुर आदि चराचुरुङ्गी सहजै देख्न पाइन्छ । नेपालकै दोस्रो ठूलो नैकाप गुम्बा दर्शन एवं अवलोकन, कन्टिनेन्टल, चाइनिज तथा नेपाली परिकारको उत्तम स्वाद नैकाप भिलेज रिसोर्टका विशेषता हुन् । कँडेल भन्छन्–निकट भविष्यमै फोर–स्टार लेबलको रिसोर्टमा परिणत हुने यो रिसोर्ट जंगलको बीचमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । जसका कारण यहाँ प्रदूषणमुक्त वातावरणमा स्वच्छ हावा तथा पर्याप्त मनोरञ्जन प्राप्त गर्न सकिन्छ ।

 

पोखराको लेकसाइडस्थित होटल एसियाका मार्केटिङ डाइरेक्टर लक्ष्मण पन्थी भन्छन्–लेकसाइडको मुटुमा अवस्थित हाम्रो होटलमा थ्रि स्टार लेवलको सुविधा छ । यहाँ ३ वटा क्याटोगोरीका स्ट्यान्डर्ड, डिलक्स तथा सुपर डिलक्स रुम उपलब्ध छन् । सेमिनार हलहरूको व्यवस्था रहेको यो होटलमा लोडसेडिङका बेला ब्याकअप बत्ती, चौबीसै घन्टा वाइफाइ तथा विद्युतीय सुविधा उपलब्ध छन् । होटल एसियामा आइएनजिओ, एनजिओहरूका सेमिनार पनि हुन्छन् । यहाँबाट सजिलै माउन्टेन तथा फेवाको लेक भ्यु देख्न सकिन्छ । शान्त वातावरण, स्वादिष्ट परिकारलगायत विशेष हस्पिटालिटीका कारण प्रख्यात यो होटलमा नेपाली, इन्डियन, कन्टिनेन्टल तथा चाइनिज परिकारहरू उपलब्ध छन् । योग, ध्यान आदिको सुविधा उपलब्ध होटल एसियामा यस्ता समूहहरू बढी पुग्छन् जो शान्त स्थानमा योग, मेडिटेसनद्वारा आफूलाई रिजुभेन्ट गर्न रुचाउँछन् ।

समय अनुकूल र एकल पारिवारिक अवस्थाका कारण नाइटस्टे जान असमर्थहरूलाई लक्षित गरी अहिले उपत्यका र आसपासका क्षेत्रमा थुप्रै त्यस्ता रेस्टुराँ खुलेका छन् जसले पारिवारिक वातावरणलाई उल्लासमय बनाइदिन्छन् । विशेषत: गुडफ्राइडे मनाउनेहरू साथीभाइ र परिवारका साथ रमाइलो गर्न यस्ता रेस्टुराँ पुग्छन् । बागबजारस्थित हवेली घरअन्तर्गत हवेली कफी सप, हवेली गजल, हवेली थकाली भान्सा छन् । हवेलीका संचालक यदु भट्टराईका अनुसार सुमधुर गजल सुन्दै उत्कृष्ट सेवाका साथ स्वादिष्ट परिकार पाइने यो रेस्टुराँ विशुद्ध पारिवारिक वातावरणयुक्त छ । मौलिक नेपाली स्वादका साथै भारतीय परिकार पाइने यो रेस्टुराँमा यथेष्ट पार्किङको सुविधा छ ।

 

नेपाली विन्ज कफीको समेत आउटलेटसमेत रहेको हवेलीले मल्टी भेराइटिज फुड एन्ड ड्रिक्ंस सर्भ गर्छ । यहाँको चित्ताकर्षक बार, सुमधुर गजल तथा पृथक् स्वादका परिकारले ग्राहकलाई आकर्षित गर्ने भट्टराइले बताए । बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयुक्त खाना एवं वातावरण यहाँको विशेषता हो । यदु भन्छन्–अहिले मानिसमा बढ्दै गएको व्यस्तता र व्यावसायिकताका कारण परिवारसँग एक दिन भए पनि गुणस्तरीय समय बिताऊँ भन्नेहरूको संख्या बढ्दैछ । यसैलाई मध्यनजर गरी एउटै छानामुनि विभिन्न स्वाद र मनोरञ्जन प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।
यही वर्ष संचालनमा आएको नीलगिरी थकाली चुल्हो सर्वाधिक रोजाइमा रहेको खाना खाने स्थान हो ।

 

मौलिक नेपाली स्वादमा थकाली थाली पस्किने नीलगिरी विशुद्ध पारिवारिक वातावरणयुक्त रेस्टुराँ हो जहाँ विकेन्डमा मात्र नभई सधैजसो भीडभाड भैरहन्छ । मौलिक थकाली खाना उपलब्ध नीलगिरीको जिम्बु झानिएको दाल, भात, तरकारी, साँधेको गुन्द्रुक, बँदेल तथा लोकल कुखुराको मासु विशेष परिकार हुन् । भर्खरै संचालनमा आएको अर्को रेस्टुराँ टिम्मुरमा नेपाली, चाइनिज, कन्टिनेन्टल आदि परिकार उपलब्ध छन् । होटल समिट नपुग्दै कुपन्डोलको उकालोमा अवस्थित टिम्मुर शान्त तथा पारिवारिक वातावरणयुक्त रेस्टुराँ हो । शुक्रबार विशेष जमघट देखिने टिम्मुर मुख्यत: साथीभाइ तथा फेमिली गेटटुगेदरका लागि उपयुक्त मानिन्छ । त्यस्तै लाबिम मलस्थित म्याङ्गो चिल्ली थाइ क्याफेमा फरक स्वाद चाख्न चाहनेहरूको जमघट हुन्छ । दाल–भात खाँदा–खाँदा दिक्क भएर केही नयाँ टेस्ट गरौं भन्नेहरू यहाँ पुग्छन् । थाइ सुप यहाँको विशेषता हो भने हरेक खानामा प्रयोग गरिने थाइ हब्र्सको स्मेलले पनि धेरैलाई आकर्षित गर्छ ।

 

त्यसैगरी टस्थिलाजिम्पात नटराज क्याफे पनि अहिले धेरैले रुचाएको स्थान हो । स्वादिष्ट खाना एवं आनन्ददायक वातावरण यहाँको विशेषता हो । नटराजमा विशेष गरी युवाहरू पुग्छन् । राम्रो ह्याङ आउट प्लेसका रूपमा आफ्नो छवि बिस्तार गरिरहेको यो रेस्टुराँ छिरेपछि विदेशको झझल्को आउँछ । प्राइम लोकेसनमा रहेको मेज रेस्टुराँ पछिल्लो क्लासका ग्राहकहरूले समय बिताउने स्थान साबित भएको छ । मेजको विशेषता भनेकै यहाँको स्वाद हो । दरबारमार्गस्थित मेजमा एकपटक खाना खाने व्यक्ति पुन: दोहोर्‍याएर पुग्ने गरेका छन् । मुडलाई रिफ्रेस गर्ने वातावरण एवं चित्ताकर्षक एम्बिएन्स यहाँका लोभलाग्दा पक्ष हुन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्