महिलाको संकल्प

नयाँ वर्षमा व्यक्त गरिने शुभकामनाका शुद्ध भाव र विचारले हाम्रो जीवनलाई पूर्णताका साथ जिउने प्रेरणा दिन्छ । हाम्रा सन्तहरूले व्यक्त गर्ने सर्तरहित प्रेमको परिभाषा महिलाले सजिलै बुझ्न र अनुभव गर्न सक्छन् । त्यसैले त महिलाले मातृत्वको गुण प्राप्त गरेका छन् किनभने एउटी आमाले आफ्ना सन्तानलाई गर्ने प्रेममा कुनै सर्त हुँदैन ।

डा.नम्रता पाण्डे

वैशाख १०, २०७४ 

नेपाली पञ्चाङ्गअनुसार २०७३ हामीलाई विभिन्न चिन्तन, सफलता, असफलता वा जीवनप्रतिका हाम्रा भावनालाई अनुभवका रूपमा सँगालेर बिदा भयो र नयाँ वर्ष २०७४ ले सबैलाई स्वागत गर्दैछ । नयाँ वर्षलाई आधार मानेर हामी अनेकौं संकल्प गर्छौं । थाहा छैन कति नयाँ वर्षहरू बिते, के–कति थिए हाम्रा संकल्प, कति हामीले पूरा गर्‍यौं वा कति गरेनौं । जुन संकल्प पूरा भएनन् ती संकल्पको बाटोमा हामी हिँडेनौं वा बीचमै छोडिदियौं । नयाँ वर्षको रौनकसँगै नयाँ संकल्प लिने र पुराना संकल्प बाँकी छन् भने त्यसलाई पूरा गर्ने चलन वा जोस सबैमा हुन्छ । त्यसैले हामी महिलाहरू पनि यो संकल्प लिन्छु भनेर उत्सुक हुन्छौं ।

 

नयाँ वर्षमा विदेश भ्रमण गर्छु, शरीरको तौल घटाउँछु, फिगर राम्रो बनाउँछु, अनुहार सुन्दर बनाउँछु भन्नेजस्ता संकल्पले मात्र महिलाको गरिमालाई पूर्णता दिँदैन । महिलाको भूमिका, गरिमा एवं कर्तव्य स्वयंका लागि, परिवारका लागि, समाजका लागि र राष्ट्रकै लागि सुखदायी, कल्याणकारी र सत्यताको मार्ग प्रशस्त गर्नमा उत्तिकै आवश्यक छ । संकल्प एउटा प्रक्रियागत एवं मानसिक उपाय हो काम सम्पन्न गर्ने ।

 

हामीले जानेर वा नजानेर, थाहा पाएर वा नपाएर गरेको संकल्पको परिणाम नै आजको हाम्रो अवस्था हो । कर्मप्रतिको उत्प्रेरणा, अभिप्रेरणा एवं मनोवैज्ञानिक इच्छाशक्ति नै संकल्प हो । संकल्प घोषणा गरेर, अरूको मद्दत मागेर पनि प्रस्तुत गर्न सकिन्छ भने मनमनै पनि संकल्प लिन सकिन्छ । एउटा काम सम्पन्न गरेरै छाड्छु भन्ने इच्छाशक्ति नै संकल्प हो । के बन्छु, कस्तो बन्छु, के गर्छु, किन गर्छु, कसरी गर्छु र केका लागि गर्छु आदि संकल्प लिएर नै हामी जीवनको यो घडीमा आइपुगेका छौँ । संकल्प सकारात्मक, नकारात्मक, राम्रा–नराम्रा, हित गर्ने–नगर्ने जुनसुकै हुन सक्छन् यद्यपि सकारात्मक संकल्पको फल राम्रै दिन्छ भने नकारात्मक संकल्पको परिणामले पश्चातापमा पुर्‍याउँछ ।

महिलाहरूले आफ्नो कर्तव्य र भूमिकाको दायरा फराकिलो बनाएर हेर्ने हो भने निम्न कुरालाई ध्यानमा राखेर दीर्घकालीन हितका निम्ति संकल्प लिनु आवश्यक छ ।

 

प्रेमपूर्ण जीवन बिताउने संकल्प

समाजमा हामीले सुन्ने गरेका छौं, जीवन आफ्नो हो जसरी बाँचे पनि हुन्छ । यो भनाइ कुनै अर्थमा त ठीक पनि हो जीवन जिउने अनेकौं उपाय छन् । फरक यति छ, हामीले सही बाटो अपनाएका छौं कि छैनौं ? क्षणिक सुखका लागि जुन कर्म गरिन्छ त्यसले जीवनको अन्त्यसम्म सुख दिन्छ कि दिँदैन हाम्रो अनुभवले पनि सिकाइसकेको हुनुपर्छ । हुन त मानिस अचम्मको प्राणी हो जसले अनुभवबाट सिक्दैन । यदि त्यसो नहुँदो हो त त्यही घटना, त्यही गल्ती बारम्बार दोहोरिँदैनथ्यो । त्यसैले सुफी सन्त रुमीले भनेका होलान्–‘जीवन जिउने र परमात्मासम्म पुग्ने बाटाहरू धेरै छन् तर मैले प्रेमको बाटो रोजें ।’

 

ओशो भन्छन्–हरेक व्यक्ति र वस्तुलाई प्रेमपूर्वक हेर्न सकियो भने त्यसमा सुख र आनन्द मात्र फेला पर्छ । बिनासर्तको प्रेमको कुरा गर्छन् ओशो पनि । प्रेमले शंकालाई विश्वासमा, निराशालाई आशामा, भयलाई साहसमा, प्रगतिलाई उत्सवमा र सन्तुष्टिलाई अहोभावमा परिवर्तन गरिदिन्छ । प्रेम यस्तो संगीत हो जुन जतिबेला पनि गुनगुनाउन सकिन्छ । प्रेम श्वासजस्तै हामीसँगै छ, जुन कसैले हामीसँग खोस्न सक्दैन, लुट्न सक्दैन जसले सारा संसारलाई नै प्रेममय बनाइदिन्छ । जहाँ प्रेम छ भगवान् त्यहीँ छन् ।

 

त्यसैले नयाँ वर्षमा व्यक्त गरिने शुभकामनाका शुद्ध भाव र विचारले हाम्रो जीवनलाई पूर्णताका साथ जिउने प्रेरणा दिन्छ । हाम्रा सन्तहरूले व्यक्त गर्ने सर्तरहित प्रेमको परिभाषा महिलाले सजिलै बुझ्न र अनुभव गर्न सक्छन् । त्यसैले त महिलाले मातृत्वको गुण प्राप्त गरेका छन् किनभने एउटी आमाले आफ्ना सन्तानलाई गर्ने प्रेममा कुनै सर्त हुँदैन ।

 

स्वस्थ रहने संकल्प

सुन्दर देखिन मन पराउनु, स्वस्थ जीवन जिउनु र आफ्ना सन्तान एवं परिवारलाई स्वस्थ देख्न चाहनु सबै महिलाको प्राकृतिक स्वभाव हो । हुन पनि जीवनमा धेरै दु:ख र संघर्ष गरेर धन कमाइन्छ, पद–सम्मान आर्जन गरिन्छ तर स्वास्थ्य ठीक भएन र ठीक तरिकाले आर्जन गरेका ती चीजहरू उपयोग गर्न पाइएन भने कसका लागि ती सब आर्जन ? स्वास्थ्य ठीक भएन भने आत्मसम्मान पनि त मिल्दैन । के हो त स्वास्थ्य ? विश्व स्वास्थ्य संगठनले मानिस शारीरिक, मानसिक, सामाजिक एवं आध्यात्मिक रूपले स्वस्थ छ भने मात्र ऊ स्वस्थ व्यक्ति कहलाउँछ भनेर परिभाषित गरेको छ ।

 

साधारण मानिसले भन्दा बढी रोगहरूलाई जितेको, रोग लागेर मृत्यु नजिक पुगेको र पनि बाँच्न सफल भएको व्यक्तिले साँचो अर्थमा बताइदिन्छ स्वास्थ्य के हो भन्ने कुरा । मेडिकल डाक्टरले पनि रोग के हो भन्न सक्छन् तर स्वास्थ्य के हो भन्न गार्‍हो हुन्छ । किनभने बिरामीको अनुपस्थिति नै स्वास्थ्य हो । जब बिरामी भइन्छ तब स्वास्थ्य खोज्न थाल्ने हाम्रो चलन छ । जब असहजता, प्रतिकूलता एवं पीडाको अनुभूति हुन थाल्छ तब शारीरिक, मानसिक, सामाजिक वा आध्यात्मिक रूपमा मानिसमा बिरामीका लक्षण देखिन थाल्छन् ।

 

बिरामी हुन कुनै ठूलो रोग लागिरहनुपर्दैन । हामी बाहिरबाट जति स्वस्थ र स्फुर्त देखिन्छौं भित्रबाट त्यत्तिकै खोक्रो, रित्तो पनि छौं । हामी बाहिर विभिन्न आडम्बरका बलमा स्वस्थ देखिने प्रयास गर्छौं तर भित्रभित्रै केही कमी, कुनै अभाव महसुस गरिरहेका हुन्छौं । ध्यान, साधना र आफूभित्र हेर्ने कलाको विकास हुँदै गयो भने त्यस्तो कमी पत्ता लाग्छ । आध्यात्मिक स्वभावले प्रस्फुटन हुन पाएन भने बाहिरी सम्पन्नताले पनि मानिसलाई खोक्रो तुल्याउँछ । त्यो अभावको महसुस नै एउटा रोग हो । अभावरहित एवं भावपूर्ण व्यक्ति नै स्वस्थ व्यक्ति कहलाउँछ । सरसर्ती हेर्दा खानपान, आराम, वातावरण, सुख, सन्तुष्टिजस्ता कुरामा तालमेल नमिल्दा अस्वस्थ भइन्छ । सकारात्मक सोच एवं शान्तिपूर्वक जिउनु नै हाम्रो जीवनको सफलता हो । यी कुराहरूमा सन्तुलन भएन भने हामीलाई सुख– शान्ति हुँदैन ।

 

सम्बन्ध र परिवारलाई खुसी राख्ने संकल्प

 एउटी महिला आफ्नो सम्बन्धलाई प्रेमपूर्ण बनाउन सधैं लागिपरेकी हुन्छिन् । राम्रो सम्बन्ध राख्न जान्नेले सबैको सहयोग प्राप्त गर्छ । उसको जीवनमा खुसी नै खुसी छाएको हुन्छ भने जसले सम्बन्ध राम्रो बनाउन सकेको छैन उसको जीवन दु:खी र तनावपूर्ण हुन्छ । काम र परिश्रम अनि मानपदवी र इज्जत एकातिर भए पनि घरभित्र परिवारसँगको सुखद् सम्बन्ध र घरबाहिरका नाताकुटुम्ब, साथीभाइ अनि कार्यालयका साथीभाइ, कर्मचारी एवं व्यापार–व्यवसायदेखि लिएर जहाँ–जहाँ हाम्रो सम्बन्ध जोडिएको हुन्छ ती सबै सम्बन्ध राम्रो राख्न सकिएन भने भित्रबाट दु:खको अनुभूति हुन्छ ।

 

कसैले कस्तो व्यवहार गर्छ, कस्तो धारणा बनाउँछ त्यो अरूकै कुरा भयो । हामीले हाम्रा सम्बन्धहरू कसरी कायम गरेका छौं त्यसको जिम्मेवारी मात्र हाम्रो हो । घरमा श्रीमान्को भावना बुझेर कसरी मिठासपूर्ण सम्बन्ध राख्ने, वृद्ध आमा–बुवा र दाजुभाइ अनि दिदीबहिनीप्रतिको भूमिका, किशोरावस्थाका छोराछोरीसँग कसरी सुमधुर सम्बन्ध कायम राख्ने कला जान्नु सुमधुर सम्बन्धका लागि अति आवश्यक छ । हाम्रा कतिपय सम्बन्धका बारेमा हामीलाई नै जानकारी हुँदैन । अदृश्य रूपमा त्यस्ता सम्बन्धले हामीलाई सहयोग पुर्‍याइरहेका पनि हुन्छन् । देखिने–नदेखिने, भोगिने–नभोगिने तर हामीलाई सहयोग पुर्‍याइरहने ती सम्बन्धहरूप्रति धन्यवाद पनि प्रकट गरिरहनुपर्छ ।

 

पूर्णरूपमा जीवन जिउने संकल्प

हरेक महिलामा राम्रो करेसाबारी वा फूलबारीको चाहना हुन्छ किनभने एउटा फक्रिएको फूल देख्नासाथ त्यसको सुन्दरताले हामीलाई आकर्षित गर्छ । त्यसको रंग र सुन्दरताले खिचेर एकछिन हामी आफूलाई सुन्दर फूल नै अनुभव गर्छौं । हामीले झट्ट देख्ने त्यो बाहिरी सुन्दरताले त हामीलाई आकर्षित गर्छ भने त्यसको नदेखिने पक्ष गहिराइमा गएर मात्र अनुभूति गर्न सकिन्छ्र । एक क्षण आकर्षण गर्ने सुगन्ध र त्यसभित्र सुगन्ध छ भन्ने बोध गर्न सक्नु बिल्कुल फरक कुरा हुन्, जीवनलाई पनि झट्ट देख्दा गरिने मूल्यांकन र गहिराइमा जीवनको रस पिउनु, जिउनु अर्थात् आफू हुनुको बोध गर्नु एवं जीवनको लयमा रमाउन सक्नु नै समग्रतामा जीवन जिउने कला जान्नु हो ।

 

हामीले देख्ने जीवनका बाहिरी अर्थभन्दा लयबद्ध र सन्तुलित छ जीवन । कुनै एक चीजमा सफलता देख्नु र त्यसका लागि मरिमेट्नु भन्दा पनि जीवनका सबै पक्ष धन, परिवार, प्रेम, सम्बन्ध, नोकरी, अध्यात्म, शान्ति र आनन्दसँगसँगै प्राप्त गर्न सक्नुमै जीवनको अर्थ खुल्छ । एउटा कुरा प्राप्त गर्‍यो अर्को बिग्रिरहेको छ भने त्यो सफलताले सुख दिँदैन भने एकपछि अर्को गर्दै खोजिने सफलताहरू पनि मृगतृष्णा सरह हुन्छन् ।

 

केही प्राप्त हुँदा जीवनका सारा खुसी र सफलता यही नै हो, मेरो कर्मको फल मैले प्राप्त गरेजस्तो लाग्छ तर त्यो सम्मान र खुसीले दिने असर केही क्षण, दिन, महिना वा वर्ष रहला, दीर्घकालीन हुँदैन । सम्मानभन्दा माथि उठेर आत्मसम्मान मिल्ने कर्मले मात्र सदा आनन्द एवं खुसी प्रदान गर्छ । त्यसैले महिलाहरूले आत्मसम्मान मिल्ने कर्म गर्ने संकल्प गरौं ।

 

दैनिक एक घन्टा ध्यान गर्ने संकल्प

 महिलाहरूको मन स्वाभाविक रूपमा चञ्चल हुने, परिवार एवं छोराछोरीको चिन्ता हुने तथा सानो कुराले पनि विचलित हुने खालको हुन्छ । मन विचलित हुँदा चित्त बहिर्मुखी भएर हामी स्व–केन्द्रबाट धेरै टाढा पुगेका हुन्छौं । मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र अशान्त बनाउँछ । ध्यानले स्व–केन्द्रमा फर्काई मन र ह्दयलाई स्थायी रूपमा शान्त र सहज बनाउँछ । ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो जहाँ शरीर, मन र ह्दय एक गहन विश्रामपूर्ण, सरल र स्वाभाविक अवस्थामा रहन्छन् । ध्यानस्थ अवस्थामा हामी आफैभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने तथा एकाकार भै स्वस्थ, सफल एवं मस्त जीवन जिउने सूत्र प्राप्त गर्छौं । त्यसैले समयलाई व्यवस्थित गरेर २३ घन्टा परिवार, सन्तान, नोकरी तथा घरलाई सुम्पिए पनि दैनिक १ घन्टा ध्यानका लागि छुट्याउने संकल्प गरौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्