व्यवसायिक नृत्याङ्गनाभन्दा कम नदेखिने बौद्धिक अपाङ्ग रीता

नारी संवाददाता

वैशाख ६, २०७४  

स्टेजमा नाच्न जाँदा व्यवसायिक नृत्याङ्गनाभन्दा कम नदेखिने रीता बौद्धिक अपाङ्ग युवती हुन् । कमजोर खुट्टा, लुला हात तथा अस्पष्ट बोलीकी रीता सानैदेखि गीत–संगीतमा जिउ हल्लाउँथिन् । आमाबुवालाई आफ्नी अपाङ्ग छोरीले के गर्ली भन्ने चिन्ता थियो । उनीहरूले रीतालाई निर्मल बाल विकास केन्द्रमा भर्ना गरिदिए । त्यहाँ गएपछि गीत, नृत्य एवं खेलकुदमा उनको रुचि देखेर सबै दङ्ग पर्थे । आमासँग सांस्कृतिक कार्यक्रम हेर्न जाँदा आमाको हात फुस्काएर स्टेजमा नाच्न गएपछि उनमा नृत्यप्रति विशेष रुचि भएको अभिभावकहरूले थाहा पाए । रीता १२–१३ वर्षकी भएपछि मात्र हल्का बोल्न थालेकी हुन् । अहिले पनि उनले बोलेको बुझिँदैन, उनको हाउभाउले थाहा पाउनुपर्छ ।

 

यद्यपि उनी नर्मल व्यक्तिझैं सुन्दर तालमा नाच्छिन् । उनले चीन, जापान, भारत आदि देश समेत गरि ५०–६० वटा स्टेजमा आफ्नो नृत्य कलाप्रर्दशन गरि सकेकी छिन् । केही वर्षअघि आफ्नो एकल नृत्य कार्यक्रम प्रस्तुत गरिसकेकी रीताले केही समयअघि बौद्धिक अपाङ्गहरूको नृत्य प्रतियोगितामा पहिलो स्थान हासिल गरेकी थिइन् । ३४ वर्षकी रीता शास्त्रीय, चर्या, कुमारी, लोक, आधुनिक आदि गीतमा नृत्य गर्छिन् । घरमा जोकोही आउँदा पनि आफ्नै बौद्धिक अपाङ्ग सन्तान भएकोमा रीतालाई कुनै दु:खको अनुभव हुँदैन । छोरीकै देखभालमा व्यस्त आमालाई भने उमेर बढ्दै गएपछि छोरीलाई गार्‍हो हुन्छ कि भन्ने डर छ । रीता अहिले सीबीआरबाट साथीहरूसँग मिलेर आलु चिप्स, निम्की आदि बनाएर, प्याकिङ गरी आफै आयआर्जन गर्छिन् । उनी आफूले केही गर्न सक्छु भनेर लाग्नुपर्ने बताउँछिन् । उनकी आमाको पनि त्यही अनुभव छ, सन्तान शारीरिक रूपमा अशक्त जन्मिए पनि दु:खी भएर होइन उनीहरूको चाहना बुझी माया गरेर हौसला दिनुपर्छ–उनकी आमा रविलक्ष्मी दुवाल भन्छिन् ।

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्