विद्युतीय अपराध र महिला हिंसा

मीना मरासिनी

वैशाख ४, २०७४  

सामान्यत: कम्प्युटर तथा इन्टरनेट प्रयोग गरी हुने आपराधिक क्रियाकलाप नै साइबर अपराध हो । नेपालको विद्युतीय कारोबार ऐन २०६३ ले कम्प्युटर इन्टरनेटलगायतका विद्युतीय संचार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्नेजस्ता कामलाई विद्युतीय कसुर भनी परिभाषित गरेको छ । हामीकहाँ कानुनी रूपमा साइबर अपराधको कतै परिभाषा नदिइएको भए पनि सोही ऐनमा विद्युतीय कसुर भनी परिभाषित विषयहरूलाई नै साइबर अपराधका रूपमा लिन सकिन्छ ।

 

साइबर अपराध तथा महिलाको पीडासम्बन्धी एक अन्तर्राष्ट्रिय प्रतिवेदनको परिभाषा हेर्ने हो भने व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउन तथा शारीरिक एवं मानसिक रूपमा आघात गर्ने प्रत्यक्ष वा परोक्ष रूपमा आपराधिक मनसायले आधुनिक दूरसंचार नेटवर्कमार्फत हुने गैरकानुनी गतिविधि साइबर अपराध हुन् । यसअन्तर्गत इन्टरनेट तथा मोबाइल फोनमार्फत हुने गैरकानुनी कसुर पर्छन् । सूचना प्रविधिको बढ्दो प्रयोग तथा बिस्तारसँगै यसका नकारात्मक असरका रूपमा साइबर अपराधको जालो फैलँदै गएको पाइन्छ । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार यस्तो कम्प्युटरजन्य अपराध लागूऔषधभन्दा पनि आकर्षक आपराधिक उद्योगका रूपमा विकसित भएको छ ।

 

नेपालमा पछिल्लो समयमा साइबर अपराधका घटनामा वृद्धि हँुदै गएको पाइन्छ । इन्टरनेटको बढ्दो प्रयोग तथा खासगरी सामाजिक सञ्जाल फेसबुकको संस्कृति बढ्दै जाँदा साइबर अपराधको ग्राफ पनि उकालो लाग्दै जान थालेको छ । यस्ता इन्टरनेटजन्य अपराधमा युवाहरू बढी संलग्न हुने गरेको र यौनजन्य इन्टरनेट कसुरबाट महिलाहरू बढी मात्रामा पीडित भएको पाइएको छ । अश्लील तस्बिर खिचेर फेसबुकलगायतका साइटमा अपलोड गर्ने, अश्लील भिडियो खिचेर युट्युबमा अपलोड गर्ने, अश्लील सामग्रीहरू इन्टरनेटमा सार्वजनिक गर्ने धम्की दिएर ब्ल्याकमेलिङ गर्ने, मोबाइलमा अश्लील सन्देश तथा तस्बिर पठाउने, सामाजिक सञ्जालमा अश्लील सामग्रीहरू ट्याग गर्ने, अरूको इमेल वा अन्य इन्टरनेट अकाउन्ट ह्याक गरी अश्लील सामग्री पोस्ट गरिदिने, विभिन्न ब्लग तथा साइटहरूमा अश्लील तस्बिर तथा समाचार प्रकाशन गरी चरित्र हत्या गर्ने घटनाहरू पछिल्लो समयमा बढेको देखिन्छ।

 

अपराधीहरूका लागि अहिले इन्टरनेट सजिलो माध्यम भैरहेको छ । गाउँ–सहर सबैतिरका युवायुवतीमा अहिले फेसबुक संस्कृति झाँगिएको छ । फेसबुकको प्रयोग, सावधानी, शेयर गर्न नहुने कुरा, ट्याग गर्दा ध्यान दिनुपर्ने कुरा, यसका जोखिम जस्ता विषयमा धेरै युवायुवती अनभिज्ञ छन् तसर्थ इन्टरनेटको दुरुपयोग बढिरहेको छ । यसलाई आपराधिक मनोवृत्ति भएकाहरूले स्वार्थसिद्धिको माध्यम बनाइरहेका छन् । यसबाट पीडित हुनेमा किशोरी तथा युवतीहरू बढी छन् । उनीहरू आफ्नै प्रेमी, विश्वास गरेकै साथी वा कुनै अपरिचित व्यक्तिबाट अपराधको सिकार बनाइन्छन् । आफ्नै प्रेमीले कुनै अन्तरंग क्षणका तस्बिर वा भिडियो थाहा दिएर वा नदिई खिच्ने र त्यसलाई पछि स्वार्थसिद्धिका लागि प्रयोग गर्ने गरेको पाइन्छ । कतिपय अल्लारे किशोरहरूले त्यसलाई आफ्नो प्रेम सफल बनाउने अस्त्रका रूपमा समेत गलत प्रयोग गर्ने गरेका छन् । कतिपय अपराधीले त्यसलाई फिरौती असुल गर्ने माध्यमका रूपमा समेत प्रयोग गर्छन् ।

 

यस्ता अश्लील सामग्री सार्वजनिक गरिदिने धम्की दिँदै महिलामाथि यौन शोषणसमेत हुने गरेको पाइन्छ । फोटोसपमार्फत अर्कै महिलाको निर्वस्त्र शरीरमा टाउको मात्र जोडेर अश्लील तस्बिर तयार गरी त्यसलाई समेत धम्की तथा जबर्जस्तीको अस्त्रसमेत बनाइएको पाइएको छ । अश्लील इमेल पठाउने, फेसबुक वालमा अश्लील कमेन्ट गर्ने, अश्लील तस्बिर तथा लिंक ट्याग गर्ने क्रियाकलापमार्फत पनि महिलाहरूको इज्जत, प्रतिष्ठा एवं आत्मसम्मानमा ठेस पुर्‍याउने तथा मानसिक हिंसा गर्ने गरिएको पाइन्छ । अधिकांश अवस्थामा विभिन्न नक्कली नाममा इन्टरनेट एकाउन्ट खोली त्यसमार्फत छद्म भेषमा यस्ता आपराधिक क्रियाकलाप हुने गरेका छन् । फेसबुकमा आफ्नो अश्लील तस्बिर आएको, आफ्ना बारेमा अनर्गल कुरा, आफ्नो बेइज्जत हुने कुरा सार्वजनिक भएको जस्ता कारणले गर्दा किशोरी तथा युवतीहरूले आत्महत्या गरेका समाचारसमेत बेलाबेलामा आउँछन् ।

 

सूचना तथा संचार प्रविधि आफैमा सशक्तीकरणको साधन हो । विश्वमा सूचना तथा संचार प्रविधिकै कारण महिला सशक्तीकरण, शिक्षा एवं चेतनाको प्रसार, हिंसाविरुद्धको विश्वव्यापी सहकार्य तथा समग्रमा महिलाको जीवनस्तरमा सुधारका लागि सहजता थपिएको छ । तथापि सूचना संचार प्रविधिकै गलत प्रयोग हँुदा यो अपराधको अस्त्र बन्नुका साथै महिलामाथि हुने हिंसाको कारक तत्व समेत बनिरहेको पाइन्छ । यसले महिला हिंसाको दुस्चक्रलाई अझ जटिल तथा असाध्य बनाउँदै लगेको छ । साइबर अपराधसम्बन्धी विशिष्टीकृत कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नवीनतम कसुरलाई सम्बोधन गर्न नसक्नु तथा उक्त ऐनमा अपराधीलाई हुने सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रा कम हुनु, साइबरजन्य कसुरलाई पत्रकारिता वा पेसागत लेपन लगाउने प्रयास हुनु, अनलाइन पत्रकारितासम्बन्धी आचारसंहिता बन्न नसक्नु, विभिन्न खालका वेबसाइट तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सरकारले निगरानी गर्न नसक्नुले साइबर अपराधका घटना बढिरहेका छन् भने यसबाट पीडित हुने महिलाको संख्या समेत बढिरहेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्