अभिभावकत्व निर्वाहका लागि

लक्ष्मी भण्डारी थापा

वैशाख ३, २०७४  

आधुनिक एवं व्यस्त जमानामा बालबाबालिका सम्हाल्न र उनीहरूलाई उचित मार्गदर्शन दिनु गार्‍हो काम हो । तसर्थ हिजोआजका अभिभावकका लागि बालबालिकाको रेखदेख एक ठूलो चुनौती बनेको छ । अहिलेका बालबालिका यति स्मार्ट बन्दै गइरहेका छन् कि उनीहरूमाथि सही निगरानी नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना ह्वात्तै बढ्छ । यस्तो अवस्थामा उनीहरूको मनोविज्ञान बुझी सोहीअनुरूप व्यवहार गर्नु सचेत अभिभावकको दायित्व हो । 

 

बालबालिकालाई हरेक कुरामा रोकतोक गर्नुहुँदैन । उनीहरूलाई केही कुरा सम्झाउनुपर्ने नै छ भने एकान्तमा प्रेमपूर्वक सम्झाउनुपर्छ । उनीहरूलाई साथीभाइका अगाडि गाली गर्ने, कराउने, झपार्ने काम गर्दा उनीहरू अटेरी त हुन्छन् नै उनीहरूमा अभिभावकप्रतिको प्रेम र सम्मान घट्दै जान्छ । 
बालबालिकालाई बाल्यकालदेखि नै धन्यवाद र माफीका बारेमा राम्रोसँग बुझाउनुपर्छ । घरमा आएका पाहुनालाई यथोचित सम्मान गर्न सिकाउनुपर्छ । उनीहरूमा सही आचरणको बिरुवा बाल्यकालदेखि नै रोप्नुपर्छ । यसका लागि उनीहरूले कुनै काममा सहयोग गरे धन्यवाद दिन तथा गल्ती भए माफी माग्न सिकाउनुपर्छ ।

 

  • कहिलेकाहीँ बालबालिकाको जिद्दीलाई पनि बुझिदिने प्रयास गर्नुपर्छ । उसको जिद्दीलाई उसको स्वभाव नसम्झी बालसुलभताका रूपमा बुझ्नुपर्छ । अभिभावकले होसियारी पूर्वक सम्हाल्न सके उनीहरूको यो स्वभावमा क्रमिक रूपमा कमी आउँछ ।
  • आफ्ना बालबालिकालाई कहिलेकाहीँ बोल्ने मौका दिनुपर्छ र उनीहरूका कुरा ध्यानपूर्वक सुनिदिनुपर्छ । आम नेपाली परिवारमा अभिभावक बोल्ने बालबालिका सुन्ने चलन छ तर ठूला मान्छेले पनि बालबालिकाका कुरा सुनिदिनुपर्छ । बालमनोनिज्ञानका अनुसार बालबालिकाले स्वतन्त्रतापूर्वक आफ्ना कुरा राख्न पाए भने र अभिभावकले सुनिदिए भने उनीहरूलाई सही दिशानिर्देश गर्न सकिन्छ ।
  • हिजोआज अभिभावक र बालबालिकाका बीचको दूरी त्यति लामो छैन । उनीहरूको सम्बन्ध साथीको जस्तै भैसकेको छ तर यस्तो अवस्थामा एक निश्चित सीमा निर्धारण गर्नु आवश्यक हुन्छ । आफ्नो अभिभावकत्व सुरक्षित राख्नुपर्छ ।
  • अर्काका बालबालिकासँग आफ्ना बालबालिकाको तुलना गर्नुहुँदैन । यसले बालबालिकामा बडप्पन वा त्रासको भावना उत्पन्न हुँदै जान्छ । यसका अतिरिक्त स्कुलमा धेरै अंक ल्याउने विद्यार्थीसँग आफ्ना बालबालिकाको तुलना गर्नुहुँदैन । हरेक बालबालिका व्यक्तिगत रूपमा फरक हुन्छन् । उनीहरूको क्षमतामाथि हौसला दिनु अभिभावकको कर्तव्य हो ।
  • बालबालिकालाई जिम्मेवार र अनुशासित बनाउन सर्वप्रथम आफू अनुशासित बन्नुपर्छ । अभिभावकको लापरबाहीको असर बालबालिकामा छिट्टै पर्छ र उनीहरू आफ्नो मनोमानी गर्दै जान्छन् ।
  • बालबालिकालाई आफ्नो पारिवारिक झगडा र मनमुटावको हिस्सा बनाउनुहँुदैन । उनीहरूका अगाडि पारिवारिक राजनीति, झैझगडा र मनमुटावका बारेमा पनि चर्चा गर्नु हुँदैन । यसले बालबालिकाको दिमागमा नकारात्मक असर पर्नसक्छ ।
  • बालबालिकासँग बढी अपेक्षा गर्नुहुँदैन । प्राय: अभिभावक आफ्ना अधूरा महत्वाकांक्षा तथा पूरा हुन नसकेका सपनाहरू आफ्ना बालबालिकामा लाद्न खोज्छन् । यसले बालबालिका कुण्ठित हुँदै जान्छन् र आफूभित्रैका इच्छाहरू पनि मार्न थाल्छन् ।
  • बालबालिकाका अगाडि कसैलाई गाली गर्न वा अपशब्दले भरिएका भाषा प्रयोग गर्नुहुँदैन । उनीहरूका अगाडि झूटो पनि बोल्नुहुँदैन ।
  • आफ्ना बालबालिकाका लागि समय निकाल्नुपर्छ, उनीहरूको माग र आवश्यकताका बारेमा गम्भीर भएर सोच्नुपर्छ । बालबालिकाको दिनचर्या र उनीहरूको व्यक्तिगत विकासमा सामेल हुनु सम्पूर्ण विकासमा रेखदेख गर्नु हो ।
  • कुनै पारिवारिक जमघट, विवाह, व्रतबन्ध, पास्नीलगायतका कार्यक्रममा बालबालिकालाई सँगै लानुपर्छ । यसले बालबालिकालाई सामाजिक हुन सघाउनुका साथै आफ्ना रीतिरिवाज र परम्पराका बारेमा पनि थुप्रै जानकारी मिल्छ ।
  • बालबालिकाको मनभित्र कुनै जिज्ञासा वा प्रश्न छ भने हप्काएर चुप लाग्ने वातावरण बनाउनुहँुदैन । समझदारीपूर्वक उनीहरूको प्रश्नको उत्तर दिएर उनीहरूको मन शान्त बनाउने प्रयास गर्नुपर्छ ।
  • कतिपय अभिभावक आफ्ना बालबालिकालाई यति धेरै स्वतन्त्रता दिन्छन् कि उनीहरू लापरबाह बन्दै जान्छन् । कुनै प्रकारको सीमा र अंकुश नलगाउँदा बालबालिकाहरू बिग्रने डर हुन्छ । तसर्थ निश्चित कुरामा धेरै विचार पुर्‍याउनु जरुरी हुन्छ ।
  • बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउनुपर्छ । कतिपय अभिभावकले आफ्ना बालबालिकालाई यति धेरै माया गर्छन् त्यसले बालबालिकालाई परनिर्भर बनाइदिन्छ । बालबालिकाले बिगारेका खेलौना, भुइँमा छरेको कलर पेन्सिल, छरपष्ट पारेका खेल्ने वस्तहरू उनीहरू आफैंलाई मिलाउन दिनुपर्छ । उनीहरूका हातबाट कुनै वस्तु भुइँमा खस्यो भने उनीहरूले आफैं उठाएर सफा गर्न सक्नुपर्छ । त्यसो गर्दा उनीहरू बाल्यकालदेखि नै आत्मनिर्भर हुनथाल्छन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्