Teej banner

मनको बाघ

बेलुका खाना खाइसकेपछि उनले श्रीमती र दुवै छोरालाई बोलाएर अंशबन्डाको प्रस्ताव राखे । एक्कासि बुवाबाट यस्तो प्रस्ताव आएको देखेर दुवै छोरा अवाक् भए । दुवैले एकै स्वरले अस्वीकार गरेको सुनेर बुवाले शान्त भएर भने अब यो घरमा शान्ति कायम राख्नु छ भने यो भन्दा अर्को विकल्प छैन ।

रेवा दाहाल घिमिरे

चैत्र २२, २०७३ 

ए दिदी, तुरुन्त मलाई खाना ठीक पारिदिनुस् त,’ पल्लो घरकी कान्छी बुहारी अञ्जलीले जेठानी रमालाई आदेश दिँदै भनेको सुनियो । हाम्रै बारीमा घाँस काटिरहेकी रमा देउरानीको उर्दी सुन्नासाथ खाना पाकिसकेकाले एकैछिन बारीमा पसेको, लुगा लगाएर तल झर्दासम्म खाना तयार भैसक्ने भन्दै काटेको घाँस बोकेर हस्याङ–फस्याङ गर्दै बारीबाट निस्किइन् । रमा पल्लो घरकी जेठी बुहारी हुन्, उनका श्रीमान् मोहन सरल स्वभावका छन् । पढे–लेखेका भए पनि बुवाले जेठोबाठोले घर सम्हाल्नुपर्छ भन्दै जागिर खान नदिएपछि उनले बुवाले गरिआएको खेतीपातीको काम सम्हालेका छन् ।

 

मोहनले खेतीपाती हेर्न थालेदेखि नै उनीहरूको बन्दोबस्त पनि राम्रो हँुदै गएको हो । खानलाई धौ–धौ पर्ने त्यो परिवारले पछिल्लो समयमा कृषिबाट नै राम्रो आम्दानी गर्न थालेकाले पोहोर साल ऋण सापटी नै नलिई एकै वर्षमा कान्छो छोरा तथा एक मात्र छोरीको विवाह धुमधामसँग गरेका थिए । कान्छो छोरा सुशील भने गाउँकै हेल्थपोस्टमा बिरामी हेर्ने काम गर्छन् भने उनकी श्रीमती अञ्जलीले गाउँकै स्कूलमा पढाउँछिन् ।

 

बूढाबूढी दुवै जनाको स्वभाव सार्‍है असल तथा सहयोगी भएकाले स्कूलको संचालक समितिले सहरबाट आइ.ए. पास गरेकी उनीहरूकी कान्छी बुहारीलाई शिक्षकमा भर्ना गरेको हो । विवाह गरेर आउँदा मिजासिली अञ्जलीको स्वभाव स्कूलमा नियुक्त भएदेखि परिवर्तित भएको देखिन्छ । जेठानी रमालाई आफ्नै दिदीलाई जस्तो माया तथा इज्जत गर्नुका साथै मिलेसम्म उनी रमालाई कुनै काम गर्न दिन्थिनन् र सासूले पनि यति दिन तिमीले गर्‍यौ अब अञ्जलीलाई गर्न देऊ भन्थिन् तर रमा काम नगरी किन बस्न सक्थिन् र ? उनी हरेक काममा अञ्जलीलाई सघाइरहेकी हुन्थिन् । उनीहरू देउरानी–जेठानी होइन दिदीबहिनीझैं लाग्थे ।

 

विवाह हुनुभन्दा केही महिनाअघि मात्र हेल्थपोस्टमा जागिरे भएका सुशील पनि त्यत्तिकै असल छन् । दाजु–भाउजूले गर्दा नै आफूले पढ्न पाएको उनको बुझाइ छ । हेल्थपोस्टको जागिरमा जानुअघि र जागिरे समयपछिको साँझ–बिहान पनि उनको घरमा बिरामीहरू आइरहन्छन् र पनि फुर्सद पाउनासाथ उनी दाजुलाई सघाउन पुगिहाल्छन् । आफ्नी श्रीमतीको पछिल्लो व्यवहारबाट उनी पनि खुसी छैनन् । आफ्नै घरमा उनलाई असजिलो महसुस भैरहेको छ ।

 

एकपटक त उनले बुवाआमा र दाजु–भाउजूलाई राखेर अञ्जलीले भाउजू र घरप्रति गरेको व्यवहार आफूलाई सह्य हुन छाडेको बताएका थिए तर मोहन र रमाले नै यसमा दु:खी नहुन र केही दिनमा सबै ठीक हुन्छ भन्दै सुशीललाई शान्त पारेका थिए । उता अञ्जलीको व्यवहार भने दिन प्रतिदिन दाजु–भाउजू हुँदाहँुदै बुवाआमाप्रति पनि रुखो हुँदै गएको थियो । सुशीलले जति सम्झाउँदा पनि उनको व्यवहार स्वाभाविक हुन सकिरहेको थिएन । एकदिन दिक्क हँुदै सुशीलले शान्तसँग अञ्जलीको व्यवहारमा आएको परिवर्तनको कारण सोधे र उनको यो व्यवहारले बुवाआमा र दाजु–भाउजूभन्दा पनि उनी आफू दु:खी भएको र यस्तै भैरहे स्वयं अञ्जली पनि खुसी हुन नसक्ने बताए । 

 

सुशीलको कुरा सुनिसकेपछि अञ्जलीले पनि शान्तसँग उनको यो परिवर्तन जानाजान ल्याएको र आफूहरूको भविष्य सुरक्षित तुल्याउन चाहेको बताइन् । उनले भनिन्–अहिले हामी दुवै जना जागिरे भएका बेला आएको रकम घरका लागि खर्च गर्न थाल्यांै भने आफूहरू र आफ्ना सन्ततिले दु:ख पाउने निश्चित छ । अत: बेलैमा पैतृक सम्पत्ति अंशबन्डा गरी छुट्टै बस्नु नै आफूहरूको हितमा छ र त्यसैका लागि मैले यस्तो व्यवहार गरेकी हुँ ।’ उनले यसो भनिरहँदा उनको अनुहार चम्किलो र उत्साहित थियो भने श्रीमतीको सोच र धारणा बुझिसकेपछि सुशीलले आँखा चिम्ली ओछ्यानमा पल्टिएर आफूलाई नियन्त्रण गर्न खोजिरहेका थिए, जुन कुरा बेलाबेलामा उनको अनुहार बिग्रिएबाट प्रस्ट बुझिन्थ्यो ।

 

घर संसार राम्रोसँग बुझेका बुवाले केही दिनदेखि कान्छो छोरालाई केही कुराले सताइरहेको महसुस गरिरहेका थिए । घरपरिवारसँग घुलमिल भएर बस्न मन पराउने छोरा हिजोआज ढिला गरी घर आउने र एक्लै बसी टोलाउने उनले देखिरहेका थिए । छोरा–बुहारीको बीचमा पनि सुमधुर सम्बन्ध नभएको उनले बुझेका थिए । कान्छी बुहारीको स्वभावमा आएको परिवर्तन पनि उनलाई थाहा थियो । यस्तै अवस्था केही दिन कायम रहे घरको वातावरण नै बिग्रने कुराले उनी स्वयं पनि चिन्तित थिए तर के गर्ने भन्ने सोच्न सकिरहेका थिएनन् । 

 

पहिलेको घरको वातावरण सम्झेर उनी दङ्ग पर्थे र उही अवस्था फेरि फर्कने हो कि होइन भन्ने सम्झेर चिन्तित हुन्थे । एकदिन उनी बारीमा रहेको रुखमुनि बसेर विगत केलाइरहेका थिए । कुनै समयमा खानसमेत धौधौ थियो । जेठी बुहारी ल्याएपछि लक्ष्मी ल्याएजत्तिकै घरको अवस्था सुध्रदै गयो । कान्छो छोरा र बुहारी पनि जागिरे भएपछि त उनले अझ राम्रो दिन आउने कल्पना गरेका थिए तर किन हो कुन्नि घरको वातावरण नै बिग्रियो । यत्तिकैमा उनको मनमा केही कुरा आयो र घरायसी वातावरण बिग्रनुको कारण त्यही हो कि भन्ने उनलाई लाग्यो । कान्छी बुहारी जागिरे भएदेखि उनमा आएको परिवर्तन सम्झदै गए । उनी आफूलाई लागेको कारणले नै यो अवस्था सिर्जना भएको निष्कर्षमा पुगे । 

 

बेलुका खाना खाइसकेपछि उनले श्रीमती र दुवै छोरालाई बोलाएर अंशबन्डाको प्रस्ताव राखे । एक्कासि बुवाबाट यस्तो प्रस्ताव आएको देखेर दुवै छोरा अवाक् भए । दुवैले एकै स्वरले अस्वीकार गरेको सुनेर बुवाले शान्त भएर भने अब यो घरमा शान्ति कायम राख्नु छ भने यो भन्दा अर्को विकल्प छैन । बुवाले त्यति भनिसकेपछि जेठा छोरा मोहनले आफू जेठोबाठो भएकाले कान्छो भाइ सुशीललाई उनको कमाइले यसपटक किनेको तल्लो कान्ला खेत र दुहुनो भैंसी भाइलाई दिने कुरा गरे ।

 

त्यसबाहेक भाइलाई नै पैतृक सम्पत्ति छान्न भने र उनले छानिसकेपछि बाँकी रहेको आफूले लिने बताए । अञ्जली उनीहरूबीचको यो वार्ता आफ्नै कोठामा बसेर सुनिरहेकी थिइन् । दाइ मोहनले त्यसो भनेको सुनेर उनले आफूले अनाहकमा घरपरिवारप्रति अनावश्यक शंका गरी घरको वातावरण बिगारेको सम्झिइन् । आमाजस्तै माया गर्ने सासू र दिदीले जस्तै माया गर्ने जेठानीप्रति आफूले गरेको व्यवहारप्रति आत्मग्लानि भएर आयो । अञ्जलीका आँखा रसिला भए ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्