किशोरावस्थामा केशको हेरचाह

नारी संवाददाता

चैत्र २१, २०७३  

जानु आले, ब्युटिसियन

आधुनिक युवाहरूमा नयाँ–नयाँ हेयर स्टाइल बनाउने चाहना पाइन्छ । यसबाट उनीहरू परिवर्तनशील देखिन चाहन्छन् । टिभी च्यानल, चलचित्र तथा युट्युब आदिलाई पछ्याउँदै आफूलाई पृथक देखाउन चाहने युवा समूह बढ्दो क्रममा भएकाले अहिलेको हेयर फेसन पनि तीव्र गतिमा फस्टाउन थालेको छ । 
मल्टी कलरको प्रयोगले केशलाई नयाँ लुक दिन सहयोग गर्छ ।

 

जसअनुसार हेयर हाइलाइट वा हनी ब्लन्ड, क्यामेल हाइलाइट गरेर आकर्षक देखिन सकिन्छ । केशलाई ड्रेड लक गरेर पनि न्यू लुक प्राप्त गर्न सकिन्छ । सिंगल वा डबल पिस ड्रेड लक एक्सटेन्सन प्रयोग गरेर पनि भिन्न तथा फेसनेबल लुक्स देखिन्छ । आफूलाई टिपिकल भन्दा क्याजुअल लुक्समै रुचाउनेहरूका लागि ड्रेड लक पनि उपयुक्त हुन्छ । फिचरर्ड हेयर, लेयर हेयर, बब हेयर स्टाइलले पनि टिनएजरलाई भिन्न तथा सुन्दर देखाउँछ । अहिले धेरै हेयर स्टाइल फेसनमा भए पनि नेपाली युवाहरूमाझ क्राउन ब्रेड, फ्रेन्च ब्रेड, हेयर ब्यान्ड ब्रेडजस्ता विभिन्न किसिमका ब्रेड लोकप्रिय छन् ।

 

साइड पोनी टेल्स, हाई पोनी टेल्स पनि चलेका स्टाइल हुन् । टिनएजरहरूले विभिन्न प्रकारका बन पनि बनाउँछन् । मेसी बनले टिनएजरहरूलाई विशेष देखाउँछ भने दुनोट बन, हाइलाइट पोनिटेल विथ पफ हेयर स्टाइल पनि राम्रो देखिन्छ । फिंगर वेभ, वेभी हेयर स्टाइल, रफ हेयर स्टाइलले पनि टिनएजरहरूलाई छिटो–छरितो एवं सुन्दर देखिन सहयोग गर्छ ।

 

हेयर केयर 

  • हप्ताको दुई पटक डिप कन्डिसनिङ गर्नुपर्छ । आधा कप मायोनिजमा १ चम्चा ओलिभ आयल तथा १ चम्चा क्यास्ट्रोल आयल मिश्रण गरी डिप कन्डिसनरका रूपमा प्रयोग गर्ने । त्यसका साथै एलोबेरा जेल, ओलिभ आयल, भेनेगर तथा नरिवल पानी हालेर तयार पारिएको मिश्रण पनि प्रयोग गर्न सकिन्छ । 
  • केश फुल्ने समस्या छ भने केमिकलयुक्त कलर प्रयोग नगर्ने । बरु त्यस्तो केशका लागि मेहन्दी र अमला पाउडरको पेस्ट प्रयोग गर्नुपर्छ । 
  • चायाँको समस्या छ भने काँक्राको रसमा बराबर मात्रामा कागतीको रस तथा एन्टी डेन्ड्रफ स्याम्पु मिसाई तयार पारिएको पेस्टले हल्का मसाज गर्ने र २० मिनेटपछि पखाल्ने । 
  • स्वस्थ एवं सुन्दर केशका लागि नियमित सन्तुलित भोजनको प्रयोग, आन्तरिक स्वास्थ्यको हेरचाह, तनावमुक्त जीवनको त्याग गर्नुका साथै धूलो, धूवाँ एवं प्रदूषणबाट जोगिनुपर्छ । घरबाहिर निस्कँदा केशमा स्कार्फ बेर्नु उपयुक्त हुन्छ । केशलाई रबर ब्यान्डले कस्सिने गरी बाँध्नु हुँदैन ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्