बालबालिका हुर्काउन ध्यान दिनुपर्ने कुराहरू

नारी संवाददाता

चैत्र १०, २०७३

हरेक आमाबुवा आफ्ना छोराछोरीका लागि नियम बनाउनु आफ्नो कर्तव्य मान्छन् तर उनीहरू के बिर्सन्छन् भने नियम आफ्ना लागि पनि हो । बालबालिकासँग गरिने व्यवहार अनेकौं हुन्छन् । आफूले भनेको मानेनन् भने बालबालिकाहरूलाई गाली गर्ने, राम्रो काम गरे भने चकलेट, आइसक्रिम वा उनीहरूलाई मनपर्ने वस्तु दिने, बजार जाँदा वा कुनै सामान किन्न जिद्दी गर्दा पछि किनिदिन्छु भनेर झूटो बोल्ने आदि काम गरिन्छ । यसरी कहिले आफैले यो खानु हुँदैन भनिन्छ भने कहिले त्यही सामान दिएर खुसी बनाउन खोजिन्छ । पछि दिन्छु भनेर नदिएपछि बालबालिकाहरूमा पनि झूटो बोल्ने बानी पर्छ । घरमा कुरा नमान्ने, दु:ख दिने बालबालिकाहरू स्कुलमा भने अनुशासित हुनसक्छन् । कतिपय जसका साथमा बढी समय बिताउँछन् उसैले भनेको नमान्ने, दु:ख दिने काम गर्छन् । अभिभावकले अञ्जानमै गरेका गल्तीका कारण उनीहरूको बानी बिग्रिरहेको हुनसक्छ ।

 

झूटको नक्कल 

अहिले हरेक मानिस व्यस्त छन् । त्यसैले एकले अर्कासँग सजिलै झूटो बोलिरहेका हुन्छन् । फोनमा कुरा गर्दा सजिलैसँग घरमै हुँदा मिटिङमा, घरमा काम भएर अफिस नजाँदा बालबालिकाहरूकै अगाडि सन्चो नभएर नआएको भन्नेजस्ता झूट धेरैले बोलिरहेका हुन्छन् । कतिपय आमाहरू बालबालिकालाई बाबालाई नभन भनेर कुरा लुकाउन सिकाइरहेका हुन्छन् भने कतिपयले छोराछोरीलाई नै झूटो बोलाइरहेका हुन्छन् । सन्तानले आमाबुवाबाटै सत्य बोल्ने, झूटो बोल्ने वा इमान्दार हुने कुरा सिक्छन् । बालबालिकाहरूका अगाडि झूटो बोल्नु पाप हो भन्ने तर उनैका अगाडि आफैले झूटो बोल्ने हो भने उनीहरूले त्यस्ता कुरा पत्याउँदैनन् । 

 

समाजसँग घुलमिल

कतिपय बालबालिकाले साथी नै बनाउन सक्दैनन् किनभने उनीहरू साथीसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने जान्दैनन् । सामाजिकताको कमीले उनीहरू अन्य बालबालिकाले जिस्काउने पात्र बन्न पुग्छन् । त्यसैगरी बालबालिकाहरूको समस्यालाई लिएर अभिभावक सधैं स्कुल पुग्छन् भने बालबालिकाले आफै लड्न अथवा मुकाबिला गर्न कहिल्यै सिक्दैनन् । उनीहरू कुनै पनि कुरामा अभिभावककै साथ खोज्छन् । आमाबुवा नै समाजका हरेक क्रियाकलापबाट टाढा बसेका छन् भने उनीहरूका सन्तान समाजसँग घुलमिल हुन सक्दैनन् । घरमा कोही आउँदा बालबालिकाहरूलाई परिचय एवं नमस्कार गराएर बोल्ने वातावरण बनाउनुपर्छ ।

 

बाल्यावस्थामा जस्तो संस्कार सिकायो उनीहरू पछि त्यसकै अनुकरण गर्दै अघि बढ्छन् । आफूभन्दा ठूलालाई नमस्कार गरेर बोल्न र सभ्य भाषा सिकाउनुपर्छ । बालबालिकाहरूको भाषा राम्रो बनाउन अभिभावक तथा शिक्षकहरूले बालबालिकाहरूसँग तपाईं, गर्नुहोस् जस्ता आदरार्थी शब्द प्रयोग गर्नुपर्छ जसले गर्दा उनीहरूको भाषा स्वत: राम्रो बन्छ । आफ्ना बालबालिकालाई आफ्नो वस्तु अरूलाई पनि बाँड्न सिकाउनुपर्छ । उनीहरूलाई विभिन्न उदाहरण दिनुपर्छ । उनीहरूसँग गेम खेल्नुपर्छं । यसले उनीहरूमा सोच्ने तथा सिक्ने प्रवृत्तिको विकास हुन्छ । टिभी हेर्ने काम दुई घन्टामा सीमित गर्नुपर्छ । टिभीमा के भैरहेको छ त्यसका बारेमा बताउनुपर्छ ।

 

यदि शिशुले रुचि देखाए भने पुस्तक पढ्न तथा कुनै पहेली हल गर्न दिनुपर्छ । उनीहरूलाई नयाँ–नयाँ काम गर्न उत्साहित गराउँदै पर्याप्त अटेन्सन तथा सम्मान दिनुपर्छ । उनीहरूका हरेक अनुभव तथा चाहनाका बारेमा पत्ता लगाउनुपर्छ । उनीहरूले दिनभरिमा के काम गरे वा के नयाँ कुरा सिके सोध्नुपर्छ । बालबालिकालाई नयाँ काम गर्न, नयाँ अनुभव लिन र त्यसलाई विश्लेषण गर्न प्रोत्साहित गर्नुपर्छ ।

 

जीवन एक चुनौती 

चुनौतीले मानिसलाई बाँच्न सिकाउँछ । त्यसैले बालबालिकाहरूलाई पनि घरका समस्या, पैसाको महत्व, आयस्रोतदेखि हरेकको कामका बारेमा जानकारी दिनुपर्छ । जसले गर्दा बालबालिकाहरू जीवनका चुनौतीहरूका बारेमा अवगत हुन्छन् । जसले बाल्यावस्थादेखि नै पैसाको महत्व, सम्मान र जीवनको लक्ष्य थाहा पाउँछन् उनीहरू नै सफल हुन्छन् । त्यसैले उनीहरूलाई पनि परिवारको अवस्था कस्तो छ जानकारी दिनुपर्छ । त्यसपछि मात्र उनीहरू भावी जीवनका लागि तयार हुन्छन् ।

 

शिक्षा

आमाबुवाले शिक्षाको महत्व बढी बुझेका हुन्छन् । कुनै बेला बालबालिकाको शिक्षाको चिन्ताले बढी नै सताउँछ । बालबालिकाका पछाडि लागेर मात्र उनीहरूको पढाइमा सुधार आउने होइन । जबसम्म बालबालिकाकै मनमा अध्ययनसम्बन्धी चाहना उत्पन्न हुँदैन तबसम्म त्यो सम्भव हुँदैन । कहिलेकाहीँ बालबालिकाको भलाइका लागि सीधा बाटोबाट हटेर कुनै फरक निर्णय पनि लिनुपर्छ । डिग्री लिने हतार गर्नुको साटो उनीहरूको रुचि बुझ्नुपर्छ । यसले बालबालिकालाई अघि बढ्न सहयोग गर्छ । धेरै डिग्री हासिल गरेर पनि उनीहरू डिप्रेसनमा पर्न सक्छन् । सबै अभिभावकले आफ्ना बालबालिकाले धेरै पढून् र नाम कमाऊन् भन्ने चाहेका हुन्छन् तर सबै बालबालिका एकै खालका हुँदैनन् ।

 

सुरक्षाको घेरा

बालबालिकालाई सधैं सुरक्षाको घेरामा राखियो भने पनि उनीहरू आत्मनिर्भर हुन सक्दैनन् । धेरै हेरचाह गर्दा उनीहरूको निर्णय क्षमतामा प्रभाव पर्न सक्छ । त्यसपछि सानातिना कुरामा पनि आमाबुवामा निर्भर हुनपुग्छन् । बालबालिकाको सुरक्षा गर्नु वा उनीहरूको हेरचाह गर्नु अभिभावकको पहिलो काम हो तर त्यसको पनि सीमा हुन्छ । राम्रो हेरचाहका साथमा बालबालिकाहरू आत्मनिर्भर पनि हुनु उत्तिकै जरुरी छ । अभिभावकले यो अधिकार नै खोसिदिए उनीहरू कसरी अघि बढ्छन् ? त्यसैले बालबालिकाहरूलाई आफू उनीहरूका पछाडि भएको अनुभूति गराउनुपछ्र्र तर बालबालिकालाई नै अगाडि रहन दिनुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्