सुखी रहने हो भने यी कुरा अपनाऔ

नारी संवाददाता

चैत्र १०, २०७३ 

सुखका लागि सहनशीलता

सानो कुराका लागि घर छोड्नु, प्रेम वा वैवाहिक सम्बन्ध तोड्नु आवेगको परिचय हो । धेरै मानिस आफ्नो अभिमानका लागि जागिर छाड्ने मात्र होइन, अरूको प्राण लिन पनि पछि पर्दैनन् । व्यस्त जीवनशैलीका कारण धेरै मानिसमा धैर्य कम हुँदै गएको छ । हेर्दा सामान्य लाग्ने घटनाले पनि असामान्य परिस्थिति सिर्जना गर्न थालेको छ । व्ययस्क मानिसको देखासिखीमा साना बालबालिकामा समेत धैर्य र सहनशीलताको कमी देखिनु सामान्य बन्दै गएको छ । धेरैजसो व्यक्ति घर परिवारमै असहिष्णु हुँदै गएका छन् । अभिभावकका कुरा छोराछोरीले नमान्नु, दुलहीले माइतीमा कुरा उठाएर घरमा झगडा गर्नु, घरभित्रका साना कुरा पनि बाहिर सुनाउनु आदि घटना त्यसकै उदाहरण हुन् । 

 

असहनशीलताको कारण 

ग्लोबलाइजेसनका कारण धेरै कुराको अर्थ र महत्त्व परिवर्तन भएको छ । महिलाको कार्यक्षेत्र फराकिलो हुन थालेको छ । पुरुषको जिम्मेवारी पनि पहिलेको तुलनामा बढेको छ । सबैको व्यस्तता बढेका कारण परम्परागत जीवनमा परिवर्तन देखिनु स्वाभाविक हो । सबैमा कोभन्दा को कमको भावना जागृत भएको छ । महिलामा जागरूकता बढ्दो छ । महिलाहरू आफ्नो कर्तव्यका साथै अधिकारका लागि पनि सचेत हुन थालेका छन् । अर्कातर्फ विभिन्न तनावका कारण पुरुषमा धैर्यको कमी हुन थालेको छ । यी विभिन्न कारणले सबैमा सहनशीलताको कमी हँुदै गएको अनुमान गर्न सकिन्छ । 

 

सम्पन्नतामा पालन–पोषण

केही वर्षअघिसम्म घरमा बालबालिकालाई पैसाको महत्व बुझाउने प्रयास गरिन्थ्यो । एकपटक कापी, पेन्सिल बक्स, कलर बक्स, ज्यामेट्रिक बक्स आदि खरिद गरेर दिएपछि त्यसलाई लामो समयसम्म सम्हालेर राख्न सिकाइन्थ्यो । हिँजोआज बालबालिका प्रत्येक दिन केही न केही हराउँछन्, त्यसलाई अभिभावकले सामान्य रूपमा लिन्छन् । हराउनेबित्तिकै अर्को सामग्री किनिदिने चलन छ । उनीहरूले एकछिन् पनि प्रतीक्षा गर्नुपर्दैन । यसले उनीहरूमा कुनै कुरामा धैर्य गर्नु नपर्ने बानीको विकास गरेको छ । कालान्तरमा अरू कुराको पनि प्रतीक्षा गर्न नसक्ने बानीको विकास हुँदा मानिसमा धैर्य गर्न नसक्ने अवस्था हुन्छ । युवा पुस्तामा देखिएको धैर्यको अभावले पनि काम गरेको हुन सक्ने मनोवैज्ञानिकहरूको ठहर छ । सहनशीलताको कमीले गर्दा युवापुस्ताको प्रेम लामो समय नटिक्ने, सम्बन्धलाई सम्हालेर राख्ने भन्दा छुटकारा पाउने प्रवृत्ति बढी देख्न सकिन्छ ।

 

सुविधाजनक जीवन 

आर्थिक एवं वैज्ञानिक प्रगतिका कारण जीवनशैली सुविधा सम्पन्न हुँदै गएको छ । केही समयअघिसम्म अधिकांश महिलाको सम्पूर्ण दिन भान्सामा बित्थ्यो । पुरुष बाहिरी कामकाजमा सीमित हुन्थे । आज घरेलु उपकरणको उपस्थितिले घरेलु कामकाज सरल बनेको छ । इन्टरनेटले विश्वको दूरी घटाएको छ । काखे कम्प्युटर, मोबाइल फोन तथा टेलिभिजनका कारण मानिस थोरै समयमै धेरै व्यक्तिसँग भेट गर्न सक्छन् । यसले मानिसमा धैर्य गर्ने बानी हराएको छ । पहिले सानो कामका लागि ठूलो परिश्रम गर्नुपथ्र्यो । परिणामका लागि धैर्य गर्नुपथ्र्याे । आज थोरै समयमा क्षणभरमै धेरै उपलब्धि हुन थालेको छ । जीवन सहज बन्दैछ । यद्यपि यसले धैर्य र सहनशीलताबाट मानिसलाई टाढा पुर्‍याएको छ । 

 

आत्मनिर्भरता 

अधिकांश मानिस आत्मनिर्भर हुँदै गएका छन् । आत्मनिर्भरतासँगै मानिसले सम्बन्धको गरिमा पनि गुमाउँदै गएको छ । घरमा दुवैजना कमाउँछन् भने यसबाट परिवारको आर्थिक एवं मानसिक दुवै स्थिति सुदृढ रहन्छ । यो आत्मनिर्भरतालाई यदि आत्मकेन्द्रित भएर हेरिए व्यक्ति मतलबी बन्न पुग्छन् । व्यक्ति मतलवी बन्न थालेपछि उसमा फरक किसिमको स्वभाव विकसित हुनथाल्छ । यसले अरूबाट चाँडै फाइदा खोज्ने बानीको विकास भएको छ । चाँडै कुनै कुरा चाहनु अधैर्यको उदाहरण हो । 

 

महत्वाकांक्षा 

आत्मनिर्भरतासँगै मानिस बढी महत्वाकांक्षी हुन थालेको छ । निरन्तर अघि बढ्न ऊ विभिन्न विकल्पको खोजीमा हुन्छ । कुनै विकल्प भेट्नेबित्तिकै पहिले गरिरहेको कुरा छाड्ने प्रवृत्ति बढेको छ । 

बदलिँदो सामाजिक परिवेश पछिल्ला केही वर्षयता हाम्रो सामाजिक परिवेश धेरै हदसम्म बदलिएको छ । पहिले संयुक्त परिवार थियो । संयुक्त परिवारको जिम्मेवारी परिवारका सबै सदस्यमा बराबर हुन्थ्यो । आज एकल परिवारको चलन बढ्दो छ । यस्तो परिवारमा श्रीमान्–श्रीमती दुवै कामकाजी हुन थालेका छन् । घर–बच्चा र घरबाहिरको जिम्मेवारी बाँड्ने तेस्रो व्यक्ति छैन । फलस्वरूप थोरै चाहने, तर तुरुन्तै प्राप्त गर्नुपर्ने धारणाको विकास भएको छ । 

 

केही विवशता पनि 

धैर्य एवं सहनशीलताको कमीका पछाडि थुपै्र कारण हुन्छन् । केही वर्षयता पहिलेको भन्दा जीवन सहज बनेको भए पनि जीवन संघर्षपूर्ण नै छ । कतै घरमा अनुशासनहीन बाल–बालिका त कतै आफ्नो जिम्मेवारीबाट बच्न चाहने पति, कतै लापरबाह र गैरजिम्मेवार महिलाको उपस्थिति देखिन्छ । कतै शिशुको पढाइ र क्यारियरका लागि चिन्तन हुन्छ भने कतै घर र नोकरीबीच सन्तुलन बनाउन परिश्रम गर्नुपर्ने बाध्यता छ । कतै आवश्यकताभन्दा बढी काम गराउने हाकिम छन् त कतै कामचोर सहयोगी । यस्तो अवस्थामा संवेदनशील व्यक्तिले कति सहनशीलता कायम गर्न सक्छ ? यद्यपि सबैले धैर्य कम राख्ने प्रयास भने छाड्नुहुँदैन । आफूमा धैर्यको कमी हुँदै गएको महसुस भए मनोचिकित्सकसँग सम्पर्क राख्नु उपयुक्त हुन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्