आत्मविश्वास : क्यान्सरको शत्रु

भिषा काफ्ले

चैत्र १, २०७३  

डा राजेन्द्र बराल, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ

मानिसको शरीर सूक्ष्म कोषिकाको समूह मिलेर बनेको हुन्छ । ती कोषिकाहरूको अनियन्त्रित वृद्धि भएर मानिसको शरीरले रोकथाम गर्न नसक्नु नै क्यान्सर हो । यसलाई नेपालीमा अर्वुद रोग भनिन्छ । मानिसको सबै अङ्गमा कोषिकाहरू हुन्छन् जुन आवश्यकभन्दा फरक तरिकाले बढ्न गएमा क्यान्सर रोग लाग्छ । जुन अंगमा कोषिका वृद्धि भयो त्यहीँ क्यान्सर सुरु हुन्छ । फोक्सोका कोषिकाहरू अनियन्त्रित भएर बढे भने हामी फोक्सोको क्यान्सर भएको भन्छौ । तर यो नियमितभन्दा पनि कोषिका वढ्ने क्रम दुईबाट ४ चारबाट ८, ८ बाट सय हुदै लाखौ कोषिका बढ्न थाल्छन् । त्यसरी बढ्न थालेपछि सम्बन्धित मानिसको नियन्त्रण बाहिर जान्छ र क्यान्सर बन्दै जान्छ । 

 

किटाणु र भ्रम  
सामान्य रूपले हेर्दा कोषिका वढ्ने कारण शरीरमा हुने इन्फेक्सनले हो । यो किटाणुको काराणले हुने इन्फेक्सन भने होइन । जनमानसमा क्यान्सर किटाणुका कारण हुन्छ भन्ने भ्रम छ तर यस्तो रोग हो जसको कारक किटाणु हँुदैन । क्यान्सरको किटाणु हुदैन भन्यो भने धेरैले पत्याउँदैनन् । जब कि क्यान्सर प्रत्यक्ष वा अप्रत्यक्ष किटाणु पसेर लाग्ने रोग होइन । किटाणुबाट लाग्ने नभएकै कारण क्यान्सर जुठो खाँदा, अंगालो मार्दा वा सहवास गर्दा सर्दैन अर्थात् यो एउटा विरामीबाट अर्को स्वस्थ मानिसमा सर्ने सरुवा रोग होइन । 

 

धनी गरीव छुट्याउदैन
यो रोग मानिसको निश्चित ठाउँमा लाग्छ भन्ने पनि हुदैन । यो शरीरको जुनसुकै अंगमा लाग्नसक्छ । यो रोगले पुरुष वा महिला पनि छु्ट्याउदैन । गरिब र धनी पनि भन्दैन, सुगमको हो कि दुर्गमको भनेर छान्दैन अनि बालक वा वृद्ध पनि भन्दैन । यो रोग जोसुकैलाई जुनसुकै बेला लाग्नसक्छ । 
सानो उमेरमा विवाह गर्ने, उमेर नपुगी धेरै जनासंग यौनसम्पर्क गर्ने, धेरै बच्चा जन्माउने महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ । अविवाहित, ढिलो विवाह गर्ने, बच्चालाई स्तनपान नगराउनेलाई स्तन क्यान्सरको सम्भावना वढी हुन्छ । 

 

क्यान्सरका तह 
प्रथम तह 
दोस्रो तह
तेस्रो तह 
चौथो तह

 

क्यान्सरको लक्षण तह अनुसार देखिने हुदैन । जुनसुकै क्यान्सर सुरुमा लक्षण विहिन हुन्छ । यसलाई पत्ता लगाउन गाह्रो ह्ुन्छ । त्यही भएर हाम्रोमा ७५ देखी ८० प्रतिशत विरामीहरू ढिलो अवस्थामा मात्र चिकित्सककहाँ आइपुग्छन् । त्यतिबेलासम्म क्यान्सर तेस्रो वा चौथो  तहमा पुगिसकेको हुन्छ । त्यसमा पनि क्यान्सर विशेषज्ञकहाँ त अन्य स्वास्थ्य संस्थामा जाँच गरिसकेपछि झन् ढिलो गरी पुग्ने हुनाले उपचारले काम नगर्ने अवस्था आइसकेको हुन्छ । 

 

सवै प्रकारका क्यान्सरमा प्रथम चरण, दितिय चरण, तृतीय चरण, चौथो चरण र कुनै–कुनै क्यान्सरको पाँचौँ  चरण पनि हुन्छ । जति चरण ढिलो हुदै गयो उपचार हुने सम्भावना कम हुदै जान्छ । त्यसैले भन्ने गरिन्छ– ‘क्यान्सर निको हुन्छ, सुरुमा उपचार गरे ।’ हरेक क्यान्सरको चरण फरक–फरक हुन्छ त्यो कुन स्थानमा फैलिएको छ त्यसका आधारमा हुन्छ । जस्तो फोक्सोमा, मस्तिष्कमा, हातमा अन्य स्थानमा कहा फैलिएको छ त्यही अनुसार हुन्छ । त्यसका साथै कति फैलिएको छ, कति गिर्खा छन् त्यो अनुसार पनि चरण भन्ने गरिन्छ । यसको चरण पत्ता लगाउन, सिटी स्क्यान, एमआर आई, वायोप्सी रिपोर्ट, ब्लडको रिपोर्ट आदि अध्ययन गरिन्छ  तर लक्षणलाई पहिचान गर्न गाह्रो छ । 

 

लक्षण देखिनासाथ सजग भएमा पहिलो चरणमै समस्या पहिचान हुनसक्छ । अलि ढिला भयो भने उपचार गर्न गाह्रो हुन्छ । बेलैमा उपचार गर्ने भनिए पनि क्यान्सरको तह थाहा नहुनसक्छ किनभने हरेक क्यान्सरको स्टेजीङ्ग गर्ने फरक–फरक तरिका हुन्छ । 

 

क्यान्सरका सम्भावित प्राथमिक लक्षणहरू

  • हतपत निको नहुने खोकी लागेमा वा धोद्रो स्वर आएमा ।
  • कोठीको रंग र आकारमा परिर्वतन देखा परेमा 
  • स्तन वा शरीरका अन्य भगमा दुख्ने वा नदुख्ने गिर्खा आएमा 
  • निको नहुने पुरानो घाउ भएमा 
  • दिसा या दिसाको बानीमा फरक परेमा
  • कुनै पनि ठाउँबाट अत्यधिक रक्त श्राव वा पिप श्राव भएमा 
  • खाना निल्न गाह्रो भएमा वा अपच भएमा
  • विनाकारण वजन घटेमा
  • क्यान्सर रोग कसैलाई लागेमा यी आठमध्ये कुन न कुनै लक्षणहरू पक्कै देखा पर्छ । 

 

ट्युमर के हो ?
शरीरको कुनै पनि भागमा मासुको डल्ला बढ्नुलाई ट्युमर भनिन्छ । यो पनि शरीरमा कोषिका बढेर नै हुने हो । सवै ट्युमर क्यान्सर हैनन् तर सवै क्यान्सर ट्युमर हुन् । शरीरमा दुई किसिमका ट्युमर देखिन्छन् । वेनिजीन र मेलेगान्ट ट्युमर हुन्छ । यसमा वेनीजीनलाई राम्रो खालको ट्युमर भनिन्छ । यो विस्तारै शरीरको आवश्यकता अनुसार बढ्दै जान्छ ।  यो खराव क्यान्सर हैन । तर मेलेगान्ट क्यान्सर बनाउनसक्ने ट्युमर हो । यो चाडै एक ठाउबाट अर्को ठाउमा सर्छ । फैलनसक्छ । यो क्याप्सुलमा बाँधिएर बसेको हुदैन । कुन खालको ट्युमर हो भन्ने कुरा जाँच गरेपछि मात्र छुट्टिन्छन् । 

 

कारण

  • कुनै–कुनै क्यान्सर वंशाणुगत पनि हुन्छन्
  • सुर्तीजन्य पदार्थको सेवनबाट
  • मदीरापान गर्दा
  • ढुसी परेको खाना खाँदा
  • अत्यधिक नुन सेवन गर्दा
  • प्रीजरभेटीभ केमिकल हालेको खानेकुरा खाँदा
  • कुनै–कुनै क्यान्सर वंसाणुगत पनि हुन्छन् । पाठेघर तथा स्तन क्यान्सर ५ देखी १० प्रतिशतसम्म वंशाणुगत हुनसक्छ तर फोक्सोको क्यान्सर वंशाणुगत हुदैन । 
  • कुनै रेडियसनले पनि क्यान्सर ल्याएको हुन्छ । 
  • कतिपय विभिन्न क्यान्सरको बेग्लाबेग्लै कारण हुन्छन् । 

 

नेपालमा फोक्सोको क्यान्सर बढी
नेपालमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर बढी देखिएको छ । धूमपान र मद्यपानको सेवन बढी भएकाले यसो भएको हुनसक्छ । अन्य क्यान्सर भने ठाउँअनुसार फरक देखिएको छ । काठमाडौंमा पेटको क्यान्सर बढी देखिएको छ भने चितवनमा मुखको क्यान्सर बढी छ । महिलाहरूमा पाठेघरको मुखको क्यान्सर प्रमु्ख समस्या छ भने स्तन क्यान्सर दोस्रो स्थानमा छ । ४० प्रतिशत क्यान्सर रोग रोकथाम गर्न सकिन्छ । 

 

विश्व स्वास्थ्य संगठनका अनुसार खानपानमा ध्यान दिन सके र जीवनशैली बदल्ने हो भने ४० प्रतिशत क्यान्सर रोकथाम गर्न सकिन्छ । पहिला क्यान्सर लागेपछि केही उपाय छैन भन्ने चलन थियो  तर अहिले क्यान्सर लागेर उपचार गरेका ३० औ वर्षसम्म बाँचेका उदाहरण धेरै छन् । त्यसकारण यो रोगको सवैभन्दा ठूलो औषधि आत्मबल हो । आत्मबल बढी भएका विरामीलाई औषधीले काम गरेको देखिन्छ । 

यी कुरा जानीराखौँ

  • खानपानमा विचार गर्ने ।
  • शंकास्पद लक्षणहरू देखिनासाथ चिकित्सककहाँ गएर देखाउने । 
  • महिलाहरूले लाजको सामाजिक बन्धनभन्दा माथि उठेर चिकित्सकलाई देखाउने ।
  • नियमित स्वास्थ्यजाँच गराउने । 
  • क्यान्सर सरुवा रोग होइन, वेलैमा थाहा पाएर राम्रोसँग उपचार गरे निको हुन्छ ।

(भिषा काफ्लेसँगको कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्