प्रेमले बाँधिएको जोडी

सिर्जना दुवाल श्रेष्ठ

फाल्गुन १४, २०७३  

एक–अर्काको भावना, इच्छा र कामको सम्मान गर्न जानियो भने मात्र वैवाहिक सम्बन्ध दिगो रहन सक्छ भन्छिन्–सञ्चारकर्मी श्रद्धा अर्याल । श्रद्धाले आफूले सोचेजस्तै उनलाई बुझ्ने, माया गर्ने र उनको कामको सम्मान गर्ने जीवनसाथी पाएकी छिन् । पत्रकारिता पढ्ने क्रममा मास्टर पढिरहेका भाष्कर र ब्याचलर पढ्न पुगेकी श्रद्धाको भेट कलेजमै भएको हो । कक्षा फरक–फरक भए पनि क्यान्टिन तथा प्रोजेक्ट वर्कका क्रममा उनीहरूबीच भेटघाट हुन्थ्यो । हुन त श्रद्धालाई भाष्कर सुरुमै मन परिसकेका थिए । हेर्दा

 

ह्यान्डसम, स्मार्ट तथा आफूजस्तै बोलिरहनुपर्ने स्वभाव भएकाले श्रद्धाले नजादिँदो तरिकाले उनलाई आफ्नो मन दिइसकेकी थिइन् । उता भाष्कर पनि श्रद्धाको बोल्ने शैली तथा कामप्रतिको लगनबाट प्रभावित थिए । ६ महिनापछि भाष्करको कलेज सकियो तर त्यसपछिका दिनमा उनीहरूको डेटिङ चल्न थाल्यो । उनीहरूको प्रेममा कसैले प्रस्ताव गर्नै परेन । डेढ वर्षजतिको अफेयरमा उनीहरू प्राय: पार्क, रेस्टुराँ तथा रिसोर्ट पुगिरहन्थे ।

 

श्रद्धाकै भाषामा भन्ने हो भने उनीहरू घुम्न बाँकी काठमाडौंका कुनै ठाउँ रहेनन् । दुवैको जात मिले पनि श्रद्धाको घरमा विवाहका लागि मनाउन बढी नै गार्‍हो भयो । छोराहरू डाक्टर, इन्जिनियर भएकाले ज्वाईं पनि त्यस्तै हुन् भन्ने चाहना थियो घरमा । पत्रकार ज्वाइँ स्वीकार गर्न हम्मेहम्मे नै परेको थियो । त्यतिबेला भाष्कर नेसनल टेलिभिजनमा काम गर्थे तर विवाहपछि भाष्करको करियर पूर्णरूपमा बदलियो । उनले मलेसियन एम्बेसीमा काम गर्ने अवसर प्राप्त गरे ।

 

परम्परागत सोच बोकेको परिवारबाट आएकी श्रद्धालाई विवाहपछि थप स्वतन्त्रता मिलेको अनुभव हुन्छ । श्रीमतीको कार्यक्रमको पहिलो दर्शक पनि भाष्कर नै हुन् । सबैभन्दा बढी कमेन्ट पनि श्रीमान्बाटै प्राप्त गर्ने श्रद्धा श्रीमान्ले आफ्नो काममा कन्सेप्ट, सुझाव आदि दिनुका साथै ड्रेस, हेयर स्टाइलसम्ममा कमेन्ट गरी आफूलाई सुधार्ने मौका दिइरहेको बताउँछिन् । विवाह भएको ६ वर्ष पूरा भैसके पनि उनीहरू बाटोमा हिँड्दा भर्खरै अफेयर सुरु भएका जोडीजस्ता देखिन्छन् । उनीहरू आफूलाई श्रीमान्–श्रीमतीका साथमा बेस्ट फ्रेन्ड हौं भन्न पनि चुक्दैनन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्