महिला र राजनीति

कम क्षमतावान् भए पनि राजनीतिक नियुक्ति गरिने स्थानमा महिला आए । महिलाले यो अवसरलाई सही ढंगले प्रयोग गर्न सक्नुपर्छ ।

लक्ष्मी भण्डारी थापा

फाल्गुन ८, २०७३ 

रामकुमारी झाँक्री (नेतृ, नेकपा एमाले)

राजनीति न्यायोचित वितरणको सशक्त माध्यम हो । वि.सं. २०४६ पछिको पुस्ता सबैतिर राजनीतिमा देखिन्छ भने यसमा संख्यात्मक रूपमा पुरुष बढी छन् । वि.सं. २०४६ देखि लिएर ०६२–०६३ सम्म आइपुग्दा महिलाहरू राजनीतिमा कम टिकेको पाइन्छ । ४० को दशकमा राजनीतिमा क्रियाशील महिलाहरू किन टिक्न सकेनन् ? यसका धेरै कारण छन् । अवसर कम चुनौती बढी, सेवामूलक काम, प्राप्ति कम यसका केही कारण हुनसक्छन् । अर्को छुटाउनै नहुने कुरा प्राय: महिला नेतृले राजनीतिज्ञसँगै विवाह गरे । ती महिलाले आफू पछाडि हटेर राजनीतिक युद्ध मैदानमा आफ्ना श्रीमान्लाई पठाए । उनीहरू ब्याक सपोर्टका रूपमा पछाडि बसेर श्रीमान्हरूलाई अघि बढाउन प्रयत्नरत रहे ।

 

राजनीति भनेको पुरुषले अपनाउने पेसा र यसमा पुरुषले मात्र चुनौती झेल्न सक्छ भन्ने सोचका कारण विगतमा राजनीति गरेका महिलाहरू राजनीतिलाई छाडेर शिक्षण, व्यवसाय, बैंकर, सरकारी जागिरजस्ता वैकल्पिक पेसा अपनाएर घर चलाउनमै तल्लीन भए । ५० को दशक पनि यस्तै रह्यो । जब ०६२–०६३ को आन्दोलन सफल भयो त्यसपछि समावेशी र सहभागिताको कुरा आयो । यसै बखत राजनीति महिलाका लागि एउटा ठूलो अवसरका रूपमा देखा पर्‍यो । चुनौती र जोखिम कम भयो । प्रतिस्पर्धात्मक हिसाबले त उस्तै गाह्रो थियो । कारण के भने घरपरिवार, बालबच्चा, चुल्हो–चौका, घाँस–दाउरा आदि सम्हाल्न बाध्य महिलाका लागि हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्न सहज छैन ।

 

पितृसत्तात्मक सामाजिक सोच, संस्कार–रीतिरिवाज, महिला–पुरुषबीचको सामाजिक भिन्नता आदिका कारण महिलालाई कम सुनिन्छ, कम स्वीकार गरिन्छ । पितृसत्ताले ग्रसित प्रभावका कारण महिलालाई सुन्ने, स्वीकार गर्ने, उनीहरूको नेतृत्व मान्ने संस्कार नै छैन हामीमा । यिनै कारणले महिलाले राजनीति गर्ने, नेतृत्व लिने भन्ने कुरा पुरुषको तुलनामा कठिन एवं जोखिमपूर्ण देखिएको हो । 

 

०६२–०६३ पछि ३३ प्रतिशत आरक्षण, समान सहभागिता (राष्ट्रपति र उपराष्ट्रपति, सभामुख र उपसभामुख, हरेक क्षेत्रमा महिलाको अनिवार्य सहभागिता) को कुरा आयो र उक्त कुरा नयाँ संविधानमै उल्लेख गरियो । यसलाई महिलाका लागि ठूलो अवसर र उपलब्धि मान्नैपर्छ । कम क्षमतावान् भए पनि राजनीतिक नियुक्ति गरिने स्थानमा महिला आए । महिलाले यो अवसरलाई सही ढंगले प्रयोग गर्न सक्नुपर्छ । आफूमा भएको बल, बुद्धि एवं क्षमतालाई जतिसक्दो खर्चिएर आफूलाई प्रमाणित गर्न सक्नुपर्छ । यो अवसरलाई प्रमाणित गर्न खरो उत्रिनु जरुरी छ । त्यसो गरिएन र पाएको पद दुरुपयोग भयो वा असफल भइयो भने भोलिका पुस्तालाई मार पर्छ । 

 

राजनीति सजिलो छैन । धेरै काम–कुरा अर्काका लागि गर्नुपर्छ तर महिलाका लागि राजनीतिमा सहज र असहज भन्ने कुरा कुन तहको सहभागिता हो त्यसमा निर्भर रहन्छ । समावेशिता र आरक्षण तथा राजनीतिक नियुक्तिको सहभागिता हो वा प्रतिस्पर्धात्मक सहभागिता ? प्रतिस्पर्धाबाट राजनीतिमा आएका महिलाका लागि पहाडै सरहको संघर्ष छ । अहिले आएर समाज अलिकति खुकुलो भएका कारण म कहाँ जान्छु, कोसँग बोल्छु, कसलाई भेट्छु कमै चासोको विषय बन्छ । पहिलेको तुलनामा हाल आएर अन्य क्षेत्रमा जस्तै महिलालाई राजनीति गर्न थोरै भए पनि सजिलो भएको छ ।

 

जनयुद्धका बेला रातभरि जंगल नहिँडेका पनि होइनन् महिला, हिजो कठिन काँडाघारीको यात्रा आज कतिपय स्थानमा सहभागिताका कारण दु:खका दिन बिर्सने औषधि बनेको छ । विवाहपछि राजनीति रोकिने वा अझै अघि बढ्ने भन्ने प्रश्न कुन सन्दर्भमा कुन स्थानमा रहेका र कसरी त्यहाँ पुगेका महिला हुन् भन्ने कुरामा निर्भर रहन्छ । ३३ प्रतिशत कोटा वा सहभागिताका आधारमा श्रीमती सभासद भइन् भने श्रीमान् घर सम्हालेर, बालबच्चा हेरेर बस्न तयार हुन्छन् ।

 

यसबाट आर्थिक, सामाजिक प्रतिष्ठा, शक्तिजस्ता कुरा प्राप्त हुने भएपछि सम्झौताहीन सहयोग प्राप्त हुन्छ तर जतिबेला राजनीति सामाजिक कार्यमा मात्र सीमित रहन्छ त्यतिबेला महिलालाई असाध्यै गाह्रो हुन्छ । महिलालाई विवाहपछि वा आमा भैसकेपछि राजनीतिक क्रियाकलापमा लाग्न कठिन हुनुले के दर्शाउँछ भने राजनीति प्राप्ति नभै त्याग हो । 

(कुराकानीमा आधारित लेख )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्