उजागर भयो फेसन सिक्रेट्स

नारी संवाददाता

फाल्गुन ६, २०७३  

भ्यालेन्टाइन डेको अवसर पारेर त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा पाँचजना नव प्रवेशी फेसन डिजाइनरहरूले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यावसायिक उपस्थितिको पहिलो पाइला सारेका छन् । उत्कृष्ट खड्का, वंशी खड्का, रिया महर्जन, सावना बेगम र अनिता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेट्स सार्वजनिक गरेका हुन् । नेपाल इन्स्टिच्युट अफ फेसन (नीफ) को आयोजना तथा आशिष पाण्डेको व्यवस्थापनमा संचालित भएको सो कार्यक्रममा उल्लेखित डिजाइनरले आ–आफ्नो

एकल कलेक्सन तथा सामूहिक कलेक्सन गरी ८ वटा सिक्वेन्स मार्फत् आफ्ना सृजना सार्वजनिक गरे । कालो, खैरो, रातो, पहेंलो, अक्वा ब्लु, पिन्क, ग्रीन आदि विभिन्न शेड्समा खेलिएका पहिरनहरू प्रस्तुत गरिए ।  मुख्य गरी फिटेड, लुज फिटेड, ए लाइन तथा आवर ग्लास सिलहुट्सको प्रधानता रहेका पहिरनहरूले स्थान पाएको उक्त फेसन कार्यक्रममा अर्गानिक कटन, सिफन, लाइक्रा ब्लेन्ड सिफन, नेट, भेल्भेट, रअ सिल्क, प्रिन्टेड जर्जेटजस्ता फ्याब्रिकलाई प्राथमिकता दिइएको थियो ।

नव प्रवेशी डिजाइनरहरूको सीप, क्षमता अभिवृद्धिका साथै फेसन डिजाइनिङ क्षेत्रको व्यावसायिक पाटोलाई विस्तारित गर्न सो कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक संस्था नीफका प्रबन्ध निर्देशक एवं टेक्सटाइल इन्जिनियर अमित झाले बताएका छन् । राति अबेरसम्म आफ्टर पार्टी झुमेको सो कार्यक्रममा अभिनेत्री वर्षा सिवोकोटी, अभिनेता सिड खरेल, इन्टरनेसनल नेपाली मोडल दिपक घिमिरे र अनिता लिम्बु तथा मोडल एवं सञ्चारकर्मी शुभ आचार्य शो स्टपरका रूपमा र्‍याम्पमा प्रस्तुत भएका थिए । कार्यक्रमलाई कलाकार महादेव त्रिपाठी, गायकहरू निर्णय श्रेष्ठ, रवि रिमाल प्रशान्त मिस्ट लगायतका गायकहरूले मनोरञ्जक बनाएका थिए । 

भ्यालेन्टाइन डेको अवसर भएकाले सो फेसन कार्यक्रमको पहिलो अध्यायमा सहभागी पुरुष तथा महिला मोडलहरू जोडीका रुपमा प्रस्तुत भएका थिए । जसमा उनीहरूको पर्फमेन्स र हावभावमा रोमान्स तथा आत्मीयताको झलक पाइएको थियो । पहिरनहरू पनि युगल जोडीलाई सबै अवसरका लागि सुहाउने खालका थिए । कार्यक्रमको मेड इन नेपाल शीर्षकको सिक्वेन्समा भने नेपाली मौलिक फ्याब्रिकमा तयार पारिएका परिहनहरूको  प्रधानता थियो । अन्तिम सिक्वेन्सलाई रोयल शीर्षक दिइएको थियो । जसमा पहिरनहरू मूलत: राजकीय शैली, सम्पन्नता एवं चरित्र चित्रणअनुरूपका थिए ।

तस्विरहरु: नवराज वाग्ले 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्