पित्तथैलीको पत्थरीबाट जोगिने उपाय

नारी संवाददाता

माघ २३, २०७३ 

मेरुदण्ड भएका प्राणीहरूमध्ये घोडा र मुसाबाहेक सबैमा पित्तथैली हुन्छ । यो शरीरको अभिन्न अंग पनि हो । कलेजोको ठीक मुनि रहने नास्पाती आकारको सानो थैलीलाई नै पित्तथैली भनिन्छ । कलेजो र पित्तथैलीलाई हेपाठिक नलीले जोडेको हुन्छ । पित्तथैली करिब ३–४ इन्च लामो तथा १ इन्चजति चौडा हुन्छ । यसको मुख्य काम पित्त जम्मा गर्नु र त्यसलाई बाक्लो पार्नु हो । पित्त पाचन प्रणालीमा सहयोग पुर्‍याउने एक प्रकारको तरल पदार्थलाई भनिन्छ । यसलाई कलेजोले निरन्तर रूपमा उत्पादन गरिरहेको हुन्छ । पित्तको मुख्य काम बोसोलाई स–साना भागमा टुक्रा पारी बोसो पचाउने काममा मद्दत गर्नु र अम्ललाई निष्क्रिय तुल्याउनु हो । पित्त पित्तथैलीबाट निस्केर सिस्टिक नली तथा हेपाटिक नली हुँदै साझा पित्तनलीमा पुग्छ जुन सानो आन्द्राको भाग–ड्युडेनम्मा खुल्छ र त्यसले पाचन प्रणालीमा सहयोग पुर्‍याउँछ । 

 

अनुसन्धानकर्ताहरूका अनुसार पित्तथैलीमा पत्थरी जम्ने विभिन्न कारण हुन्छन् । विशेष गरी शारीरिक तौल बढी वा कम भएका, पित्तथैलीको परिचालन कम हुने तथा बढी बोसो भएको खाना खाने व्यक्तिहरूमा यस्तो पत्थरी हुन्छ । पत्थरमा रहेको पदार्थका आधारमा पित्तथैलीमा हुने पत्थरको आकार–प्रकार फरक–फरक हुन्छ । यसैलाई आधार मानेर पत्थरलाई दुई भागमा बाँडिएको पाइन्छ । पित्त कोलेस्ट्रोलको मात्रा धेरै हुँदा र पित्तका नुनिला कणहरू कम भएको अवस्थामा पत्थर हुने सम्भावना बलियो हुन्छ । कोलेस्ट्रोल र अन्य पदार्थ जम्मा भएर मणिभका रूपमा पित्तथैलीमा जम्मा हुन्छ ।

 

त्यसलाई हामी पित्तथैलीको पत्थर भन्छौं । पित्तथैलीको संकुचन राम्रोसँग हुँदैन र पूर्णरूपमा खाली हुन नसक्दा पित्त थिग्रिएर पत्थर बन्छ । कलेजोमा प्रोटिनको मात्रा चाहिने भन्दा बढी हुँदा पनि पत्थर बन्छ । पत्थरको साइज स–साना बालुवाका दानादेखि गल्फको बल जत्रोसम्म पनि हुनसक्छ । कोलेस्ट्रोल पत्थर : यस्तो पत्थर पहेंलो र हरियो रंग मिसिएको हुन्छ । यो कोलेस्ट्रोलको कडा अवस्था हो । यस्तो किसिमको पत्थर करिब ८० प्रतिशत पाइएको छ । पिग्मेन्ट पत्थर : यो पत्थर कोलेस्ट्रोल पत्थरको दाँजोमा सानो र गाढा रंगको हुन्छ । यो बिलिरुबिन भनिने पदार्थ तथा क्याल्सियम मिलेर बनेको हुन्छ । 

पित्तथैलीमा कहिले एउटै ठूलो पत्थर बन्छ भने कहिले स–साना थुप्रै पत्थर बन्छन् । यो मिसिएको अवस्थामा पनि पाइन्छ । जसलाई मिश्रित पत्थर भनिन्छ । जसमा ३० देखि ७० प्रतिशत कोलेस्ट्रोल र बाँकी क्याल्सियम मिसिएको हुन्छ । यसलाई रेडियोग्राफीबाट देख्न सकिन्छ । 

 

पित्तथैलीमा पत्थरको वृद्धि दर बढ्दो क्रममा छ । पुरुषको दाँजोमा महिलाहरूमा पित्तथैलीमा पत्थरको समस्या बढी देखिन्छ । १४ पुरुष र २० महिलामा पत्थरको रोग भएको पाइन्छ भने नेपालमा २५ प्रतिशतजतिको पत्थर शल्यक्रियाद्वारा निकालिने गरिएको छ । उमेर बढ्दै जाँदा विशेष गरी ४० वर्ष नाघेका मोटा तथा प्रजनन् क्षमता भएका महिलामा पत्थरको समस्या वा रोग बढी मात्रामा देखिएको छ । 

प्राय: मानिसको शरीरमा पत्थर भए पनि त्यसले खासै लक्षण देखाउँदैन । यसले आफ्नो लक्षण देखाउन थालेको अवस्थामा मन्द पेट दुख्ने तथा दाहिने कुम दुख्ने हुन्छ । कहिलेकाहीँ धेरै र लामो समयसम्म पेट दुख्ने अनि फेरि दुख्न छोड्ने क्रम दोहोरिरहन्छ । बोसोयुक्त खाना खाँदा अपच भएर देखिने लक्षणहरू जस्तै पेट पोल्ने, पेटमा गडबडी हुने, वाकवाकी लाग्ने र बान्ता हुने आदि समस्या पनि देखिन्छन् । 

जब पित्तथैलीको पत्थर पित्त नलीमा अड्किन्छ त्यतिबेला सहनै नसक्ने गरी पेट दुख्ने, काम्ने, ज्वरो आउने, जन्डिस हुने, निरन्तर पेट दुख्ने आदि लक्षण देखा पर्छन् । यतिबेला पित्तथैलीमा संक्रमण हुने, सुन्निने सम्भावना पनि हुन्छ । 

 

पित्तथैलीमा पत्थर भएको हो कि होइन अल्ट्रासोनोग्राम वा एक्सरे गरेर पत्ता लगाउन सकिन्छ । पत्थरीको शल्यक्रियाका क्रममा विभिन्न बाधा उत्पन्न हुनसक्छन् । जस्तै पित्तथैली संक्रमण भएर उक्त संक्रमण शरीरभरि फैलने, जन्डिस हुने, प्यानक्रियाजमा खराबी देखिने, पित्तथैलीमा प्वाल पर्ने अनि फेरि पनि पत्थरको समस्याले सताउनुका साथै मृत्युसम्म हुनसक्ने भएकाले पित्तथैलीसहित पत्थर निकाल्नुपर्ने हुन्छ । पत्थरीको शल्यक्रिया गरेपछि पाचन प्रणाली कमजोर हुने तथ्य पनि सार्वजनिक भैसकेको छ । 

 

पित्तथैलीमा पत्थर हुने प्रक्रिया विभिन्न तथ्यमा आधारित भए पनि यो एक प्रकारको व्याक्टेरियाबाट हुन्छ भन्ने कुरा पत्ता लागेको छ जसलाई हेलिकोब्याक्टर हेपाटिक्सको नामले चिनिन्छ । यो ब्याक्टेरिया दूषित पानीबाट सर्ने हुँदा खानामा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । विभिन्न अध्ययन–अनुसन्धानअनुसार हेलिकोब्याक्टर हेपाटिक्स नै पित्तथैलीको पत्थरीको मुख्य कारक हो । यसको निवारणका लागि चिकित्सकको सिफारिसमा एन्टिबायोटिक सेवन गर्नुपर्ने हुनसक्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्