किशोरावस्था : उमेरको संवेदनशील मोड

किशोर–किशोरीहरूमा सबैभन्दा ठूलो दबाब आधुनिक एवं पाश्चात्य जीवनशैलीसित परम्परागत पारिवारिक मूल्य–मान्यताको तालमेल बसाउनु हुन्छ ।

नारी संवाददाता

माघ २१, २०७३ 

बालबालिकाहरू जति ठूला भए पनि आमाबुबाका लागि सधैं बालकै हुन्छन् । यद्यपि जब बालबालिकाहरू किशोरावस्थामा प्रवेश गर्न थाल्छन् तब उनीहरूलाई संसार निकै ठूलो लाग्न थाल्छ । किशोरावस्थाका बालबालिकामा शारीरिक, मानसिक एवं बौद्धिक स्तरमा थुपै्र परिवर्तन आउँछ । उनीहरूभित्र मको भावना देखापर्न थाल्छ । उनीहरू आफूले जस्तो पनि काम गर्न सक्छु भन्ने सोच्न थाल्छन् । उनीहरू आफ्ना आमाबुबाका अगाडि खुलेर बोल्न हिचकिचाउँछन्, यसको विपरीत उनीहरूमा आफ्ना साथी–संगिनीसित समय बिताउने इच्छा बढ्छ ।

 

किशोरावस्थाको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन भनेकै शारीरिक परिवर्तन हो । अचानक हुने परिवर्तनलाई मनले स्वीकार गर्न सक्दैन । कसैसित भन्न अप्ठ्यारो हुन्छ । अत: यो संवेदनशील अवस्थामा उनीहरूको मनोभाव बुझ्नु आवश्यक छ ।

 

उमेरको अनौठो खेल

यो उमेरमा उनीहरूको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउनु हुँदैन । अन्यथा उनीहरूले स्कुलका नियम तथा आमाबुबाको आदेशलाई चुनौती दिन थाल्छन् ।आफ्नै तरिकाले सही–गलत र राम्रो–नराम्रो मान्ने बुद्धिको विकास हुन्छ । किशारावस्थाका युवायुवतीलाई म जे पनि गर्न सक्छु भन्ने अनुभूति जागृत हुन थाल्छ र त्यसले गर्दा आफूले जे गरिन्छ त्यो गलत हुँदैन भन्ने लाग्छ । यो एउटा ठूलो परिवर्तन हो, जसले आमाबुबाका लागि कठिनाइ उत्पन्न गर्छ ।

 

टिनएजर्स स्वयंले आकर्षक महसुस गर्न थाल्छन् । विशेषगरी युवतीहरूमा ऐनाअगाडि धेरै समय बिताउने तथा सौन्दर्य प्रसाधन एवं पहिरनका सम्बन्धमा सजगता बढ्ने हुन्छ । किशोरावस्थामा साथी–संगिनीसित घन्टौ समय बिताउने, फोनमा कुरा गर्ने तथा आमाबुबाबाट केही लुकाउने मानसिकता पनि बढ्छ ।भावनात्मक उथल–पुथल, अनावश्यक चिडचिडेपन, जिद्दीपन आदि लक्षण पनि हर्मोनल परिवर्तनका कारण देखा पर्छन् ।

 

साथीहरूको दबाब

पियर प्रेसरको अर्थ हुन्छ–समान उमेरका सहपाठी, साथी वा समूहद्वारा निजी व्यवहार, दृष्टिकोण एवं मूल्य–मान्यता परिवर्तन गर्ने दबाब । यो हरेक उमेरका व्यक्तिमा हुन्छ तर टिनएजमा त्यस्तो दबाब सर्वाधिक हुन्छ । यो युवा हुँदै सपनाको पखेटा फैलाउने इच्छा जागृत हुने उमेर हो । कतिपय अवस्थामा किशोर–किशोरीहरू कपडा लगाउने, एसेसरिज खरिद गर्नेदेखि लिएर बोल्ने शैलीमा समेत साथीभाइको नक्कल गर्न अग्रसर हुन्छन् ।

 

यो उमेरको परिवर्तन हो । त्यसैले हरेक आमाबुबाले आफ्ना हुर्किरहेका बालबालिकाले आफ्नो मौलिकतालाई कतै पूर्णरूपमै छोड्न थालेका त छैनन् भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । कतिपय अवस्थामा टिनएजर्सले साथीहरूको जमातमा आफूलाई फिट पाउँदैनन् र एक्लोपनबाट ग्रस्त हुन थाल्छन् । तिनलाई आफू अरूभन्दा केही अलग छु भन्ने लाग्छ । कहिले हीनता त कहिले श्रेष्ठताको भावनाका कारण उनीहरू आफ्नै मित्रवर्गमा मिक्सअप गर्न सक्षम हुँदैनन् । यद्यपि समान उमेरका मित्रहरूसितको संगत बालबालिकाको स्वस्थ विकासका लागि आवश्यक छ । 

 

दबाब झेल्दै किशोर

बालबालिकाबाट आमाबुबाको अपेक्षा धेरै बढेर गएको पाइन्छ । कतिपय अवस्थामा तिनलाई पूरा गर्न नसक्नुको दबाब, मित्रजनसितको प्रतिस्पर्धा, मित्रवर्गसितको झगडा वा उनीहरूसित भेट्न नपाउने जस्ता थुपै्र दबाब किशोरहरूले बेहोर्नुपर्ने हुन्छ । किशोर–किशोरीहरूमा सबैभन्दा ठूलो दबाब आधुनिक एवं पाश्चात्य जीवनशैलीसित परम्परागत पारिवारिक मूल्य–मान्यताको तालमेल बसाउनु हुन्छ ।

 

खोजी आफ्नै अस्तित्वको

यो त्यो अवस्था हो, जहाँ एकातिर बाल्यावस्था छुटेको अफसोच हुन्छ, त्यहीँ युवावस्थामा पुग्ने उत्सुकता पनि । तीव्र रूपमा शारीरिक–मानसिक विकासका साथै हार्मोनसम्बन्धी परिवर्तन पनि आइरहेको हुन्छ । मेरा सरसामान, मेरा साथी, मेरा खेलौनाजस्ता अनुभूतिले उनीहरूको मनमा एउटा विशेष अधिकारको भावना जागृत गर्छ । उनीहरू स–साना कुरालाई प्रेमपूर्वक सम्हाल्न सिक्छन् । शीघ्र ठूलो मान्छे (वयस्क) जस्तो देखिने र व्यवहार गर्ने आकांक्षा तीव्र हुन थाल्छ ।

 

जरुरी छ केही एक्लोपन

यो उमेरमा बालबालिकाहरूले आमाबुबा एवं परिवारबाट केही टाढिएको महसुस गर्छन् । उनीहरूलाई केही समय एक्लै बस्न मन लाग्छ । यही त्यो समय हो जतिबेला उनीहरूले आफ्नो अस्तित्व महसुस गर्छन् ।

 

के गर्ने अभिभावकले ?

सामान्यत: किशोर–किशोरीहरूलाई आफ्नो शारीरिक परिवर्तनलाई बुझ्न गार्‍हो हुन्छ । उनीहरू चिडचिडे हुन पुग्छन्, साथै साथीभाइसित आफ्नो परिवर्तनको तुलना गरी उनीहरू अझ बढी चिन्तित हुन पुग्छन् । त्यस्तो अवस्थामा उनीहरूलाई राम्रोसँग बुझाउनुपर्छ, आफ्नो अनुभव सुनाउनुपर्छ । हुर्कदो उमेरका बालबालिका बढी प्रतिक्रियावादी भएका छन्, हरेक कुरामा जवाफ फर्काउँछन् भने सजाय दिनुको साटो तिनका कुरा ध्यानपूर्वक सुन्नुपर्छ र तर्कहरूलाई बुझ्ने प्रयास गर्नुपर्छ ।

 

स–साना कुरालाई बेवास्ता गर्न जान्नुपर्छ । पहिरन वा हेयर स्टायल आदिका बारेमा कमेन्ट गर्नुको साटो तिनको सर्कल, साथीसंगिनी कस्ता छन् भन्ने विषयमा ध्यान दिनुपर्छ । संगतका विषयमा पनि सचेत रहनुपर्छ अर्थात् सानो परिवर्तनको साटो ठूलो कुरामा ध्यान पुर्‍याउने प्रयास गर्नुपर्छ ।

आफ्ना स–साना निर्णय स्वयं लिन प्रोत्साहित गर्नुपर्छ, यसले उनीहरू आफ्नो योग्यता साबित गर्न सक्षम हुन्छन् ।

 

अभिभावक भएका नाताले किशोरावस्थाका बालबालिकालाई सही मार्गनिर्देशन गर्नु कर्तव्य एवं दायित्व पनि हो । उनीहरूले बाल्यावस्थामा सिकाइएका नैतिक शिक्षा, मूल्य–मान्यता एवं संस्कार नछोडून् भन्ने कुरामा ध्यान दिनुपर्छ साथै पियर प्रेसरका बारेमा पनि अवगत गराउनुपर्छ । किशोर–किशोरीहरूसित मित्रवत् रूपमा सहज एवं खुला व्यवहार गर्नुपर्छ जसले गर्दा उनीहरूले आफूसित आफ्ना हरेक कुरा सेयर गर्न सहज महसुस गरून् । उनीहरूले पूरा गर्न नसक्ने कुराको पनि अपेक्षा राख्नु हुँदैन । 

उनीहरूले पर्सनल स्पेसको प्रयोग कसरी गर्दैछन् विचार पुर्‍याउनुपर्छ । उनीहरूका गतिविधि एवं व्यवहारमा शंका लागे सावधानीपूर्वक निगरानी राख्नुपर्छ ।

 

मोबाइल अहिले सबैको आवश्यकता भैसकेको छ । यसको सर्वाधिक प्रयोग टिनएजरले गरेको पाइन्छ । मोबाइल उनीहरूलाई दिए पनि कतै फोनमा लामो कुरा त गरेका छैनन् विचार पुर्‍याउनुपर्छ । उनीहरूलाई प्रिपेड सिम उपयोग गर्न दिनु उपयुक्त हुन्छ । राति सेट प्रयोग गर्न दिनु हुँदैन । उनीहरूको बेडरुममा टिभी वा कम्युटर नराखेकै राम्रो हुन्छ । यदि कम्प्युटर भए इन्टरनेटको कनेक्सन हटाउनु राम्रो हुन्छ । उत्सुकताका कारण उनीहरू नेटको गलत प्रयोग गर्न पुग्ने सम्भावना रहन्छ । बेडरुम आफैले सफा गरिदिनुपर्छ ।उनीहरूको वार्डरोव तथा बुकसेल्फमा ध्यान पुर्‍याउनुपर्छ । यदि उनीहरूको कोठामा चरुोट वा मादक पदार्थ आदि कुनै वस्तु प्राप्त भए गाली गर्नु, सजाय दिनुभन्दा आफ्नो व्यवहार संयमित राखी तिनलाई प्रेमपूर्वक ती वस्तुको खतरा एवं साइट इफेक्टका बारेमा राम्रोसँग सम्झाउनु उचित हुन्छ । 

 

टिनएजरका गतिविधिहरूमा नजर राख्नुपर्छ तर उनीहरूले त्यस विषयमा महसुस गर्नु हुँदैन । आफ्नो जासुसी भैरहेको विषयमा उनीहरूले थाहा पाउनु हुँदैन । हरेक कुरामा कमेन्ट गर्ने, रोक्ने, गाली गर्ने, प्रतिबन्ध लगाउने, अनुशासनको नाममा बन्धनमा बाँध्ने काम गर्नु हुँदैन । यसबाट उनीहरू अझ बढी विद्रोही स्वभावका हुन्छन् वा एकान्तप्रिय बन्न पुग्छन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्