कुष्ठपीडित आमाको सरकारसँग आग्रह: ‘सय रुपैयाँ त देऊ’

  • सन्दर्भ: विश्व कुष्ठरोग सप्ताह

तीन जना छोरा पालैपालो संसार छोडेर जानु, सोही समयदेखि शरीरमा लाटोफुस्रो दाग देखा पर्नु उनका लागि झनै अभिशाप बन्यो ।

भिषा काफ्ले

माघ २१, २०७३

तीन जना छोरा पालैपालो संसार छोडेर जानु सोही समयदेखि शरीरमा लाटोफुस्रो दाग देखा पर्नु उनका लागि झनै अभिशाप वन्यो । बिस्तारै हात लाटो हँुदै गयो । हुन त उनका श्रीमान्ले केही भनेका थिएनन् तर समाजले उनलाई पूर्वजन्मको पापीनीको संज्ञा दिन थालिसकेको थियो ।

 

उमेर ‘दुई आठा’ उनले भन्ने गरेको, बुझ्ने गरी भन्नुपर्दा ८८ वर्ष पुगेकी छन् । ‘नाम मनमती देवकोटा, जन्मघर नौबीसे धादिङ’ एकै स्वरमा भनिन्, ‘अब त घरै यही हो ।’ यो घरसँगको साइनो गाँसिएको ५५ वर्ष काटिसकेको छ । काठमाडौंको दक्षिण कुनोमा रहेको खोकनामुनिको बाग्मती किनाराको सीतादेवी कुष्ठरोग आश्रम पुग्दा जो–कोहीलाई मीठो मुस्कानले स्वाग गर्ने उनै वृद्ध आमा अगाडि देखिन्छन् । उनको मुस्कान र कुरागराइ हेर्दा लाग्छ, उनको जिन्दगीमा दु:ख भन्ने कुरै छैन ।

 

संसार यिनले नै जितेकी छन्, तर वास्तवमा उनाको विगत बुझ्ने हो भने जीवनमा उनले जती हन्डर र ठक्कर कमैले मात्र पाएका खाएका होलान् । तर ती हन्डर र ठक्करलाई अरूसामु पोख्दा उनी कहिल्यै पनि हारेको महसुस गर्दिनन्, लाग्छ जिन्दगीलाई उनले सहज जितेकी हुन्, उनको जीवनमा खुसी नै खुसीको बहार आयो ।  मनमतीलाई आमाको काख र माया ममता कस्तो हुन्छ थाहा छैन, किनभने उनलाई आफ्नी आमा थिन् भन्ने नै थाहा छैन ।

 

चेतना आउँदा उनी सानी आमा (कान्छी आमा) को हात समातेर हिँड्थिन्, धेरै पछि आएर मात्र उनलाई सानीआमा भन्ने थाहा भयो । बाल्यकाल कसरी बिते बिर्सिसकिन् उनले ।

 

घासपात मेलापात गर्दा गर्दै १६ पुगेर १७ वर्ष लाग्नै लाग्दा गाउँकै दाइले उनलाई काठमाडौं ल्याए । त्यो पनि एउटा बाहुन केटालाई खाना पकाउने भान्सेका रूपमा । भान्से हुन आएकी उनलाई ती बाहुनले मनै पराएछन्, कुरो विवाहमा पुग्यो । ‘दुई–चार दिन खाना पकाएपछि त बाहुनले मन पराएछन्, टीकोटालो नै पो गरे’, उनले हँस्यौली पारमा भनिन् । अचम्मको कुरा के भने ति बाहुनको नाम उनलाई थहा भएन थर पौडेल र पोखरेलमध्ये एक भएको उनी बताउँछिन्  । ‘घर भने विराटनगर हो ।’ ठोकुवा गरिन्  ‘विवाहपछि बाहुनले विराटनगर लगेर भित्र्याएका थिए ।’ ‘कसरी पुग्नुभयो त विराटनगर ?’ प्रश्न भुइँमा खस्न नपाउँदै उनको उत्तर आयो ‘गाडीको त कुरै नगरौं, घोडा हिँड्ने बाटो थिएन, अमलेखगन्ज गएर त्यहाँबाट रेलमा रक्सौल हुँदै जोगवनी निकाले नि ।’ उनलाई लाग्छ, सायद यो २००३ सालको कुरा हुनुपर्छ । १२ वर्ष विराटनगर बसाइ उनलाई पटक्कै फापेन ।

 

चार सन्तान जन्मे तर तीनवटा बचाउन सकिनन् । ‘चारवटामा मैले तीन जनालाई उतै रोपी आएकी हु ।’ उनी भन्दै थिइन्– ‘एउटा जन्मेको तीन महिनामा नै खेर गयो, अर्को तीन वर्ष भएपछि र एउटा जन्मँदै उल्टो जन्मिएर खेर गयो ।’ यस्तो मार्मिक कथा सुनाइरहँदा पनि उनको अनुहारमा कुनै चिन्ताभाव देखिँदैनथ्यो । तर उनी यति निर्मम पनि होइनन्, उनले सहज हुन सिकिसकेकी मात्र हुन् । 

 दु:ख यतिमै सीमित छैन, साँच्चै जिन्दगीको उत्तारचढावलाई कसरी सामना गर्नुपर्छ, जिन्दगीले उनलाई सिकायो । तीन जना छोरा पालैपालो संसार छोडेर जानु, सोही समयदेखि शरीरमा लाटोफुस्रो दाग देखा पर्नु उनका लागि झनै अभिशाप बन्यो । बिस्तारै हात लाटो हुँदै गयो । हुन त उनका श्रीमान्ले केही भनेका थिएनन्, तर समाजले उनलाई पूर्वजन्मको पापिनीको संज्ञा दिन थालिसकेको थियो ।

समाज सहन नसकेपछि श्रीमान्लाई माइत पुर्‍याइदिन उनले कर गरिन् । श्रीमान्ले पनि माइत ल्याएर छोडिदिए । माइत आउँदा बाँचेको एउटा छोरो, एक बोरा चामल र एक बोरा चिउरा त्यही रक्सौलको बाटो हँुदै नौबीसे आइपुगे । उनका पति ससुरालीबाटै फर्किए । परिवारले एक महिना पनि नबित्दै यो आश्रम (सीतादेवी कुष्ठरोग आश्रम) मा ल्याएर छोडिदिए  । उनलाई लाग्छ, यो कुरा २०१५ तिरको हुनुपर्छ । ‘यहाँ आएपछि औषधीमुलो गरियो, रोग निको हँुदै गयो तर दुवै हातका औंला खेर गए ।’ 

 

कुष्ठरोगले गुमेका औंला देखाउँदै उनले भनिन् ‘अव काम गरी खान नसक्ने भए भन्ने लागेर यहीं बस्ने निर्णय गरे ।’ कुष्ठरोग शिविरमा आए पनि उनका श्रीमान्ले भने उनलाई माया मारेका थिएनन् ।

 

समय–समयमा आउँथे, चाहिएको सरसामान दिएर जान्थे । निको भए हिँड घर भन्थे तर उनले मानिनन् । त्यहाँ बसेका सबैले उस्तै–उस्तैसँग विवाह गरेका रहेछन् । उनलाई पनि सबैले अब उताको छोडिदे रोगी भएपछि रोगीसँगै विवाह गर्नुपर्छ भनेर सल्लाह दिन थाले । यहीं बस्दै आएका सल्यानका बलवीर देवकोटाले उनलाई ताकिसकेका रहेछन् । ‘आखिर मन नै त हो रहेछ नि, ऊ पनि उस्तै म पनि उस्तै ।’ त्यतिबेलाको प्रेम दर्साउने लामो हाँसोका साथ भनिन्, ‘आखिर–बाहिर गएर पाखुरा बजारेर गरिखान नसकिने भएपछि यिनैसँग जिन्दगी बिताउछु भन्ने लाग्यो, म फकिन्न, भेट्न नआउनु भनेर बामार्फत उनलाई खबर पठाए ।’ विवाहपछि उनलाई अर्को बज्रपात पर्‍यो, उनीसँगै आएका एउटा छोरो हराए । उनी अहिलेसम्म पनि उनी कहाँ छन् पत्तो छैन ।  

 

बलवीरसँग विवाह गरेपछि उनका तीन छोरी भए । अब भने उनको खुसीका दिन फिर्न थाले । छोरीहरू ठूला हुँदै गए, पढ्दै गए । छोरीहरूको बिहेदान यही आश्रमबाट गरिन् ।  उनको अन्तिम बज्रपात भने आज भन्दा १२ वर्ष अघि पर्‍यो जब उनका दोस्रो श्रीमान्ले यो संसार छोडे, तर पनि उनलाई एक्लो महसुस त्यसपछि भएको छैन । तीन छोरीमध्ये एउटी चितवनमा छिन्, दुईवटी अमेरिका पुगिसके । नाति–नातिनाहरू कहिलेकाहीं आउँछन् । मीठो–मसिनो पाकेमा ल्याइदिन्छन् । चितवनमा भएकी छोरीका छोराले काठमाडौंमै घर बनाएका छन् । उनलाई छोरी र छोरीका सन्तानहरूले यहाँ नबसौ, आफैंसँग हिँड पनि भन्छन् तर उनको मनले यो ठाउँ छोड्नै मान्दैन । यहाँ भएका १ सय ६५ भन्दा बढी कुष्ठरोगबाड पीडित भएकाहरू उनका सहयात्री हुन् । उनीहरूसँग उनको सबै कुरा मिल्छ ।

 

पोहोर सालसम्म सरकारी खेतमा धान रोपेर खर्च बचाउँदै आएकी उनी यसपटकदेखि भने खन्न नसक्ने भइन् रे । तर पनि पकाउन, खान र भाँडाकँुडा माझ्न आफ्नै बुताले गर्दै आएकी छन् । ‘बारम्बार आएर हिँड् उतै गएर बसौं भन्छन् ।’ उनी भन्छिन्, ‘तर मेरो मनै मान्दैन, यहाँ सबै आफैं जस्ता कुरा पनि मिल्छन्, अझैसम्म त पकाएर खान सक्ने नै छु नि गाँठे ।’ उनलाई यो ठाउँ छेडेमा अर्को चिन्ता पनि छ त्यो के भने अब डाँडाको घाम भइयो, भोलि यो ठाउ छाडेर फ्याट्ट भइयो भने किन सारालाई यही ल्याउन दु:ख दिने ?

 

उनलाई बिरामी हुँदा उपचार गरिदिए र सरकारले दिँदै आएको दिनको २७ रुपैयाँ बढाइदिए हुन्थ्यो जस्तो लाग्छ । अघिल्लो वर्ष निमोनियाँले उनलाई धेरै सतायो, झन्डै दुई महिना अस्पताल बसिन् । उनका आफन्तले उनको उपचारमा सहयोग गरे । तर यहाँ हुने अरू कुष्ठ रोगपीडितले कुष्ठरोगबाहेकको उपचार पाउन मुस्किल पर्छ । ठूलो रोग लागे मृत्यु कुर्नुको विकल्प नभएको उनी बताउँछिन् । ‘मेरा पो नाति–नातिना थिए र उपचार गरे ।’ उनी भन्छिन् ‘नसक्नेले त काल कुरो बस्यो ।’ आश्रमनजिकै सरकारले एउटा हेल्थपोस्ट स्थापना गरिदिएको छ। तर त्यहाँ सबै खालका औषधी नपाइने आश्रमका नाइके उमाप्रसाद तिवारी बताउँछन् ।

 

 ‘ठूलो उपचार गर्नुपरे पाटन कि वीर अस्पताल पुग्नुपर्छ ।’ उनी भन्छन् ‘त्यहाँ पुग्ने एम्बुलेन्सको भाडा तिर्ने पनि सबैसँग पैसा हुँदैन ।’

 

सरकारले अहिले उनलाई महिनाको २७ किलो चामल, दाल २ केजी, नुन तीन महिनाको २ केजी, खुर्सानी ४५ ग्राम, बेसार १ सय ५० ग्राम, साबुन १ वटा, खसीको मासु ४ सय ग्राम, डाल्डा घिउ ३ सय ग्राम, घरेलु कपडा ६ महिनाको एक जोर दिँदै आएको छ । अरू कुरा जे भए पनि मनमतीलाई  सरकारले दिनको चिया खाजा, चिनी, दाउरा किन्नका लागि र कहिलेकाहीं बिरामी हँुदा उपचार गर्न १ सय रुपैयाँ पुर्‍याइदिए हुन्थ्यो जस्तो लाग्छ । ‘सरकारले एक दिनको २७ रुपैयाँ दिइरहेको छ, त्यसले के गर्नु र ? चिया खान पनि पुग्दैन ।’ उनले कुरा बिट मार्न लागिन्, ‘म त डुब्न लागेकी मान्छे, किन धेरै पैसा चाहियो तर १ सय रुपैयाँ भए उमेर भएकालाई कामै लाग्थ्यो होला, यिनीहरूले अलि आनन्दले बच्थे होला ।’  

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्