प्रेममय जोडी : डा. प्रवीन र डा. ईशा

सिर्जना दुवाल श्रेष्ठ

माघ १२, २०७३ 

न्यूरो सर्जन डा. प्रवीन श्रेष्ठ तथा न्यूरो फिजिसियन डा. ईशा ढुंगाना हरेक समय साथसाथै हुन्छन् । वैवाहिक जीवनको डेढ दशक लामो समय बिताइसकेको यो जोडीको काम पनि एकै ठाउँमा छ र विषय पनि एउटै हो । एक–अर्काकै लागि जन्मिएको जोडी भन्न रुचाउने प्रवीन र ईशा एकबिना अर्काको अर्थ नभएको बताउँछन् । डिल्लीबजारमा जन्मिएका डा. प्रवीन श्रेष्ठ तथा चावहिलकी डा.ईशा ढुंगानाको भेट अस्कल क्याम्पसमा आइएस्सी पढ्ने क्रममा भएको हो ।

डाक्टर बन्ने सपना बोकेका उनीहरू अध्ययनमा अब्बल थिए । त्यसमा पनि प्रवीन त्यति नखुल्ने, एक्लै बस्ने तथा केटीहरूका अगाडि लजाउने स्वभावका थिए । त्यसैले उनले कसैलाई प्रेम गर्लान् भनेर सोच्नु पनि ठूलो कुरा थियो तर प्रवीनले ईशालाई पहिलो हेराइमै मन पराइसकेका थिए । उनले आँट गरेर चिनजान भएको ५ महिनापछि ईशासमक्ष प्रेमप्रस्ताव राखे । त्यसपछि त ईशासँगको बोलचाल नै टुट्यो । आजभन्दा १८ वर्षअघि त्यति खुल्ने समय पनि थिएन ।

 

ईशाले त्यतिबेला स्वीकृति पनि दिएकी थिइनन् भने रिजेक्ट पनि गरेकी थिइनन् । ९ महिनापछि प्रवीनले फेरि एकपटक ईशासामु प्रेमप्रस्ताव राखे । त्यतिबेलासम्म ईशाले प्रवीनका बारेमा धेरै कुरा बुझिसकेकी थिइन् । आफ्नो पहिलो प्रस्तावमा कुनै जवाफ नआएपछि के छ तिम्रो जवाफ भनेर सोधेको डा. प्रवीनलाई आजैजस्तो लाग्छ । उनी सम्झन्छन्–साउनको साँझ पानी परेको मौसम थियो, ईशाले आइ एम विथ यू भनिन् । त्यसपछि उनीहरूको जीवनशैली पनि फरक हुन थाल्यो । 

एमबीबीएसका लागि त्रिवि शिक्षण अस्पतालमा दुवैले नाम निकाले । आफू डाक्टर बन्छु भन्ने निश्चित भएपछि प्रवीनले आमाबुवालाई एउटी केटी मन पराएको कुरा बताए । उनको घरबाट सहर्ष स्वीकृति मिल्यो । उता ईशाले पनि घरमा आफूले नेवार केटा मन पराएको जानकारी दिइन् । घरकालाई तिम्रो अहिले विवाह गर्ने उमेर भएको छैन, सकेसम्म आफ्नै जातको भए हुन्थ्यो भन्ने कुरा आयो । 

महाराजगञ्ज पढ्दा नारायणगोपाल चोक हुँदै शंखपार्कमा आधा–एक घन्टा गफ गरेर हिँड्दै ईशालाई चावहिल पुर्‍याएर प्रवीन डिल्लीबजार पुग्थे । त्यतिबेला उनीहरू हरेक दिन त्यसरी नै हिँडेर मनको बह पोख्दै घर पुग्थे र कहिले बिहान होला भनी कुरेर बस्थे ।

 

नारायण गोपाल तथा जगजित सिंहका गीत–गजलहरू गाउने प्रवीन प्राय: तिमीलाई म के भनूँ गीत गुनगुनाइरहन्थे । चिनजान भएको १० वर्षपछि उनीहरूको विवाह भयो । ईशाको घरमा विवाहको कुरा गर्न प्रवीन एक्लै गएका थिए । त्यतिबेला ईशाको घरबाट भर्खरै पढाइ सकियो, भर्खरका छौ, आफ्नो लाइफ बनाऊ, करियर बनाऊ भन्नुभएको सम्झदै प्रवीन भन्छन्–म विवाहका लागि तयार छु । बरु बुवालाई नै लिएर आउँछु भनेर फर्किएँ ।’ दुई हप्तापछि प्रवीन बुवालाई लिएर ईशाको घर गए । दुवै पक्षको समझदारीमा नेवार र क्षेत्री परम्पराअनुसार उनीहरूको विवाह भयो ।

 

२७ वर्षदेखि प्राय: सँगै रहेको यो दम्पती बिहान उठेदेखि बी. एण्ड. बी. अस्पतालदेखि बागबजारको क्लिनिकसम्म सँगै काम गर्छन् । कहिलेकाहीँ ढिला हुँदा एक्लै भएजस्तो हुने र डर लाग्ने अनुभव उनीहरू सुनाउँछन् । डा. प्रवीन भन्छन्–एक–अर्कालाई नदेखेसम्म के नपुगे के नपुगेजस्तो हुन्छ, देखेपछि मात्र हामी ढुक्क हुन्छौं । व्यस्त जीवन बिताइरहेका डा. प्रवीन र डा. ईशा लगभग १३–१४ घन्टा घरबाहिरै हुन्छन् । घरमा छिरेदेखि घर बाहिर ननिस्किएसम्म ईशा घरकै काममा व्यस्त हुन्छिन् । 

 

छोराछोरीका मामिलामा जिरो

एक छोरा र एक छोरीका बुवा डा. प्रवीन न्यूरो सर्जनका दृष्टिले अब्बल भए पनि छोराछोरीको हेरचाहको कुरामा जिरो नै छन् । उनी न्यूरो सर्जन भएकाले कामको प्रेसर पनि निकै हुने हुँदा छोराछोरीको विषयमा त्यति ध्यान दिन पाउँदैनन् तर ईशालाई छोराछोरीका लागि पनि केही समय दिए हुन्थ्यो भन्ने लाग्छ । 

 

पढ्न र लेख्न माहिर ईशा

बायोग्राफी, कथा, कविता एवं उपन्यास पढ्न रुचाउने ईशाले आफ्नो लभस्टोरीमा आधारित कथा पूरै कपीभरि लेखेर प्रवीनलाई दिएकी थिइन् । डा.प्रवीन माल्दिभ्समा हुँदा ईशा पनि त्यहाँ थिइन् । फर्कने बेला ट्रान्जिट २५ घन्टाको ग्याप थियो । त्यही ग्यापमा उनले आफ्नो प्रेम अनुभवलाई पूरै कपीभरि उतारिन् । एयरपोर्टमा समेत लेखिरहेको देखेर तिमी पत्रकार हौ भनेर धेरैले सोधेको ईशा बताउँछिन् । ईशाले एमबीबीएसमा ३ वटा गोल्ड मेडल प्राप्त गरेकी छिन् ।

 

प्लेन क्यानभास

ईशाको परिवार शाकाहारी थियो र उनी पनि शाकाहारी थिइन् तर विवाहपछि नेवार परिवारमा बढी प्रयोग हुने बफ पनि खान थालिन् । अहिले उनी चाडपर्वमा सबै खालका मासुका परिकार रमाएर खान्छिन् ।  डा.ईशा भन्छिन्–विवाहअघि महिलाहरू खाली क्यानभासझैं हुनुपर्छ । आफूलाई खाली कागजका रूपमा लिइयो भने जीवन सजिलो हुन्छ । जस्तो घरपरिवार छ आफू पनि त्यस्तै बन्न सक्नु राम्रो हुन्छ । नेवार समुदायमा त्यति नमनाइने तीज ईशा माइत गएर मनाउँछिन् । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्