आफ्नो भागको जिन्दगी कहिले बाँच्ने ?

हाम्रो नेपालमा पनि कति यस्ता एलेनहरू होलान् । तर खै कहाँ छन् ? खै एलेनको जस्तो साहस यहाँका थर्डजेन्डरहरूको ? मैले चिनेको एक लेस्बियन मित्रलाई सम्झिएँ ऊ कहिले बााच्ली यसरी एलेनजस्तै ? ऊ त घरमा भन्न पनि डराउँछे । ऊ आफूलाई खुब स्मार्ट छु भन्छे । केटीहरू कसरी नजिक हुन्छन् भन्ने थाहा छ मलाई भन्छे–आफ्नो सिल्की केश, उपहार दिने बानी तथा केटीहरूको हेरविचार गर्ने बानी नै पर्याप्त हुने कुरा गर्छे ।

निरूपा प्रसून

माघ ९, २०७३ 

यो । ‘अपेर विस्नी’ सोमा संसारका सबै क्षेत्रका चर्चित अनुहारका निजी कुराहरूलाई लिएर अन्तर्वार्ता लिइन्छ । त्यो दिन कार्यक्रममा ‘एलेन डी जेनेरस र पोर्सिया डी रोशी’ सहभागी थिए । उनीहरू लेस्बियन जोडी थिए । पछि थाहा पाएँ । एलेन डी जेनेरस अमेरिकाको चर्चित टेलिभिजन टक सोकी संचालिका तथा एलेनकी हास्यअभिनेतृ हुन् । उनले पुस्तक पनि लेखेकी रैछिन् । 

 

यस्ती प्रतिभाशाली महिलाले पनि आफू लेस्बियन हँु भन्दा अनेकौं बाधा व्यहोर्नुपरेको रहेछ । उनको चर्चित सिरियल ‘एलेन’ बन्द गरियो । त्यतिबेला उनले डिप्रेसनसम्म भोगिन् । दुनियाँले हेयको दृष्टिले हेरे पनि आफ्नी आमाको साथका कारण उनले पुस्तक लेखिन् । बिस्तारै–बिस्तारै उनी सामान्य जीवनमा फर्किइन् । आफूमा क्षमता छ भने त्यो कसैले खोसेर खोसिँदैन भन्ने भनाइ सार्थक भयो एलेनको जीवनमा । एलेनले फेरि टेलिभिजनमा ‘टक सो’ संचालन गर्न थालिन् । अस्ट्ेरेलियाकी नायिका पोर्सियासँग उनले सन् २००८ मा प्रेम विवाह गरिन् ।

 

पोर्सिया आफू के हो भन्ने दोधारको स्थितिमा आफ्नो श्रीमान्सँगको सम्बन्धमा कुनै आनन्द वा चार्म नभेटेपछि आफू लेस्बियन भन्ने बुझेकी थिइन् । अन्तत: उनी एलेनको प्रेममा परिन् र एलेनसँग उनको विवाह भयो । पोर्सियाको संघर्षका दिनमा एलेनले निकै सहयोग गरेकी थिइन् । आज एलेन डी जेनेरस र पोर्सिया डी रोशीको जोडीलाई लेस्बियन जोडीमध्येको सफल र उदाहरणीय जोडी मानिन्छ । पहिलो विश्वको कथा त यस्तो छ भलै अमेरिका आफूलाई संसारकै उदारवादी राष्ट्र मानिरहेको छ । अहिले अमेरिकामा थर्डजेन्डर विवाहको कानुन बनिसकेको छ । तैपनि त्यहाँका बाबु–आमाहरू सधै त्रसित रहन्छन्, कतै आफ्ना केटाकेटी गे अथवा लेस्बियन ननिस्किऊन् भनेर । थर्डजेन्डरको मामिलामा क्रिस्चियनहरू हिन्दूको तुलनामा एकदमै कट्टर हुन्छन् भन्ने लाग्छ मलाई । 

 

हाम्रो नेपालमा पनि कति यस्ता एलेनहरू होलान् । तर खै कहाँ छन् ? खै एलेनको जस्तो साहस यहाँका थर्डजेन्डरहरूको ? मैले चिनेको एक लेस्बियन मित्रलाई सम्झिएँ ऊ कहिले बाँच्ली यसरी एलेनजस्तै ? ऊ त घरमा भन्न पनि डराउँछे । ऊ आफूलाई खुब स्मार्ट छु भन्छे । केटीहरू कसरी नजिक हुन्छन् भन्ने थाहा छ मलाई भन्छे–

 

आफ्नो सिल्की केश, उपहार दिने बानी तथा केटीहरूको हेरविचार गर्ने बानी नै पर्याप्त हुने कुरा गर्छे । केश काटेर केटाजस्तो हुन थाले भने त वरिपरि नै आउँदैनन्, भाग्छन् केटीहरू भन्छे । म ऊ लेस भएकैमा शंका गर्छु । कुनै कसर बाँकी राख्दिन आफू होइन भन्ने पार्न । अझ थप्छे–मलाई केटाकेटीको सम्बन्ध देख्दा वाक्क आउला जस्तो हुन्छ तर केटी–केटीको सम्बन्ध हेर्दा निकै आनन्द लाग्छ । म भन्छु विवाह गरे हुन्छ नि । एक समय गर्लफेन्ड थिई रे घरमा थाहा पाउँछन् भनेर छाडिदिएँ भन्छे । ती केटी तयार थिइन् त तिमीसँग विवाह गर्न ? भनेर सोद्धा भनेकी थिई–उसले त घरमा भनेकी थिई त्यसैले त ऊ घरबाट निकालिएकी थिई ।

 

उसलाई त अझ विवाह गरेकी केटीले धोका दिएकी रैछ पछि केटासँग नै विवाह गरेर गै’छ त्यसपछि ऊ थप घर न घाटको भई रे, न परिवार आफ्नो रह्यो न केटीले साथ दिई । त्यसैले पनि सकेसम्म आफ्ना बारेमा भन्न रुचाउँदैनौं हामीहरू । निधारमा लेखेर किन जात्रा देखाउनु ? यो मनैदेखि आउने कुरा हो । आनन्दसँग बाँच्नुपर्छ, बेकार किन संसारलाई दु:ख दिने ? भन्न जरुरी छैन । भनेपछि धेरै समस्या आउँछ । के तिमी आनन्दमा छौ त ? सोधें मैले । होइन मनमै गुम्साएरै बस्नु ठीक हुन्छ आफूलाई लेस्बियन भनेर चिनाउनुभन्दा त । नभन्दा आफू एक्लैलाई पीडा हुने हो । भनेपछि संसारलाई पीडा हुन्छ । संसारलाई पीडा हुन्छ भनेर एकबारको जुनीमा किन आफू गुम्सिएर बाँच्ने ?

 

 म बुझ्न सक्छु उसलाई आफ्नो अस्तित्वभन्दा ठूलो परिवार र समाज लाग्छ । यही त म बुझ्न सक्दिनँ मानिसहरू परिवार, समाज भन्दाभन्दै आफ्नो भागमा परेको जीवन कहिले बाँच्छन् ? ऊ सारा आकांक्षा दबाएर बसेकी छे । किन आफ्नो अस्तित्वका लागि केही प्रयास गर्दिन ? एकदमै काँतर केटी ..। आफूभन्दा ठूलो केही पनि हुँदैन । स्वअस्तित्वभन्दा मूल्यवान् दोस्रो केही हुन सक्ला ? म मान्दिनँ । कहिले बाँच्ने आफ्नो जिन्दगी ? संस्कार–परम्परा भन्दैमा आफ्नो भागमा परेको जिन्दगीलाई दुत्कार्नु हुँदैन ।

 

आफ्नो भागमा परेको जिन्दगीलाई किन स्वीकार गर्न नसकेकी ? उसकी हजुरआमाले जसरी जीवन बिताउनुभयो, आमाले पनि उसैगरी बिताउनुभयो आफ्नो जीवन । के जरुरी छ उसले पनि उसैगरी जीवन बिताउनुपर्छ भन्ने ? कसरी देखाउँछे अब उसले हजुरआमा र आमाले जस्तै गरी जिन्दगी बिताएर ? प्राकृतिक रूपमा आफू जस्तो देखिन्छ त्यस्तो नभएपछि आफू जे हो त्यस रूपमा प्रस्तुत हँुदा किन र के–का लागि परिवार समाजको टाउको दुख्छ ? थर्डजेन्डरका रूपमा बिल्कुलै नयाँ मानिसको उत्पत्ति भएको होइन अहिलेको जमानामा मात्र । भगवान्को पालामा पनि थियो । महाभारतमा पनि उल्लेख गरिएको छ अर्जुन एक वर्ष किन्नरका रूपमा रहे भन्ने कुरा । हामी शास्त्रमा भएको त्यही कुरालाई सम्मानको दृष्टिले हेर्छौं तर व्यवहारमा किन घृणा गर्छाैं ? 

 

 

अलेकजेन्डरका पालामा कोही गे हो भन्ने कुरा थाहा भए मृत्युदण्ड दिइन्थ्यो रे π दलदलमा फालिदिन्थे भन्ने कथाहरू आज पनि सुन्न पाइन्छ तर त्यतिबेला लेस्बियनलाई पनि दण्ड दिइएको थियो भन्ने कतै उल्लेख पाइँदैन । यसको अर्थ त्यतिबेला लेस्बियनहरू थिएनन् भन्ने हो त ? बिल्कुलै होइन । साहस हुँदैनथ्यो होला उनीहरूलाई लेस्बियनका रूपमा प्रस्तुत हुन । अर्को कुरा त्यति जरुरी पनि पर्दैनथ्यो होला किनभने महिला–महिला सँगै हुनु कुनै अनौठो दृश्य पनि होइन र उनीहरूले नभनी शासकले आफै थाहा पाउने कुरा पनि होइन ।

 

लेस्बियनहरू यही कारणले जोगिएका थिए । अहिले समय परिवर्तन भैसकेको छ । लुकाछिपी गर्नुपर्ने कुनै कारण छैन । आफ्नो इच्छाको पनि कुनै मूल्य हुन्छ भन्ने बोध जोकोहीलाई हुन्छ । अब त अझ पहिचानको प्रश्न पनि त छ । आफ्नो अस्तित्व कसलाई प्यारो लाग्दैन ? घरमा थर्डजेन्डर हुने परिवारको अलिकति हिम्मत र साहस जरुरी छ भने धेरै मायाको खाँचो छ । परिवारको साथ भएपछि समाजले स्वीकार गर्न समय लाग्दैन । किन आफू थर्डजेन्डर भएकै कारण परिवार गुमाउनुपर्ने ? कुनै पापको फल भोगेको त होइन ?

आफ्नो प्रकृति जस्तो भयो त्यसैमा रमाउन त पाउनुपर्‍यो नि π जसरी हाम्रो समाजमा गे खुलेका छन् त्यसको तुलनामा लेस्बियनहरू खुल्ल सकेका छैनन् । अनेक किसिमका त्रास उब्जन्छन् उनीहरूको मनभित्र । भएको थोरै खुसी गुम्ने डरले मनभित्रका आफ्ना धेरै रहर त्यागिरहेका हुन्छन् उनीहरू । हो हिम्मत राखेर आफ्नो अनुकूलको जीवनका लागि उनीहरू जब परिवार, समाजलाई थाहा दिन्छन् किन परिवार, समाजले उनीहरूलाई साथ–सहयोग नदिएको ? आखिर के–को सजाया भोग्नुपरेको हो त उनीहरूले ? आफू जे हो त्यो भएर बाँच्न पाउनु त अधिकार हो नि मानिसको । यो ब्रह्माण्डमा जन्मिएपछि हरेक प्राणीको आफ्नो जीवन बाँच्न पाउने अधिकार हुन्छ भने अझ सर्वोत्कृष्ट प्राणी मानिसले आफ्नो प्रकृतिअनुरूप बाँच्न नपाउने ? कस्तो मानसिकता हो यो हाम्रो समाजको ? उनीहरूका पनि जैविक इच्छा–आवश्यकता हुन्छन् । समाजले खुल्ला रूपमा स्वीकार नगरेपछि त्यसको परिपूर्ति कसरी हुन्छ ? एकपटक सोधेकी थिएँ उही मैले चिनेकी लेस्बियन मित्रलाई । दिन त खुब आनन्दले जवाफ दिएकी थिई । 

 

‘सेक्सुअल फेन्टसी पनि सेक्स बराबर हो ।’ के फेन्टसीले काम चलाउनु जीवनभरि ? फेन्टसी नै उनीहरूको भागमा परेको जीवन हो त ? होइन भने किन उनीहरूले समाजमा गर्वसँग बाँच्न नपाउनु ? रिस्क लिनभन्दा आफूलाई परिवार एवं समाज अनुकूल बनाउन लागिपर्छन् उनीहरू तर परिवार एवं समाज उनीहरूको अनुकूल कहिल्यै बन्दैन । कहिल्यै थाक्दैन हाम्रो समाज व्यक्तिको निगरानी गरेर । 

यतिसम्म सुविधा भने छ हाम्रो सहरी समाजमा छोरीमान्छेका लागि–एउटी घरमा छोरीमान्छे छोराजस्तो भएर केटाको वेशभूषामा हिँड्दा गर्व गर्छन् बाबु–आमा तर त्यही घरमा छोरामान्छे छोरीजस्ती भएर हिँड्न थाली भने धर्ती नै भासिएजस्तो हुन्छन् ।

 

आखिर हुने त केही होइन । किन इज्जत नै जानेजस्तो गर्छन् ? हो कति यस्ता बाबु–आमा पनि छन् जसले छोराछोरी थर्डजेन्डर हुँदा पनि प्रेमले अपनाएका छन् । उनीहरूबाट सिक्न जरुरी छ–जसले आफ्नै छोराछोरी पनि थर्डजेन्डर भन्ने थाहा पाउँदा हेला गर्छन् । जीवन एकबारको हो–फेरि–फेरि बाँच्न पाइँदैन । उनीहरूको जीवन पनि अमूल्य जीवन हो । किन आफ्नो इच्छाले बाँच्न खोज्दा पनि उनीहरू तिरस्कृत हुनुपर्ने ?

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्