छोरीको आशीर्वाद आमालाई

दिव्या बज्राचार्य

माघ ३, २०७३  

खोलामा परेको एउटा पात बग्दाबग्दै कहाँ पुग्छ, थाहा हुँदैन । हावामा उडेको कपास कहाँ पुग्छ, पत्तो हुँदैन । आकाशमा बादलको आकार छिनछिनमा परिवर्तन भएजस्तै हाम्रो जीवनमा पनि थरीथरीका मोड एवं परिस्थिति आउँछन् अनि जिन्दगीका रूपरेखाहरू फेरिएर जान्छन् । आफूले गर्न खोजेको काम, आफ्नो चाहना सबै हावामा उड्दै कता पुग्छन् कता ? हामी बालक हुँदँ मात्र हो केही सामान चाहियो कि बेसरी चिच्यायो अनि पाइएन भने क्वाँ–क्वाँ रुन सक्छौं । ठूलो हुँदै गएपछि त्यस्तो नहुने रहेछ । आफूले चाहेको सामान नपाए पनि त्याग्ने बानी पर्दै जान्छ ।

 

जति ठूलो हुँदै गयो मन पनि कठोर हुँदै जान्छ । आमा हो गर्नुपर्ने कर्तव्य पूरा गर्नैपर्‍यो । आफ्नो चाहनाभन्दा बढी छोराछोरीको खुसीका लागि बाँचे तिमीहरूलाई हुर्काउनमा नै मेरा सबै दिन गैरहेका छन् । म कराउँछु, छोरीछोरीलाई तिमीहरूले गर्दा मैले दु:ख पाएको । मलाई गर्न मन लागेको कुरा गर्न नसकेको पनि तिमीहरूले गर्दा नै हो । खोइ मैले त्यसको बदला के पाएँ ? न छोरा मैले भनेअनुसारको छ । न छोरीले नै मेरो मनको कुरा बुझ्छे । मैले यसरी गाली गर्दा वा कराउँदा छोरी चुप लागेर बस्छे, पहिले सानी छँदा छोरी रुन्थी अनि आफैले नै फकाउनुपर्ने गरी तर अहिले छोरी बस चुप लागेर मेरो गाली सुनेर बस्छे ।

 

हुन त विवाह गरेकोमा मलाई दु:ख लागेको छैन । मेरा प्राणभन्दा प्यारा छोराछोरीदेखि मलाई रिस पनि उठेको छैन । उनीहरू त मेरा लागि मेरो प्राणवायु नै हुन् । यो गाली सिर्फ मेरो मनमा जम्मा भएको ज्वालामुखी हो जसको हावाले कहिले छोराछोरीलाई पोल्छ त कहिले श्रीमान्लाई ।

 

सबैजना मेरो बानीका बारेमा परिचित भैसके....सबैजना म कराएको सुनेर चुप बस्छन् अनि पछि मलाई जुन कुराले खुसी तुल्याउँछ र म जुन कुरा देखेर खुसी हुन्छु त्यही गर्छन् । छोरीले १०–१२ दिनसम्म मलाई घरको कामकाजमा सघाइदिन्छे अनि छोरा बाहिरका कुरा सुनाउँदै उसले हेरेका चलचित्रहरूको कहानी सुनाउँदै र जोक भन्दै मलाई हँसाइरहन्छ । उहाँले सम्झाउनुहुन्छ–‘मन भारी हुँदा चित्र कोर्ने गर....तिम्रो कला धेरै राम्रो छ, बानी छुटाउनु हुँदैन .....।’ म पनि पहिले–पहिलेका कुरा सम्झेर मन हल्का बनाउँछु । मेरो चित्रकला हेरी सबैले दिल खोलेर त्यसको प्रशंसा गर्थे । विवाहपछि मेरो हौसला उहाँ नै हुनुहुन्छ । सधैं मलाई क्यानभासमा रंगसँग खेल्ने मौका दिनुहुन्छ । 

 

मेरा चाहनाजस्तै कैद भएका मेरा सबै चित्रकला देखेर मलाई कहिलेकाहीँ झर्को लागेर आउँछ । कति कोठामा मात्र बसिरहन्छन् यिनीहरू.... मैले छोराछोरीलाई जस्तो यिनीहरूलाई हुर्काउन सकिन केवल जन्म मात्र दिएँ । पहिले मौका पनि नआएको होइन प्रदर्शनीमा सजाउने तर मात्र बाहिरको संसार आउन नचाहने मेरो आफ्नै संकोचले मेरा चित्रहरू पनि घरमै कैद भए । अब छोराछोरी हुर्किए, उनीहरू कलेज जाँदा मसँग दिनभरि प्रशस्त समय हुन्थ्यो रंगसँग खेल्ने, क्यानभासमा आफ्ना भावनाका रेखाहरू फैलाउन....छोरी कलेजबाट फर्केर सीधा मेरो काम गर्ने कक्षमा आउँछे ....खोई आमा आज के बनाउनुभयो हेरौं न भन्दै.... अनि केही नयाँ गरेको छैन भने कराउँछे किन दिनभरि यत्तिकै बस्नुभएको आमा तपाईं ? राम्रा–राम्रा सिर्जना गर्नुहोस् न मलाई आमाको नयाँ–नयाँ कला हेर्न मनलाग्छ ...आमाको सिर्जना देखेर मलाई मेरो दिन नै सफल भएजस्तो लाग्छ ... ...भन्थी । ठ्याक्कै उसकै बुवाजस्तो बोल्छे यो ।

 

मलाई हौसला दिने काम सिकेकी छ उसको बुवाबाट । उहाँले भनेजस्तै गरी अब छोरीले भन्न थाली । सानी छँदा म नभई नहुने जहाँ गए पनि पछिपछि आउने छोरी अहिले ठूली भई । अब बुवाको पछि लाग्ने जुन कुरामा पनि बुवाकै सल्लाह चाहिने । म पनि खुसी छु समय परिवर्तन भएकोमा । अब छोरीले आफ्नो भविष्य राम्रो बनाउँछे भन्नेमा मलाई पूृर्ण विश्वास छ उसको हरेक नयाँ पाइलामा मेरो साथ छ । 
एकदिन राति खाना खाइसकेपछि छोरीले भनी–आमा, तपाईंका सबै कलाकृतिलाई म एकदिन बाहिर लिएर जान्छु है, कसैलाई देखाउनु छ । उसले मन परायो भने आमाको भविष्य नै अझ उज्ज्वल हुन्छ । छोरीले देखाउन लान्छु भन्नेबितिकै मलाई अझ बढी चित्र बनाउन मन लाग्यो । मैले दिनका दिन बिस्तारै समय बढाउँदै लगें चित्र कोर्न ।

 

एकदिन यस्तो दिन पनि आयो मेरा वर्षौंदेखि थुप्रिएका चित्रकला चाङचाङ पारी छोरी र छोरीका साथीहरूले लिएर गए । मैले कति सोधें छोरीलाई कता लान लागेको भनेर तर पछि भन्छु भन्दै फकाए । अझ बुवालाई पनि थाहा नदिनू है भन्छन् । मैले राति उहाँसँग कुरा गरें छोरीले मेरा सबै पुराना र नयाँ चित्र घरबाट बाहिर लगेकी छे तर कहाँ हो भन्दै भन्दिन । ए हो र... भनेर उहाँ पनि मोबाइलमा गेम खेल्न व्यस्त हुनुभयो । मेरो कुरामा उहाँले ध्यान दिनुभएन । यस्तै हो उहाँ कहिलेकाहीँ मलाई जानी–जानी बेवास्ता गर्नुहुन्छ । त्यस रात खुलदुल–खुलदुलमै कुन बेला निद्रा लाग्यो पत्तै भएन । 

 

मेरा चित्रकलाहरू लगेको दुई हप्तापछि बिहान ९ बजे छोरीले आमा आज तपाईंलाई बोलाएको छ त्यो मान्छेले जसकहाँ मैले तपाईंका कृतिहरू लगेर दिएकी थिएँ । त्यही भएर आज ठ्याक्क चार बजे पुल्चोकमा आउनु है अलि राम्री भएर, हुन त मेरी प्यारी आमा त्यसै राम्री हुनुहुन्छ..... भन्दै हुइँकिएर गई केही सोध्नै नपाई । दिनभरि मन उताउता डुलिरह्यो कता लगेकी छे यो छोरीले मेरा सबै कृति, त्यो मान्छेले मलाई नै किन बोलाउनुपरेको खुरुक्क छोरीसँगै आए पनि हुन्थ्यो नि....भैहाल्यो म उहाँलाई फोन गर्छु सँगै छोरीले भनेको ठाउँमा जान । फोन गरेर थाहा भयो उहाँ पनि व्यस्त रे अफिसको मिटिङमा..... ।

 

म हिँडेर पुल्चोकसम्म गएँ । त्यहाँ पुगेपछि छोरीलाई भेटें । छोरीले मलाई एउटा नयाँ ग्यालरीमा लिएर गई । त्यहाँको परिवेश देखेर मेरो खुसीको सीमा नै रहेन । छोरीले लिएर गएको गेटमै ब्यानरमा ठूल्ठूला अक्षरमा लेखिएको थियो चित्रकला प्रदर्शनी भनेर । अनि सुन्दर अक्षरमा लेखिएको थियो मेरो नाम पनि । म एकछिन लाटीजस्तै भएँ । ग्यालरीको कोठामा पुगेपछि मैले अनौठो अनुभव गरें । मलाई लाग्यो मेरा चित्रकलाहरू सबै खुसी छन् भित्तामा सजिन पाएकोमा । सबैजसो चित्र मलाई देखेर मुस्कुराइरहेका छन् जस्तो लाग्यो । भित्र छोरीका साथीहरू अनि उहाँका साथीहरू पनि हुनुहुन्थ्यो । एकछिनपछि उहाँ पनि आउनुभयो ठूलो स्वरमा ....सरप्राइज.... भन्दै । दुई हप्ताको प्रदर्शनी । मेरो बायोडाटा पनि त्यहाँ राखिएको देखें मैले । म निकै खुसी भएँ रुन मात्र सकिंन । 

 

यो सब गर्न उसको बुवासँगै सल्लाह लिएकी थिई छोरीले । उहाँले पनि हामीलाई सक्दो सहायता दिनुभएको छ भूतकाल अनि वर्तमान कालमा पनि । अब मेरो काम बाँकी रह्यो मेरा सबै साथी अनि आफन्तहरूलाई पनि निम्तो दिने मेरो चित्रकला प्रदर्शनीका लागि । आज म बिउँझें छोरीको कामले गर्दा । आजका छोराछोरीहरू खुम्चिएर बाँच्न सक्दैनन् हामीजस्तो । आफूले गर्न सक्ने काम गरेरै छोड्छन् । बाहिरको मान्छेलाई थाहा नभए पनि मलाई थाहा भयो छोरी मेरी महान् छे, मलाई बाटो देखाउने भएकी छे, आमालाई आशीर्वाद दिन सक्ने भएकी छे । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्