गुलाफ : प्रेमदेखि जीवनसम्म

बालिका थपलिया

माघ २, २०७३

कुनै पनि प्रेमीलाई आफ्नी प्रेमिका प्यारी लाग्छिन् । उनको मुहार जस्तोसुकै होस् प्राय: प्रेमीले साँच्चिकै सुन्दर, निर्दोष र मायालु भनेर आफ्नी प्रेमिकाको सौन्दर्यको प्रशंसा गर्छन् । ‘संसारमा तिमीजति राम्री अरू कोही छैन’–प्रेमीले प्रेमिकालाई फूलसँग तुलना गर्दै फुक्र्याउँछन् । ‘तिमी यति कोमल छ्यौ कि गुलाफसँग मात्र त्यसको तुलना गर्न सकिन्छ ।’ 

 

प्रेमजीवनलाई चित्रण गरेर लेखिएका धेरैजसो साहित्यमा यस्ता प्रसंग दोहोर्‍याई–तेहेर्‍याई पढ्न पाइन्छ जहाँ भावना, पवित्रता र संवेदनशीलताको प्रतीक मानिने गुलाफलाई प्रेमी–प्रेमिकाले सौन्दर्यसँग दाँजेर माया साटासाट गरेका हुन्छन् । चर्चित नाटक ‘प्रेमपिण्ड’ मा बालकृष्ण समले गुलाफप्रतिको अगाध आस्था दर्शाएका छन् । गुलाफलाई सम्मान गरेका छन् । उक्त नाटकमा मुख्य पात्र नकुलले आफ्नी प्रेमिका सवितालाई मृत्युपछि पनि गुलाफसँग नछुट्टिने अनौठो इच्छा प्रकट गर्दै कल्पना गरेका छन्– ‘प्यारी † गुलाफको चितामा हामी जल्थ्यौं, जहाँ त्यसको धूवाँ मगमगाइरहन्थ्यो ।’ नेपालमा मात्र होइन सम्पन्न मुलुकमा बसोबास गर्नेहरूले पनि गुलाफप्रतिको असीम श्रद्धा तथा प्रेम गरेको पाइन्छ । फूलहरूमध्ये गुलाफलाई ‘राजा’ मानिन्छ । ‘फूलको राजा’ मानेर गुलाफलाई माया–प्रेमका अतिरिक्त शृंगार, पूजा र सम्मान प्रकट गर्ने काममा प्रयोग गरिन्छ । 

 

धर्म, कला तथा साहित्यका लागि कुनै न कुनै किसिमले अविभाज्य अङ्ग बराबर बनेको गुलाफको महत्त्व अतुलनीय छ । ख्यातिप्राप्त लेखक, कवि एवं दार्शनिकका लागि गुलाफ प्रेरणाको स्रोत नै हो । जर्मनीमा रातो गुलाफको महत्त्व नेपालमा भन्दा बढी नै छ । त्यही भएर चर्चित अंग्रेज कवि रोबर्ट बर्नसले आफ्नी प्रेमिकाको सौन्दर्यलाई वर्षायाममा फुल्ने गुलाफसँग तुलना गर्दै लेखेका छन्–‘मेरी प्रेमिका वर्षायाममा फक्रने ताजा रक्तिम गुलाफजस्तै छिन्, सारा बगैंचा ढकमक्क पार्ने त्यो गुलाफको वर्णन गरिसाध्य छैन ।’ रोबर्टको यो कविताले जर्मनीमा कुनै बेला हलचल नै मच्चाएको थियो । एलिसन रिचर्डको एउटा उद्गार पनि सुन्दर छ । आफ्नी प्रेमिकाको रूपको चर्चा गर्दै उनले भनेका छन्–‘मेरी मायालुको मुहार एउटा प्राकृतिक विविधता बोकेको बगैंचा हो, जहाँ गुलाफ र कुमुदिनीहरू लहरै फुलेका छन् ।’ बगैंचामा ढकमक्क फुलेको गुलाफ देख्नासाथ आँखा र मन खुसी हुने भएकाले यसलाई मानव जीवनका लागि सर्वोच्चस्थान ओगट्ने वस्तुका रूपमा पनि लिइन्छ । 

 

भमरा र मौरी भुनभुनाइरहेको बगैंचामा गुलाफ फक्रिएको दृश्य देख्दा भोक–तिर्खा नै हराउँछ । त्यही भएर हुनसक्छ, प्रसिद्ध नाटककार शेक्सपियरलाई गुलाफको सौन्दर्यले मज्जाले पगालेको थियो । १६ औं शताब्दीतिर उनले आफ्ना नाटकहरूमा गुलाफको प्रसंगलाई धेरै ठाउँमा प्रस्तुत गरेका छन् । ‘कसैको फूलबारीमा जाँदा गुलाफ देखिएन भने सारा बगैंचा अधूरो लाग्छ’ शेक्सपियरले लेखेका छन्–‘बगैंचामा ढकमक्क गुलाफ फुलेका छन् भने संसार नै हराभरा लाग्छ ।’ 

 

जीवनको परिभाषा दिन पनि कतै–कतै गुलाफको चित्रण गरिएको पाइन्छ । जस्तो कि गुलाफ काँडाहरूका बीच पनि फुलिरहेको हुन्छ, मुस्कुराइरहेको हुन्छ । मानिसको जीवन पनि तिखा–तिखा काँडा अर्थात् संघर्षका उकाली–ओरालीसँग पौंठेजोरी गर्दै अघि बढिरहेको हुन्छ । त्यही भएर एउटा चर्चित गीत नै छ–‘तिखा काँडाको बीचमा हेर गुलाफ हाँसेको कस्तै दु:ख परे पनि ।’ हिन्दी गीतमा त गुलाफको चर्चा अझ बढी पाइन्छ ।

 

जहाँ प्रेम प्रसंगको चर्चा चल्छ त्यहाँ गुलाफलाई अलग्याउन सकिँदैन अर्थात् प्रेमको परिभाषाले पूर्णता पाउन सक्दैन । विश्वप्रसिद्ध कविहरूले गुलाफको महत्त्वलाई प्रेममा परिणत गरेका छन् । क्रिस्टिना रोजेटीले जब म मर्छु मेरा प्रियतम’ शीर्षकको कवितामा ‘मेरो मृत्युपछि प्रियतम † मेरो चिहानमा गुलाफका बोटहरू नरोप्नू किनभने गुलाफका सुन्दर फूलले तिमीलाई बाँचुञ्जेल मेरो सम्झना गराउनेछन्, यादले तड्पाउनेछन् र रुवाउनेछन् भनेर लेखेकी छिन् । 

 

रंगअनुसार गुलाफको महत्त्व पनि फरक–फरक छ । माया–प्रेमका विविध बान्कीलाई सम्बोधन गर्न गुलाफका प्रत्येक रंगले छुट्टै विशेषता बोकेका हुन्छन् । रातो गुलाफ पवित्र मायाको चिनो हो । कसैले यस्तो रंगको गुलाफ हातमा हालिदियो र लजाउँदै मुस्कुरायो भने ‘मनमा गुम्स्याएर राखेका मायाका भाव मुखले भन्न नसकेपछि गुलाफमार्फत व्यक्त गरेको’ बुझ्नुपर्छ । भ्यालेन्टाइन डेमा प्रेमी–प्रेमिकाले एक–आपसमा गुलाफ बाँडेर आत्मानुराग साटासाट गर्छन् । यो चलन नेपालमा पनि बढ्दो छ । प्रेम गरिरहेका र प्रेम सफल भैसकेका प्रेमी–प्रेमिकालाई यसको राम्रो हेक्का हुनुपर्छ । यस्तै गुलाफी रंगको गुलाफलाई रिसाएका बेला फकाउन प्रदान गरिन्छ ।

 

प्रेमी अथवा प्रेमिका रिसाएका बखत गुलाफ दिए आपसी मनमुटाव अन्त्य भएर पुन: प्रेम अंकुरण हुन्छ । पहेंलो गुलाफले घनिष्टताको महत्त्व दर्शाउँछ । कालो रंगको गुलाफले विछोडको वेदनालाई प्रतिबिम्बित गर्छ । यसलाई अपशकुनका रूपमा पनि लिइन्छ । सेतो गुलाफलाई दिवंगतहरूको समाधिस्थलमा पुगेर मृतात्माप्रति समवेदना प्रकट गर्ने बेला प्रयोग गरिन्छ । बेलायती कवि रोबर्ट हेरिकले भने गुलाफलाई अर्को एक भिन्न अर्थमा पनि परिभाषित गर्न खोजेका छन् । 

गुलाफ र नारीको कुमारित्वलाई समान मान्दै उनले ‘आज मुस्कुराइरहेको सुन्दर गुलाफ भोलि ओइलाएर झर्न पनि सक्छ । जसका कारण, ए कुमारी ! तिमी लजाएर समय नफाल तत्काल तिम्रो यौवनको भरपुर प्रयोग गर’ भन्ने सुझाव कवितामार्फत दिएका छन् । आफूले लेख्ने पत्रमा प्रेमी–प्रेमिकाले गुलाफको चित्र औधी कलात्मक ढंगले बनाउँछन् ।

 

गुलाफको काँडामय झ्याङलाई प्रेमी–प्रेमिकाले सुटुक्क लुकेर मायाका मीठा–मीठा कुरा गर्ने, एक–अर्काको प्रशंसाको वर्षा गराउने सुरक्षित गन्तव्यका रूपमा प्रयोग गर्छन् अनि उनीहरू यसको थुँगा–थुँगामा माया साँचेर गुलाफकै गुच्छा बनाउँदै एक–अर्कामा समर्पण गर्न चाहन्छन् । आँखाका लागि सुन्दर, मुुटुका लागि गाढा र शरीरका लागि कोमल गुलाफ देखेर मोहित नहुने कमै हुन्छन् । सिंगो प्रकृतिलाई जीवन दिने गुलाफ नेपालको पूर्वी पहाडमा बाह्रै महिना फुलिरहेका हुन्छन् । कसै–कसैले धेरै प्रकारका गुलाफ भेला पारेर निजी बगैंचामा संरक्षण गरेको पनि देख्न सकिन्छ । वनपाखामा पनि विभिन्न रंगका गुलाफ फुलेका हुन्छन् । 

 

संसारमा गुलाफ नहुँदो हो त सायद माया–प्रेम तथा प्राकृतिक सौन्दर्य नै निरस हुने थियो । हाम्रा गमला, आँगन, बगैंचा आदि उजाड हुने थिए । धन्य गुलाफ तिमी छौ र हाम्रो नजरको अर्थ छ । चर्चित भनाइ नै छ–‘गुलाफको काँडाले नै प्रेमको आँखालाई घोचेर फुटाइदियो । त्यही बेलादेखि सदाका लागि दृष्टि गुम्यो र प्रेम अन्धो बन्यो ।’ हामीचाहिँ अन्धो बन्नुहुँदैन अर्थात् गुलाफको सौन्दर्यमा मात्र मख्ख परेर मात्र बसिरहनु हुँदैन, व्यवस्थित किसिमले यसको संरक्षण गरेर यसबाट आर्थिक लाभ लिने प्रयास पनि गर्नुपर्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्