होमवर्क हयाङ्आउटबाट कसरी बच्ने ?

नारी संवाददाता

माघ १, २०७३

बालबालिकाहरूलाई होमवर्क गराउने काम अहिले धेरै आमाबाबुका लागि समस्या बनेको पाइन्छ । बालबालिकाहरूले समयमा होमवर्क गर्न नमान्दा अभिभावकहरूमा एक प्रकारको तनाव सिर्जना हुन्छ । होमवर्क गराउने काम पनि एक प्रकारको कला भएकाले यो चुनौती नै हो । कार्टुन, गेम तथा विविध एप्सले गर्दा बालबालिकाहरूलाई होमवर्क गराउनु पनि समस्या नै बनोको पाइन्छ । 

 

समय व्यवस्थापन 

बालबालिकाहरूलाई समयअनुसार काम गर्न सिकाउनुपर्छ । यसो गर्दा उनीहरू हरेक क्रियाकलाप समयमै गर्न उत्साहित बन्छन् । विद्यालयबाट होमवर्क दिइएको छैन भने पनि उनीहरूलाई कथा तथा कविताका किताब पढ्न दिन सकिन्छ । उनीहरूलाई होमवर्क नभएको दिनमा होमवर्क छैन, केही गर्नु पर्दैन भनेर चुप लगाउनु हँुदैन । काम नहुनेबित्तिकै बालबालिकाहरू टिभीका कार्यक्रम तथा गेमप्रति आकर्षित बन्छन् । 

 

पढ्ने स्थानको उचित व्यवस्था

प्राय: घरमा बालबालिकाहरूका लागि फरक कोठा हँुदैन । साथै उनीहरू बसेर पढ्ने स्थान पनि निश्चित हँुदैन । बालबालिकाहरू पढिरहेका बेला कुनै पाहुना आए भने उनीहरू ठाउँ सर्दै पढ्न विवश हुन्छन् । कुनै–कुनै घरमा त बालबालिकाहरूलाई भान्सा तथा शयनकक्षमा राखेर समेत अध्यापन गराइन्छ । कहिलेकाहीँ आमाहरू टिभी हेर्दै बालबालिकालाई पढाउँछन् । होमवर्क गर्न ढिलाइ गर्नेबित्तिकै आमाहरू बालबालिकालाई हप्काउन थाल्छन् । सजिलैसँग नानीहरूलाई होमवर्क गराउने हो भने उनीहरूका लागि पढ्ने स्थानको उचित व्यवस्था मिलाइदिनुपर्छ । यसो गरियो भने उनीहरू एकाग्र भएर पढ्न सक्छन् । उनीहरू आफैं पढ्न तथा सकारात्मक कार्यप्रति उत्प्रेरित हुनसक्छन् । 

 

आफू पनि व्यस्त रहने 

नानीहरूको अध्यापनको समयमा आफूलाई अखवार तथा कुनै किताबमा व्यस्त राख्नुपर्छ । उनीहरूलाई अध्यापन गराउँदा आफूले खाना बनाउने, गफ गर्ने, टिभी हेर्ने, फोनमा कुराकानी गर्नेजस्ता पढाइसँग असम्बन्धित क्रियाकलाप गर्नुहँुदैन । आफू अगाडि बसेर अध्यापन गराउँदा नानीहरूले पढाइमा पूरा ध्यान लगाउँछन् । 

 

शिक्षकसँग नियमित भेट 

आफ्ना नानीहरूलाई स्कुल भर्ना गरेपछि शिक्षकहरूसँग नियमित अन्तरालमा भेट गर्नुपर्छ । कतिपय अभिभावक विद्यालयले नै बोलाएको अवस्थामा समेत यस्ता मिटिङमा जान चाहँदैनन् जब कि यस्ता मिटिङ अभिभावकका लागि निकै प्रभावकारी तथा उपयोगी हुन्छन् । यसमा आफ्ना नानीहरूको प्रगति विवरणका विषयमा यथार्थ जानकारी पाउनुका साथै उनीहरूको कमजोरी वा सुधार गर्नुपर्ने पक्षसमेत थाहा पाउन सकिन्छ । शिक्षकसँग सोधेर आफ्ना नानीको आनीबानीमा ध्यान पुर्‍याउनका लागि पनि शिक्षकसँग समय–समयमा भेटघाट गर्नुपर्छ । 

 

कम्प्युटरमा होमवर्क गर्दा ध्यान 

प्राविधिक विकासले गर्दा हिजोआज एक कक्षादेखि नै कम्प्युटर शिक्षा अध्यापन गराइन्छ । हिजोआज त गृहकार्य पनि कम्प्युटरमै गर्नुपर्ने हुन्छ । नानीहरूलाई सानैदेखि कम्प्युटरबारे ज्ञान दिनु राम्रो तर उनीहरू के गर्दैछन् भन्ने कुरा राम्रोसँग निगरानी गर्नुपर्छ । नानीहरू कम्प्युटरमा गेम पो खेल्दैछन् कि त्यो पनि विचार पुर्‍याउनुपर्छ । बालबालिकाहरूको कम्प्युटरमा सकेसम्म इन्टरनेट जडान गर्नुहँुदैन । 

 

अनावश्यक दबाब

कतिपय नानीहरू निकै जेहेन्दार हुन्छन् । उनीहरू स्कुलबाट घर आउनेबित्तिकै गृहकार्य गर्न बस्छन् । यस्ता नानीहरूलाई पनि अभिभावकहरू कचकच गरिरहन्छन् । गाली गरी पिट्न समेत बेर लाउँदैनन् । । साना नानीहरूमाथि यस्तो व्यवहार गर्नु राम्रो कुरा होइन । उनीहरूको मनोभाव बुझेर त्यहीअनुसार व्यवहार गर्नुपर्छ, अनावश्यक दबाब दिनुहुँदैन ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्