मनको ऐनामा मान्छे

नारी संवाददाता

पुस २९, २०७३

कुनै पनि मानिसले आफ्नो रूप–रंग, बोलीचाली, आफूले गरेको व्यवहार, उसलाई समाजले हेर्ने दृष्टिकोण तथा आफ्नै सोच आदिबाट आफ्नो व्यक्तित्व निर्माण गर्छ । मानिस जतिसुकै सुन्दर तथा तेजस्वी भए पनि प्राय: उसले आफ्नो रूप–रंग एवं व्यवहारमा कुनै न कुनै खोट निकालिरहेको हुन्छ । एकपटक एक टिभी पत्रकारले हिन्दी चलचित्रकी सुन्दर अभिनेतृ प्रियंका चोपडासँग सोधेका थिए, तपाईंलाई आफ्नो कुन अंग मन पर्दैन ? जवाफमा प्रियंकाले आफ्नो ओठ यस्तो नभइदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ भनेकी थिइन् ।

 

हो, भारतीय अभिनेतृ प्रियंका चोपडालाई मात्र होइन नेपालकी सुन्दर अभिनेतृ प्रियंका कार्की हुन् कि भारतकी ड्रिम गर्ल हेमा मालिनी हुन् वा कैटरिना कैफ वा सलमान खान जोकसैलाई आफ्नो कुनै न कुनै अंग मन पर्दैन । सेलिब्रेटीले मात्र होइन कि अरूलाई सुन्दर लाग्ने आम महिला–पुरुषले पनि यस्तै कुरा बताएको पाइन्छ ।

 

कलेज सुन्दरीका रूपमा चर्चित १९ वर्षीया रीतिका पनि आफ्नो सुन्दरतामा केही कमी–कमजोरी रहेको बताउँछिन् । रीतिका भन्छिन्, ‘मेरो नाक यस्तो नभइदिएको भए राम्रो हुने थियो ।’ यद्यपि उनका साथीहरूले उनको नाक निकै राम्रो भएको बताए । रीतिका जत्तिकै सुन्दर वासनालाई आफ्नो ओठ मन पर्दैन भने युवा विद्यार्थी राज बस्नेतलाई आफ्नो होचो कद खड्किएको छ । त्यसो त उनी ५ फिट ६ इन्च अग्ला छन् । 

 

यसरी प्राय: हरेक मानिसले आफ्नो शारीरिक रूप–रंगप्रति कुनै न कुनै कमी–कमजोरी भेट्छन् जुन सामान्य हो । यसले मानिसको दैनिक जीवनमा कुनै असर गर्दैन तर कतिपय मानिसका लागि यो जटिल समस्या नै बन्छ र त्यसले मनोरोगको रूप धारण गर्छ । यस्तो मनोरोगलाई आफ्नो रूप–रंग मन नपर्ने विकृति (बडी डिसमोर्फिक डिसअर्डर, छोटकरीमा बीडीडी) भनिन्छ ।

 

के हो बीडीडी ?
मनोचिकित्सकहरूका अनुसार आफ्नो रूप–रंग मन नपर्ने विकृति (बीडीडी) एक प्रकारको मानसिक रोग हो । कुनै व्यक्ति आफ्नो रूप–रंगका कारण चिन्तित भएर उसको दैनिक जीवन नै प्रभावित हुन्छ भने त्यसलाई आफ्नो शरीर मन नपर्ने मनोविकृति (बीडीडी) भनिन्छ । यस्तो मानसिक रोगबाट पीडित मानिसलाई विशेष गरेर आफ्नो अनुहार, नाक, ओठ, मुख, आँखा, छाला, दाँत, शरीरको ढाँचा, स्तन, छाती, लिङ्ग आदि मन पर्दैन । 

 

यो मनोवैज्ञानिक रोगबाट पीडित व्यक्तिले आफ्नो शरीरमा खास गरी अनुहार (जस्तै नाक ठूलो, लामो, ओठ नमिलेको आदि) विकृत भएको कल्पनाचित्र बनाएको हुन्छ, तर त्यस्तो विकृति अन्य मानिसले खासै नोटिस गरेका हुँदैनन् । बीडीडीलाई पहिले डिसमोर्फोबिया (कुरूपताको भय) भनिन्थ्यो । यस्ता रोगीहरूले आफ्नो समस्या समाधानका लागि पटक–पटक छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन, दन्त रोग विशेषज्ञहरूलाई भेट्छन् । कतिपयले त पटक–पटक प्लास्टिक सर्जरी पनि गराउँछन् । यो समस्याले उग्ररूप लियो भने रोगी सामाजिक फोबियाबाट पीडित हुन सक्छ अनि आफ्नो पेसा, नोकरी वा स्कुल छोडेर घरमै कैदी जीवन बाँच्न बाध्य हुन्छ । बीडीडी तुलनात्मक रूपमा महिलामा बढी देखा पर्छ । 

 

कृपा २५ वर्षीया अविवाहित युवती हुन् । उनी जति सुन्दर छिन्, त्यति नै प्रतिभाशाली पनि । कृपाले २३ वर्षको उमेरमा विशिष्ट श्रेणीमा एमएस्सी गरेपछि राम्रो कलेजमा पढाउन थालेकी थिइन् । आफ्नो पेसाप्रति दक्ष हुँदाहुँदै पनि उनलाई कलेज पढाउन निकै अप्ठ्यारो भैरहेको थियो । त्यसैले ६ महिना जति पढाएर कृपाले कलेज छोडिन् । आफूले खाइरहेको राम्रो जागिर छोड्नुपर्ने कारण थियो, उनको नाक । कृपालाई आफ्नो नाक अलिकति पनि मन पर्दैनथ्यो । उनलाई आफ्नो नाक लामो, चुच्चो र सुगाको जस्तो लाग्थ्यो । 

 

कलेजमा होस् वा सार्वजनिक ठाउँमा मानिसहरू हाँसे भने उनको नाक हेरेर गिल्ला गरेझैं लाग्थ्यो । त्यसैले उनी सार्वजनिक ठाउँहरूमा पनि कमै जान्थिन् । जानैपर्ने अवस्थामा घन्टौं ऐना हेरेर नाकलाई मेकअपले छोप्ने प्रयास गर्थिन् । तैपनि उनी सन्तुष्ट हुन्नथिन् । उनको मनमा आफ्नो नाक सुगाको जस्तो नभइदिएको भए कति राम्रो हुने थियो भन्ने कुरा खेलिरहन्थ्यो । उनी मौका पाउनासाथ ऐनामा आफ्नो नाक हेर्थिन् । नाक देखेर उनलाई निकै हीनताबोध हुन्थ्यो । दिनप्रतिदिन उनको तनाव बढ्दै गयो । उनी निकै उदास र निराश थिइन् । आफ्नो पेसाप्रति दक्ष हुँदाहुँदै पनि उनले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेकी थिइनन् । 

 

छोरीको यस्तो अवस्था देखेर कृपाका बाआमाले उनलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिए । कृपाले विदेश गएर प्लास्टिक सर्जरी गराइन् तर प्लास्टिक सर्जरीपछि उनलाई आफ्नो नाक निकै सानोजस्तो लाग्न थाल्यो । प्लास्टिक सर्जरीपछि पनि उनको समस्यामा कुनै कमी आएन । यसरी दिन बित्दै गए, एकदिन एक चिकित्सक साथीको सल्लाहमा उनी साइकोलोजी क्लिनिक पुगिन् । साइकोलोजिस्टले उनी बीडीडीबाट ग्रस्त भएको बताए अनि कग्निटिभ बिहेभियर थेरापीद्वारा उपचार सुरु गरे । १२ चिकित्सा सत्रमा नै उनी ठीक भइन् । अहिले उनी प्राध्यापक छिन् । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्