चरित्र

डा. टीकाराम पोखरेल

पुस २६, २०७३ 

‘तँ चरित्रहीन होस् ।’ विवेक जोडले करायो । ‘किन ? के चरित्रहीन काम गरें मैले ?’ सानो स्वरमा सोधी सविताले ।‘अझ मुखमुखै लाग्छेस् ?’ विवेकले आफ्नो आक्रोशको डिग्री बढायो । ‘बढी बोलेकी होइन, सोधेकी मात्र हुँ । मैले त्यस्तो के चरित्रहीन काम गरें ?’ सविताले थप स्पष्टीकरण मागी । ‘बढ्ता बोल्ने होइन ल । मेरो रिसको पारो तातिसक्यो अब । अति भो अति ।’ विवेकको आक्रोशका अगाडि सविताले चुप नलागी धर पाइन । 

 

विवेक एक्लै बर्बराउन थाल्यो–‘अफिसबाट समयमा आउनु छैन, समयमा भात पकाउनु छैन । न कपडा आइरन गरेको छ, न घर सफा–सुग्गर छ । मोबाइलमा पनि कति झुन्डिन सकेको ? को छ हँ तेरो मोबाइलमा झुन्डिरहन पर्ने स्पेशल मान्छे ?’ ‘होइन के भनेको हजुरले ? म अफिसियल कुरा गर्दैछु । पीडितहरूको मुद्दाका विषयमा पक्षसँग छलफल गर्दैछु । हजुरबाहेक को हुनु र अरु मेरो ?’ सविताले आफ्नो स्पष्टीकरण प्रस्तुत गरी । 

 

‘अझ सदुइ बन्छेस् ? अफिसको काम त अफिसमा पो हुन्छ । घरमा आएर के–को अफिसको काम ? दुनियाँ केटाहरूसँग गफ गरेकी होली, अनि मलाई आँखामा छारो हाल्ने । चरित्रहीन आइमाई ।’ विवेकको भएभरको रिस एकैपटक पोखिन्छ । सविता केही पनि बोल्दिन तर विवेकको रिसको पारो झर्दैन । उसको पुरुषत्व वाणी निरन्तर चलिरहन्छ । ‘दिनदिनै लुगा फेरेको छ । नखरा पार्न पनि कति जानेकी ? कसलाई देखाउन हरेक दिन लुगा फेर्नुपर्ने हँ ? उफ् ! म पनि कस्तो अभागी । संसारमा कोही केटी नभएको जस्तो यस्ता केटीको फेला परेछु ।’ विवेकको रिसको डिग्री उकालो लाग्न छोडेको छैन । सवितालाई भने बोल्ने जाँगर चल्दैन । कति दिन बोल्नु एक दिन भए पो बोल्नु । ऊ चुप लाग्छे । विवेकको एकोहोरो गर्जनको साम्राज्य चलिरहन्छ । 

................

 

सविता विगतका दिनहरू सम्झन्छे । जुन दिन विवेक उसलाई पाउन मरिहत्ते गथ्र्यो । सविता कलेज पढ्थी । विवेक सानोतिनो व्यापार गथ्र्यो । सविता कलेजकी गनिएकी केटी थिई । रूपमा होस् वा पढाइमा । शिक्षकहरूकी आँखाकी नानी । पुरुष सहपाठीहरूकी केन्द्रविन्दु अनि केटी सहपाठीहरूकी ईष्र्या पात्र पनि । अनुहारमा मात्र होइन व्यक्तित्वमा पनि उसमा भिन्न चमक थियो । एक से एक केटाहरू सवितासँग लोभिन्थे तर सविताको व्यक्तित्वका अगाडि कोही पनि प्रेम प्रस्ताव राख्ने हिम्मत गर्दैनथे ।

 

व्यापार गर्नेको दिमागले जहिले पनि फाइदा खोज्छ । घाटाको व्यापार अरूको पोल्टामा हालिदिनु र फाइदा जति आफ्नु ढुकुटीमा पार्नु व्यापारीको धर्म नै हो । कलेज आउँदा जाँदा जब सविता विवेकको नजरमा परी तब विवेकको मनमथिंगलमा सविताले साम्राज्य जमाई । आफूले थाहै नपाई सविता विवेकको स्वप्नसुन्दरी भैसकेकी थिई । व्यापारिक दिमागको विवेक सविताको पिछा गर्न लाग्यो । केही समय त सविताले विवेकलाई भाउ दिइन, जसरी कलेजमा उसले आफ्नो पछि लाग्ने अरु केटाहरूलाई पनि भाउ दिएकी थिइन तर विवेकले किन छाड्थ्यो । आखिर नारी मन न हो, बिस्तारै सविता पग्लिई । फलामजस्ती कठोर सविता नौनीजस्ती नरम भई । बिस्तारै विवेकसँग नजिकिई । सविता विवेकको बनिदिने भई । व्यापारीले राम्रो सामान हात पारेरै छोड्यो ।

..................

 

सविता र विवेकको रोमान्समा दुनियाँ चकित हुन्थ्यो । भन्थे–‘जोडी हुनु त सविता र विवेकको जस्तो । परेवा र परेवीको झैं ।’ सविताका सहपाठीहरू ईष्र्या गर्दै भन्थे–‘सवितालाई कति माया गर्छ हगि त्यो विवेकले ? कति भाग्यमानी सविता । उसको जस्तो केटा भए पो प्रेम गर्नु ?’ 

आदर्श प्रेमी–प्रेमिकाको नमुना थियो विवेक र सविताको जोडी । विवेक सवितालाई बजारमा नयाँ–नयाँ आएका अनेक थरिका आकर्षक पहिरन किनेर ल्याइदिन्थ्यो । भन्थ्यो–‘तिमीलाई आधुनिक पहिरन सुहाउँछ ।’ सवितामा भने आधुनिक पहिरनमा त्यति रुचि थिएन तर विवेकका लागि लगाइदिन्थी ऊ, खुसी भएर । 

 

दर्जनौं केटा सविताको सुन्दरतामा र्‍याल चुहाउँथे । सविता कहिलेकाहीँ विवेकलाई भन्थी– ‘हेर विवेक ! त्यो आलोकले पनि मलाई मन पराउँछ नि । अनि अनिलले पनि । अनि त्यो ......’ धेरै केटा सविताको पछि लाग्दा पनि सविताले उनीहरूलाई भाउ नदिएको देख्दा विवेक भन्थ्यो–‘तिमी कति चरित्रवान् छौ हगि सविता । मबाहेक कुनै केटामाथि आँखा लगाउँदिनौ ।’ आफ्नो प्रशंसामा सविता दङ्ग भएर फुल्थी । 

 

कहिलेकाहीँ मुड चलेका बेला विवेक सवितालाई जिस्क्याउँदै भन्थ्यो–‘विचरा ती अनिल, आलोक तिमीलाई सम्झेर र्‍याल चुहाउँदै होलान् तर तिमी भने मसँग मस्त । म तिम्रो दिलको सम्राट् बनें सवि । तिमी मेरी दिलकी साम्राज्ञी । हेर विचरा ती अभागी केटाहरूको हालत । हाहाहाहा.....’सविता कम बोल्थी । केही प्रत्युत्तर दिन्नथी । मात्र निर्दोष हासो हाँस्थी ।

...........

 

समय बित्तै गयो । खोलामा पानी बग्ने क्रम रोकिएन । धर्ती आफ्नो गतिमा चलिरह्यो । चन्द्र र सूर्य आफ्नो गतिमा हिँडिरहे । विवेक र सविताबीचको झन्डै दुई वर्षको प्रेमले सामाजिक सम्झौताको रूप धारण गर्‍यो । संसारमा विपरीतलिङ्गी प्रेमको ‘क्लाइमेक्स’ विवाह नै हो । विवेक र सविता पनि अपवाद हुन सकेनन् । उन्मुक्त प्रेम बिस्तारै विवाह बन्धनमा परिणत भैछाड्यो । कसियो लगनगाँठो । 

 

विवाहपछि सविताका नाममा केही विशेषण जोडिए । विशेषण मात्र थपिएन जिम्मेवारी पनि थपियो । बन्धनहरू पनि अलि बलिया भएर कस्सिए । सविता छोरीबाट बुहारीमा परिणत भई । पत्नी बनी ऊ । हुन त विवेकमा पनि छोरोमाथि ज्वाइँको विशेषण थपियो, पति बन्यो विवेक पनि । तर विवेकमा बन्धनहरू थपिएनन् । बन्धनहरू सवितामा मात्र थपिए । विवेकले विवाह गरेवापत आफ्नो लवाइ–ख्वाइमा पनि परिवर्तन गर्नुपरेन तर सविताको भने विवाह गरेवापत टाउकोमा सिन्दूर थपियो, गलामा पोते, नारीमा चुरा, शरीरमा पाइन्टको साटो साडी । यी सबै थपियो भन्दा पनि थोपरियो । 

सृष्टिको निरन्तरता । कालान्तरमा उनीहरूबाट दुई सन्तान जन्मिए । वंश थामियो । समाजमा इज्जत धानियो ।

 

अब विवेकलाई सविताको शरीरप्रति आकर्षण छैन । उसको आकर्षण बालबच्चाको स्याहार–सुसार, घरको हेरविचार, विवेकको चाकरी तथा घरव्यवहारको अन्य काममा घर्षण भएर दिनप्रतिदिन खिइँदै गएको छ । खिइएको सामानमा व्यापारीको आँखा जाँदैन । व्यापारीले खिइएको सामान मिल्काएर झरिला, भरिला एवं पोटिला नयाँ–नयाँ सामान खोज्छ । पुरानामा ओठ लेप्रिन्छ, नयाँ सामानमा आँखा सल्बलाउँछ । जति–जति सविताका शरीरमा बुढ्यौलीका संकेतहरू देखिन्छन्, त्यति–त्यति विवेकको मन बाहिरी संसारमा रमाउन थाल्छ । विवेकलाई घरवालीको संसारभन्दा बाहरवालीको संसार प्यारो लाग्न थालेको छ ।

 

पछिल्लो समय विवेक घरबाहिर बढी समय बिताउँछ । विवेक दिनभर जम्दैछ तासमा । रातभर रम्दैछ डिस्कोमा । दिवा लाइफले भन्दा रात्रि लाइफले विवेकको मन तानिरहेछ । नवयुवतीहरूको नम्बर दिनप्रतिदिन उसको मोबाइलमा भरिँदैछन् । छिनछिनमा नवयुवतीका फोनहरू आइरहन्छन् । सविताका अगाडि ऊ कुनै धक नमानी नवयुवतीहरूसँग जिस्किन्छ फोनमा । कहिलेकाहीँ विवेक २–४ दिन बेपत्तासँग हराउँछ, घरमा खबरै नगरी । घन्टैपिच्छे नयाँ–नयाँ मानिससँग विवेकको कुरा हुन्छ तर कोसँग कुरा भएको हो सविता त्यति भेउ पाउँदिन । धेरै वास्ता पनि गर्दिन ।

 

विवेक कहाँ जान्छ, कता जान्छ, सवितालाई थाहा हुँदैन । सविताले सोध्ने अधिकार गुमाइसकेकी छ । पति परमेश्वर कहाँ जान्छन् सविता सोध्ने हैसियत पनि राख्दिन र हिम्मत पनि गर्दिन । हिम्मत गरेर सोधी हाली भने विवेकको प्रगतिको बाधक मानिन्छे । उसमाथि पोथी बासेको आरोप लाग्छ । त्यसैले निरीह छे सविता । सविताको निरीहतामा विवेक मस्त छ । मन लागे घर आउँछ । मन नलागे हप्तौं बाहिरै बसिदिन्छ, बेखबर भएर ।  ‘अझैसम्म भात पाकेको छैन ?’ विवेक कराउँदै भान्सातिर पस्छ ।

‘तयार हुनै लाग्यो ।’ सविता भन्छे । ‘त्यति भात पकाउन पनि कति ढिला गरेको हँ ? मलाई ढिला भैसक्यो ।’ ऊ झनै रिसाउँछ । 

 

‘म पनि बिहान उठेदेखि एकछिन बसेकी छैन । काम गरेको गर्‍यै छु । बिहानभरि लुगा धोएँ, घर सफा गरें, बच्चाहरूका लागि ब्रेकफास्ट बनाएँ । गर्दागर्दै ढिला भयो ।’ सविता स्पष्टीकरण दिन्छे । 

‘होइन त्यो जाबो २–४ वटा लुगा धुन र २ वटा कोठा सफा गर्न कति टाइम लाग्छ हँ ? के–के न युद्धै लड्न लागेजस्तो ।’ आक्रोशको मात्रा बढ्दै जान्छ विवेकको ।‘एकैछिनमा तयार भैहाल्यो । अब खान तयार भैहाल्नुस् ।’ बिस्तारै भन्छे सविता ।

 

‘मलाई मिटिङमा जानु छ एकछिन भनेर हुन्छ ? अलिकति कमनसेन्स छैन तेरो ?’ जुत्ताको तुना कस्दै विवेक झन् खरो उत्रन्छ ।‘कहाँ के मिटिङ हो र ? कति बजे पुग्नुपर्ने ? सविता प्रश्न गर्छे ।कहाँ मिटिङ, के मिटिङ, कस्तो मिटिङ, यो सब तँलाई किन चाहियो हँ ? लोग्नेमान्छेको मामिलामा आइमाईले हात हाल्ने होइन भनेर तँलाई कति पटक भनिसकें ?’ विवेक सवितामाथि जाइलाग्न खोज्छ ।‘भैगो नभने नभन्नुस् तर खानाचाहिँ खाएर जानुस्, तयार नै भैसक्यो । म पनि खाएरै अफिस जाने हो ।’ सविता विवेकलाई अनुरोध गर्छे । 

 

‘तेरो जस्तो जुन बेला पुगे नि हुने अफिस जस्तो हो र मेरो मिटिङ । मेरो त ठीक समयमा सुरु हुने मिटिङ हो । तालनबेताल कुरा गर्छे । अब तेरो भात तैं खा । म हिँडे ।’ विवेक टक्टकिन्छ ।

विवेक हिँड्यो । सविता अवाक् भई । केही बोल्न सकिन । ढोकाबाट बाहिर निस्केर विवेकले आफ्नो मोटरसाइकल स्टार्ट गर्‍यो । रिसको झोकमा एकपटक एक्सिलेटर घुमाएर घुइँघुइँइँ पार्‍यो । अनि फर्केर कतै नहेरी बाइक दौडायो । मानौं, कुनै अस्पतालमा इमर्जेन्सीमा मर्न लागेको मानिसको उपचारका लागि दौडँदैछ । 

 

अलि पर चोकमा विवेककी मनकी नवपरी उसलाई पर्खेर बसेकी थिई । आजकी मिटिङपरी । विवेकले परीका अगाडि ब्रेक थिच्यो । टक्क मोटरसाइकल रोक्यो । परी उसको बाइकमा पछाडि बसी । 

‘कस्तो ढिला गरेको डार्लिङ ? आधा घन्टाभन्दा बढी कुरें । खुट्टै दुखिसक्यो भन्या ।’ मिटिङपरीले हल्का गुनासो गरी ।‘नरिसाऊ न प्रिया । घरमा बूढीले आज अलि र्‍याक गर्दी क्या ।’ विवेक नम्र देखियो ।

‘भैगो, भैगो । धेरै स्पष्टीकरण दिइरहनु पर्दैन । तिम्री त्यो अधिकारकर्मी भनाउँदी थोत्री बूढीलाई मैले राम्रोसँग चिनेकी छु । ल हिँड अब ।’ परीले अलिअलि घुर्कीसहितको भाषामा भनी ।

 

विवेकले एस्लिेटर बटार्‍यो । बाइक अझ रफ्तारमा हुइँकियो । टाढा, कतै टाढा, झनै टाढा ...... । 

अफिसमा काममा व्यस्त छे सविता । उसलाई राम्रोसँग बोल्ने फुर्सद पनि छैन । टिनीनीनीनी..... टिनीनीनीनी..... टिनिनीनी...... । सविताको मोबाइलमा घन्टी बज्यो । ३–४ घन्टी बजेपछि काम थाती राखेर मोबाइल उठाएर स्क्रिनमा हेरी । विवेकको नम्बर देखा पर्‍यो । ‘हल्लो’ ‘मोबाइल उठाउन किन ढिला ? तँ कहाँ कोसँग हो ?’ ‘कहाँ कोसँग हुनु म, अफिसमा छु । अफिसको काम गर्दैछु ।’

‘किन यति ढिला उठाएको त मोबाइल । कतै तँ तिनै क्याम्पस पढ्ने बेलाका तँलाई मन पराउने केटाहरूको साथमा त छैनस् ?’

 

सविता केही बोल्दिन । बोल्ने कुरा भए पो बोल्नु । भएको कुरा सुन्ने भए पो स्पष्टीकरण दिनु । सुनिरहन्छे सविता ।‘अँ, सुन । आजकल तँ अफिसबाट फर्कन पनि ढिलो गर्दैछेस् । समयमा घर नपुग्ने मान्छेलाई के भन्छन् थाहा छ ? चरित्रहीन भन्छन् चरित्रहीन । त्यसैले अफिसको काम अफिस समयभित्र गर्ने र बेलामा घर पुग्ने । चरित्रहीन काम गर्ने होइन राम्रोसँग बुझिस् नि ?’सवितासँग यसको कुनै उत्तर छैन । त्यसैले सविता केही बोलिन । शब्दविहीन सुनिरही । उताबाट विवेक फत्फताइरह्यो । विवेकको पाश्र्वमा एउटा नारी स्वर सुनियो–‘ह्या कस्तो तिमी पनि । के थोत्री बूढीसँग कुरा गरिरहेको म यहाँ हुँदाहुँदै । हलुवामा बालुवा नमिसाऊ त विवेक । तिम्री थोत्री बूढीलाई कसले लान्छ यार ।’ 

 

‘हो नि मेरी हलुवा, तर के गर्नु बालुवालाई पनि ठेगानमा त राख्नुपर्‍यो नि । डन्ट माइन्ड माई स्वीटहार्ट डार्लिङ ।’ विवेकले मिटिङपरीको गाला चिमोट्यो । मिटिङपरी दङ्ग परी ।‘इन्ज्वेय योर सेल्फ विथ मि माई डियर विवेक ।’ मिटिङपरी लाडे पल्टदै विवेकको काखमा सुती ।विवेक र परीका रासलीलाका यी सब आवाज मोबाइलमा सविताले सुनिरही । सवितालाई असह्य भयो । ऊ मोबाइल काटेर अफिसबाट दिउँसै निस्की । सरासर घर गई । बच्चाहरू स्कुलबाट फर्किएका थिएनन् । ढोका खोली सरासर भित्र पसी ।

 

अनि ढोका बन्द गरेर विक्षिप्त भएर कराई–‘हो विवेक, म चरित्रहीन आइमाई हुँ । किनभने तिमीले महिलाहरू फेरेजस्तो मैले पुरुष फेर्न सकिन । दर्जनौंसँग प्रेमको नाटक गर्दै खेलौना बनाउन सकिन । म पुरुषहरूसँग खेलेर समय कटाउनुको सट्टा पुरुषहरूबाट प्रताडित महिलाहरूलाई पुरुषको हुंकारविरुद्ध आवाज उठाउन अभिप्रेरित गर्छु । हो, म सामाजिक अभियन्ता भएर महिला हिंसाविरुद्ध चेतना बाँड्छु । पीडित महिलाहरूको पक्षमा लड्छु । त्यति गरेर पनि म आफ्नो घर–व्यवहार र बालबच्चा धानिरहेकी छु र तिमीलाई परमेश्वर मानेर बसिरहेकी छु । यति गर्ने मानिस चरित्रहीन नभएर को हुन्छ ? हो विवेक, म संसारकै सबैभन्दा ठूलो चरित्रहीन महिला हुँ .....।’ सविता कराइरही, कराइरही ।

 

सविताको आवाज कोठाभरि गुञ्जियो, तर बाहिर कतै निस्किएन । सडकमा मोटरहरू गुडिरहेका छन्, मानिसहरू हिँडिरहेका छन् । चन्द्र, सूर्य र पृथ्वीको गतिमा कुनै परिवर्तन आएको छैन । मानौं, यो धर्तीमा केही भएको छैन । सविता नि:शब्द छे । विवेकको मिटिङ चलिरहेको छ । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्