राशिअनुसार होम डेकोर

नारी संवाददाता

पुस २४, २०७३

मेष

मेष राशिका व्यक्तिहरू सिर्जनात्मक हुने भएकाले यिनीहरूलाई घर सजावटमा बढी रुचि हुन्छ । मेष राशिका मानिसहरू हरेक किसिमका फर्निचर, भड्किलो रंगको भित्ता, ट्ेरन्डी सामग्री एवं एसेसरिज आदिबाट आफ्नो घरको सजावटलाई फंकी टच दिन रुचाउँछन् । ठूलो तथा हावादार घर मन पराउँछन् भने काठको फ्लोरिङमा पनि रुचि राख्छन् । व्यायाम उनीहरूको दिनचर्याको एउटा महत्वपूर्ण हिस्सा हुन्छ । 

सुझाव :घरको इन्टेरियरमा रातो रंग प्रयोग गर्नु मेष राशिका व्यक्तिका लागि शुभ मानिन्छ । रातो रंगले उनीहरूमा ऊर्जा तथा खुसी सञ्चार गर्छ । पूरै कोठामा रातो रंग लगाउनुको साटो एउटा भित्तामा मात्र रातो रंग लगाउन सकिन्छ । उक्त भित्ता मुख्य ढोकाको अगाडि हुनुपर्छ । मेष राशि हुनेहरू एकै किसिमको सजावटबाट छिट्टै बोर हुन्छन् र समय–समयमा इन्टेरियर चेञ्ज गरिरहन्छन् । त्यसैले मेष राशिका मानिसहरूले भरसक होम डेकोरका लागि महँगा सामान किन्नु हुँदैन ।

 

वृष 

वृष राशिका मानिसहरूको घर पारम्पारिक तथा सबै सुख–सुविधाले भरिपूर्ण हुन्छ । यिनीहरूलाई सुख, शान्ति, सुरक्षा तथा आरामका साथ बस्न मिल्ने घर मनपर्छ । छालाबाट बनेका फर्निचर यो राशिका मानिसहरूको पहिलो च्वाइस हुन्छ । पित्तल, काँच तथा तामाबाट बनेका शोपिस पनि यिनीहरूलाई राम्रो लाग्छ । पर्दा, बेड सिट, सोफा कभर आदिका लागि सिल्क, साटन तथा भेल्भेटका कपडा नै छान्छन् ।

 

सुझाव : वृष राशि भएका मानिसहरूलाई लक्जरियस सजावट मनपर्छ । त्यसैले घरका लागि राजसी वस्तु नै छान्नुपर्छ । महँगा तथा ठूला आकारका फर्निचर तथा टिभी किन्न सकिन्छ किनभने वृष राशिका मानिसहरू एकै किसिमको सजावटबाट बोर हुँदैनन् । यिनीहरूलाई महँगो, बहुमूल्य तथा वान पिस मन पर्छ । 

 

मिथुन 

खुल्ला, हावादार र पर्याप्त उज्यालो छिर्ने कोठा नै मिथुन राशिका मानिसहरूको पहिलो आवश्यकता हो । पुस्तक तथा पत्रपत्रिकाहरू राख्न पुस्तक र्‍याकहरू बनाउन चाहन्छन् जसबाट उनीहरूको व्यक्तित्व झल्कन्छ । घरमा यस्ता शोपिसहरू हुन्छन् जसलाई सजिलै मिलाउन र राख्न सकिन्छ । 

सुझाव :मिथुन राशिको चिन्हलाई नै भित्तामा पेन्ट गराउँदा वा त्यो चिन्हको डेकोरेटिभ पिस सजाउँदा यो राशिका मानिस सधै खुसी रहन्छन् । इन्टेरियरमा ऐना प्रयोग गर्न बिर्सनु हुँदैन जसले कोठा ठूलो भएको महसुस गराउँछ ।

 

कर्कट

यो राशिका मानिसहरूले घरप्रति पर्याप्त रुचि राख्छन् । उनीहरू आफ्नो परिवारलाई बढी महत्व दिन्छन् । कर्कट राशि हुनेहरू घरमा सुरक्षा तथा आफ्नोपन महसुस गर्छन् । यो राशिका मानिसमा प्राचीन वस्तुप्रति बढी रुचि हुन्छ । त्यसैले घरमा एन्टिक तथा पुराना वस्तुहरू पर्याप्त हुन्छन् भने उनीहरू अतिथि सत्कारमा पनि उत्तिकै ध्यान पुर्‍याउँछन्। 

 

सुझाव :फूलदानी तथा फूलले घर सजाउने । लिभिङ तथा बेडरुमको भित्तामा पारिवारिक तस्बिर झुन्डाउँदा मानसिक शान्ति प्राप्त हुन्छ ।

 

सिंह

कला र मनोरञ्जनमा बढी रुचि हुने भएकाले उक्त रुचि सजावटमा समेत देखाउन चाहन्छन् । त्यसैले सिंह राशिका मानिसहरूले सजावटका सामान छान्दा सबैले मनपराउने सामान छान्छन् । घरमा कुकुर, बिरालो, खरायो आदि जनावर पाल्न रुचाउँछन् । होम डेकोरेसनमा ब्राइट कलर प्रयोग गर्छन् । 

सुझाव :गोल्डेन अरेञ्जका साथमा ब्राइट एल्लो कलरको कम्बिनेसन सिंह राशिका मानिसहरूका लागि बेस्ट साबित हुन्छ । घरको सजावटमा सूर्य वा सूर्यमुखीसंँग मिल्ने पहेंलो रंग प्रयोग गर्दा भाग्योदय हुन्छ ।

 

कन्या 

कन्या राशिका मानिसहरू खुल्ला, उज्यालो, साधारण तर सफा घरमा बस्न रुचाउँछन् । यिनीहरूमा प्राकृतिक वस्तुहरूप्रति बढी रुचि हुन्छ । सेरामिक्स बाबल, माटाका भाँडाहरू निकै मन पराउँछन् । कन्या राशि भएका मानिसहरूको घरमा यस्तै सजावटका सामान देख्न सकिन्छ । 

सुझाव :आइरनका फर्निचर कन्या राशि भएका मानिसहरूका लागि बेस्ट हुन्छ भने बाँसका फर्निचर पनि शुभ मानिन्छन् । 

 

तुला

तुला राशिका मानिसहरूमा सुन्दरता, सन्तुलन एवं शान्तिप्रति विशेष आकर्षण हुन्छ । जुन कुरा यो राशि भएका मानिसहरूको घरमा देख्न सकिन्छ । घरको वातावरण साधारण, आरामदायक एवं आकर्षक हुन्छ । घरमा तस्बिर तथा सजावटका सामानहरू निकै कम हुन्छन् तर उक्त घरमा सधैं यस्तो सेन्टर पिस राखिन्छ जसले पाहुनाहरूलाई आकर्षित गर्नुका साथै आँखालाई समेत शीतलता प्रदान गर्छ । घरमा गुलाबी, पहेंलो र हरियो कम्बिनेसन तथा क्रिम कलर प्रयोग गर्न रुचाउँछन् ।

सुझाव :नेचुरल टेक्सचरदेखि सिन्थेटिक टेक्सचरसम्म प्रयोग गर्नुपर्छ । फर्निचर, लाइटिङ र कलरमा कन्ट्रास्ट सेड्स प्रयोग गर्नु उपयुक्त हुन्छ ।

 

वृश्चिक

वृश्चिक राशि भएका मानिसहरूको घर उनीहरूको राशिजस्तै गूढ, गहन र गोप्य खालको हुन्छ । वृश्चिक राशिका मानिसहरूमा प्रभावशीलता, निजता, कामुकता, क्रोध आदि तत्व हुन्छ जुन उनीहरूको घरको सजावटमा पनि देख्न पाइन्छ । घरमा फूलदानी, क्यान्डल होल्डर, ऐना आदि सजावटका रूपमा प्रयोग भएको पाइन्छ । 

सुझाव :रातो, कालो, पर्पल तथा मिडनाइट ब्लु शुभ हुन्छ । घरको भित्तामा रातो रंग प्रयोग गर्नुहुँदैन । यो रंगको प्रयोग नै उनीहरूको क्रोधको कारण बन्न सक्छ । 

 

धनु 

धनु राशिका मानिसहरू स्वतन्त्रता मन पराउँछन् । विद्यावान्, ज्ञानी, उदारवादी, स्पष्टवादी तथा घुम्न रुचाउने खालका हुन्छन् । यिनीहरूको घर आरामदायक एवं सुविधाजनक हुन्छ । प्रकृतिको नजिक रहन चाहन्छन् । घरमा पुस्तक र्‍याक पनि हुन्छ र त्यसमा वर्षाैंदेखि जम्मा गरेका पुस्तक कलेक्सन गरेर राखिएको हुन्छ । 

सुझाव :धनु राशिका मानिसहरूका लागि मरुन, नेवी ब्लु तथा अरेञ्ज रंग शुभ मानिन्छ । यी रंगका डेकोरेटिभ सामग्री तथा शोपिसहरू घरमा राख्न जरुरी छ । 

 

मकर 

मकर राशिका मानिसहरू सजिलैसँग कुनै कुरा बदल्न तयार हुँदैनन् । यो राशिका मानिसहरू गुणस्तरीय सामग्री नै रुचाउँछन् । इन्टेरियरका लागि दुर्लभ ऐतिहासिक चीजहरू संग्रह गर्न चाहन्छन् । सजावटमा खुल्ला इट्टाको भित्ता, पत्थरले बनेको फायरप्लेस, सुन्दर टेबल ल्याम्पका साथै अन्य बहुमूल्य वस्तुलाई प्राथमिकता दिन्छन् । 

 

सुझाव :चकलेट ब्राउन, रोयल ब्लु, डार्क ग्रिन तथा चारकोल ग्रे मकर राशिका लागि उपयुक्त हुन्छ । राम्रो क्वालिटीको लेदर फर्निचर प्रयोग गर्नुपर्छ । 

 

कुम्भ

कुम्भ राशिका मानिसहरू खुल्ला ठाउँमा बस्न रुचाउँछन्, जसले स्वतन्त्रता महसुस गराउँछ । यो राशिका मानिसहरूको घरमा नयाँ तथा पुरानो अर्थात् पारम्पारिक तथा मोडर्न डिजाइनको मिश्रण हुन्छ । सजावटका लागि मोडर्न आर्ट, फ्लावर पट तथा क्रिस्टलका सामग्री प्रयोग गर्न रुचाउँछन् । 

सुझाव :नीलो तथा इलेक्ट्रिक सिल्बर रंग शुभ हुन्छ । 

 

मीन

मीन राशि भएका मानिसहरू सपनामा बाँच्छन् । आरामदायक, हरियालीेले घेरिएको घर जहाँबाट खोला–नदी देखियोस् मन पराउँछन् । घरमा धेरै चीज हुँदैनन् तै पनि घर अस्तव्यस्त देखिन्छ । मीन राशि हुनेहरूको घरमा सबै जनालाई आत्मीयतापूर्वक स्वागत गरिन्छ । यिनीहरूलाई एन्टिक पिसहरू, तस्बिर, आर्ट आदि मनपर्छ । भित्तामा सजाइने सामग्रीहरू समुद्र, नदी, झरना अर्थात् पानीको थिममा आधारित हुनुपर्छ । 

सुझाव :हरियो तथा एक्वा रंग सजावटका लागि शुभ मानिन्छ । घरभित्र इन्डोर वाटर फाउन्डेसन तथा एक्वेरियम राख्नु लाभप्रद हुन्छ ।

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्