वार्तालाप कसरी गर्ने ?

नारी संवाददाता

पुस २२, २०७३  

वार्तालाप हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग हो । हामीले प्रत्येक दिन धेरै मानिससँग वार्तालाप गर्नुपर्छ । वार्तालापको माध्यमले हामी एक–अर्कासँग विचारको आदान–प्रदान गर्छाैं । यसबाहेक वार्तालाप नयाँ अनुभव, नयाँ ज्ञान र नयाँ जानकारी प्राप्त गर्ने साधन पनि हो । वार्तालापको विषयको कुनै सीमा हुँदैन तथा वार्तालाप धेरैजसो कुरा गर्ने मानिसको रुचि, ज्ञान एवं तत्कालीन परिस्थितिअनुरूप नै हुन्छ । वार्तालापमा मनोविज्ञानको पनि महत्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ सन्कीपन वा धेरै बोल्ने बानीले पनि वार्तालापलाई प्रभावित गर्छ ।

 

वार्तालाप आफैमा एउटा कला हो । कतिपय मानिस वार्तालापमा धेरै कुशल हुन्छन् र उनीहरूले केही समयमै अरूलाई प्रभावित गरिदिन्छन् । उनीहरूको बोलीमा एक किसिमको जादु हुन्छ । यस्ता मानिससँग कुनै पनि व्यक्ति कुरा गर्न हिच्किचाउँदैन । सबै मन खोलेर कुरा गर्न चाहन्छन् । यस्ता मानिससँग कुरा गरेर मानिसलाई आनन्द प्राप्त हुनुका साथै चिन्ता पनि हराउँछ । कतिपय यस्ता मानिस पनि हुन्छन् जोसँग कुरा गर्न सबै हिच्किचाउँछन् ।

 

सबैभन्दा पहिले हामीले वार्तालापको महत्व बुझ्नुपर्छ । मुखबाट निस्किएको शब्द कहिल्यै फिर्ता हुँदैन । अत: बोल्दा विशेष सावधानी अपनाउनुपर्छ । बोलीको धार धेरै तेज हुन्छ जसले भित्रसम्म असर गर्छ । बोलीको घाउ सजिलै पुरिँदैन । कतिपय बोलीको घाउ जीवनभरि जीवन्त रहन्छ । सुन्ने मानिसलाई आफ्नो कुराले बिझ्यो भने त्यसको उपचार त्यति सजिलो पनि हुँदैन । 
कसैसँग ख्यालठट्टा गर्नुभन्दा पहिले के बुझ्नुपर्छ भने आफूअगाडिको मान्छे पनि उसको कुरालाई त्यही रूपमा लिइरहेको छ कि छैन । बोलचालमा सधैं गम्भीरता नै ठीक हुँदैन र त्यसो गर्नु राम्रो वार्तालाप विपरीत पनि हुनसक्छ । तर बोलचालमा धेरै हल्कापन हुनु वा आफ्नो स्तरलाई खस्काउँदै अतिरञ्जित हुनु पनि ठीक होइन । यसले वार्तालापको प्रभावलाई कम गर्छ । 

 

  • राम्रो वार्तालापको कुनै निश्चित मापदण्ड निर्धारण गर्नु ठीक हुँदैन तर राम्रो बोलचालको सन्दर्भमा केही खास कुरालाई समावेश गर्न सकिन्छ । केही भन्नु वा केही सुन्नुलाई मात्र वार्तालापको श्रेणीमा राख्न सकिँदैन । कुराकानीको विषयअनुरूप सहजता, स्वाभाविकता र प्रवाह पनि हुनु आवश्यक छ । यसबाहेक स्पष्टता पनि धेरै आवश्यक छ किनभने भन्ने व्यक्ति वक्ताको कुरा सुन्ने व्यक्ति श्रोताले बुझ्नुपर्छ । केही कुरालाई ध्यानमा राखेर वार्तालापलाई स्तरीय, प्रभावशाली र आकर्षक बनाउन सकिन्छ। 
  • भरसक वार्तालाप संक्षिप्त र सटिक हुनुपर्छ । वार्तालापमा अनावश्यक कुरा गर्नु हुँदैन । 
  • बोलीचालीको मर्यादा कायम राख्न सुन्ने व्यक्तिलाई उचित अभिवादन गर्नुपर्छ र उसको मान–सम्मानको ख्याल राख्नुपर्छ । यदि आफ्नो उमेरभन्दा कम उमेरका व्यक्तिसँग कुरा गरिएको छ भने त्यसको अर्थ यो होइन कि कुराकानीको स्तर कम होस् । बोली प्रभावित पार्ने खालको हुनुपर्छ जसले अगाडिको मान्छे प्रभावित होस् । 
  • दुई भाग हुन्छन् । एउटा हो भन्नु र अर्को सुन्नु । भन्ने मानिसले केवल आफ्नै कुरा भनिरहनु हुँदैन र अर्काको कुरा पनि सुन्नुपर्छ अनि मात्र संवाद पूरा हुन्छ । कतिपय मानिस केवल आफ्नै कुरा मात्र भन्न चाहन्छन्, त्यसो गर्नु ठीक होइन । 
  • वार्तालापमा आत्मप्रशंसा धेरै न्यून मात्रामा यदाकदा आवश्यकताअनुसार मात्र गर्नुपर्छ । केवल आफ्नै प्रशंसाले बोलचाललाई फितलो बनाइदिन्छ । आफ्ना बारेमा थोरबहुत बताएर सामुन्नेको व्यक्तिका बारेमा जान्नु बढी राम्रो हुन्छ । 
  • स्पष्टतावादिता र आलोचनामा ठूलो अन्तर छ । सत्य कुरा पनि राम्रो शब्दमा वा संकेतात्मक रूपमै भन्नुपर्छ । सामान्यतया यदि कसैले कसैको प्रशंसा गर्न सकिँदैन भने पनि कम्तीमा उसको कमजोरीको बखान गर्नु हुँदैन । सही अर्थमा आलोचना गर्नुका पनि थुपै्र खतरा छन् । जब कसैले कसैको आलोचना गर्छ भने त्यतिबेला उसले सबैथोक बिर्सन्छ र जानीजानी कतिपय यस्ता शब्द उसको मुखबाट निस्कन्छन् जसले भविष्यमा समस्याको चाङ नै लगाइदिन्छ । 
  • बोलीचालीमा समय र परिस्थितिलाई पनि ध्यान दिनुपर्छ । कुन समयमा कुन कुरा भन्नुहुन्छ र कुन भन्नु हुँदैन विवेकपूर्ण ढंगले विचार गर्नुपर्छ । कतिपय मानिस समय एवं परिस्थितिको ख्यालै नगरी जे मन लाग्यो त्यही बोल्छन् र पछि पछुताउँछन् । 
  • यदि कसैले कसैको उपकार गरेको छ भने त्यसको पटक–पटक बखान गर्नाले बोलचालमा प्रतिकूल असर पर्छ । के हुनुपर्छ भने उपकृत व्यक्ति स्वयंले उसले पाएको उपकारको चर्चा एवं उपकार गर्ने व्यक्तिको प्रशंसा गरोस् । 
  • दुईजना मानिस कुरा गरिरहेका बेला तेस्रो व्यक्ति बीचमा बोल्नु हुँदैन । यो बोलचालको सामान्य शिष्टाचार हो । 
  • बोलचालमा आक्रोश र आवेशको कुनै स्थान हुँदैन । जहाँसम्म सम्भव छ क्रोधित स्थितिमा बोलचाल नगर्नु नै वेश हुन्छ । क्रोधमा मानिसले विवेक गुमाउँछ र उसलाई थाहा हुँदैन कि उसले के भनिरहेको छ?
  • कतिपय मानिस कुराकानीमा आफ्ना सुख–दु:खका कुरा साट्न थाल्छन् । यो पनि ठीक होइन । 
  • वार्तालाप सहभागिताको कार्य हो जसमा दुई वा दुईभन्दा बढी व्यक्ति भाग लिन्छन् । वार्तालापमा शालीनता, समन्वय, सद्भाव र शिष्टाचार हुनुपर्छ । कुराकानी गर्ने राम्रो तौरतरिकाले व्यक्तित्व बढाउँछ भने गलत तरिकाले गरिएको कुराकानी अपजसको कारण पनि बन्छ । बोलचालको सही विधि अरूबाट पनि सिक्न सकिन्छ । संस्कार, अनुभव र सिक्ने प्रवृत्तिले पनि यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । 
     

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्