स्मार्ट बन्ने मन्त्र

सिर्जना शर्मा

पुस २१, २०७३  


   
घटना महाअष्टमीको दिनको हो । घरमा जम्मा भएका आफन्तहरू बैठकमा गफ, हाँसोमजाक तासखेलमा रमाइरहेका थिए । भान्सामा खानाको विशेष परिकार बन्दै थियो । दसैंको बेला मासु त अनिवार्य पाक्न परिहाल्यो । त्यसमा पनि सबैको रोजाइ थियो खसीको मासु ।  विमलाले छोरा विशेषको हातमा पैसा थमाइन् र खसीको मासु ल्याउन भनिन् ।  ‘मासु ल्याइदिएपछि त अरू कुनै काम गर्नु छैन । आफू पनि तासमा जम्न पाइन्छ, चंगा उडाउन पाइन्छ ।’ अबेर नगरी ऊ आफ्नो पल्सर बाइकमा चढ्यो र साथी उमेशलाई साथ लिई जाने मनसायले उसको घरतिर सोझियो । गेटबाहिर बाइक रोकी उसले उमेशलाई बोलायो र भन्यो–‘मासु किन्न जाऊँ न यार ।’ 

 

साथीले साथीको बचन काट्ने कुनै थिएन । त्यसमा थप विशेषलाई साथीहरू विशेष रूपमै मन पराउँथे । उमेश बाइकपछाडि बसिहाल्यो । बाइक वेगमा कुँद्यो । उनीहरू नाम चलेको मासु पसलमा पुगे । दसैंको बेला मासु पसलमा भीड थियो । ‘बाफ रे यति धेरै मान्छे ? हाम्रो पालो कहिले आउने ?’ विशेषलाई पालो कुर्ने धैर्य भएन । अर्को पसलमा जाऊँ यार । यहाँ त पालो आउला जस्तो छैन भन्दै उनीहरू हिँडे ।  अर्को पसलमा मात्र भीड कम किन हुन्थ्यो ? पालो नकुरी धरै भएन । त्यसैबेला उनीहरूको साथी प्रवीण बाइकमा बाटोमा देखियो । उसको पछाडि एकजना अर्को केटो पनि बसेको थियो । 


‘कहाँ हिँडेको यार तिमीहरू, मासु किन्न हो ? विशेषले सोध्यो । ‘होइन, हामी त पोखरा जान लागेको । जाम हिँड तिमीहरू पनि’ प्रवीणले भन्यो ‘आफू त यहाँ दसैंको किनमेलमा पो फसेको छु यार ।’
‘किनमेल हुँदै गर्छ । राजाबिना राज्य त अड्कन्न जाबो तँ नभएर घरमा मासु पाक्दैन ?’ ‘आजै पोखरा जानुपर्ने के छ र ? ‘नवीनको वर्थ डे हो नि आज थाहा छैन ? स्वीट सिक्सटिन वर्थ डे भनेर उसको ड्याडीले लेक साइटको होटलमा भव्य पार्टी दिँदैछ रे । क्या दामी होला ।  हाम्रो ग्याङको सबै साथीलाई ल्या है भन्या छ । मस्त खाने, मस्त रमाइलो गर्ने हो यार ।’

 

‘मासु पुर्‍याइदिऊँ घरमा, अनि जाउँला नि त । ’ ‘यस्तो भीडमा तेरो पालो आउँदा त साँझै पर्छ । फेरि चाडबाडको बेला घर पुगेपछि फुत्कन पाइँदैन । मासु जाबो घरका अरूले किनेर लगिहाल्छन् नि । जाऊँ यार ..। सबै साथीहरू जान पाए पो पार्टी जम्छ । हिँड्–हिँड् धेरै सोच्ने कामै छैन । बेलामा मस्ती गर्ने हो... ।’ उमेशले बाइकबाट ओर्लदै पाइन्टको धूलो झार्‍यो र भन्यो–‘बाउ बूढाले दसंैको बेला हिँड्यो भन्दै सातो लिन्छन् भनी डराएको थिएँ । एकछिन बाघझैँ गर्जन्छन् अनि फेरि बाबु....भन्न थालिहाल्छन् के को पिर ? जाऊँ न त हामी पनि जे पर्ला–पर्ला ।’

 

‘जाऊँ भने जाऊँ ।’ सारा कुरा बिर्सेर विशेषले साथीहरूका साथ पोखरा पुग्ने निर्णय गरिहाल्यो । 
उता घरमा आमा लसुन, अदुवा कुटी मसला पिनेर मासु पकाउन तयार भएर बसेकी थिइन् । छोरा अझै आइनपुगेपछि आमा एक्लै बोलिन्–‘दसैंको बेला मासु पसलमा भीड होला । ..निकै बेर लगायो । कतिबेला आइपुग्ने हो ...?’ त्यसैबेला तासमा जमेका देवर भान्सामा आए र पाकेका परिकार प्लेटहरूमा राखी बैठकतिर लग्दै मजाकको भाकामा भने–‘मासुको परिकार त विशेषले एक्लै कुना पसी खान थाल्यो जस्तो छ । ल खाँदै गरौँ हामी चाहिँ गेडागुडी, घाँसपात ।’ 

 

विशेष घरबाट हिँडेको १ घन्टा बित्यो, २ घन्टा बित्यो तर ऊ आइपुगेन । आमाका मनमा ढ्याङ्ग्रो ठोकिन थाल्यो । ‘किन आएन यति बेलासम्म ?  चाडको बेला घरमा पाहुना आफन्त जम्मा भएको थाहै छ त्यसलाई । के भयो होला त ?’ मनमा अनेक शंका–उपशंका उब्जन थाल्यो । ‘जंगी स्वभावको छ, पसलेसँग कतै झैझगडामा पर्‍यो कि ? बाइक अति वेगले हाँक्छ, कतै एक्सिडेन्टमा पो पर्‍यो कि ?’ मनमा त्रासदीको पर्खाल चुलिँदै गयो । मुख सुक्न थाल्यो । 

 

आमाले विशेषको मोबाइलमा डायल गरिन् । कल उठेन । ऊसँग प्राय:जसो साथ हुने साथीहरूको नम्बरमा पनि पालैपालो डायल गरिन् । कसैले कल रिसिभ गरेनन् । उनी झन्झन् हतास् हुँदै गइन् । उता देवर भन्दै थिए, केही एक्सिडेन्ट भयो भने त ट्राफिक एफएमले तुरुन्त खबर भनिहाल्छ । रेडियो बजाउनुुस् न ।’ 

 

हर कुरालाई हल्का रूपमा लिने देवरको स्वभाव मन पर्दैन विमलालाई । तर के भन्ने यस्तो अवस्थामा ? उनी अधीर बन्दै गइन् । ‘कहाँ गयो छोरो ? के छ उसको अवस्था ?’ डरले मन खिन्न हुँदै गयो । होस हराएझैँ हुन थाल्यो । छोराको खबरमा जान पतिलाई भनिन् । हलचल मच्चियो सबैका मनमा । दाइभाइ मोटरबाइकमा चढी यताउता खोजमा हिँडे । तर ऊ कतै देखिएन । फोन सम्पर्कमा पनि आएन । ऊ जानसक्ने सम्भावित आफन्त, साथीसंगीलाई पनि फोन गरे तर खबर थाहा लाग्न सकेन ।

 

जसोतसो भान्सामा परिकार पाक्यो । तर विशेष घरमा नभित्रिएका कारण चाडको रमाइलो जम्न सकेन । खाना खल्लो भयो । विमलालाई त खाना खान पनि मन भएन । घरीघरी छोराको त कहिले उसका साथीहरूको मोबाइलमा डायल गरिरहिन् । अपरान्हतिर बल्लबल्ल विशेषले आमाको कल रिसिभ गर्‍यो र भन्यो, ‘म त पोखरामा छु । साथीले वर्थ डे पार्टी मनाउन नआइहुन्न भन्यो... । भोलि बिहानै फर्कन्छु है मम्मी ?’ छोराको स्पष्ट बोलीले आमाको छातीमा बसेको ढुङ्गो सर्लक्क पन्छियो । आँखा चिम्म गरेर दुई हात जोड्दै शिवजीलाई धन्यवाद दिइन्–‘जय शम्भो पशुपतिनाथ...।’ छोराको गैरजिम्मेवार व्यवहारको कुनै मतलब भएन । 

 

भाइ बहिनीहरू ! यो घटना पढ्दा तिमीहरूका मनमा कस्तो सोच आयो ? किन गर्‍यो होला विशेषले त्यस्तो काम ? उसको व्यवहारलाई तिमीहरूले समर्थन गर्छौै ? गम्भीर बनेर सोच ।मेरो विश्लेषणमा, विशेष असल स्वभावको रसिलो केटा हो । तर उसले नजानेको कुरा जिम्मेवारी बहन गर्ने सीप हो । जिम्मेवारी बहन भनेको आफूले पूरा गर्छु भनेको काम अरूको रेखदेखबिना नै पूरा गर्नु हो । एउटा काममा हिँडेको केटो बिनाखबर अर्कोतिर मस्त भै बस्नुले उसमा जिम्मेवारीको बोध हुन नसकेको स्पष्ट हुन्छ । आफूले लिएको जिम्मेवारी बिर्संदा घरमा चाडबाडको बेला खानाको परिकार सोचेअनुरूप बन्न नसकेको मात्र होइन छोरा दुर्घटनामा पर्‍यो कि भन्ने त्रासले आमाको मन प्रलय पीडामा छट्पटियो, घरको वातावरण अशान्त रह्यो । चाड खल्लो भयो । जतिसुकै असल भए पनि यस्तो स्वभावको व्यक्ति भरपर्दो मानिँदैन ।   

 

हुन त किशोरावस्थामा धेरैजसो केटाकेटीहरू आफ्नो कामको प्राथमिकता निर्धारण गर्न सक्दैनन् । साथीसंगीहरू उनका लागि सर्वोपरि हुन्छन् । आमाबाबुका कुरा उनीहरू सजिलै काट्छन् । तर साथीसंगीको कुरा काट्न सक्दैनन् । तर आदत जस्तो बनाउने प्रयास गर्‍यो उस्तै बन्छ । लागूपदार्थको सेवन केही दिन गरे नशाको आदत बसी त्यो अनिवार्य बनेजस्तै जिम्मेवार बन्ने सोच मनमा राखी काम गरेमा यो बानी बन्छ र यसैमा आनन्द आउँछ । यसको विपरीत जिम्मेवारी मनमा नलिने स्वभाव भएमा आफूले गरेका राम्रा–नराम्रा कामको ख्यालै रहँदैन । कामको परिणाम लाजमर्दो आउँदा समेत आफूलाई पत्तो हुँदैन । 

 

जिम्मेवारी जन्मनेबित्तिकै आउने कुरा होइन । उमेरअनुसार सिक्दै जाने हो । जिम्मेवारी पारिवारिक वातावरण, साथीसंगी तथा संचार माध्यमबाट सिकिन्छ । त्यहाँ राम्रा–नराम्रा दुवैथरी व्यवहार हुन्छन् । जीवन उपयोगी सीपबारे जानकारी पाएका केटाकेटीले जिम्मेवारी बहन गर्ने सीप सजिलोसँग सिक्छन् ।
किशोरावस्था बाल्यावस्थाभन्दा फरक अवस्था हो । बाल्यावस्थामा केटाकेटीहरू कसैले केही कुरा ललाई–फकाई भनेमा त्यो कुरा मान्छन् । यो उमेरमा उनीहरूको सोच्ने क्षमता हुँदैन । तर किशोरावस्थामा पुगेपछि साथीले जे भन्यो त्यसैको पछिपछि दौडनुभन्दा सही–गलत के हो सोच्ने र सही निर्णय गर्नसक्नु एउटा कला हो ।

 

होसियार व्यक्तिले यो कला आफै सिक्छन् । आफ्नो जिम्मेवारी अरूबाट हस्तक्षेप हुन दिँदैनन् । आफूले गरिरहेको काम आफ्नो नियन्त्रणमा राख्छन् । आफ्ना सन्तानलाई अभिभावकहरू बेलाबेलामा सल्लाह–सुझाव दिन्छन् तर किशोरावस्थाका केटाकेटीलाई यो मन पर्दैन । साथीसंगीले आफूले जे गर्दा पनि राम्रो भनिदिने तर आमाबाबाले भने कुरा काट्ने हुँदा साथीहरूले मात्र मलाई माया गर्छन् भन्ने सोच मनमा आउँछ । असल छोराछोरीले जहिले पनि आमाबाबासँग राम्रो सम्बन्ध राख्छन् । सही बाटो हिँडेका केटाकेटीले आमाबाबु, परिवारका साथै समाजलाई खुसी दिन सक्छन् । किशोरावस्थाका केटाकेटीको जिम्मेवारी सामान्य हुन्छ । आफ्ना छोराछोरीबाट आमाबाबुले चाहने कुरा उनीहरू आफूप्रति इमानदार बनून् भन्ने हुन्छ । किशोरावस्थाका छोराछोरीले आफ्नो दैनिकी आमाबाबुलाई बताउनु राम्रो हो र आमाबाबुले पनि यसलाई महत्व दिई सुन्ने र उचित परामर्श दिने गर्नुपर्छ । आफू कहाँ कोसँग गइरहेका छौँ भन्ने कुरा सधैं अभिभावकलाई बताएमा अभिभावकहरूले आफ्ना सन्तानको सुरक्षामा ध्यान राख्न सक्छन् ।

 

हरेक किशोर–किशोरीमा स्मार्ट बन्ने रहर हुन्छ । यो रहर पूरा गर्नका निम्ति जिम्मेवारी लिने र त्यसलाई पूरा गर्ने सीप आवश्यक हुन्छ । जिम्मेवारीको महत्व बुझ्नेले त्यसको प्रयोग सही तरिकाले गर्न सक्छन् । आफूलाई गाह्रो भएको जिम्मेवारी पूरा गर्न अरूको सहयोग लिन जान्दछन् । यथार्थमा किशोरावस्थामा पुगेका छोराछोरीलाई आमाबाबुले सल्लाह दिन सक्छन्, तर आफ्नो चरित्र राम्रो बनाउने मूलमन्त्र उनीहरूको आफ्नै हातमा हुन्छ । 

srijanasharma1@gmail.com

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्