बालबालिकाहरूलाई सिकाऔं खाना पकाउने सीप

नारी संवाददाता

पुस २०, २०७३आजभोलि पढाइ तथा कामको सिलसिलाले बिदेसिने क्रम बढ्दो छ । त्यहाँ रहने तथा बस्ने व्यवस्था त सजिलै हुन्छ तर कुकिङ नआएका कारण होटल, रेस्टुराँ तथा क्यान्टिनको खानाको सहारामा बस्न बाध्य हुनुपर्छ । यसरी हरेक समय बाहिरको खाना खाँदा बढी खर्च हुन्छ र त्यो स्वास्थ्यको दृष्टिले पनि त्यति राम्रो हुँदैन । 

आफ्ना बालबालिकाहरूलाई यस्ता समस्याबाट जोगाउन तथा आत्मनिर्भर बनाउन ५–६ वर्षकै उमेरदेखि भान्साको कामसँग परिचित गराउनुपर्छ । खानाको महत्व, पकाउने तरिका आदिका सम्बन्धमा जानकारी दिएर उनीहरूलाई यसतर्फ आकर्षित गर्नुपर्छ । नानीदेखि लागेको बानी दिगो हुन्छ तसर्थ केही बुझ्ने भएदेखि नै आफ्ना छोराछोरीलाई भान्साको सम्पर्कमा राख्नुपर्छ । सानोमा हरेक कुरा सिक्ने, सिको गर्ने र जिज्ञासा पनि हुन्छ । सानैदेखि उनीहरूमा भान्साको काममा रमाउने वातावरण सिर्जना गर्नुपर्छ । भान्साको काम पनि एउटा कला हो जुन जीवनमा आवश्यक हुने सन्देश दिँदै उनीहरूलाई खेलाउँदै, सिकाउँदै लानुपर्छ ।

सुरुवात

तरकारी धुन सिकाउने : बालबालिकाहरूलाई सबैभन्दा पहिले फलफूल वा तरकारी धुन सिकाउनुपर्छ । उनीहरूलाई फलफूल तथा तरकारी प्रयोग गर्नुअघि राम्रोसँग धुनु आवश्यक हुने कुरा सिकाउन सकिन्छ । यसको सुरुवात गोलभेंडा, स्याउ आदि पखाल्न लगाएर गर्न सकिन्छ ।

छोडाउन तथा ताछ्न सिकाउने : काट्नुभन्दा पहिले बालबालिकाहरूलाई तरकारीहरू छोडाउन सिकाउनुपर्छ । यसको सुरुवातमा हरियो मटरको बोक्रा छोडाउन लगाउने र पछि बिस्तारै भेजिटेबल पिलरको सहयोगले गाजर, पर्बल आदि हल्का तरकारीहरू ताछ्न सिकाउन सकिन्छ ।

केलाउन सिकाउने : बालबालिकाहरूलाई छोडाउन, ताछ्न सिकाएपछि केलाउन र धुन पनि सिकाउनुपर्छ ।

काट्न सिकाउने : काट्ने भन्नासाथ बालबालिकाहरूको हातमा सीधै धारिला चक्कु राखिदिनुभन्दा प्लास्टिकको चक्कु दिएर पनिर, मसरुम आदि काट्न लगाउनु उपयुक्त हुन्छ । जब बालबालिका प्लास्टिकको चक्कु राम्रोसँग प्रयोग गर्न सक्छन् तब मात्र ठिक्कको धारिलो चक्कु दिएर आलु, बन्दा आदि काट्न लगाउन सकिन्छ ।

नाप्न सिकाउने : जब बालबालिकाहरूले केही चीज काट्न सिक्छन् तब उनीहरूलाई नाप्न सिकाउनुपर्छ । आधा कप, एक कप आदि गर्दै उनीहरूलाई पानी, चिनी, दाल, चामल आदि नाप्न सिकाउनुपर्छ ।

मिक्स गर्न सिकाउने : नाप्न जान्ने भएपछि बालबालिकाहरूलाई अलग–अलग चीज नापेर मिक्स गर्न सिकाउनुपर्छ । मेजरमेन्ट जस्तै मिक्स पनि सुख्खा चीज मिसाउन अर्थात् ड्राइफ्रुट, दाल आदिबाट सुरु गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्