सकारात्मक सोच नै नारीको पहिलो सुन्दरता

नारी संवाददाता

पुस १९, २०७३ जहाँ पनि सुन्दरता शब्द जोडिएर आउँछ त्यहाँ नारीको आभाष हुन्छ । मानौं कि सुन्दरता भन्ने शब्द नै स्त्रिलिंगी शब्द हो । सृष्टिको सुरुदेखि नै प्रकृति र पुरुषको चर्चा पाइन्छ । जहाँ प्रकृतिले नारीलाई जनाउँछ । प्रकृति भन्नासाथ सबै किसिमको सुन्दरता जोडिएर आउँछ । सुन्दरताको परिभाषालाई सरल तरिकाले लिइन्छ अहिले तर यसको महत्व विशाल छ जसलाई शब्दमा होइन भावमा मात्र समेट्न सकिन्छ । रूप सुन्दर हुनु वा सुन्दर पहिरन, सुन्दर आँखा वा सुन्दर शृंगार वा त सुन्दर पद र आकर्षक सम्पत्ति प्राप्त गर्नु मात्र सुन्दरता होइन । महिला–पुरुष दुवैमा सुन्दर मन, सुन्दर भावना, सुन्दर हेराइ र सकारात्मक सोच प्रकृतिले दिएका गुण हुन् । त्यसमा पनि नारीको पहिलो सुन्दरता त सकारात्मक सोच हो ।

नारी, छोरी, घरकी सौभाग्य, आमा, मातृत्व, श्रीमती, गृहिणी, घरकी मालिक्नी, गृहलक्ष्मी, गृहसंरक्षिका आदि धेरै  विशेषणले विभूषित छन् महिलाहरू । त्यतिमात्र कहाँ हो र आजका नारीहरू कर्म क्षेत्रमा पनि ठूलो पद र ओहोदा प्राप्त गरेर कार्यालय चलाउन सक्षम छन् । राजनीतिक, सामाजिक, आर्थिक एवं गैरसरकारी संघसंस्था आदि सबैतिर संलग्न छन् नारीहरू । यति धेरै विशेषता बोकेका नारीले छोरीका रूपमा भूमिका निभाउँदा होस् वा श्रीमतीका रूपमा, आमाको जिम्मेवारी होस् वा कार्यालयको जिम्मेवारी अथवा राजनीतिक सहभागिता होस् वा सामाजिक दायित्व सबैतिर सफल र असल नारीका रूपमा चिनाउने एक मात्र सूत्र हो सकारात्मक सोच । जीवनमा सबै कर्म र जिम्मेवारी चाहेअनुरूप नहुन सक्छन् तर त्यसलाई सही देख्ने र स्वीकार गर्न सक्ने क्षमता सकारात्मक सोचले विकास गर्छ । हाम्रो मस्तिष्कको आकार हेर्दा कति सानो छ, तर यसको सोच्ने शक्ति, विचार अथाह छ किनभने मानिस जन्मजात चेतनशील, विवेकशील प्राणी हो । सोच्ने र विचार गर्न सक्ने शक्ति अरू प्राणीमा भन्दा बढी छ मानिसमा । हाम्रो समग्र जीवन कर्मले ओगटेको छ । 

जन्मदेखि मृत्युसम्म हामी एकपछि अर्को कर्म गर्छौं । दैनिक आवश्यकता पूर्तिका साथ आफ्नो धन, मान, मर्यादा, सफलता, असफलता सबैमा हाम्रो कर्मको सीधा हात रहन्छ । कर्मले नै हाम्रो जीवनको दिशा निर्धारण गरेको हुन्छ । कोही आफ्नो कर्मका कारणले सुखी छन् त कोही कर्मकै कारणले दु:खी । कसैले अरूको खुसी बढाउने कर्म गर्छ भने कसैले अरूको दु:ख बढाउने । कतिले आफ्नो जीवन अरूलाई दान दिनुलाई आफ्नो कर्म बनाएका छन् भने कतिले अरूको जीवन लिनुलाई आफ्नो कर्म । एकदिनमा अधिकतम २४ घन्टा हामीसँग कर्मका लागि उपलब्ध छ जसलाई हामीले अनेक तरिकाले प्रयोग गर्छौं । यद्यपि सबैले कर्मको लगानी उत्तिकै गरे पनि प्रतिफल भने यति धेरै फरक हुनसक्छ । दुई र दुई जसले जहाँ जोडे पनि चार हुन्छ–एउटा अनपढ व्यक्ति र महान् वैज्ञानिक आइन्स्टाइनमा यसले फरक गर्दैन तर क्षणिक कुरा हेरेर दूरगामी सोच नराखी गरिने कर्मको फल कम प्राप्त हुन्छ । यस्तो अवस्थामा हामीभित्र रहेको अभावको वातावरणले कर्मलाई ग्रसित तुल्याउँछ र परिणाम सुखद् हुन पाउादैन । 

 आज हामी नारीहरू जहाश, जुन स्थान र परिवेशमा छौं त्यो हाम्रो सोचको परिणाम हो । हामीले जे चाहेका थियौं त्यही बनेका छौं । यदि हामी असल आमा, असल श्रीमती, असल सेविका, असल राजनीतिज्ञ वा असल बन्न सकेका छैनौं भने पनि त्यो हाम्रो सोचको परिणाम हो । हामीसँग दुई प्रकारका सोच हुन्छन् सकारात्मक वा नकारात्मक । नकारात्मक पनि हामीले लगाएको अर्थ हो, त्यही नकारात्मकतामा सकारात्मकता देख्ने खुबी (सोच) पनि हामीसँगै छ । किनभने नकारात्मक सोचको वृद्धि हुँदै जाँदा हरेक कुरामा नकारात्मक देख्ने बानी भैसकेको हुन्छ । नकारात्मकता अरू केही होइन सकारात्मकताको अभाव हो ।  

हामी सकारात्मक सोचले भरिन सक्यौं भने नकारात्मक सोचले ठाउँ लिन सक्दैन । सोच र दृष्टिकोणमा फरक छ । सोच हाम्रो विचार हो भने दृष्टिकोण हाम्रो हेराइ । कसैको सकारात्मक सोच छ भने पनि हामी त्यसमा हाम्रो दृष्टि लगाउँछौं र आफ्ना तर्फबाट मूल्यांकन गर्छौं । आफ्नो कथा–व्यथा जोड्छौं र आफ्नै अर्थ लगाउँछौं । सकारात्मक प्रशंसा गर्ने बानी भयो भने हाम्रो सोचाइ सकारात्मक हुन्छ । कसैको उन्नति, प्रगति र असल व्यवहारको प्रशंसा गर्ने बानीले आफ्नो पनि विकास हुन्छ । अरुको प्रगति र असल व्यवहारलाई घमण्डको संज्ञा दिन हामी पछि पर्दैनौं । यसले हाम्रो अन्तर विकास पक्कै  गर्दैन । सबैको भलो होस्, सबैको राम्रो होस्, जताततै राम्रो देख्न पाइयोस् भन्ने सकारात्मक भावना राख्ने हो भने त्यही नै देख्न पाइन्छ । जसरी हामी हाम्रो धन व्यापार–व्यवसायमा लगानी गर्छौं त्यसैगरी हाम्रो सोचलाई सकारात्मकतातर्फ लगानी गर्नु जरूरी छ । 

मन–मस्तिष्कलाई सधै सकारात्मक कुरामा लगाउने, असल आचरण, व्यवहार गर्ने, प्रेमपूर्ण हुने, अरूको प्रशंसा गर्ने, आफूभन्दा आदरणीय व्यक्तिलाई आदर गर्ने, जहाँ जस्तो परिस्थितिमा पनि सकारात्मक अभिव्यक्ति दिने, अरूको सहयोगप्रति अथवा जीवनमा जसले पनि हामीलाई सानो कुरामा सहयोग गरेको छ भने पनि अहोभाव व्यक्त गर्ने बानी नै सकारात्मक सोच बढाउने उपाय हुन् । मन, सोचाइ, विचार भड्किन सक्छ । त्यसैले यिनीहरूसँग मित्रता गर्नुपर्छ । हे मन, मेरो विचार तिमी असल बाटोमा मात्र हिँड, खराब बाटो छोडिदेऊ भनेर बारम्बार आफ्नो विचारलाई शिक्षा दिने यो सुन्दर जीवन पाएकोमा अहोभावले भरिने,  दैनिक आधा घन्टा मात्र भए पनि ध्यान र योगाभ्यास गर्ने । प्रशस्त पानी पिउँदा हाम्रो शरीर र मन स्वस्थ हुन्छ । स्वस्थ शरीर र स्वस्थ मन भएपछि विचार पनि सकारात्मक हुन्छ ।

दैनिक जीवनको भागदौडले हाम्रो चित्त बहिर्मुखी भएर हामी आफ्नो स्व–केन्द्रबाट धेरै टाढा पुग्छौं । मनमा उठ्ने कामना, वासना र विचारले चित्तलाई आन्दोलित र बिस्तारै अशान्त बनाउँछ । ध्यानले हामीलाई स्व–केन्द्रमा फर्काई मन र ह्दयलाई स्थायी रूपमा शान्त र सहज बनाउँछ । ध्यान हाम्रो सहज आन्तरिक स्थिति हो जहाँ शरीर, मन र ह्दय एक गहन विश्रामपूर्ण, सरल र स्वाभाविक अवस्थामा रहन्छन् । ध्यानावस्थामा हामी आफैभित्र लुकेको अनन्त शान्ति, ज्ञान, सत्य, प्रेम, सम्पन्नता, सौन्दर्य र रहस्यमा डुब्ने र एकाकार भएर स्वस्थ, सफल र मस्त जीवन जिउने सूत्र प्राप्त गर्छाैं । 

ध्यानले हाम्रो व्यक्तित्वमा निखार तथा कर्ममा कुशलता ल्याउँछ । यसले पारिवारिक सम्बन्ध अझ सुमधुर बनाउँछ । ध्यानले विभिन्न मानसिक फाइदा पुर्‍याउँछ । सोच–विचारमा सकारात्मकता, प्रभावकारी एवं सन्तुलित व्यक्तित्वको निर्माण, आत्मविश्वास, उत्साह, आँट एवं जाँगरमा अभिवृद्धि,  विचारमाथि नियन्त्रण, सिक्ने क्षमता, स्मरण शक्ति एवं एकाग्रतामा अभिवृद्ध्रि, निर्णय एवं संकल्प क्षमताको विकास, चरित्रमा पवित्रता, नकारात्मक आदत एवं कुलतबाट मुक्ति,  अनिद्राबाट मुक्ति,  सम्बन्धमा मधुरता आउँछ । नेतृत्व क्षमता, कार्य सम्पादन क्षमता, जिम्मेवारीपन एवं सामाजिकतामा  अभिवृद्धि र  कार्यमा कुशलता एवं सन्तुष्टि प्राप्त हुन्छ । चञ्चलता, तनाव, भय, चिन्ता एवं अवसादबाट मुक्ति मिल्छ ।

हाम्रा कर्मका फल हाम्रै सोचका परिणाम भए पनि सुनेका भरमा यी कुराहरूको बोध हुँदैन । यसलाई आफै आर्जन गर्नुपर्छ । आर्जन गर्न हामीले के गरिरहेका छौं ? के–का लागि गरिरहेका छौं र कहाँ गैरहेका छौं ? थाहा पाउनु जरूरी छ । 

जीवन बनाउन होइन जिएर हेरौं, पूर्णताका साथ जिएर हेरौं । हामीले  जीवन सुखी बनाउन र अनुहार सुन्दर तुल्याउन जति दौडधूप गरेका छौं कतै दौडदा दौडदै, जीवन जिउन बिर्सिएका त छैनौं ? सुख र खुसी कहीँ कुनै वस्तुमा छैन । हामीले गरेका हरेक कर्ममा सुख र खुसी लुकेका छन् त्यसलाई चिन्न सक्यौं भने कतै खोज्न भौंतारिनु पर्दैन । किनभने घटना र परिस्थितिभन्दा जीवन महत्वपूर्ण छ, यद्यपि जीवन घटनाहरूको जोड हो । कुनै वस्तु भन्दा व्यक्ति महत्वपूर्ण छ । कुनै सिद्धान्तभन्दा हाम्रो सम्बन्ध महत्वपूर्ण छ । त्यसैले रचनात्मक कर्महरूलाई महत्व दिएर सादा जीवन उच्च विचारसहित जीवन जिउनुमै हाम्रो सार्थकता छ, जुन हामी आफैले व्यवहारमा अँगालेर आनन्दित जीवन जिउन सक्छौं । एउटी नारी आनन्दित, सुन्दर विचार र सुन्दर कर्मले पूर्ण हुनासाथ त्यो घर शान्त, आनन्दित र पूर्णताको आभाष हुन्छ । जसरी नारी नभएको घर पूर्ण हुँदैन त्यसरी नै सकारात्मक सोच नभएकी नारी, मातृत्वको गुण पाएर पनि पूर्ण हुन सक्दैनन् । सभ्यताको सुरुवातदेखि नै मानिसका सबै जाति, यो अधूरोपनमा पूर्णता ल्याउन नारीको योगदान आवश्यक छ र त्यसमा पनि नारीको सकारात्मक सोच आवश्यक छ । 

डा.नम्रता पाण्डे

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्