बहुरंगी मरिसस

एजेन्सी

पुस १७, २०७३ 

मरिससको सुन्दरता व्याख्या गर्दै लेखक मार्क ट्वेनले भनेका थिए–‘पहिले विधाताले मरिससको रचना गरे । यो यति सुन्दर देखियो कि उनले यसकै नक्कल गरेर स्वर्गको रचना गरे ।’ यो भनाइ सुन्दा केही अतिरञ्जित लागे पनि यसले मरिससको सौन्दर्यलाई उजागर गर्छ । अफ्रिकी महाद्वीप तलको दक्षिण–पश्चिममा अवस्थित एक द्वीपीय देश हो, मरिसस । यो द्वीपीय देशसँग जोडिएका केही विशेषता छन् । त्यसैले यो देश बहुरंगी संस्कृतिले भरिपूर्ण छ । यहाँ चर्च मात्र होइन मन्दिरहरू पनि छन् । यो सानो द्वीपमा हिन्दू संस्कृति र चाडपर्व पनि मनाइन्छ । 

 

अहिले लुप्त भैसकेको डोडो पंक्षीको अन्तिम र एकमात्र घरका रूपमा विख्यात छ यो स्थल । यहाँको जनसंख्या मात्र १६ लाख छ । मरिसस स्वादिष्ट खानाका लागि पनि चिनिन्छ । यहाँ भारतीय, चिनियाँ तथा युरोपियन परिकारहरूको मिश्रित स्वाद लिन सकिन्छ । यो रम उत्पादन गर्ने मुलुकका रूपमा समेत परिचित छ । मरिससको विशेषता यतिमै सकिँदैन । यो पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा पनि उत्तिकै लोकप्रिय छ । चराचुरुङ्गी, हरियो जंगल तथा विशाल नीलो समुद्रले यो मुलुकको भ्रमण रोमाञ्चक तुल्याउँछ । 

 

मरिसस द्वीप सदियौं पहिले भएको ज्वालामुखी विस्फोटबाट बनेको हो । यो देशको राजधानी पोर्ट लुई हो । जो वाटर स्पोर्टस्का सौखिन छन्, उनीहरू जीवनमा एक न एकपटक यो भूगोल टेक्न लालायित हुन्छन् । यो स्थान खासगरी स्नोकार्लिङ, स्कुबा डाइभिङ तथा डिप सी फिसिङका लागि प्रख्यात छ । यहाँ जे–जति पर्यटक आउँछन्, सबैजसोले वाटर स्पोर्टस्को आनन्द लिन्छन् । विश्वका सेलिव्रेटीहरू स्कुबा डाइभिङका लागि यहाँ आउने गरेका छन् । त्यसबाहेक शान्त र एकान्त स्थानको खोजी गर्नेहरूका लागि पनि यो पहिलो रोजाइमा पर्छ । 

बहुरंगी संस्कृति 

मरिससमा पहिले डच समुदायको शासन थियो । सन् १५९८ देखि १७१० सम्म उनीहरूले यहाँ शासन गरे । त्यसपछि यहाँ फ्रेन्च शासक आए । उनीहरूले १८१० सम्म यहाँको शासन आफ्नो हातमा लिए । त्यसपछि यहाँ अंग्रेजले आफ्नो सत्ता कायम गरे । उनीहरूको शासन सन् १९६८ सम्म रह्यो । 

अंग्रेजी शासनका क्रममा यहाँ चिनी उद्योगले व्यापकता पायो । त्यसका निम्ति उनीहरूले उखु खेती गरे । उखु खेतीका निम्ति उनीहरूले भारत तथा चीनबाट मजदुर लगेका थिए । कतिपय श्रमिकलाई त उनीहरूले बन्दी बनाएर पनि लगेका थिए ।

 

मरिससको संस्कृतिमा तिनै श्रमिकको प्रभाव देखिन्छ । यसरी मिश्रित संस्कृतिका कारण यहाँको जनजीवन बहुरंगी र जीवन्त बन्यो । यसैको परिणामस्वरूप मरिससका मानिस सर्वधर्म समभावलाई जीवन मूल्य मान्ने जीवन्त उदाहरण बने । यहाँ हिन्दू संस्कारअनुसार धुमधामका साथ चाडपर्व मनाइन्छ । गणेश चतुर्थी, श्रीकृष्ण जन्माष्टमीजस्ता पर्वमा यहाँ उत्सवको वातावरण देख्न पाइन्छ । 

 

सन्तुलित पर्यावरण 

मरिससको सबैभन्दा ठूलो आकर्षण सफा, कञ्चन, नीलो र विशाल सागरका साथै त्यसको सतहको वनस्पति हो । यही वनस्पतिले पर्यावरणलाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसैले मरिससमा कुनै किसिमको प्रदूषण देखिँदैन । यहाँ पानीभित्रको जीवन देख्नु आफैमा नौलो अनुभव हुनसक्छ । दुर्लभ जलीय वनस्पति, विभिन्न प्रकारका माछा तथा कछुवा देखेर पर्यटकको मन रोमाञ्चित हुन्छ । क्लाउन फिस, डल्फिन तथा सार्कजस्ता माछा यहाँ अवलोकन गर्न सकिन्छ । यहाँको समुद्रमा विशेष किसिमको, आधुनिक र तीव्र वेगमा हुँइकिने वोटमा घुम्नुको आनन्द अर्कै हुन्छ । 

पोर्ट लुईको आकर्षण

मरिससको राजधानी हो–पोर्ट लुई । राजा लुईको सम्मानमा वर्षौंअघि यो सहरको नामकरण गरिएको थियो । यो देशको आर्थिक राजधानी समेत हो । धेरैजसो महत्वपूर्ण संरचना यहीँ छन् । यसमा एउटा रेस कोर्स पनि छ, जसलाई सन् १८७२ मा अंग्रेजले बनाएका थिए । किनमेलका लागि पूरै मरिससमा पोर्ट लुई जस्तो अर्को स्थान छैन । यहाँ सपिङ मल, सिनेमा हल, क्यासिनो, ड्युटी फ्रि सप, बार, क्रफ्ट सप सबै उपलब्ध छन् । यसका साथै यो रोड साइट सपिङका लागि पनि राम्रो विकल्प हो । 

 

यहाँको नाइट लाइफ पनि निकै चर्चित छ । पोर्ट लुईको कुना–कुनामा बाक्लो चहलपहल देखिन्छ । प्राकृतिक ऐतिहासिक म्युजियम यहाँको दर्शनीय स्थलमा पर्छ । यो भवन वास्तुको दृष्टिले पनि लोभलाग्दो छ । यही स्थानमा मस्जिद, मन्दिर तथा चर्च पनि छन् । पोर्ट लुईमा ऐतिहासिक महत्वका केही भवन छन् । सेन्ट्रल पोस्ट अफिस, वाटर फ्रन्ट तथा विन्ड मिल म्युजियम यसका थप आकर्षण हुन् । सेन्ट्रल पोस्ट अफिसको स्थापना १८१० मा गरिएको थियो । अहिले पनि त्यहाँ १७ औं र १८ औं शताब्दीमा प्रयोग गरिएका संचार साधन सम्हालेर राखिएको छ । 

 

दुर्लभ वनस्पतिको सहर 

पोर्ट लुईसँगै क्युरी पाइप छ । यो सहरलाई इंग्लिस सहर पनि भनिन्छ, जसको रचना पुरानो ब्रिटेनको जस्तो छ । यहाँको रामगुलाम बोटानिकल गार्डेन एकदमै सुन्दर छ जहाँ एकदमै दुर्लभ वनस्पति तथा औषधीय गुणले परिपूर्ण वनस्पति पाइन्छ । यहाँ २ सय वर्ष पुरानो बोधि वृक्ष पनि छ, जसले पर्यटकको ध्यान सजिलै खिच्न सक्छ । यहाँबाट पर्यटकले औषधीय महत्वका केही वनस्पति खरिद गर्न सक्छन् । 

 

ऐतिहासिक स्मरण 

मरिसस जाने हरेक पर्यटक आप्रवासी घाट हेर्न जान्छन् । यसको अर्थ हो इमिग्रेसन डिपो । यो ऐतिहासिक स्मारकले ती सबै स्वतन्त्रता सेनानीहरूको बलिदान स्मरण गराउँछ, जसले अनेकौं  कष्ट खेपेर स्वतन्त्रताका लागि लडेका थिए । आप्रवासी घाटको स्थापना १८९४ मा भएको थियो । उक्त स्मारकलाई सुरक्षित र व्यवस्थित गर्न मरिससको कला संस्कृति मन्त्रालयले विशेष ट्रस्ट स्थापना गरेको छ । सन् २००६ मा यसलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो । 

 

भाषा

मरिससको राजभाषा फ्रेन्च र अंग्रेजी हो । त्यहाँ हिन्दी बोल्नेहरूको संख्या पनि प्रशस्तै छ । त्यसका साथै भोजपुरी, मराठी, उर्दू आदि भाषा पनि बोलिन्छ । यहाँको बोलचालको स्थानीय भाषा क्रियोल हो । 

 

मौसम 

मौसम अक्सर युरोपियन मुलुकको जस्तै बदलिइरहन्छ । दिउँसो गर्मी महसुस हुन्छ भने साँझ ४–५ बजे हावाको झोंकाले चिसो महसुस गराउँछ । गर्मीको मौसम नोभेम्बरदेखि मार्चसम्म मानिन्छ । मरिसस जान सामान्यत: जुनदेखि सेप्टेम्बरसम्म उपयुक्त मानिन्छ । 

 

खानपान

मरिससको खास विशेषता हो–खानपान । सी फुडका साथै केही स्थानीय खाद्य संस्कृतिले पर्यटकको मन लोभ्याउँछ । यहाँको खानपानमा विविधता पाइन्छ । मरिससमा कुनै बेला फ्रेन्चहरूले शासन गरेकाले खानपानमा फ्रान्सको प्रभाव देखिन्छ । यहाँ अफ्रिकी तथा चाइनिज फुडको पनि स्वाद लिन पाइन्छ । विविध देशको स्वाद मिश्रण भएकाले यहाँको खाना विविधतायुक्त एवं स्वादिष्ट हुन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्