नर्सिङ अध्ययन र नर्सको भूमिका

कसैलाई स्वस्थ बनाउनुको अर्थ उसलाई रोगको उपचार गर्नुका साथै शारीरिक, मानसिक तथा सामाजिक अवस्था पनि राम्रो बनाउनु हो ।

डा.बालकृष्ण साह

पुस ४, २०७३  

हिजोआज नर्सिङ अध्ययनको क्रेज बढ्दो छ । एस.एल.सी. दिएका अधिंकाश छात्रा नर्सिङको तयारीमा जुटिसकेका छन् । जसरी भए पनि नर्सिङ नै अध्ययन गर्ने र विदेशमा नभए स्वदेशमा भए पनि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने चाहना धेरैमा पाइन्छ भने नर्सिङ अध्ययनको क्रेजसँगै यसको भूमिका पनि बढ्दै गएको देखिन्छ ।

 

विश्व स्वास्थ्य संघ (डब्लु एच ओ) का अनुसार स्वस्थ हुनका लागि व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक स्वरूप सन्तुलित एवं राम्रो हुनुका साथै उसमा कुनै किसिमको रोग नलागेको हुनुपर्छ । यो परिभाषाले रोग नलाग्नुले मात्र स्वस्थ भएको मान्दैन । 

 

कसैलाई स्वस्थ बनाउनुको अर्थ उसलाई रोगको उपचार गर्नुका साथै शारीरिक, मानसिक तथा सामाजिक अवस्था पनि राम्रो बनाउनु हो । यिनै तथ्यलाई आधार बनाएर विश्व स्वास्थ्य संघले जनस्वास्थ्यको स्तर वृद्धिका लागि स्वास्थ्य सेवालाई प्रोमोटिभ (शारीरिक अवस्था बलियो बनाउने), प्रिभेन्टिभ (रोग लाग्नबाट जोगाउने), क्युरेटिभ (रोगको उपचार गर्ने) र रिह्याविटेसन (रोगको उपचारपछि पुन: पहिलेको अवस्थामा पुर्‍याउने) गरी चार अङ्गमा बाँडेको छ । 


सामान्यत: हामी स्वास्थ्य सेवाको कुरा गर्दा क्युरेटिभ अर्थात् रोगले सताएका मानिसहरूलाई गरेको उपचार भन्ने बुझ्छौं । यो स्वास्थ्य सेवाको एउटा प्रमुख अङ्ग मात्र हो । सोही उपचार पद्धतिमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई औषधि ख्वाउने, सुई दिने तथा बेला–बेलामा रक्तचाप अर्थात् प्रेसर नाप्ने सेतो गाउनमा सजिएका महिलाहरूलाई नर्स भनिन्छ ।

 

सामान्य अवस्थामा नर्सको काम  यत्ति नै हो भन्ने हामीले बुझेका छौं । नर्सको काम, कर्तव्य र अधिकार अस्पतालभित्र पनि उनको योग्यता र पदले निर्धारण गरेको हुन्छ । नर्सिङ अध्ययनमा विभिन्न तह हुन्छन् । अ.न.मी., स्टाफ नर्स (पी सी एल नर्सिङ), बी एन र एम एन गरी सामान्य तालिमदेखि मास्टर डिग्रीसम्मको अध्ययन अन्य संकायमा जस्तै यसमा पनि छ । त्यसैगरी नर्सको पद सिस्टरदेखि मेट्रोनसम्म वा पाँचौं तहदेखि एघारौं तहसम्म हुन्छ । 


मानव स्वास्थ्यमा नर्सको भूमिका अतुलनीय छ । क्युरेटिभ स्वास्थ्य सेवाको कुरा गर्ने हो भने गम्भीर र चिन्ताजनक अवस्थामा रहेका बिरामीहरूलाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । उनीहरूको नियमित परीक्षण गर्नुपर्ने, सही मात्रा र समयमा औषधि दिनुपर्ने तथा पोषण र पानीको मात्रा पनि परीक्षण गर्नुपर्ने हुन्छ । कतिपय बिरामी मानसिक सन्तुलन गुमेको, शारीरिक रूपले अशक्त, दुर्गन्धित, आफ्ना मानिस नभएका तथा अत्यन्त पीडामा रहेका पनि हुन्छन् । त्यस्तो अवस्थामा उपचारमा संलग्न चिकित्सकले दिएको औषधि मात्र पर्याप्त हुँदैन ।

 

बिरामीलाई औषधिसँगै सम्पूर्ण स्याहार गर्ने, रोगका बारेमा बताउने, परामर्श दिने र बाँच्नुपर्छ भन्ने भावनासमेत सिर्जना गर्ने, प्रेरणा दिने र चौबीसै घन्टा प्रत्यक्ष निगरानीको जिम्मेवारी बहन गर्नुपर्छ जुन काम गर्ने नर्सहरू नै हुन् । त्यसका साथै वार्डको सम्पूर्ण वातावरणको व्यवस्थापन गर्ने जिम्मेवारी पनि नर्सकै हुन्छ । 


कुनै पनि बिरामीको उपचार गर्नु एउटा सामूहिक कार्य हो । यसमा चिकित्सक, नर्स, प्यारामेडिक्स एवं सहयोगीहरूको आ–आफ्नै भूमिका हुन्छ । बिरामीलाई आवश्यक सल्लाह, सुझाव दिने, सही समयमा उचित मात्रामा औषधि दिने मात्र नभई आवश्यक परेको अवस्था तुरुन्त सम्बन्धित चिकित्सकलाई जानकारी गराउने दायित्व पनि नर्सको हुन्छ । नर्स र चिकित्सक दुवै पेसागत सहयोगीका रूपमा खटिएका हुन्छन् । उनीहरूले जुनसुकै शल्यक्रियामा सहयोग गर्नु, प्रसव गराउनु, शिशुलाई दूध ख्वाउन मद्दत गर्नुजस्ता थुप्रै काम जिम्मेवारीका साथ बहन गर्नुपर्ने हुन्छ । कुशल नर्स आफैमा एक चिकित्सक, प्रशासक, बिरामी, बिरामीका आफन्त र शिक्षिकाका रूपमा देखिन्छिन्।

 

क्युरेटिभ स्वास्थ्य सेवाबाहेक प्रमोटिभ र प्रिभेन्टिभ स्वास्थ्य सेवामा पनि नर्सको भूमिका हुन्छ । नेपालमा प्रमोटिभ तथा प्रिभेन्टिभ स्वास्थ्यका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न कार्यक्रम चलाउने गरेका हुन्छन् । यी कार्यक्रममार्फत स्वास्थ्य शिक्षा दिने, पोषणयुक्त खाना तयार गर्ने तथा खान प्रेरित गर्ने, खोपका कार्यक्रमहरू चलाउने, परिवार नियोजन सेवासम्बन्धी कार्यक्रमहरू गाउँघरमा लाने, महिला स्वास्थ्य र गर्भपतनसम्बन्धी जानकारी र शिक्षा दिने प्रमुख स्वास्थ्यकर्मीका रूपमा स्थापित हुँदै गएका छन्–नेपालका नर्सहरू । स्वास्थ्यका लागि नेतृत्वको विकास गर्ने, कुलतबाट बच्न तथा छुटाउन उचित परामर्श सेवा दिने महत्वपूर्ण काममा पनि नर्सका पाइलाहरू पछि परेका छैनन् ।  


नेपालमा रिह्याविटेसनका लागि धेरै केन्द्र स्थापित भएका छैनन् । लामो समय बिरामी परेपछि, कुलत वा दुव्र्यसनमा फसेपछि तथा केही दीर्घ रोगले मानिसलाई शारीरिक, मानसिक वा सामाजिक रूपमा विस्थापित गरिदिने हुन्छन् । यस्तो अवस्थामा पूर्णरूपमा शारीरिक, मानसिक तथा सामाजिक रूपमा सबल बन्न सजिलो बनाउन पनि नर्सको भूमिका प्रमुख हुन्छ । हातखुट्टा नराम्रोसँग भाँचिएका, प्यारालाइसिस भएका, मुटुका रोगी आदिलाई लामो समयसम्म सहयोगी भएर उपचार गर्नुपर्ने हुन्छ । त्यस्तै लागुऔषधिका दुव्र्यसनमा फसेकाहरू सँगै बसेर काम गर्न दु:ख पनि हुन्छ ।

 

दीर्घ रोगले सताएका वृद्धवृद्धाहरूमा पनि एक किसिमको डिप्रेसनले जरा गाडेको हुन्छ । उनीहरूमा पनि मर्न पाए हुन्थ्यो भन्ने इच्छा जाग्न थालेको हुन्छ । त्यो अवस्थामा पुगेका युवा, वृद्ध जोसुकैलाई पनि उचित परामर्श दिएर पुन: बाँच्ने चाहना जगाउने मानवीय कार्य कुशल नर्सहरूले गर्ने गरेका प्रशस्त उदाहरण हाम्रो समाजमा पाइन्छ ।


स्वास्थ्य क्षेत्रमा नर्सबिनाको सेवा कल्पनासम्म गर्न सकिँदैन । नेपालमा मात्र होइन संसारका हरेक मुलुकमा नर्सको महत्व उत्तिकै पाइन्छ । नेपालको इतिहास हेर्दा सर्वप्रथम  राजपरिवारमा प्रसूति सेवा दिन नर्सको तालिम वा शिक्षा भित्र्याइएको देखिन्छ । यद्यपि आज नर्सिङ शिक्षा, सेवा र भूमिकामा निकै ठूलो परिर्वतन आएको छ । नेपालमा नै नर्सिङ शिक्षामा डिग्रीसम्मको अध्ययन सम्भव छ र नेपालमा अध्ययन गरेका नर्सहरूले विश्वका अति विकसित मुलुकहरूमा पनि सेवा दिइरहेका छन् । सन् २०१२ को मार्चसम्मको तथ्याङ्कअनुसार नेपालमा ३७ हजारभन्दा बढी स्वदेशी तथा विदेशी नर्सले सेवा दिइरहेका छन् । 

(डा. साह मेची अञ्चल अस्पतालमा कार्यरत  छन् )

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्