वैवाहिक जीवन सफलताको मन्त्र

  • मनोरञ्जन फिचर

नारी संवाददाता

पुस १, २०७३ 

अमिताभ र जया बच्चन

अमिताभ : हाम्रो वैवाहिक जीवन बलियो हुनुको रहस्य के हो भने हामी आफ्ना बारेमा चल्ने नचाहिने हल्ला वा गसिपमा ध्यान दिँदैनौं । म सधै यस्तो जीवनसाथीको चाहना राख्थें जो परम्परालाई निरन्तरता दिनुका साथै आधुनिक सोच राख्ने पनि होस् । जया मेरो त्यो चाहनामा परफेक्ट छिन् । मैले उनलाई पहिलो पटक एउटा पत्रिकाको कभरमा देखेको थिएँ । त्यतिबेला नै मैले उनलाई जीवनसाथीका रूपमा अपनाउने मन बनाइसकेको थिएँ ।

 

जया : म आफ्ना श्रीमान्प्रति पूर्ण विश्वास गर्छु र फिल्म क्षेत्रलाई पनि राम्रोसँग बुझ्छु । त्यसैले अमितलाई लिएर मेरो मनमा कहिल्यै डर वा असुरक्षाको भावना आएन । एक–अर्काप्रतिको सम्मान नै हाम्रो सफल जीवनको रहस्य हो ।  

 

सफल म्यारिज टिप्स : एक–अर्काप्रति पूर्ण विश्वास गर्नु ।

ट्विंकल र अक्षयकुमार

अक्षय : मेरी श्रीमती मेरी वेस्ट फ्रेन्ड हुन् । म हरेक कुरामा उनीप्रति निर्भर छु । मेरा कपडा छान्न होस् वा छुट्टीमा कतै घुम्न जान नै किन नहोस् ? मेरो जीवनमा मेरी श्रीमती, सन्तान, आमा, दिदीबहिनी र भतिजी सबै महत्वपूर्ण छन् । मेरो विचारमा सफल वैवाहिक जीवनको रहस्य भन्नु नै परिवारसँग समय बिताउनु वा कतै घुम्न जानु हो । म हरेक वर्ष २–३ पटक श्रीमती र बालबच्चाहरूसँग घुम्न जान्छु । म पारिवारिक व्यक्ति हुँ । राति अबेरसम्म पार्टीहरूमा बस्दिन । काम सकिएपछि सीधै घर पुग्छु । सुटिङपछि समय मिल्यो भने हामी बाहिर डिनर गर्न जान्छौं र रमाइलो गरेर समय बिताउँछौं । पत्नी र सन्तानबिना मेरो जीवन अपूरो हुन्छ । म र टिना पूरै विपरीत प्रकृितका छौं । यही नै हाम्रो सबैभन्दा ठूलो आकर्षण पनि हो । हामी एक–अर्कालाई त्यति नै महत्व दिन्छौं ।

सफल म्यारिज टिप्स : आफ्नो जीवनसाथीलाई नै मिल्ने साथी बनाउनुहोस् । 

 

माधुरी र श्रीराम नेने

माधुरी : मेरा लागि मेरा श्रीमान् र परिवार पहिलो प्राथमिकतामा पर्छन् । जब मैले श्रीरामलाई भेटें, तब मैले सोचिन कि म सेलिब्रेटी र उनी एक डाक्टर । म उनको व्यक्तित्वबाट प्रभावित छु भने उनी मसँग । हामी सुख वा दु:ख हरेक परिस्थितिमा एक–अर्काको साथमा रह्यौं । यही नै हाम्रो सम्बन्धको बलियो कडी पनि हो । विवाहपछि हरेकमा केही न केही परिवर्तन आउँछ । आफ्नो परिवारका लागि समय मिलाउन सकियो भने जीवन सफल भैहाल्छ । म अरू महिलाहरूजस्तै केही कुरामा श्रीरामप्रति निर्भर छु जुन कुराले मलाई आममहिलालाई जस्तै खुसी प्राप्त हुन्छ ।

सफल म्यारिज टिप्स : हरेक समय एक–अर्कालाई पूर्णरूपमा साथ दिनु ।  

 

रानी र आदित्य चोपडा

रानी : हरेक नारीमा जस्तै विवाहका सम्बन्धमा मेरा पनि अनेकौं सपना थिए । मेरो र आदित्यको सम्बन्धमा उनको सादगी र सफा मन तथा मेरो समर्पणले नयाँ उचाइ दिँदै गयो । त्यसले हाम्रो वैवाहिक जीवन पनि मजबुत बनाउँदै लग्यो । म श्रीमतीको भूमिकामा खुसी छु । विवाहपछि मानिस माया, अधिकार, समर्पण, त्याग र अन्य कतिपय कुराले बाँधिएको हुन्छ । आदित्यले मेरो र मैले आदित्यको इच्छाको सधैं सम्मान गर्छाैं । आदित्यले थुपै्र रोमान्टिक फिल्म लेखेका छन् । कुनै पनि मानिसले तबसम्म राम्रो लबस्टोरी लेख्न सक्दैन जबसम्म उसले आफै त्यस्तो माया महसुस गरेको हुँदैन । हाम्रो प्रेम कहानी पनि केही कम छैन ।

सफल म्यारिज टिप्स : जीवनसाथीको इच्छाको सम्मान गरौं । 

काजोल र अजय

अजय : सफल वैवाहिक जीवनको कुनै रहस्य छैन । मेरो विचारमा मान्छे खुसी रहनुपर्छ र आफ्नो जीवनसाथीलाई पनि खुसी राख्नुपर्छ । जीवनसाथीलाई जिन्दगीभर महत्व र सम्मान दिनुपर्छ । सुखी वैवाहिक जीवनका लागि म काजोलको कुरा सुन्छु र कहिले सुनेजस्तो गर्छु । 

काजोल : विवाह गर्नुभन्दा पहिलेका चार वर्ष हामीले प्रेमी–प्रेमिकाका रूपमा बितायौं । हामी दुवै बेस्ट फ्रेन्ड पनि हौं । हाम्रो सफल वैवाहिक जीवनको रहस्य म धेरै बोल्छु भने अजय शान्त रहेर सुन्छ । अजय धेरै बोल्दैन । हामी दुवै हाम्रो जहाजका क्याप्टेन हौं ।

सफल म्यारिज टिप्स : एकजना बोल्दा अर्काले सुनौं ।

शाहरुख र गौरी खान

शाहरुख : म र गौरी सन् १९८४ देखि एक–अर्कालाई चिन्छौं । हाम्रो सफल वैवाहिक जीवनको रहस्य भन्नु नै हामीले कहिल्यै अरू श्रीमान्–श्रीमतीहरूले जस्तै सँगै बसेर समय बिताउने अवसर पाएनौं । यद्यपि म गौरीबिनाको जीवन कल्पना पनि गर्न सक्दिन । हामीले धेरै रमाइला क्षणहरू सँगै बिताएका छौं । विवाहपछि करियर बनाउन म मुम्बई आएँ । हामीले एक–अर्कासँग मनमुटाव वा झैझगडा गर्ने समय पनि पाएनौं । पछि बालबच्चाहरू भए । मेरो आधा जिन्दगी गौरीसँग हाँस्दै–रमाउँदै कसरी बित्यो थाहै पाइन । हाम्रो विवाह भएको २३ वर्ष बितिसकेको छ । यसबीच जिन्दगीमा धेरै उत्तारचढाव आए । यद्यपि गौरीको साथ, माया र हौसलाले मलाई सधैं अघि बढ्ने प्रेरणा मिलेको छ ।

सफल म्यारिज टिप्स : जस्तो अवस्थामा पनि एक–अर्काको साथ र माया ।  

करिना र सैफ अली खान

करिना : मलाई विवाहपछि जीवनमा धेरै परिवर्तन आउनुपर्छ भन्ने लाग्दैन । म र सैफ विवाहअघि पनि आ–आफ्नो कामको प्राथमिकता बुझेर एक–अर्कालाई सहयोग गथ्र्याैं । यही नै हाम्रो सफल वैवाहिक जीवनको मन्त्र हो ।

सफल म्यारिज टिप्स : एक–अर्काको कामलाई सम्मान गरौं ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्