विखण्डित मन

ललिता दोषी

मंसिर ३०, २०७३ 

हरेक मानिसको यात्रा फरक–फरक हुन्छ । कोही फूलमा टेकेर यात्रा गर्छन्, कोही काँडामा, कोही फूल र काँडा दुवैमा टेकेर यात्रा गर्छन् । पोखराको लेकसाइडमा जन्मिएकी गुञ्जनले भने केवल फूलमै टेकेर यात्रा गरी । उसलाई अभावको सिरेटोले पटक्कै छोएन । विवाहपछि ऊ एकाएक वेपत्ता भए पनि सबैले सोचे उसले सिँढी नै चढेकी छे । त्यो भव्य आकृति एकाएक सडकमा झरेको देख्दा विश्वास गर्नै गार्‍हो भयो । पैसा दिन उठाएको हात थरर्र काँप्यो । लर्खराउँदै म त्यो छायाँबाट अलि टाढा भएँ । 

 

होइन, किन टोलाएकी तिमी ? श्रीमान्को बोलीले यथार्थमा आउँदै भनें–‘हेर्नुहोस् न, मखमलको बिछ्यौनामा सुत्ने गुञ्जन त्यो धूलो भुइँमा निर्धक्क निदाइरहेकी छे । उसका अगाडि केही रूपैंयाँ छरिएका छन् । ऊ कसरी यस्ती भई मैले त विश्वासै गर्न सकिन ।’

 

होइन, के वाहियात कुरा गरेकी यार † त्यो फोहोरको डंगुर पनि कतै गुञ्जन हुन्छे ? हीराको टुक्राजस्ती भएकाले नै उसलाई कसैले उछिट्यायो भनेको होइन ? हुन त सबैले उछिट्यायो नै भन्थे । हामी एउटै थालमा खाएर हुर्किएका हौं, म के भुल्थें र ? त्यसमाथि गालाको कोठी स्पष्ट देखें । 

 

‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेको यही हो । राम्रो कुलमा जन्मिएर पनि लुते कुकुर्नीजस्ती भई । त्यस्ताको चिन्तासिन्ता नगर । अर्को कुरा, कसैले चुइँक्क यो तिम्री बहिनी भन्ने थाहा पाए भने म मरें भन्ने सम्झ । घर गएर आरामले सुत, म आउन ढिला हुन्छ ।’ भन्दै जयेन्द्र हिँडे ।

 गोधूली साँझ मन खिन्न पार्दै घर आएँ । भोक पनि हरायो । डङ्ग्रङ्ङ पलङमा पल्टिएँ । आँखामा अतीतका पलहरू नाचिरहे, ‘गुञ्जन १६ वर्षमै हलक्क बढेकी थिई ।

 

गोरो वर्ण, स्याउजस्ता गाला, सलक्क मिलेको नाक, मिलेका दाँत, पुष्ट नितम्ब, सर्किलो जिउ, देव्रे गालामा कोठी अर्थात् परीझैं थिई ऊ । उसलाई देखेपछि प्राय: युवाहरू भनिहाल्थे, ‘यो मायाको गालैमा कोठी, किस गर्न पाइन्थ्यो कि एकचोटि ? यो मायाको गालैमा कोठी, फर्किहेरे सप्रिन्थ्यो जिन्दगी ।’ उनीहरू बाटो हिँड्दा पनि सुसेल्दै गुञ्जनकै नाम काड्दै गीत गाउँथे । पहिले–पहिले गीत सुन्दा सबै आफन्तलाई रिस उठेकै हो । गीत नगाउनू भनेर सम्झाउने र चेताबनी दिने दुवै काम गरियो तर कसैको केही सीप लागेन । 

छिमेकीहरूले सिनो भएको ठाउँमा गिद्ध घुम्छ भनेर कुरा काटे । प्रशंसा भनेकै सुन्दरताको हुन्छ, यो शाश्वत सत्य हो भनेर हामी आफन्तहरूले छिमेकीहरूको मुखमा थोरै भए पनि बुझो कोच्ने काम गर्‍यौं । बिस्तारै युवाहरूले सुसेल्नु, गीत गाउनु सामान्य हुँदै गयो ।

 

 गुञ्जन प्राय: मेरो कोठामा आइरहन्थी । एक साँझ भने ऊ आँधीजस्तै हुर्रिदै आई । पढिरहेको पुस्तक थुतेर फ्याँकी, ओठहरू चलेनन्, आँखाहरू बर्सिरहे । मैले डराउँदै भनें, ‘होइन के भयो तँलाई कुन कात्तिके कुकुरले धोका दियो हँ ? कतै पेट त डामडुम भएन ?’

उसले झर्किदै भनी, ‘धोकासोका दिएको होइन । म बैंस थेग्नै नसक्ने भएकी चाहिँ हुँ । तैंले विवाह नगरी मेरो बाटो खुल्दैन । तेरो नसामा त साँच्चै पानी नै बगेको छ । तँलाई काउकुती पनि लाग्दैन । मलाई मात्र प्रकृतिले ...।’ 

 

यस्तै के–के भन्दै गुनासो पोखी । मभित्र चलेको आँधी केही मत्थर भयो । सम्झाएँ, ‘हेर, कात्तिके प्रकृतिले कसैलाई भेदभाव गर्दैन । म घरपरिवार, समाज, भविष्य सबै हेरेर आÏनो मर्यादालाई कुल्चिन्न, कुरा यति मात्र हो । कम्तीमा पनि प्लस टु त सिध्याएकी भए हुन्थ्यो । तेरो खुसीका लागि म तगारो बन्दिन भनेपछि ऊ फुरुक्क भई । गालामा म्वाइँ खाएर खुसी हुँदै हिँडी ।

 

मैले तत्काल गुञ्जनको चाहना काकीलाई बताइदिएँ । सबैले गुञ्जनको इच्छाको कदर गरे । १७ पुगेर १८ लाग्दा उसको पोखरा निवासी गोकुल काजीसँग धुमधामसँग विवाह भयो । बुवाआमाबिनाका काजी सर्वगुण सम्पन्न थिए । गुञ्जन विवाहपछि खुसी नै थिई । विवाह भएको अढाई वर्षपछि राम्रोसँग चलेको पेट्रोल पम्प छाडेर गोकुल जापान गए । राम्रो कम्पनीमा काम पनि पाए । गुञ्जनलाई जापान लाने सम्पूर्ण प्रक्रिया मिलाउन करिब तीन वर्ष लाग्यो । प्रक्रिया मिलाएर उनी आउनु दुई दिनअघि गुञ्जन लापत्ता भई । आफूमाथि परेको बज्रपात सहन नसकी गोकुल चिन्तित भए । काकाकाकीको मुटु छियाछिया भयो । उनीहरूले छोरी मरी भनेर नुन नै बारे । गासमा ढुंगा मिसिएझैं गुञ्जनको नामसँग सम्पूर्ण आफन्त मिसियौं । त्यसमाथि आसुरी प्रवृत्ति भएका मानिसहरूको घृणाले सम्पूर्ण आफन्त नराम्रोसँग घाइते भयौं ।

 

एम.ए. पास गरे पनि मलाई विवाह गर्न साहै्र गार्‍हो भयो । जयेन्द्रको गरिब परिवार भने एउटै ताउलाको भात पनि केही पाकेको केही काँचो हुन्छ भनेर विवाह गर्न तयार भयो । 

चार वर्षको अन्तरालमा गुञ्जन आगोले खाएको ठुटोजस्तै भएर देखा परी । जति प्रयत्न गरे पनि निद्रा परेन । फगत गुञ्जनकै सम्झना आइरह्यो ।

 

रातको ११ बजेतिर जयेन्द्र लर्बराएको स्वरमा गुनगुनाउँदै कोठाभित्र पसे । जुत्ता खोलेर पलङमा बसाउँदै भनें, ‘हजुरलाई फकाउन त कति आउँछ हगि ? अरू बेला नभए पनि टन्न रक्सी धोकेको बेलामा टपरीमा पानी हालेजस्तो मीठो स्वर सुन्न पाइन्छ ।’जयेन्द्रले पेटमा काउकुती लगाउँदै भने, ‘टपरीमा पानी हालेको जस्तो स्वर पनि मीथो हुन्छ ? साँच्चै प्याली भोलिदेखि म रक्सी पिउँदै पिउन्न बुझ्यौ ?’ कहाँ हजुरले रक्सी पिउनु नि † रक्सीले पो हजुरलाई पिउँछ ।

कहाँ रक्छीले मलाई पियो ? मैले नै मुला रक्छीलाई पिएँ । नपत्याए लामेश्वलसँग सोध । हो–हो हजुरले नै रक्सी पिउनुभएको हो । आँखा पनि लठ्ठ छ । बोली पनि लर्बरिएको छ । प्यारीभन्दा प्याली, राम्रो भन्दा लाम्लो खोइ के–के भन्नुहुन्छ । आँखा त तिम्रो पनि लठ्ठ छ याल † हेर न रक्छीलाई र तिमीलाई जति पिए पनि अघाउन्न भन्दै कसिलो अँगालोमा बेरेर चुम्बन गरे । सधैंझैं जयेन्द्रको तातो स्पर्शको पनि वास्तै भएन । सम्भोगपछि जयेन्द्र आनन्दले निदाए । म गुञ्जनका बारेमा सोच्दासोच्दै धेरैपछि निदाएँछु । 

भोलिपल्ट बिहानै गुञ्जनको कुरा सुनाउँदा काकीले भनिन्, ‘तैंले त्यो वेश्या अनि कलंकको वास्तै नगर्नू । त्यो केही दिनपछि अवश्य मर्ली, राम्रै हुन्छ । भोका काग, गिद्धहरू अघाउँछन्, भन्दै फोन राखिन् ।’ लोग्ने र काकीको आग्रह नकार्न नसक्ने हुँदा म पो धर्मसंकटमा परें । 

केही दिनपछि बाबु बिरामी भएको खबर आएर जयेन्द्र पुख्र्यौली घर पाँचथर गए । जानुभन्दा अघि गुञ्जनजस्ती खराब आइमाईको वास्ता नगर्नू भन्न भुलेनन् । जयेन्द्र गएको तेस्रो दिन, छिमेकी दिदीले माग्ने आइमाईलाई कुकुरले टोकेर रगतपच्छे पारेको कुरा सुनाएपछि सार्‍है नमज्जा लाग्यो । एक मनले भन्थ्यो, ‘शशि, दयाभन्दा ठूलो केही छैन । अर्को मनले भन्थ्यो तेरो पनि आÏनो जिन्दगी छ ।’ सोच्दासोच्दै गुञ्जनको मायाले जित्यो । बजार सुनसान भएपछि रातको ११ बजेतिर लुसुक्क घरबाट हिँडें । गुञ्जन एउटा पसलको पेटीमा कुकुर गुडुल्किएझैं गुडुल्किएर सुतेकी थिई । विशाल महलकी मालिक्नीको नग्न अवस्था देखेर आँखाहरू रसाए । सानो स्वरमा गुञ्जन भनेर बोलाउँदा उसले उठेर कुक्रुक्क परेर बस्दै भनी, ‘मलाई एड्स लागेको छ एड्स... ।’

 

उसको कुराले मुटु फुट्लाजस्तो भयो । भुइँमा थचक्क बसें । गुञ्जनले दोहोर्‍याई–तेहेर्‍याई एड्स लागेको छ भनिरही । आफूलाई जबरजस्ती सम्हालेर गुञ्जनलाई डोर्‍याउँदै घरमा ल्याएँ । बाथरुममा सम्पूर्ण कपडा खोलेर फालेपछि टाउको नै फुट्लाजस्तो दुर्गन्ध केही मत्थर भयो । देब्रे पिँडौलामा कुकुरले टोकेको रहेछ । ब्यान्डेज बाँधिदिएँ । मनतातो पानीले नुहाइदिएँ । ऊ अबोध शिशुजस्तै जता पल्टायो उतै पल्टिरही । उसको शरीरबाट आएको मयलले बाथरुमको टायल कालो भयो ।

 

कुर्ता–सुरुवाल लगाइदिँदा सुकेको लठ्ठीमा कपडा बेरेजस्तै भयो । दूधभात खान दिँदा एक–दुईपल्ट हात नै टोकिदिई । मैले ऐया भन्दा हाँसेझैं गरी । धेरै पल्ट बोल नानी भन्दा, एड्स छ मात्र भनी । सँगैको पलङमा उसलाई सुताएर आफू पनि सुतें । मर्नु र बाँच्नुको दोसाँधमा कसरी पुगी ऊ भन्ने सोच्दासोच्दै म पनि भुसुक्कै निदाएँछु । 

 भोलिपल्ट डाक्टरकहाँ पुर्‍याउँदा डाक्टरले रेविजको सुई लगाउनुपर्ने सल्लाह दिए । डिप्रेसनले गर्दा केही भुलेजस्तै भएकी हो, ऊ चाँडै होसमा आउने कुरा गरे उनले । कसैले शंकासम्म गरेनन् माग्ने केटी नै मसँग हिँड्ने केटी हो भनेर । बरु माग्ने एकाएक हराएकोमा भने धेरैले आश्चर्य प्रकट गरे । स्कुलबाट छुट्टी लिएर म गुञ्जनकै स्याहारमा लागें । गुञ्जन दुईचार दिनमै जूनकीरीजस्तै उज्याली देखिन थाली । उसका नशालु आँखाहरू चलमलाउन थाले । जीवन बिर्सिएकी गुञ्जन एड्स लागेको छ त भन्थी तर नदीझैं शान्त थिई । म भने भित्रभित्रै जल्दै के गर्ने के नगर्ने कुनै ठोस निर्णय लिन सकिरहेकी थिइन । घरमा ल्याएको छैटौं दिन राति काजी † म बरबाद भएँ भन्दै गुञ्जन चिच्याएपछि म आत्तिँदै उठें । मोबाइलमा हेरें, रातको सवा एक बजेको रहेछ, ‘नानी, सुत नकराऊ भन्दै सम्झाएँ ।’

गुञ्जनले डरलाग्दो तरिकाले कोठा वरिपरि हेरी । मलाई पनि डर लाग्यो । उसले छाद हाल्दै भनी, ‘दिदी, म्याउची खोइ त ?’ म गुञ्जनको प्रश्नले ट्वाल्ल परें । गुञ्जनले आँसु पुछ्दै भनी, ‘मलाई कोठीबाट निकालेपछि जीवनमा केही गर्छु भन्ने आशा बोकेर सीधै माइती आएँ । आमाबाबु र भाइले नै मेरो एक शब्द नसुनी कोठाभित्रबाट घिसार्दै बाहिर निकाले । बाबुले त यो वेश्याको गुप्ताङ्गमा पेट्रोल खन्याएर जलाइदिए हुन्छ भने । आमाले रन्डीले लगाएको दाग कुनै जुनीमा पनि मेटिँदैन, ला, तेरो बुर्लुकबुर्लुक उफ्रिने अङ्ग भन्दै गुप्ताङ्गमा लात्तैलात्ताले हानिन् । म लर्खराउँदै म्याउचीको काखमा पुगें । म्याउचीलाई थाहा थियो । तँ एउटै होस् जसले सबैको मर्म बुझ्छेस् । त्यसैले यहाँ ल्याइ होला, होइन ?’

 

म के भन्ने के नभन्ने दोधारमा परें । भित्री मनले चाहिँ भन्यो तँ आफ्नो जवानीकै मात्र माया गर्ने नीच होस् ।गुञ्जनले मनको कुरा बुझेझैं गरेर भनी, ‘दिदी, म बेइमान होइन नि † ‘चितुवा कराउनु र बाख्रा हराउनुजस्तै’ भएको हो । प्रेम एकपल्ट हुन्छ त्यो प्रेम मैले काजीलाई नै गरेकी थिएँ । उनले गर्दा नै मैले ढुङ्गा–माटोले नपाउने दु:ख पाएँ ।’ 

 गुञ्जु, तँ के भन्दै छेस् ? विवाहअघि त्यत्रा कात्तिके कुकुरहरू बटुलेर पनि... । तेरो चञ्चलपनले गर्दा नै सबैले औंला उठाएका हुन् । त्यो कवि भैखाको रत्ने मोराले तँ हराएपछि कविता नै लेखेर छपायो । 

उक्त कविता पोखराको लेकसाइडभरि प्राय: सबैको मुखमा झुन्डिएको थियो । काकाकाकीले माफी नदिनुको कारण पनि त्यही हो । समाजको घृणा सम्झिँदा त अहिले पनि मुटु नै फुट्लाजस्तो हुन्छ बुझिस् ?

 दिदी † ती मेरा प्रेमीहरू थिएनन् । उनीहरू मलाई पिएर तृप्त हुन चाहन्थे । मैले धेरैको आँखामा प्रेम खोजें तर पाइन । त्यसैले त विवाह गर्न हतारिएकी थिएँ । म को हुँ भन्ने काजीलाई राम्रै थाहा छ त्यसैले त उनी मलाई असाध्यै माया गर्थे । 

 मेरा आँखाबाट हर्षका आँसु झरे । मोबाइल नजिकै राखें । गुञ्जन मेरो काखमा टाउको राखेर एकछिन मौन भई । उसको तातो आँसु झरेको चाल पाएँ । आँसु पुछ्दै भनी, ‘दिदी, मैले काजीलाई जापान जानु पर्दैन भनेकै हुँ । उनी मामाले देखाएको सप्तरङ्गी सपनामा डुबे । उनको इच्छाका अगाडि मैले घुँडा टेकेकी मात्र हुँ । कान्छो मामा त्यसमाथि काजीको अत्यन्त विश्वासपात्र मामाबाट असुरक्षा होला भन्ने मैले कल्पनासम्म गरिन ।

 

काजी गएको दिनदेखि नै कहिले सान्त्वना दिने बहानामा, कहिले खानुपर्छ भन्ने बहानामा त्यो गिद्ध हाम्रो घरमा आउँथ्यो । ऊ मलाई ऊर्वशी र तिलोत्तमालाई पनि बिर्साउने छौ जस्ता कुरा गथ्र्यो । म वास्तै गर्दिनथें । काजी गएको अठार–बीस दिनपछि खाना पकाएर राख्नू भन्यो । रातको त्यस्तै आठ जति बजेको हुँदो हो, ऊ झोलाभरि फलफूल लिएर आयो । म खाना पस्कदै थिएँ । उसले भान्सामै आएर मेरो गालामा एक्कासि म्वाइँ खायो । म ओत लागेको छाना नै ढलेजस्तै खङ्ग्राङखुङ्ग्रुङ भएँ । हातखुट्टा थरथर काँपे । के गर्ने कसो गर्ने सोच्नै सकिन ।

 

मलाई मौन देखेर होला उसले मेरो संवेदनशील अङ्गमा हात हाल्दै, मेरी मुटुकी टुक्रा तिम्रा लागि म प्राण नै दिनसक्छु भन्दै थियो । म हुत्तिँदै कोठाभित्र छिरेर चुक्कुल लगाएँ । के गर्ने कसो गर्ने केही हेक्का रहेन । उसले कोठाबाहिरबाट भनिरह्यो, ‘हेर, प्राण प्यारी, खुरुक्क ढोका खोल । ज्यान जाला तिमीलाई छोड्दिन । बरु सात दिन सात रात यहीँ बस्छु । तिम्रै प्राप्तिका लागि मैले भान्जालाई जापान पठाएँ । तिमीले संकोच मानेर यो लोभलाग्दो जवानी खेर नफाल । जवानी एकपटक मात्र आउँछ बुझ्यौ ? यस्तै के–के भन्दै थियो । डोरबेल बज्यो । मैले बेडरुमको ढोका खोली पापीको मुखमा एक गिलास पानी छ्यापी मूलढोका खोलें । रिसाएको स्वरमा सेट भन्दै कुकुर सोफामा गएर बस्यो ।’

माइजू अत्तालिँदै आएर मामाको निधार छामछामछुमछुम गरिन् । केही बेर बोल्न पनि सकिनन् । केही समयपछि खुसीका आँसु झार्दै भनिन्, ‘बुहारीले तपाईं बेहोस हुनुहुन्छ भनेर फोन गर्दा त मेरो सातो नै गयो । घरमा छोराछोरीलाई त्यत्तिकै छोडेर आएकी छु । ल हिँड्नुहोस् डाक्टरकहाँ जाऊँ । ब्लड प्रेसर लो भयो होला । धन्न यहाँ लड्नुभएछ र बुहारीले बचाइन् । बुहारी तिम्रो जय–जय होस् ।’

मैले धेरै केही गरेकी छैन भनेपछि उनी धेरै ठूलो गुन लगायौ भन्दै लोग्नेलाई डोर्‍याएर हिँडिन् । मामाले कर्के आँखाले खाउलाझैं गरेर मलाई हेर्‍यो । दिदी † मान्छेको स्वार्थ त विचित्रकै हुँदोरहेछ । मामाको गिद्धे दृष्टि त मेरो यौवन, मेरो सौन्दर्यमाथि पो रहेछ ।

मामाको कर्तुत काजीलाई सुनाऊँजस्तो पनि लाग्यो । धेरै सोचें बदलाको आगोले घर जलाउनु हुँदैन भन्ने लाग्यो । उक्त घटनापछि पापीबाट बच्न आमाजूकी आठ कक्षामा पढ्ने छोरीलाई पढाउँछु भनेर ल्याएँ । आमाजूले पनि खुसी भएरै पठाउनुभयो । उनी नै मेरो सुरक्षा कवच भइन् । रस खान नपाएको भमरोले एक दिन घरमै आएर विष वमन गर्‍यो, ‘तिमीले लेकसाइड हल्लाएको कुरा सबैलाई थाहा छ । हृदयकी राजकुमारी बनाउँछु नखरा नपार । जवानीको मज्जा लिने उमेरमा तिमी कामुक सुन्दरी त्यसै बस्छ्यौ, यो मलाई पटक्कै विश्वास छैन । प्लिज म नै तिम्रो हर सपना पूरा गर्छु । यदि मैले भनेको मानिनौ भने तिमीलाई तत्काल बीच सडकमा ल्याइदिन्छु ।’

म आइन्दा एक शब्द बोल्नुभयो भनेसीधै जेल जानुपर्ला याद राख्नुहोस् । माइजू र बच्चाबच्चीको मुख हेरेर माफ गरेकी छु भन्दै कराएँ । मेरो आक्रोश देखेर ऊ रिसाएको सिंहजस्तै भयो । म पनि रिसाएको सिंहिनीझैं भएँ । ऊ दाह्रा किट्दै घरबाट निस्कियो । त्यो रात म धेरै रोएँ । आफ्नै अनुहार र पहिलेको चञ्चलेपन सम्झेर आफैँसँग घृणा लाग्यो । घैरै दिन बेचैन भएँ । पुन: मामाले मप्रति आशक्ति देखाएनन् । म साह्ै खुसी थिएँ तर ऊ भित्र बदलाको आगो रहेछ ।

 

काजी आउनु दुई दिनअघि त्यो पापी कोठामा अनुष्कालाई पढाइरहेको थियो । रातको त्यस्तै नौ बजेको हुँदो हो । डोरबेल बजेपछि म ढोका खोल्न गएँ । दुई जनाले मलाई समातेर मुख छोपेको थाहा छ । होस खुल्दा म एउटा चण्डमुण्डजस्तो मानिसको काखमा थिएँ । ऊ मलाई गिजोल्दै थियो । मैले सपना हो कि विपना बुझ्नै सकिन । मैले चण्डमुण्डको दाह्री–कपाल छामें । उसले म्वाइँ खाँदै भन्यो, ‘सोना पिघल गया।’ 

त्यसपछि बल्ल म होशमा आएँ ।

 

आवेशमा उसलाई चिथोर्न पुगेछु । उसले हाँस्दै ‘मैंने तुमको पी चुका हुँ, एकबार नहीँ दो बार भनेपछि त्यो बज्र सहन नसकी मूर्छा परिछु । ब्युँझिँदा त्यहाँ कोही थिएनन् । चारैतिर हेरें अति नै सुसज्जित कोठामा धूपको वासना आइरहेको थियो । म सुन्दर बिछ्यौनामा थिएँ । जिउ गलेको थियो, यौनाङ्ग दुखिरहेको थियो । आफू कोठीमा बेचिएकी रहेँछु भन्ने कुरा बुझ्न बेरै लागेन । मस्तिष्कले काम गर्न छोडेजस्तै भयो । केहीबेरपछि एउटी सोह्र शृंगारले सुशोभित पचास–पचपन्न वर्ष जतिकी वाइ आएर हाँस्दै भनी, ‘अच्छा सितारो, तुमको देखकर मेरा भी मन पिगल गया पर क्या करूँ ?

 

तुम क्या आई इस रक्सोलकी कोठीका सान बढ गया । तुम जैसी दो–चार लडकी इस कोठी में रहती हो तो कोठीका सान बढता है । तुम खिलकर हँँसो । अच्छे से आदमीका दिल बहलाओ । मैं तुम्हारी पूजा करुंगी ।’

मैले रुँदै उसको खुट्टा ढोग्दै भनें, ‘मुझे छोड दो, मै जितना लाख मागोगी उतना देती हुँ ।’उसले हाँस्दै भनी, ‘तुम्हारे अपनों ने बेच डाला तो मैं क्या करूँ ? हमारे कलेजे में दिल नहीँ पत्थर है । मै कितना कमाती हुँ तुम अन्दाज भी नहीँ लगा सकती । तुम्हारा नाम आज से सोना रख दिया है । तुम सचमुच कि सोना हो ।’ भन्दै ऊ बाहिर निस्की ।

मैले त्यहाँ आउने धेरै ग्राहकको खुट्टा समातेर हारगुहार गरें । तिनीहरूका अगाडि रुनु र ढुङ्गाको अगाडि रुनुमा केही फरक रहेनछ । म त पापी मामाका कारण बेचिएँ । प्रेमीको त कुरै छोडौं, बाबुको खोकिलामा निदाउँदै घुम्न भनी आएकाहरू, लोग्नेको आलिङ्गनमा रमाउँदै घुम्न आएकाहरू, यज्ञमा होमिएको चरुझैं होमिदा रहेछन् । बेचिएका जति सबैको आँसु एकै ठाउँमा जम्मा गरेको भए सानोतिनो खोलो नै बन्दो हो । खोइ यसको अन्त्य कहिले होला दिदी ? एक्सप्रेस बसझैं नरोकिई कुँदेकी गुञ्जनले मसँग प्रश्न गरी । 

‘जबसम्म मान्छेमा मर्नुपर्छ भन्ने चेतनाको विकास हुँदैन जबसम्म अभावले गाँजिरहन्छ तबसम्म यस्ता करुण कथा दोहोरिरहन्छन् । तँ कसरी निस्किस् त नानी ?’ मैले प्रश्न गरें ।

 

 दैव संयोग नै भनौं एकदिन उत्सव आएर नाङ्गिँदै थिए । उनले मलाई चिनेनन् । मैले रुँदै आफू गुञ्जन हुँ भनें । उनले हाँस्दै भने, ‘साह्रै खुसी लाग्यो । हाम्रो भेट यहाँ हुन लेखेको रहेछ । ‘कहाँ जाला मछली मेरै ढडिया’ भनेको यही हो । पोखरामा त मलाई निकै पीठ देखाएर हिँड्थ्यौ नि † कुन प्रेमीले बेच्यो नि ?’     

 तिम्रो आँखामा प्रेम थिएन त्यसैले मात्र हो । मैले उत्तर दिएँ । ‘तिमीलाई प्रेम गर्नेले नै बेच्यो होला होइन ?’ उनले प्रश्न गरे ।

मैले सबै कुरा बताएपछि उनी एकछिन मौन रहे । उतारेको कपडा पनि लगाए । अविवाहित नै रहेछन् र पनि उत्तेजित मनलाई शान्त पारे । कैयौं नारीका बाबु, श्रीमान्, प्रेमीभन्दा लाखौं गुणा उच्च रहेछन् उनी । ल्यावमा काम गर्दारहेछन् । बेलाबेलामा कोठीमा बेचिएकाहरूको रगत जाँच्न लाँदा रहेछन् । तिमीलाई नेपाल पठाउने उपाय गरौंला भनी रगत लिएर गए । रगतको रिपोर्ट एच.आई.भी. पोजेटिभ नै आयो । बाइले बाटाखर्च दिएर निकाली । मैले आफूलाई अति पीडा दिने रूपलाई धूलोमैलो दलेर कुरूप बनाएँ । कपाल जिङ्रिङ्ग पारें । मानिसहरू मलाई देखेर पन्छिदै हिँड्न थाले । म स्वतन्त्र भएँ । माइती पुगेपछिको कुरा तँलाई भनिहालें । दिदी, केही पत्तो छैन मलाई एड्स छ कि छैन ।

 

उसका कुराले हर्षका आँसु झरे अनि उसलाई चुम्मा गर्दै मैले भनें, ‘नानी, तैंले धेरै लडाइँ लडिछस् । अब तेरो युद्ध समाप्त भयो । तँलाई एड्स अवश्य छैन । ज्वाइँले जग्गा किन्न दिएको पैसा र गहना लिएर भागिस् भन्ने पो हल्ला थियो । त्यसैले पनि काकाकाकी र अरूले ..... । दिदी, त्यो हल्ला तैंले पनि सुनिस् नि होइन ? तर मैले काजीले पठाएको पैसा तथा गहना अरूले शंका नगर्ने ठाउँ सासूको पुरानो सन्दुकमा राखेकी थिएँ ।

गुञ्जु, तैंले विनाकारण, विनादोष, धेरै चोट सहिस् । धन्न † उत्सव पुगेछन् । तीन बजिसक्यो सुतौं पनि ।

गुञ्जनले पनि टाउकोबाट पहाड बिसाएझैं हलुका महसुस गरी । आँखा लोलायो ऊ सुती । म पनि कपासझैं हलुङ्गो मन लिएर निदाएँ ।  बिहानको सात बजेको हुँदो हो, एउटा मायालु अनुहार देखापर्‍यो । नमस्कार गर्दै त्यो छाँयालाई गुञ्जन सुतेको ठाउँमा पुर्‍याएर आफू बाहिरिएँ । कसैको स्पर्शका कारण गुञ्जनले पिलिक्क आँखा खोलेर पुन: आँखा चिम्लिई अनि निद्राको सुरमै भनी, ‘उफ † काजीको सपना पो देखेंछु।’

 

गुञ्जनको जीर्ण अवस्था देखेरे काजीका आँखा रसाए । गुञ्जनको छेउमै बसेर उसलाई नियाली रहे । आँसु गालाको बाटो हुँदै गुञ्जनको हातमा खस्यो । दिदी, भन्दै आँखा खोली अनि काजी, भन्दै जुरमुराउँदै उठी । बोल्दाबोल्दै बोली अड्कियो । गोकुलले गुञ्जनलाई अँगालोमा बाँधे । उनको शीतल स्पर्शका कारण गुञ्जनले अतीतमा पिल्सिएका क्षणहरू बिर्सदै उन्मुक्तिको श्वास फेरी । दुवै मायाको अथाह सागरमा डुबिरहे । गोकुलले रुन्चे स्वरमा भने–‘मलाई माफ गर । मैले तिमीलाई चिन्न सकिन । यी सम्पूर्ण घटाना घट्नुमा दोष मेरै हो ।’ 

 

दोष मेरो पनि हो काजी † म शशि दिदीजस्ती भएकी भए सबैले मलाई खोज्दा हुन् । साँच्ची, गहना, पैसा...? आमाले तिम्रो सम्पूर्ण कुरा जतनले राखिदिनुभएको रहेछ । तिमीले सोह्र दिन होस गुमाएकी रहेछौ । दिदीले तिमीलाई बजारबाट ल्याउनुभएको रहेछ । त्यति मात्र होइन आज हाम्रो भेट गराउने पनि दिदी नै हो । दिदीको मोबाइलबाट सम्पूर्ण कुरा सुनेपछि तिमीप्रति अझ श्रद्धा बढ्यो । म्याउचीले लमजुङ बजार पुर्‍याइदिनू भनेर तिमीलाई बसमा हालिदिएकी रहिछ । उनको मनसाय पनि शशि दिदीसँग भेट होस् भन्ने नै रहेछ । पापी मामा पोल खुल्ला भनेर होला परारै अस्ट्रेलिया भागे । उनका सबै परिवार उतै छन् ।

 

 गुञ्जनले झरिरहेको आँसु पुछ्दै भनी, ‘काजी, सम्पूर्ण कुरा जान्दाजान्दै पनि यसरी आउनु होला भन्ने मैले सोचेकी थिइन । म धन्य भएँ ।’गोकुलले मुन्टो हल्लाउँदै गुञ्जनलाई चुम्बन गरे । गुञ्जन लज्जावती फूलझैं भई । गोकुल र गुञ्जनले संसार भुलिरहेको देखेर मैले अनुभूत गरें, ‘प्रेमभन्दा उच्च, प्रेमभन्दा पवित्र, प्रेमभन्दा सुन्दर केही हुँदोरहेनछ । यौन क्षुधा शान्त पार्न गरिएको प्रेमभन्दा हृदयमा टुसाएको प्रेम कैयौं गुणा माथि हुँदोरहेछ ।’

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्