जादु झैं निस्किए, उन्मुक्त भएर नाचे, क्षणभरमै बिलाए

सरस्वती कटुवाल

मंसिर २५, २०७३ 

शनिबार ललितपुरको पुल्चोकस्थित लबिम मलाको ग्राउन्ड फ्लोरमा एकाएक आफ्नो हिसाबले रमाइरहेका मानिसहरूको ध्यान भंग गर्दै एक हूल युवती नाच्न थाले । रातो र कालो रंगको टि–सर्ट र पाइन्ट लगाएका २३ युवती एक्कासि नाच्न थालेपछि मलमा सपिङ गर्न, र घुमफिर गर्दै रमाइलो गरिरहेका मानिसका नजर नाचिरहेका आकर्षक र पढेलेखेका ती युवतीहरूतिर तानिए।

 

सामान बेच्दै गरेका दोकानेदेखि लबिम मलभित्र जति पनि मानिसहरू थिए आफ्नो कामलाई छोडेर सबैले नाचलाई घेरेर हेर्न थाले । कति त हिँड्दै गरेको स्काभेटरबाट ओर्लिएर आफूलाई पायक पर्ने ठाउँमा उभिएर नाच हेर्न व्यस्तिए । आफ्नो कामका लागि आएका लविम मलका हरेक मानिसहरूको नजर उन्मुक्त नृत्यले आफूतिर खिचेको थियो । 

अनौठो कुरा त पढेलेखेका युवतीहरूको मुखबाट अनौठो शब्द गुन्जिरहेको थियो । उनीहरू भन्दै थिए– ‘म समयसँगै परिणत भएँ, म हुँ सन्त, म बेस्या, म बोक्सी, म स्वतन्त्र छु......यस्तै यस्तै ।’

प्रसंग हो - ६८ औं मानव अधिकार दिवसको अन्तिम दिन अर्थात् महिला हिंसाविरुद्धको १६ दिने अभियानको अन्तिम दिन । मडलिना नेपाल नामक थिएटर ग्रुपले आयोजना गरेको उक्त नृत्यले परम्परादेखि महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूमथि अन्धविश्वासले जगाएको महिलामाथिको शारीरिक र मानसिक हिंसा । हुन पनि रहरलाग्दो जीवनमा कतिपय महिलाले कुरीति र अन्धविश्वासको भरमा धेरैले ज्यान गुमाएका छन् । यसको प्रत्यक्ष असर अहिलेका पढेलेखेका आधुनिक युवायुवतीहरूमा पनि देख्न सकिन्छ ।

 

जति आधुनिकताको प्रभाव र आकर्षण देखिए पनि अझ हाम्रो समाजका नारीहरू हिंसाको सिकार बनेका मुटु खाने अनेकन घटना बेलाबेला सुन्नमा आइरहेका छन् । यसैको उपज हो मडलिना नेपालको उक्त नृत्य । उनीहरू अब नकारात्मक पराम्पराका ढाँचा र परिवेशले अबको समाजका नारीलाई छुन नसकोस् भन्ने चाहन्छन् । जे भइरहेको छ यो प्रथा  र मानवीयता विपरीतका घटना हाम्रो समाजबाट जरैबाट उखलिएर जाऊन् भन्ने चाहन्छन् । धेरै महिलाले आफ्नो सुन्दर जीवनमा सोच्दै नसोचेका घटनाबाट गुज्रिएर जीवन काटेका कयौं घट्ना हाम्रै आँखासामु हामीले टुुलुटुलु हेरेर बस्नुपरेको छ । 

यस्ता कुराहरूलाई निराकरण गरी सभ्य र सुन्दर समाजको निर्माण गर्नेतर्फ लालायित मडोलिना नेपालका युवतीहरू निकै अग्रसर छन् । विगतमा पनि महिलाका विषय जनचेतनामूलक विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको यो समूहले केही महिना अगाडि भजाइना मोनोलग नाटक मञ्चन गरी उपत्यकामा बसोबास गर्ने धेरै पढे–लेखेका नागरिकहरूले निकै प्रशंसनीय कार्य गरेको भन्दै आभार प्रकट गरेका थिए । महिला सशक्तीकरण र महिला–पुरुषबीच हुने गहिरो खाडल पुरे मात्र सभ्य समाजको विकास हुन बेर नलाग्ने मडोलिना नेपालको विश्वास छ । 

प्रशंग लबिम मलको जोडौ, परापूर्वकालदेखि हाम्रो समाजमा जरा गाडेको  परम्परा र महिला हिंसाविरुद्धका विषयमा आफ्नो नृत्यमार्फत सन्देश छरिरहेका थिए । नृत्य निकै कलात्मक र सन्देशमूलक थियो । नृत्यको कोरियोग्राफी गर्ने मडोलिना नेपाल समूहकी सदस्य सुम्निमा सामपाङ भन्छिन्, हामी सदैव महिलाका विषयमा चेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौं र गरिरहन्छौं ।  हाम्रो उद्देश्य भनेकै कम्तीमा समाजको सकारात्मक परिवर्तन हो । जुन दीर्घकालीन र विकासशील होस् । महिला हिंसाको १६ दिने अभियानको अन्तिम दिन लक्षित गरी हामीले यो नृत्य प्रस्तुत गर्‍यौं ।'

पेशाले संचारकर्मी रोशा बस्नेत आफ्नो रुची र अध्ययनको विषय पनि कला र साहित्य नै भएकाले उक्त नृत्यमा सहभागि थिइन । आफूलाई घत लगेको कुनै पनि विषयमा प्रस्तुति दिन सक्ने बस्नेत मडोलिना नेपालको उक्त नृत्यमा यसैकारण सहभागी भएको उनले बताइन । साथै अन्य सबै नृत्यमा सहभागी युवतीहरु विभिन्न क्षेत्रमा आवद्ध छन् । मडोलिना नेपाल थिएटर ग्रुपका युवतीहरुले सोही दिन पाटन ढोका र लबिम मलमा  नृत्य प्रस्तुत गरेका थिए । 

 

हुन पनि  को कहाँबाट आए ? किन नाचे ? भन्ने कुराको अडकल दर्शकलाई काट्न हम्मे नै थियो । जे होस् युवतीहरू अब सशक्त र सचेत छन् । राम्रो समाजको निमार्ण गर्न कुनै पनि कसर छाड्दैनन् भन्ने कुरा, चेतनाको परिपक्वता र सकारात्मक सन्देश दिने क्षमता राख्ने मडोलिना नेपाल थिएटर समूहका नौ जवान युवतीहरूको यस्तो सन्देशमूलक कार्यले पनि प्रमाणित गर्छ । आधुनिक युवती दुरदराजमा होस् वा सहरमा कुनै पनि महिला अन्धविश्वास र पुरुषप्रधान समाजको सामाजिक अडचनबाट परै रहन चाहन्छन् । मडोलिना नेपाल थिएटर समूहका नौ जवान युवतीहरू जनहितका लागि महिला वा पुरुष बराबर हुन् भन्ने कुराको जानकारी गराउन कुशल पनि छन् ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्