पैसा दम्पतीकै

परिवारमा श्रीमान्–श्रीमती दुवै बराबर कमाउने भए पनि पुरुषवादी अहंकारका कारण उनीहरू परिवार आफ्नो हिसाबले चल्नुपर्छ भन्ने मान्यता राख्छन् ।

झरना नहर्की

मंसिर २४, २०७३  

कुनै समयमा पैसा पुरुषले नै कमाउनुपर्छ भन्ने मान्यता थियो । जति कमाए पनि पुरुषहरू त्यसलाई खर्च गर्न पछि पर्दैनन् । उनीहरू बचत गर्न जान्दैनन् । मोलतोल गरेर सामान खरिद गर्ने तथा अनावश्यक खर्च गर्न मनलाई बाँध्ने बानी पुरुषहरूमा हुँदैन । एक–एक पैसा जम्मा गर्ने कला पनि उनीहरूमा हुँदैन । पैसा बचाएर आफ्नो खर्च जोगाउने रुचि उनीहरूमा हुँदैन ।

 

अहिले यो परिदृश्यमा केही परिवर्तन आएको अनुभव गर्न सकिन्छ । किनभने अहिले महिलाहरू पनि कमाउन थालेका छन् । उनीहरू आफ्नो खुट्टामा आफै उभिन थालेका छन् । महिलाहरू केवल सोची–सम्झी खर्च मात्र गर्दैनन् उनीहरू आफै कमाउन थालेका छन् । सहरी क्षेत्रका अधिकांश महिला आफै पैसा कमाउन उत्प्रेरित देखिन्छन् । उनीहरू आफैं कमाएर आफैं खर्च गर्न चाहन्छन् ।

 

महिलाको कमाइले अहिलेको महँगीमा राहत पनि पुर्‍याएको छ । अहिले घर खर्चलगायत अरू व्यवहार मिलाउन केवल पुरुषले मात्र खर्च गर्दैनन् । श्रीमान्–श्रीमती मिलेर आफ्नो पारिवारिक गाडी अघि बढाउँछन् । हिजोआजका महिलाहरू आफ्ना स–साना आवश्यकताका लागि कसैसँग पैसा माग्न चाहँदैनन् । उनीहरू त्यस्ता खर्चको जोहो आफै गर्छन् । हप्तामा एकपटक बाहिर जाने, नयाँ मोबाइल खरिद गर्ने, फेसनअनुसार पहिरन खरिद गर्ने आदि खर्चका लागि मन मार्नुपर्छ ।

 

दुईजनाको आय भनेको सहज जिन्दगानी हो । महिलाहरूमा दोहोरो जिम्मेवारी बढिरहेको छ । उनीहरू परम्परागत जिम्मेवारीलाई पनि निभाउँदै विभिन्न क्षेत्रमा हात फैलाउँदैछन् । कामका कारण उनीहरू आर्थिक रूपमा पनि सबल बन्दै गएका छन् । महिलाहरूले यति धेरै जिम्मेवारी बहन गर्दा पनि पुरुषहरू आफ्नी जीवनसंगीनीलाई प्रखर गृहिणीकै रूपमा हेर्न चाहन्छन् । उनीहरू आफ्नो घरलाई पनि शतप्रतिशत समय दिऊन् भन्ने चाहन्छन् । यता महिलाहरूले आफ्नो दोहोरो जिम्मेवारी बहन गर्न सिकिसकेका छन् । पुरुषहरू भने यो मामिलामा उदार हुन सकेका छैनन् । 

 

दाम्पत्य अर्थशास्त्र 

पारम्परिक नेपाली परिवारमा श्रीमान्ले कमाउँथे भने श्रीमतीहरू आफ्नो हातमा आएको रकमलाई घर व्यवस्थापन गर्न खर्च गर्थे । श्रीमान्हरू घरमा आफ्नो हैकम चलाउँथे । समय सधै उस्तै रहँदैन । महिलाहरू बिस्तारै आत्मनिर्भर बन्दैछन् । उनीहरूको आर्थिक योगदान महत्वपूर्ण बन्दै गएको छ । उनीहरूमा आत्मविश्वासको विकास भैरहेको छ । आफ्ना लागि चाहिने सामग्रीका लागि उनीहरू श्रीमान्को मुख ताक्दैनन् बरू आफै कमाउँछन्, आफै खर्च गर्छन् । महिलाहरू आफ्नो रुचिका सामग्रीहरू आफै खरिद गर्छन् । 

 

श्रीमान्–श्रीमतीको आपसी सम्बन्धमा आर्थिक मुद्दाले निकै प्रभाव पार्छ । परिवारमा पनि जसको स्थिति आर्थिक रूपमा बलियो हुन्छ उनीहरूलाई सबैले मान्छन् । उसको कुराको सुनुवाइ अधिक हुन्छ । परिवारमा उसकै हैकम चल्छ । मनोवैज्ञानिक भाषामा यसलाई पावर रिलेसन भनिन्छ । पहिले श्रीमान् निर्विवाद रूपमा परिवारको मुखिया हुन्थे । श्रीमती तथा बालबच्चाहरूले उनका हरेक कुरालाई स्वीकार गर्थे तर आज स्थिति बदलिएको छ । आर्थिक रूपमा आफ्नो सहभागिता दर्शाएर महिलाहरूले आफ्नो अधिकार पनि समान बनाइरहेका छन् ।

 

परिवार चलाउन उनीहरू समान भागिदार भएका छन् । बालबालिकाहरूको नजरमा आमाको महत्व अझ बढिरहेको छ । उनीहरूको सम्मान बढिरहेको छ । आजका आमाहरू आफ्ना सन्तानलाई होमवर्क गराउने काममा मात्र होइन उनीहरूको फिस जुटाउने काममा पनि अग्रसर हुन थालेका छन् । 

 

कुरा पैसाको मात्र होइन 

आर्थिक स्वतन्त्रताको अर्थ केवल पैसा कमाएर आफूलाई मन लागेको ठाउँमा खर्च गर्नु मात्र होइन । यसले महिलाहरूको आत्मविश्वास पनि बढाइरहेको छ । उनीहरू परिवारका हरेक निर्णयमा सहभागिता जनाउन थालेका छन् । उनीहरूको निर्णयको कदर पनि हुन थालेको छ । कुनै–कुनै परिवारमा त महिलाहरूको निर्णयलाई नै सर्वमान्य मान्न थालिएको छ । आर्थिक स्वतन्त्रतताले उनीहरूलाई स्वनिर्णयको अधिकार दिएको छ ।

 

आर्थिक रूपमा सबल हुनेबित्तिकै महिलाहरूको जीवनस्तरमा पनि परिवर्तन देखिन थालेको छ । यो महिलाहरूको ठूलो शक्तिका रूपमा देखिएको छ । यसको माध्यमबाट महिलाहरूको जीवन सम्मानजनक भएको छ । श्रीमती आर्थिक रूपले सबल भए श्रीमान्ले उनको कुनै पनि कुरामा अवरोध खडा गर्न सक्दैनन् । 


अहंकार प्रमुख मुद्दा 

समाज जतिसुकै आधुनिक भए पनि अझै पुरुषहरूको दृष्टिकोणमा कुनै परिवर्तन देखिएको छैन । कतिपय पुरुष अहिले पनि महिलाहरूलाई पहिलेकै हेय दृष्टिले हेर्छन् । परिवारमा श्रीमान्–श्रीमती दुवै बराबर कमाउने भए पनि पुरुषवादी अहंकारका कारण उनीहरू परिवार आफ्नो हिसाबले चल्नुपर्छ भन्ने मान्यता राख्छन् । महिलाहरूले कमाए पनि उनीहरूले परिवार चलाउनुपर्छ, घरको काम सबै गर्नुपर्छ भन्ने मान्यता धेरैजसो पुरुषमा छ । उनीहरू घरका सानादेखि ठूला निर्णय आफै गर्न अघि सर्छन् । यस्तो अवस्थामा श्रीमतीहरू किनमेलदेखि अरू व्यवहारका लागि झूटो बोल्न बाध्य हुन्छन् । उनीहरू कुनै पनि आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्दा संकोच मानिरहेका हुन्छन् । पुरुषहरूलाई आफ्नो अहंकार नै ठूलो लाग्छ ।

 

श्रीमतीको आर्थिक सहभागिताले परिवारमा हुने सहयोगलाई श्रीमान्हरूले सजिलै स्वीकार गर्छन् तर उनीहरूको दख्खल श्रीमान्हरूलाई स्वीकार्य हुँदैन । कहिलेकाहीँ आफ्नो भन्दा श्रीमतीको ठूलो पद तथा कमाइले पनि परिवारमा वैमनश्यता उत्पन्न गर्छ । श्रीमान्हरू श्रीमती बढी कमाउने तथा व्यस्त भएको पनि सहन सक्दैनन् । उनीहरू भरसक आफ्नो भन्दा कम शिक्षा तथा तलब भएकी श्रीमती विवाह गर्न चाहन्छन् । कहिलेकाहीँ बढी कमाउने तथा ठूलो पदले पनि परिवारमा कलह उत्पन्न हुन्छ र कुरा जागिर छोडाउनेसम्म पुग्छ । 

 

फरक मानसिकता 

आर्थिक मुद्दाका सम्बन्धमा पुरुष तथा महिलाको मानसिकता फरक–फरक हुन्छ । नेपाली पुरुषहरू आफ्नो व्यक्तिगत आवश्यकतामा खर्च गर्न रुचाउँछन् । यो विषयमा उनीहरू श्रीमतीलाई जानकारी दिनु जरुरी सम्झदैनन् तर त्यसको विपरीत महिलाहरूको बानी विशेष ध्यान दिने हुन्छ । त्यसैले उनीहरू आफ्ना लागि भन्दा आफ्नो परिवार, छोराछोरी, आफन्त तथा घरका लागि खर्च गर्न मन पराउँछन् । महिलाहरू पैसा बचाएर, खर्च कम गरेर सामान खरिद गर्ने कलामा कुशल हुन्छन् ।

 

महिलाहरू सदैव पैसा बचाउनुपर्छ भन्ने भावनामा हुन्छन् । उनीहरूलाई फजुल खर्च मन पर्दैन । उनीहरूमा एक प्रकारको असुुरक्षाको भावना पनि हुन्छ । उनीहरू सदैव परिवारको आकस्मिक आवश्यकतालाई बुझेर तथा सम्झेर खर्च गर्छन् । त्यसमा पनि आफ्ना श्रीमान्बाट पैसा बचाएर बचत गर्नु महिलाहरूको पुरानै बानी हो । महिला तथा पुरुषको यही फरक मानसिकताका कारण उनीहरूबीच मतभिन्नता उत्पन्न हुन्छ । कहिलेकाहीँ यसले नकारात्मक बाटो पनि समात्न सक्छ र दाम्पत्य जीवनमै आँच आउन सक्छ ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्