आफैंलाई चिनौं

नारी संवाददाता

मंसिर १५, २०७३ 

श्रेयाले बाल्यकालदेखि नै चिकित्सक बन्ने सपना देखेकी थिइन् र उनले त्यसलाई पूरा पनि गरिन्। अहिले उनी २८ वर्षकी छिन्। श्रेया एक प्रतिष्ठित अस्पतालमा कार्यरत छिन् र त्यसबाहेकको समय पनि उनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ। कमाइ पनि राम्रो छ तर उनलाई एउटा कुराले निकै पिरोलेको छ, त्यो हो उनी आफ्ना अन्य साथीझैं विदेश जान सकिनन्। त्यसैले उनी बेलाबेला दु:खी पनि हुन्छिन्।

 

२६ वर्षीया प्रसिद्धि नेपाली साहित्यमा स्नातकोत्तर गर्दैछिन्। उनको एउटा गजल संग्रह पनि प्रकाशित भैसकेको छ। साथीभाइ तथा चिरपरिचितहरू उनका प्रशंसक पनि छन्। यद्यपि उनी आफूलाई अनाकर्षक मान्छिन् र कसैले प्रशंसा गर्‍यो भने पनि गिज्याएको हो कि भनेर दु:खी हुन्छिन्। आफूमा हीनताको भावना विकास भएको कुरा उनलाई थाहा छ र पनि उनले त्यसलाई हटाउन सकेकी छैनन्। यस्ती शिक्षित युवतीमा समेत यस्तो समस्या छ भने अपठित तथा आफूमा के समस्या छ भन्ने कुरा थाहा नपाउने एवं सबै कुरा ठीक हुँदाहुँदै पनि दु:खपूर्ण जीवन बिताइरहेका युवतीहरू नेपालमा थुप्रै छन्। 

 

क्षमताको पहिचान

श्रेया र प्रसिद्धिले झैं थुप्रै युवती आफ्नो व्यक्तित्व एवं करियरलाई लिएर हीनभावनाको सिकार भएको पाइन्छ। सामान्यतया यस्ता युवतीहरू सबैभन्दा बढी समस्या र चिन्ता आफूलाई नै भएको मान्छन्। उनीहरू आफ्ना सबल कुरामा होइन केवल कमजोरीमा ध्यान दिन्छन्। मेरो आँखा नराम्रो छ, ओठ भद्दा छ, कम्मर फलानाको जस्तो चटक्क मिलेको छैन, म कुनै काम राम्रोसँग गर्न जान्दिन, आफ्नो कुरा ठीकसँग अरूका सामु व्यक्त गर्न सक्दिन आदि अनेकौं भ्रम मनमा पालेर बस्ने युवतीहरू धेरै छन्। हुन पनि नकारात्मक कुरामा पहिले ध्यान जानु मानिसको प्रवृत्ति नै हो। 

 

मनोवैज्ञानिकहरूका अनुसार आफ्नो आलोचनाबाट मनोबल कमजोर हुन्छ। हीनताग्रन्थिले थाहै नपाई भित्रभित्रै निराशालाई जन्म दिन्छ अनि कुबाटोतर्फ लाग्न प्रेरित गर्छ। सामान्यतया मानिसको सोचाइ परिवेशमा आधारित हुन्छ। त्यसैले दृष्टिकोणमा थोरै मात्र परिवर्तन ल्याउन सकियो भने पनि आफूलाई नकारात्मक प्रभावबाट मुक्त राख्न सकिन्छ। सकारात्मक विचारका साथ आत्मविश्वास एवं क्षमताको उपयोग गरियो भने कुनै पनि क्षेत्रमा सहजै सफलता चुम्न सकिन्छ। 

 

आफ्नो क्षमता पहिचान गर्ने सबैभन्दा सरल उपाय आत्मनिरीक्षण हो। आत्मनिरीक्षणपछि आफूमा कुनै कमजोरी पाइए त्यसबाट हीनभावना जन्माउनुको साटो आफूले कुन कार्य सबैभन्दा राम्रोसँग गर्न सकिन्छ विचार गर्नुपर्छ। यसो गर्दै जाँदा र क्रमश: अभ्यास बढ्दै जाँदा रुचि वा क्षमता वृद्धि हुँदै जान्छ र यो काम मबाट राम्रोसँग हुनसक्ने रहेछ भन्ने विश्वास दृढ हुन्छ। सफलता प्राप्तिका लागि महत्वाकांक्षा अत्यावश्यक छ तर यसो भन्दैमा कसैको पनि शतप्रतिशत इच्छा पूरा हुन्छ भन्ने होइन।

 

बढी महत्वाकांक्षा पनि आत्मघात हो। दिवास्वप्न देख्ने बानी छ भने त्यसलाई बिस्तारै त्याग्नुपर्छ। त्यसको साटो आफ्ना स–साना उपलब्धिलाई सम्झेर त्यसभित्रै खुसी खोज्दै बिस्तारै–बिस्तारै सफलताको यात्रा तय गर्नु उपयुक्त हुन्छ। यसरी आफ्नो क्षमताको पहिचान गरी वास्तविक धरातलमा उभिएर काम गर्दै जाँदा मनका भ्रान्तिहरू कम हुँदै जान्छन् र जीवनलाई सही मार्गमा डोर्‍याउन सकिन्छ। 

 

वास्तविक सफलता 

धेरै सम्पत्ति कमाउनु र महलमा बस्नु मात्र सफलता हुन सक्दैन। आफूले आत्मनिरीक्षणपछि चुनेको लक्ष्यलाई प्राप्त गर्ने मार्गमा अग्रसर रहनु नै वास्तविक सफलता हो। लक्ष्य जस्तोसुकै होस् त्यसले व्यक्तिको अस्तित्वलाई अर्थपूर्ण बनाउँछ। करियरमा सफल हुन राम्रो पढाइ र बाल्यकालमा प्राप्त हेरचाहको प्रमुख भूमिका हुन्छ तर यसको अर्थ बाल्यकालमा यी कुरा नमिल्दैमा जीवन नै समाप्त भयो भन्ने होइन। यी कुरा नमिल्दैमा केही गर्नै सकिँदैन भन्ने होइन। अपठित व्यक्ति पनि अर्बपति भएका र बाल्यकालमा नराम्रो वातावरणमा हुर्किएका र सार्‍है दु:ख पाएकाहरूले पनि पछि उदाहरणीय कार्य गरेर आफ्नो नाम राखेका थुप्रै उदाहरण छन्। महान् व्यक्तिहरूको जीवनकथा पढेर पनि यस विषयमा थप जानकारी हासिल गर्न सकिन्छ। 

 

सकारात्मक गुणको विकास

कसैले आफ्ना बारेमा नकारात्मक टिप्पणी गर्‍यो भने त्यसलाई बिर्सनु नै उत्तम हुन्छ। आफ्ना बैगुन वा नकारात्मक कुरा कम गर्दै क्षमतालाई उजिल्याउँदै साथीहरूसँगको मित्रता अघि बढाउनु उपयुक्त हुन्छ। आशावादी व्यक्तिले हरेक कुरालाई सकारात्मक दृष्टिले हेर्छ भने निराशावादी व्यक्तिले राम्रै कुरालाई पनि नकारात्मक दृष्टिले हेर्छ। सकारात्मक व्यक्तिसँगको सम्बन्धबाट आफूमा पनि सकारात्मक गुणको विकास हुन्छ।

 

कसैले आफूलाई केही सहयोग गरे उसलाई धन्यवाद भन्न बिर्सनु हुँदैन। अरूको राम्रो गुणको प्रशंसा गर्नुपर्छ। कन्फ्युसियस भन्छन्, ‘तिमी अरूसित त्यस्तो व्यवहार नगर जुन अरूले तिमीसित गर्‍यो भने तिमीलाई मन पर्दैन।’ त्यसकारण अरुबाट जे–जस्तो कुरा प्राप्त गर्ने चाहना छ आफूले पनि त्यस्तै व्यवहार गर्नुपर्छ। राम्रा भाव वा विचारहरूलाई सँगालेर राख्नुपर्छ। तनाव भएका बेला यस्ता कुरा सम्झेर तनावमुक्त एवं लक्ष्यतर्फ उन्मुख हुन सकिन्छ।

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्