Teej banner

जाडो महिना र बढ्दो वजन

नारी संवाददाता

मंसिर १३, २०७३  

जाडो मौसममा हाम्रो वजन बढ्छ। बढ्दो वजनलाई कसरी नियन्त्रणमा लिन सकिन्छ बुझ्नु अत्यन्त जरुरी छ। जाडो मौसममा सामान्यत: ३ देखि ६ किलोग्राम वजन बढ्छ। जाडोमा वजन बढ्न नदिन पहिले हामीले बढ्दो वजनको कारण थाहा पाउनु आवश्यक छ अनि त्यसपछि त्यसलाई रोक्ने उपाय। चिसो मौसममा हाम्रो मुखमा प्राय: एउटै कुरा झुन्डिएको हुन्छ–‘ओहो आज साह्रै चिसो छ।’ जाडोकै कारण हामी घरभित्रै बस्न रुचाउँछौं। हामी जाडो मौसममा कम हिँडडुल गर्छौं जसले गर्दा शरीरको क्यालोरी बर्न हुन गाह्रो हुन्छ। मौसमका कारण हामी पहिरन पनि अत्यधिक लगाउँछौं जसले गर्दा हाम्रो शरीरको मोटोपन लुक्छ। 

 

अंग्रेजीमा भनाइ छ–‘आउट अफ साइट, आउट अफ मैड’। ‘अर्नोल्ड स्च्वार्जेनेगर’ को एउटा साह्रै रोचक कथा छ। उनी सधैं कट–अफ सर्ट लगाएर हिँड्थे, आफ्नो पेटको भाग देखाएर। यसरी हिँड्नुको कारण थियो सही खाना खान र वजन मेन्टन गर्न सचेत गराउनु। हाम्रो समाजमा कट–अफ सर्ट लगाएर हिँड्न त सम्भव छैन तर यसको विकल्पमा हप्ताको एकपटक स्वीमसुट लगाई ऐनाअघि उभिएर आफूलाई नियाल्नुपर्छ। यसो गर्दा हाम्रो शरीरको कुन भागमा बढी बोसो छ थाहा पाइन्छ।

 

जाडो महिना र खाना

जब जाडो बढ्छ हामीलाई बढी खान मन लाग्छ। जस्तो कि शरीर तताउन अधिक मात्रामा चिया, कफी, म:म, घिउ हालेर पकाइएको कालो दालको खिचडी, प्याकेटको सुप, हार्ड ड्रिंक्स आदि। वेट गेन हुने खाना कम खानुपर्छ। कम मात्रामा स्वस्थकर खाना खाने त्यो पनि २–३ घन्टाको अन्तरालमा। जब १–१० को स्केलमा हाम्रो भोक ४–५ हुन्छ त्यतिबेलै खाना खानुपर्छ। यसो गर्दा हामी बढी खानबाट जोगिन्छौं। दूधको चिया कम गरेर हर्बल चियामा कागती हालेर पिउनु फाइदाजनक हुन्छ। यी कुरालाई बुझेर खाना खाने समय प्लान गरियो भने जाडो महिनामा पनि वजन सन्तुलित राख्न सकिन्छ।

 

जाडो महिनामा पर्ने भोजभतेर र वेट गेन

हामी सबैलाई थाहा भएकै कुरा हो मंसिर, पुस र माघ महिना विवाहको लगन भएका महिना हुन्। विवाहको पार्टीमा धेरै थरिका परिकारका साथै वाइन, ह्विस्की, वियर तथा सफ्ट ड्रिंक्सहरू पनि सर्भ गरिन्छ। कतिपय व्यक्ति पार्टीको वातावरणमा फिट हुन जबर्जस्ती पिउँछन्। खाना वा ड्रिंक्सलाई नाइँ भन्दा कतिपय अवस्थामा अव्यावहारिक पनि देखिन्छ। त्यस्तो स्थितिबाट जोगिन घरबाटै स्वस्थकर खाना खाएर हिँड्नुपर्छ ताकि पार्टीमा कम खाइयोस् र पार्टी होस्टको मन पनि राख्न सकियोस्।

 

स्मार्ट कुक बनौं

परिवारका सदस्यहरू तथा आफूलाई मनपर्ने सबै प्रकारका खाना पकाऔं तर स्वस्थकर तरिकाले। प्रोटिनयुक्त खाना बढी पकाउने, तोरीको तेलको साटो ओलिभ आयल हाल्ने, नुनको प्रयोग कम गर्ने, रातो मासु कम खाने। खाना खान बस्दा सलाद काटेर टेबलमा राख्ने।

 

एक्टिभ रहने

जाडो महिनामा हामी सबैलाई मनपर्ने काम भनेको टेलिभिजनअगाडि ब्लाङ्केटभित्र बसेर केही न केही चपाइरहने हो। हामी बाहिर हिँडडुल गर्न अल्छी गर्छाैं। अझ यस्तो मौसममा मर्निङ वाक गर्न त सोच्नै सक्दैनौं। मर्निङ वाक जान नसके पनि घरमै ३० मिनेटजति ‘एब्स र कार्डियो’ गर्न सकिन्छ। खाना खाइसकेपछि सिरकभित्र नबसी घरमै यताउता गर्न सकिन्छ।

सबैभन्दा महत्त्वपूर्ण कुरा फिट रहन केही महिना स्वस्थ खाना खाएर वा एक्टिभ भएर मात्र हुँदैन। यसलाई हामीले नियमित रूपमा फलो गर्नुपर्छ। एक्सरसाइज र स्वस्थ खानालाई हामीले इन्जोय गर्नुपर्छ। यो कार्यलाई नै रमाइलो र मनोरञ्जनपूर्ण बनाउनुपर्छ। 

डा.सुस्मिता ढकाल

बरिष्ठ फिजियोथेरापिस्ट तथा डाइरेक्टर

आरोग्य हेल्दी होम, महाराजगन्ज

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्