जाडोमा घरपालुवाको स्याहार

नारी संवाददाता

मंसिर ९, २०७३

मौसम परिवर्तनसँगै घरपालुवाको रेखदेखमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ । चिसोका कारण घरपालुवामा विभिन्न किसिमका समस्या देखा पर्छन् । स्वास्थ्यका कतिपय समस्या जाडो महिनामा मात्र देखिन्छन् । जाडो महिना सुरु हुनुअघि जसरी हामी आफ्ना लागि न्याना ओढ्ने, ओछ्याउने तथा पहिरनको प्रबन्ध मिलाउछौं त्यसैगरी घरपालुवाका लागि पनि न्यानो वासस्थान, लुगा तथा ताजा खानेकुराको व्यवस्था गर्नुपर्छ ।

 

साना तथा पाका उमेरका घरपालुवाको स्याहार चुनौतीपूर्ण हुन्छ । हुन त प्रकृतिले प्रत्येक जनावरलाई चिसोबाट जोगिन त्यहीअनुरूपको क्षमता प्रदान गरेको हुन्छ । यद्यपि घरपालुवा जनावरमा चिसोसँग लड्ने क्षमता कम हुन्छ । त्यसैले पनि जाडोमा घरपालुवाको रेखदेखमा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

जाडोमा घरपालुवा जोगाऔं

  • जाडो सुरु हुनेबित्तिकै आफ्ना घरपालुवालाई पशुचिकित्सकबाट जँचाएर आवश्यक सल्लाह लिने ।
  • सकेसम्म घरपालुवालाई घरभित्र राख्ने अथवा उसको वासस्थानलाई न्यानो बनाउने ।
  • बजारमा उपलब्ध विभिन्न किसिमका ज्याकेट, स्वेटर आदि प्रयोग गर्ने ।
  • तातो एवं ताजा खानेकुरा मात्र दिने ।
  • पानीको व्यवस्था चौबीसै घन्टा गर्ने ।
  • आगो तथा हिटरबाट टाढै राख्ने ।
  • छाउरा–छाउरी तथा पाका उमेरका घरपालुवाप्रति विशेष ध्यान पुर्‍याउने ।
  • शरीरको तापक्रम बढे–घटे, नाकबाट सिँगान तथा आँखाबाट कचेरा आए चिकित्सकसँग सल्लाह लिने ।

 

घरपालुवालाई जाडोमा हुने समस्या

  • निमोनियाँ : चिसोले छाउरा–छाउरी तथा पाका उमेरका कुकुर–बिरालामा यो समस्या देखिनसक्छ ।
  • बाथ रोग : पाका उमेरका घरपालुवामा जोर्नीसम्बन्धी समस्या देखा पर्नसक्छ ।
  • मोटोपन : शारीरिक परिश्रम कम तथा पोषिलो खाना धेरै हुँदा जाडोमा मोटोपन बढ्छ।
  • छालाको समस्या : छाला सुख्खा हुनुका साथै चायाँ आउने समस्या हुनसक्छ ।
  • पानीको कमी : वातावरण चिसो हुनाले घरपालुवाले कम पानी खान्छन् भनेर पानी नदिँदा उनीहरूको शरीरमा पानीको कमी हुन्छ ।
  • आगोले पोल्ने : जाडोमा आगो, बिजुली एवं हिटरको राम्रो व्यवस्थापन नहुँदा दुर्घटना हुनसक्छ ।

(डा.शरद सिंह यादव, एडभान्स्ड पेट हस्पिटल, विशालनगर, काठमाडौं)

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्