घाम, हाड र महिला स्वास्थ्य

नारी संवाददाता

मंसिर ७, २०७३

डा. अरुणा उप्रेती 

अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी महिलाहरूको स्वास्थ्यस्थितिका बारेमा बुझ्ने मौका पाएँ । त्यहाँ तालिमका क्रममा एकदिन डाक्टर र नर्सहरूसँग महिलाहरूको हड्डी पातलो हुँदै जाने समस्या, भिटामिन डीको कमीले गर्दा हाड र ढाड दुख्ने समस्या एवं त्यसले प्रजनन् स्वास्थ्यमा पार्ने समस्याहरूका बारेमा छलफल गरें । त्यही क्रममा मैले भनें–‘सूर्यको किरण सीधा हाम्रो छालामा पर्न पाएन भने हामीलाई भिटामिन डीको कमी हुन्छ र त्यसले गर्दा हड्डीमा समस्या उत्पन्न हुनसक्छ ।

 

मानव शरीरलाई चाहिने ८० प्रतिशत भिटामिन डी सूर्यको किरणबाट प्राप्त हुन्छ । पुरुषको तुलनामा महिलामा हड्डी पातलो हुने समस्या बढी पाइन्छ । त्यसैले यस्तो समस्या नहोस् भनेर प्रत्येक दिन घाममा बस्नुपर्छ । यसरी घाममा बस्दा छालामा सूर्यको किरण परेको हुनुपर्छ ।’ मेरो यो भनाइलाई अफगानी डाक्टर तथा नर्सले उनीहरूको संस्कृतिविरुद्ध भने । किनभने अफगानी संस्कृतिमा महिलाहरूले शरीरको कुनै पनि भाग देखाउनु हुँदैन र उनीहरूले घरबाहिर जाँदा बुर्का लगाएर हिँड्नुपर्छ । ‘आफ्नो शरीरको छाला घाममा देखाउनु हाम्रो समाजलाई मान्य हुँदैन ।’ अफगानी नर्सहरूले भनेका थिए । ‘घाममा छाला देखाएर बसिएन भने त शिशुमा पनि भिटामिन डीको कमी हुन सक्छ । त्यसैले त हामीकहाा सुत्केरी एवं शिशुलाई घाममा राखेर तेल लगाइदिने चलन छ ।’ मैले भनेकी थिएँ, तर मेरो यो साधारण कुरा अफगानी स्वास्थ्य कार्यकर्ताहरूलाई पचेन र उनीहरूले मेरो हाकिम (उनी पनि अफगानी डाक्टर थिए) समक्ष गुनासो गरे–‘उनीहरूले भने डा. अरुणाले तालिम दिँदा अफगानी संस्कृतिकै विरुद्ध बोल्नुभयो ।’ त्यसको केही दिनपछि डा. हसनले मलाई बोलाएर भने–‘डा. अरुणा तालिम दिँदा तपाईंले भनेका कुरा अफगानी संस्कृति विरुद्ध छन् ।

 

यहाँका महिलाहरू बुर्का नलगाई बाहिर जान सक्दैनन् । उनीहरू अङ्ग देखाएर घाममा बस्न सक्दैनन् । आइन्दा तालिम दिँदा त्यस्तो सल्लाह नदिनु होला ।’ आफै डाक्टर भएकाले घाम, भिटामिन डी र महिला स्वास्थ्यका बारेमा साथीहरूलाई सल्लाह दिनुपर्ने हाकिमले मलाई त्यसरी बनोल्नू भनेर चेतावनी दिएपछि मेरो मन खिन्न भयो । यद्यपि त्यहाँ मैले केही भनिन । ६ महिनापछि मेरो करार सिद्धियो । हाकिमले अर्काे एक वर्षको अवधि थप्छौं, करारनामामा हस्ताक्षर गर्न आऊ भनेर बोलाए । महिला स्वास्थ्यका बारेमा बोल्दा कहिलेकाहीँ गलत अफगानी संस्कृतिको विरोधमा बोलिहालियो भने समस्या पर्छ भन्ने कुरा बुझेर मैले करार अवधि बढाइन । १२ वर्षअघि अफगानीस्तानबाट फर्कदा मेरो मनमा कसरी अफगानी महिलाहरूले आफ्नो हाडलाई बलियो पार्ने होलान् । भिटामिन डीको अभावमा उनीहरूको स्वास्थ्य कस्तो होला ? बालिकादेखि वृद्ध महिलासम्म घाममा बस्न पाएनन् भने उनीहरूको स्वास्थ्य कस्तो हुन्छ होला ? भन्ने जिज्ञासा उठिरहेको थियो ।

 

नेपाल आएपछि मैले उक्त घटना धेरै साथीलाई सुनाएँ । नेपाली महिलाहरूका लागि घामबाट भिटामिन डी  प्राप्त गर्न कुनै समस्या हुँदैन भन्ने मलाई लागेको थियो तर अहिले आएर मेरो विचार गलत साबित हुन थालेको छ । अहिले महिलाहरूको रगत जाँच गर्दा थाहा पाउन थालिएको छ–वर्षभरि घाम लागिरहने नेपालमा अहिले धेरै महिलामा भिटामिन डीको कमी देखिन थालेको छ । डाक्टरहरू अहिले यस विषयमा बोल्न थालेका छन् । नेपालमा यो विषयमा खासै अध्ययन–अनुसन्धान त भएको छैन तर भारतमा यसका बारेमा भएका अनुसन्धानहरूबाट त्यहाँ पनि भिटामिन डीको कमीले गर्भवती किशोरी एवं महिलाहरूलाई सताएको देखिएको छ । पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डीको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ । 

 

मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् । धेरै डाक्टरकहाँ गैसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् । जााच गर्दा उनको रगतमा भिटामिन डीको कमी देखियो । डाक्टरले उनलाई भिटामिन डीको चक्की दिँदै भनिन्–‘तपाईंले हरेक दिन कम्तीमा १५–२० मिनेट घाममा बस्नुपर्छ ।

 

घाममा बस्दा छालामा सीधै घाम पर्नुपर्छ । लुगाबाट छिरेर वा सिसाबाट छिरेर तापिएको घाम काम लाग्दैन ।’ प्राय: स्वास्थ्यकर्मीले भिटामिन डी सजिलै सूर्यको किरणबाट पाइन्छ भन्दैनन् तर ती स्त्रीरोग विशेषज्ञले भनिन् । त्यसपछि ती महिलाको स्वास्थ्यमा सुधार आयो । अहिले उनी स्वस्थ छिन् । घाममा बस्नुपर्छ भन्ने थाहा पाए पनि धेरैजसो महिला तथा किशोरीहरू घामले छाला डढ्छ भनेर घाममा बस्न चाहँदैनन् । यसले गर्दा उनीहरूको शरीरलाई कति नोक्सान भैरहेको छ धेरैजसोले थाहा पाउँदैनन् । भिटामिन डीको कमी भयो भन्ने कुरा थाहा पाउँदासम्म समस्या चर्किसकेको हुन्छ । 

 

मेरो घरको बगैंचाको एउटा कुनामा मेवाको सानो बिरुवा ३ वर्षदेखि हुर्कदै थियो । घाम नलाग्ने ठाउँमा उम्रिएको त्यो बिरुवालाई ‘कुपोषण भयो’ भनेर बगैंचामा आउने मालिनी दिदीले मल पनि हालिन् तर बिरुवा राम्रोसँग फस्टाएन । एकदिन एकजना कृषिविद् घरमा आएका बेला उक्त मेवाको बिरुवा हेर्दै भने–‘यो बिरुवा मर्न थालेको छ । यसलाई त घाम नै भएन । ऊ त्यो घाम आउने ठाउँमा लगेर रोपेर हेर्नुहोस् । मौलाउँछ कि ?’ उनको सल्लाहअनुरूप मालिनी दिदीले उक्त बिरुवा जतनसाथ घाम लाग्ने ठाउँमा सारिदिइन् । त्यसपछि मेवा एक वर्षमै हलक्क बढेर ३५ वटा मेवा फले ।

 

घाम पाएपछि हलक्क बढेको त्यो मेवाको रुख देखेर मालिनी दिदीले भनिन्–‘सूर्यको दर्शन नपाएर पो मर्न लागेको रहेछ ।’ बिरुवालाई त यति घाम चाहिन्छ भने मानिसलाई कति आवश्यक हुन्छ, विचार गरौं ।

मेरी ५० वर्षीया साथी सपनाले भनेकी थिइन्–‘अमेरिकाको बोस्टनमा बस्दा मेरो जिउ र ढाड कटकटी दुख्ने र एकदम थकाइ लाग्ने भएपछि डाक्टरकहाँ गएँ । उनले रगत जाँच गरी मेरो शरीरमा भिटामिन डिको कमी भएको र बिस्तारै हड्डी फुसफुसे हुने समस्या देखापर्ने कुरा बताए । केही समयका लागि उनले भिटामिन डीको चक्की दिएर भने–तपाईं नेपाल गएपछि यो चक्की खानु पर्दैन ।

 

वर्षभरि नै घाम लागिरहने तपार्इंको देशमा त भिटामिन डी छताछुल्ल छ । हरेक दिन १५–२० मिनेट सीधै घाम छालामा पर्ने गरी  बस्नुहोस् । बोस्टनमा पो धेरै समय घाममा बस्न पाइँदैन । जहिले पनि एयर कन्डिसन र कोठामा बस्दा यस्तो हुन्छ । चिकित्सकको कुराले आँखा खुलेपछि सपना भन्छिन्–काठमाडौं आएपछि म हरेक दिन घाममा बस्ने गरेकी छु ।’ यद्यपि सबै महिला सपनाजस्तै नियमित रूपमा घाममा बस्दैनन् । 

 

सानो उमेरका शिशुलाई भिटामिन डीको कमी भयो भने उनीहरूको हड्डी कमजोर हँुदै जान्छ । हड्डी बाङ्गो भएर हिँड्नसमेत गाह्रो हुन सक्छ । यस्तो अवस्था अहिले धेरै कम देखिए पनि काठमाडौं उपत्यकाको कहिल्यै घाम नपुग्ने गल्लीहरूमा बस्ने बालबालिकालाई यस्तो समस्या हुनसक्छ ।

पहिले–पहिले घाममा राखेर सुत्केरी महिला र शिशुलाई तेल लगाउने चलन थियो तर आधुनिकतामा परेर शिशुलाई घाममा नराख्ने, तेल नलगाउने तथा कोठामा राखेर पाउडर दलिदिने चलन छ । यस्तो व्यवहारका कारण सुत्केरी आमा तथा शिशुको शरीरमा भिटामिन डी पुग्न पाउँदैन र अनेकौं समस्या सिर्जना हुन्छन् । अहिलेका आमाहरूले घाममा बसेर तेल लगाउने चलन बिर्सिए भने आमा तथा शिशुलाई समस्या पर्नसक्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्ने ६० वर्षीया ज्योति श्रेष्ठले मलाई भनेकी थिइन्–‘मैले दस वर्षसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरें ।

 

ढाड र हाड दुखे पनि सहेर काम गरिरहें । डाक्टरलाई देखाउँदा उनले भिटामिन डीको कमीका कारण यस्तो भएको बताउँदै मलाई घाममा बस्न भनेका थिए तर बिहानदेखि बेलुकासम्म कामको चक्करमा घाममा बस्ने फुर्सद कहाँ हुनु ? अहिले मेरो ढाड, घुँडा सबै दुख्छन् । औषधि खान्छु तर पीडा कम हुँदैन । सम्भवत: काम गर्दा केही समय आफ्नो शरीरका लागि छुट्याएको भए आज मलाई यति गाह्रो हुँदैनथ्यो । ज्योतिले पछि मलाई इमेल लेखेकी थिइन्–‘मेरो तौल १० किलो घटेको छ । त्यसले गर्दा अनुहारमा चाउरी परेको छ । अहिले त म घाममा बस्न पनि थालेकी छु । पीडा त अझै छ ।’ ज्योतिको यो भनाइ उदाहरण बन्न सक्छ । यसले समयमै घाममा बस्नुपर्छ भनेर सिकाउँछ  ।

 

नेपालमा वर्षैभरि सजिलैसँग पाइने सूर्यको स्रोतलाई वास्ता नगरी, एकछिन घाममा बस्न फुर्सद नभएर जब महिलाहरू भिटामिन डीको कमीका कारण अनेकौं समस्याबाट ग्रसित हुन्छन् तब उनीहरूलाई भिटामिन डीको चक्की दिइन्छ अनि उनीहरू पनि खुसीसाथ पैसा तिरेर चक्की खान्छन् तर सित्तैमा प्राप्त हुने भिटामिन डी प्रयोग गर्दैनन् । सम्भवत: धेरै जनालाई यसको जानकारी पनि नहोला र स्वास्थ्यकर्मीले यो जानकारी पनि दिँदैनन् कि हाम्रो शरीरलाई आवश्यक ८० प्रतिशत भिटामिन डी सूर्यको किरणबाटै प्राप्त गर्न सकिन्छ । 

 

अहिले धेरै औषधि कम्पनीले सकेसम्म बढी मानिसले क्याल्सियम र भिटामिन डी प्रयोग गर्नुपर्छ भन्ने कुरा बाहिर ल्याउँदैछन्, विदेशमा पनि स्वास्थ्यकर्मीले महिलालाई २०–२५ वर्षको उमेरदेखि नै क्याल्सियम तथा भिटामिन डीका चक्की दिन थाल्छन् । जुनसुकै समस्या औषधिले मात्र समाधान गर्ने हाम्रो बानीका कारण हामी प्राकृतिक कुरा उपयोग गर्न बिर्सदै एवं चुक्दै गएका छौं । 

 

घाम नलाग्ने देशहरूमा भिटामिन डीको चक्की वा खानामा भिटामिन डी मिसाएर दिनुको औचित्य होला, तर नेपालमा त्यसको औचित्य छैन । भिटामिन डीको चक्कीले केवल औषधि कम्पनी तथा पसलको आम्दानी बढाउँछ । यसले स्वास्थ्यमा पनि सकारात्मक असर गर्दैन । म ५६ वर्षकी भएँ । म भिटामिन डी प्राप्त गर्न घाममा बस्छु । क्याल्सियमका लागि ज्वानो, आलस, तिल, दूध, दही, गहत तथा सिमी आदि खान्छु । मलाई अहिलेसम्म भिटामीन डीको कमी भएर ढाड तथा हड्डी दुखेको छैन ।

 

भिटामिन डी बोसोमा घुलनशील भएर लामो समय रहने हुनाले एक–दुई दिन घाममा नबस्दैमा खासै समस्या परिहाल्दैन । त्यसैले वर्षाका दिनहरूमा घाममा बस्न पाइन भनेर चिन्ता गर्नुपर्दैन । छालामा सीधै सूर्यको किरण पुग्ने गरी हप्तामा ४–५ दिन, २०–२५ मिनेटका लागि बसे पुग्छ ।जाडोमा कुनै खुल्ला मैदानमा घाममा बसेर सुन्तला र बदाम खाँदा कति आनन्द आउँछ तर त्यसले आनन्द मात्र दिँदैन कि स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्छ भन्ने कुरा हामीलाई पत्तो हुँदैन । सबैलाई घाम चाहिन्छ, शारीरिक विकासका लागि मात्र होइन मानसिक रूपमा स्वस्थ रहन पनि घाम आवश्यक छ ।

 

निजी बैंकमा काम गर्ने एक ३० वर्षीया महिला हातखुट्टा एवं जिउ दुख्यो भनेर डाक्टरकहाँ गइन् । डाक्टरले उनको रगत जाँच गरेपछि उनलाई भिटामिन डीको कमी भएको कुरा बताए । हरेक १५–२० मिनेट घाममा बस्न सल्लाह दिए ।शरीरको बलियो अस्थिपञ्जर तथा समग्र स्वास्थ्यका लागि भिटामिन डी अति नै महत्वपूर्ण छ । शरीरका महत्वपूर्ण मांसपेशी, मुटु, फोक्सो, मस्तिष्क आदि अंगलाई सरल र सक्षम रूपमा काम गराउन तथा शरीरमा हुन सक्ने बाह्य संक्रमणसाग लड्ने क्षमता वृद्धि गर्न भिटामिन डीको ठूलो महत्व हुन्छ । हामीले खाने खानामा जति नै मात्रामा क्याल्सियम तथा फस्फोरस भए पनि हाम्रो शरीरमा भिटामिन डी नभए वा कमी भए खानामा निहित ती क्याल्सियम र फस्फोरस हाम्रो शरीरले ग्रहण गर्न सक्दैन । त्यसैले सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी अत्यावश्यक छ ।

 

शरीरलाई आवश्यक पर्ने भिटामिन डीको करिब ८०–९० प्रतिशत सूर्यको किरणबाट प्राप्त हुन्छ भने करिब १०–२० प्रतिशत हामीले खाने खाना वा अन्य पौष्टिक तत्वबाट प्राप्त गर्छौं । जब भिटामिन डी हाम्रो शरीरमा हुन्छ, त्यो एक प्रकारले हार्माेनमा परिणत हुन्छ । यस्तो हार्माेनको कमी भयो भने अनेकौं समस्या देखापर्छन् ।

 

भिटामिन डी

  • शरीरमा क्याल्सियम र फस्फोरसको अवशोषणका लागि भिटामिन डी अति नै आवश्यक हुन्छ । शरीरको प्रतिरक्षा प्रणाली वा रोगसँग लड्ने क्षमता वृद्धि गर्न पनि भिटामिन डी चाहिन्छ । 
  • भिटामिन डीले नै बालबालिकामा दम एवं स्वासप्रश्वाससम्बन्धी रोगको समस्या घटाउँछ ।
  • यसले महिलामा हुनसक्ने बाथ रोगको जोखिम कम गर्छ । 
  • त्यसैले महिला स्वास्थ्य राम्रो राख्न मजासँग घाममा बस्नुपर्छ अनि छाला कालो हुन्छ भन्ने चिन्ता नगरी हड्डी बलियो बनाउने काम गर्नुपर्छ । किशोरीहरूको हड्डी बलियो भयो भने गर्भावस्था एवं प्रसूतिका 
  • बेला पनि स्वास्थ्य सामान्य रहन्छ र उमेर ढल्कदै गएपछि हड्डी दुख्दैन । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्