विवाहबाट अपेक्षा कति ठीक कति बेठीक ?

नारी संवाददाता

मंसिर ५, २०७३
विवाहबाट कति, किन र कस्तो अपेक्षा राख्नुपर्छ भन्ने प्रश्न जटिल छ । अपेक्षा र आदर्श यति बढी हुन्छ  यसलाई दोस्रो पक्षले पूरा गर्न सक्दैन । निराशाबाट जोगिन अपेक्षालाई सन्तुलित राख्ने प्रयास गर्नुपर्छ । सम्बन्धलाई सुमधुर राख्न व्यवहारिक दृष्टिकोण आवश्यक हुन्छ जुन वैवाहिक सम्बन्धका साझेदार महिला–पुरुष दुवैले अपनाउनुपर्छ । 

 

राम्रो पार्टनरको खोजी 
महिलाहरूलाई इमान्दार, केयरिङ, हँसमुख एवं आत्मनिर्भर हुनुका साथै रतिसुख दिनसक्ने पार्टनर चाहिन्छ । त्यसैगरी पुरुष पनि घरलाई राम्रोसँग सम्हाल्न, हरेक अवस्थामा साथ दिन, रतिसुख दिन तथा इमान्दारीपूर्वक जीवनरथ अघि बढाउन सक्ने जीवनसंगिनी चाहन्छन् । उनीहरू भन्छन्– ‘म रोमान्टिक जीवनसाथीको चाहना राख्छु, जसले मलाई राम्रोसँग बुझोस् र मेरो सुख–दु:खमा साथ देओस् । म राम्री जीवनसंगिनीको चाहना राख्छु, स्वादिष्ट परिकार बनाउन जान्ने र केयरिङ ।’ महिला–पुरुष दुवैमा आफ्नो जीवनसाथीमा खोज्ने गुणहरूको लामै सूची हुन्छ जसबाट चाहिएको सबै कुरा प्राप्त गर्न सकियोस् ।

वास्तविक जीवनमा अत्यन्त माया, केयर र बुझ्ने व्यक्ति प्राप्त हुन्छ त ? भन्ने प्रश्नमा चाहिँ थाहा छैन नै भन्नुपर्ने हुन्छ । जब व्यक्ति नै परफेक्ट हुन सम्भव छैन भने उसको सम्बन्ध परफेक्ट हुने कुराको ग्यारेन्टी कसले दिन सक्छ ? सम्भावना परफेक्टको नभई वेटर लाइफ पार्टनरको हो । 

 

अपेक्षा किन हुन्छ ?
शोधहरू अनुसार सम्बन्धमा जति कम अपेक्षा हुन्छ, त्यति नै कम निराशा हुन्छ र वैवाहिक जीवनको सफलताको सम्भावना त्यति नै बढ्छ । फ्लोरिडा स्टेट युनिभर्सिटी (युएस) मा गरिएको एक अध्ययनअनुसार अत्यधिक अपेक्षाले सम्बन्धलाई हानिबाहेक केही गर्दैन । जब कसैले यथार्थ नबुझी अपेक्षा राख्छ भने त्यो पूरा हुने सम्भावना हुँदैन । अन्तत: विवाह र प्रेम गायव हुन्छ र बाँकी रहन्छ अन्तहीन बहस । केही सम्बन्धमा यसको सकारात्मक प्रभाव पनि देख्न पाइन्छ । यद्यपि त्यस्तो तब मात्र सम्भव हुन्छ जब दुवै पक्षले आ–आफ्ना गल्ती बुझेर कमी–कमजोरीहरूलाई सुधार्ने प्रयास गर्छन् र एक–अर्काका सहयोगी हुन्छन् ।

पार्टनरको इच्छा, सोच, स्किल्सबाहेक उनीहरूका परिस्थिति पनि भिन्न–भिन्न हुन्छन् । शोधको परिणामले भनेको छ– नवविवाहित जोडीको मस्तिष्कमा पहिले नै यो कुरा स्पष्ट हुनुपर्छ कि विवाहबाट उनीहरूलाई के चाहिन्छ ? उनीहरूलाई आफ्नो सबल र कमजोर पक्ष थाहा हुनुपर्छ । विवाहको उद्देश्यका बारेमा ज्ञान हुनुपर्छ अनि मात्र विवाहलाई सन्तुलित एवं सुमधुर ढंगले अघि बढाउन सम्भव हुन्छ । 

 

अन्तबाट प्रारम्भ 
अन्तमा उनीहरू खुसीका साथमा रहन थाले– बाल्यकालमा  पढिएका हरेक परिकथाको अन्त यसैगरी सुखद् मोडमा पुगेर टुङ्गिन्थे । चलचित्रमा हेर्ने हो भने पनि त्यहाँ प्रेमका लागि हुने हरेक प्रकारको लडाइँ, गतिविधि, उतार–चढाव अन्तत: विवाहमा गएर टुङ्गिन्छ तर वास्तविक जीवनमा कथा अन्त पछि प्रारम्भ हुन्छ । व्यवहारिक जीवनको कथा विवाहमा गएर टुङ्गिदैन, विवाहपछि कथा प्रारम्भ हुन्छ । धेरैजसो युवायुवती विवाहबाट अनेकन अपेक्षा राख्छन्, उनीहरूलाई लाग्छ कि विवाह उनीहरूको हरेक प्रश्नको जवाफ हो वा पार्टनरले उनीहरूको हरेक आवश्यकता पूरा गर्छन् ।

 

जब त्यस्तो हुँदैन उनीहरूको सपना चकनाचुर हुन्छ । उनीहरू सोच्न थाल्छन् कि गल्ती कहाँ हुन पुग्यो ? कसैको आदर्शमा कोही खरो उत्रन नसक्नुमा कसको गल्ती हुन्छ । हतारमा कुनै नतिजामा पुग्नुपूर्व र पार्टनरलाई दोषी ठहर्‍याउनुअघि के सोच्नु आवश्यक छ भने कतै आफ्नो अपेक्षा र आदर्श त ठूलो भएन ?

 

युएसको एउटा युनिभर्सिटीमा युवायुवतीको विवाहसम्बन्धी अपेक्षा र दस वर्ष पुरानो विवाह सम्बन्धका बीचको अपेक्षालाई लिएर एउटा तुलनात्मक अध्ययन गरिएको थियो जसको नतिजाअनुसार विवाहित दम्पतीको तुलनामा युवाहरूले विवाहबाट बढी अपेक्षा राखेको पाइयो । उनीहरू फेन्टेसीमा बाँचिरहेका थिए र खुल्ला आँखाबाट जीवनको सुन्दर र रंगीन सपना बुनिरहेका थिए, जुन वास्तविकतासँग मेल खाँदैनथ्यो । फेन्टेसी र रियालिटीबीच फरक छुट्याउनु अर्थात् विवाह करेलाजस्तो तीतो पनि होइन न त गाजरको हलुवाजस्तो मीठो भन्ने नै हो । 

 

अपेक्षा व्यवस्थापन 
खुसी रहनु छ त अरूबाट अपेक्षा राख्नुहुँदैन । अपेक्षा पूरा भए व्यक्ति साँच्चै खुसी हुन्छ त भन्ने पनि प्रश्न छ । जीवनसाथीले सहयोग गर्छ भन्ने अपेक्षा विपरीत असहयोगी हुँदा दु:ख लाग्नु स्वाभाविक हो तर सहयोगी हुँदैमा खुसी प्राप्त हुन्छ भन्ने ग्यारेन्टी पनि दिन सकिँदैन, कारण अन्य पक्षमा फेरि प्रश्न खडा हुनपुग्छ । कारण खुसी अपेक्षितभन्दा अप्रत्यासित घटनाबाट बढी प्राप्त हुन्छ ।

जहाँ अपेक्षा हुँदैन तर मनले चाहेको हुन्छ, त्यहाँ खुसी पाइन्छ । जस्तै कामकाजी महिला घर फर्कंदा थकित हुन्छिन् र फेरि घरको काम गर्नुपर्ने अवस्था सिर्जना भयो भने त्यसले थप समस्या सिर्जना गर्छ तर यदि घर पुग्नेबित्तिकै तातो चिया र नास्ताबाट स्वागत हुन्छ भने त्यो अकल्पनीय खुसी संचार गर्ने बाटो बन्छ । भान्सामा डिनर तयार गर्न जाँदा डिनर तयारी अवस्थामा प्राप्त हुँदाको खुसी र आनन्द शब्द बाहिरको हुन्छ । कारण यो अपेक्षित होइन सरप्राइज हो । 

 

हरेक सम्बन्धमा व्यवहारिक हुनु जरुरी छ । पुरुष र महिला दुवै यसमा सहभागी हुनुपर्छ । कुनै समस्या बारम्बार देखिन्छ भने त्यसलाई आपसी सल्लाहमा समाधान गर्नुपर्छ । विवाह सबैभन्दा नजिकको आत्मीय सम्बन्ध हो कारण यहाँ मन र शरीर दुवैको प्रगाढ सम्बन्ध हुन्छ । अपेक्षित खुसीभन्दा सरप्राइजिङ ह्याप्पिनेसमा ध्यान दिनु उपयुक्त हुन्छ । यसका लागि एक–अर्काको चाहना एवं खुसीको ख्याल राख्नुपर्छ । धेरै मागमा खुसीले आनन्द र तृप्ति दिँदैन, सन्तुष्टिको चाहना छ भने अपेक्षाभन्दा यथार्थपरक परिवेशमा अघि बढ्नु आवश्यक छ । मन परेर सँगै जिउने हो मन मारेर सँगै रहनुको औचित्य छैन । अत: अपेक्षालाई व्यवस्थित तथा यथार्थपरक बनाउनु नै बुद्धिमानी हुन्छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्