साली

दिलमान गुर्मछान

मंसिर ३, २०७३ 

‘हैन लोग्ने मान्छेको जात पनि कस्तो हुँदो र’ छ † तरुनी हेर्दै मख्ख पर्ने । तरुनी भनेपछि धन देख्दा महादेवको तीन नेत्र भनेजस्तै हुन्छ । मन पनि कस्तो हो कुन्नि † बाटो हिँड्दा होस् कि कुनै यात्रामा होस्, यी मर्दहरू केवल तरुनीकै चक्करमा हुन्छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर । हैन, घरमा स्वास्नी नहुनेले त यताउता आँखा लगायो, लगायो, स्वास्नी हुनेले चाहिँ के खोजेका हुन् कुन्नि ?’ सावित्री घरमा एक्लै हुँदा सधैजसो यस्तै सोच्न थालेकी छे । 

 

 सावित्रीले पुरुषलाई कयौंपटक नजिकबाट जान्ने मौका पाएकी थिई । त्यसैले ऊ श्रीमान्को चर्तिकलामा नजर लगाउन चाहन्थी । हिजोआज कुमोदमा परिवर्तनहरू पनि देखा परेका थिए । ऊ यस्तै ठान्थी । त्यसैले ऊ आफ्नो श्रीमान् अर्थात् कुमोदलाई दोषी झैं हेर्थी । 

 सावित्रीलाई भित्र्याएको दिन कुमोदले भनेको थियो, ‘हेर सावित्री मेरा पछिल्ला दिनहरू कोट्याउँदिन किनभने बितिसकेका कुराले केही हुँदैन । बेकारमा सब टेन्सन मात्र हुन्छ । म पनि तिम्रो विगत कोट्याउँदिन ।’ त्यतिबेला सावित्री झसङ्ग भएकी थिई । कुनै अज्ञात भयको हावाले छोएर गएजस्तै भएको थियो । किनभने उसको अतीत अमिलो थियो । फेरि पनि उसले मन थाम्दै मुसुक्क हाँसेकी थिई। 

 सावित्रीले विवाह हुनुपूर्व नै पुरुषलाई नजिकैबाट जान्ने, बुझ्ने मौका पाएकी थिई । कलेज पढ्दा उसलाई कसैले दिनहुँ चियाएर एकनासले हेरिरहेको हुन्थ्यो । धेरै दिनको हेराइपछि त्यो केटोले सावित्रीलाई प्रेम प्रस्ताव राखेको थियो । सावित्रीले पनि उमेरको उन्मादमा सही–गलत छुट्याउन नसक्दा पनि उसको प्रस्ताव स्वीकार गरेकी थिई । लामो समयसम्म प्रेम सम्बन्ध सुमधुर रह्यो । एकदिन अचानक त्यो केटासँग अर्कै केटी छातीमा टाँसिएर बसेको देखी । सावित्री त्यो देखेर आगो भए पनि ऊ सरासर घरतिर लागी । कस्ताकस्ता विचार पोख्ने त्यस पुरुषको बचन सम्झी । त्यसका बाचा–कसम अनि रसिला भावनाहरू सब निरर्थक लाग्यो उसलाई । यसरी उसले लोग्नेमान्छे चिनेकी थिई, बुझेकी थिई, भोगेकी थिई । 

 

 समाज पनि पुरुषत्वको नै छ, सावित्री सोच्थी । के पुरुषहरू सबै यस्तै हुन्छन् ? कहिलेकाहीँ ऊ आफ्नो लोग्नेको हाउभाउमाथि पनि शंका गर्थी । ‘अफिसमा पनि महलिा कर्मचारी छन् नै होला । कतै त्यतैतिर लहसिएको त छैन मेरो कुमोद †’ श्रीमान् कहिलेकाहीँ अफिसबाट अबेला गरी आउँदा पनि सशंकित हुन्थी । छटपटी हुन्थ्यो उसलाई । भान्सामा काम गर्दा पनि उसको मन उतैतिर हुन्थ्यो । आत्तिएको मन लिएर घरिघरि आँखा बाटातिर तेर्सिन्थे । घरको मूलढोकामा बत्तीको उज्यालोमा हेरिरहन्थी । 

 उनीहरूको विवाह भएयता सन्तान भएको छैन । भनौं सावित्रीको कोख अझै रित्तो छ । सायद यसमा पनि कुनै तुक छ कि ? वा कुनै परिबन्द † वा ईश्वरकै समयको खेल अर्थात् पर्खनुपर्ने बाध्यता जे पनि हुनसक्छ । 

 सावित्री सन्तानको आशा लिएर बस्थी । छिमेकीका छोराछोरी देखेर उसको पनि मनमा सन्तानको चाहना जागेर आउँथ्यो । ऊ दु:खी थिई सन्तान नभएकोमा । कुमोद र सावित्रीको दाम्पत्य जीवन हेर्दा बाहिरबाट कसैले पनि तुक भेट्टाउँदैनन् तर सावित्रीको मन भने स्थिर थिएन । किनभने विवाह भएको साल त कुमोदले उसलाई बेलाबेला घुमाउन पनि लान्थ्यो । ऊसँग ठट्टा गथ्र्याे । जिस्किनसम्म जिस्किन्थ्यो कुमोद । 

 हिलोपटक सावित्रीलाई जब कुमोदले बन्द कोठामा बत्तीको मधुरो उज्यालोमा छोपेथ्यो । उसको अङ्गअङ्गमा कुतकुती लगाएको थियो, सावित्री डरले थरथर काँपेकी थिई । हो लामो प्रयासपछि कुमोदले उसको शरीर निर्वस्त्र पारेको थियो । ऊ लाजले भुतुक्क भएकी थिई । आफ्नो अङ्ग पनि उसले त्यतिबेला नियाल्न पाएकी थिई । ऊ अझ लाजले मरेजस्तै भई । कुमोदले जब उसको सर्वाङ्ग सुम्सुम्यायो, नाङ्गो छालामा हात पर्दा उसलाई सहिनसक्नुको छटपटी भएको थियो । ऊ झ्वाम्म पानी पोखरीमा हामफालेझैं कुमोदको अँगालोमा झाँगिएकी थिई । सावित्री बेलाबेला ती घटना सम्झन्थी । कति रमाइला थिए ती क्षणहरू, उसलाई यस्तै लाग्थ्यो । 

 ‘हिजोआज कुमोदकहाँ मसँग पहिलेझैं ठट्टा र रमाइलो गर्छ र †’ ऊ सोच्छे, ‘के कुमोदका लागि म पनि पुरानो वस्तुझैं भएँ त † उसलाई पुरानो कमिज जसरी लगाउन पटक्कै मन पर्दैन; के मसँग जिस्किन, रमाइलो गर्न पनि त्यस्तै सोच्छ होला ?’ सावित्री झन् भित्रभित्रै कँुडिन्छे । ऊ अझ सोच्न थाल्छे, ‘मसँग कुमोद घुम्न नगएको पनि धेरै भयो । ऊ मेरै अघि धेरैसँग घुम्न गएको पनि छ । सधै अफिसको स्टाफको टुर वा पिकनिक हो भन्छ । कहिल्यै मलाई पनि जान्छ्यौ ? भनी सोधेको होइन † के मसँग घुम्नु हुँदैन कुमोदले ?’ 

 

 सावित्रीकी बहिनी छे मीना । ससुराली जाँदा कुमोद साली मीनासँग खुब जिस्किने गथ्र्याे । सावित्रीलाई साली–भिनाजु जिस्किएको कुनै वास्तै हुँदैनथ्यो । समाजको एउटा रीति नै छ, साली–भिनाजु जिस्किनु कुनै नौलो कुरो होइन । कुमोद भन्ने गथ्र्याे, ‘मीना कति हिस्सी परेकी छ्यौ तिमी त † कहिलेकाहीँ त लाग्छ तिमीलाई पनि उडाएर लगूँ ।’ यसरी कुमोद मीनालाई जिस्क्याउँथ्यो । घरिघरि सालीलाई गालामा चिमोट्न पनि पछि पर्दैनथ्यो ।

 

उसलाई मीनाको चालढाल खुब मन परेझैं हुन्थ्यो । पोहोर साल त हो, होलीको दिनमा साली भिनाजु खुब रमाइलो गरी फागु खेलेका थिए । कुमोदले मीनालाई पानी भरिएको बेलुन उसको छातीमा पर्ने गरी हानेको थियो । रंग र पानी मिसिएको घोल मीनाको हरेक अङ्गमा भिज्ने गरी हालिदियो कुमोदले । 

 ‘छ्या भिनाजु के गर्नुभएको यस्तो ? म निथ्रुक्कै भिजिसकेकी छु, भो..’ तर कुमोदले सुनेको नसुनेझैं गर्‍यो । मीना भाग्दै थिई । भिनाजुले पछ्याउँदै लखेट्न थाले । भागदौडको रमाइलो खेल सावित्री हेरिरहेकी थिई । कुमोदले अघि नै सावित्रीलाई रंग भएको पानीले नुहाइदिइसकेको थियो । निथ्रुक्क भिजेकी ऊ साली भिनाजुको खेल हेरिरहेकी थिई । 

कुमोदले मीनालाई समात्यो । उसले आफ्नो बाहुपासमा कस्यो । एकछिन त सावित्री रमाइलो मानेर हेरिरहेकी थिई । तर कुमोदले मीनालाई समातेको समात्यै गरेपछि उसको मनमा कताकता शंकाको बादले घेर्न थाल्यो । उसले कुमोदलाई एकोहोरो हेरिरही । उसको चर्तिकलालाई नियाल्न थाली । हेर्दाहेर्दै कुमोदको हात मीनाको वक्षस्थलमा पर्न गयो ।

मीनालाई पानीको चिसोमा निथ्रुक्क भिजेको शरीरमा तातो स्पर्शले न्यानो अनुभूति भयो । उसले बिर्सिएकी थिई आफ्नै दिदीकी लोग्नेसँग जिस्किरहेकी छु भन्ने । सावित्रीले उनीहरूको चर्तिकला नियालिरहेकी थिई । उनीहरू यसबाट अनभिज्ञ नै थिए । सावित्री एकछिन त रनभुल्लमा परी । ‘हेर के गरेका यी साली भिनाजुले त अति नै गरे’ यस्तै सोची । 

 त्यसपछि हो कुमोदको परिवर्तित बानीप्रति उसको शंका थपिएको । श्रीमान्को चर्तिकलामा उसले खुब ध्यान दिन थाली । शंकाको घेराभित्र राख्थी ऊ कुमोदलाई । हो त्यही होलीबाट शंकाको वीजारोपण भएको थियो । ऊ सधै निगरानी गर्न खोज्थी र डराएको मनले सोच्थी, ‘कतै कुमोदको मन परिवर्तन त भएको छैन ।’

 एकाबिहानै कुमोद मीनाको कोठामा पसेको थियो । पस्दापस्दै सावित्रीले देखी । हिजोमात्र साली भिनाजुको उत्ताउलोपन देखिसकेकी सावित्रीको मनमा चिसो पसिहाल्यो । ऊ बिस्तारै चाल मारेर मीनाको कोठाछेउ पुगी । झ्यालको छेउमा कान थापेर बसी । भित्र मीना ओछ्यानमै पल्टिरहेकी थिई ।

 ‘के छ मीना, सञ्चो भएन कि कसो ?’ कुमोदले सोधिहाल्यो । ओछ्यानमा पल्टिरहेकी मीना सिरानीको आडमा उठेर बसी । 

 ‘हैन भिनाजु जिउ दुखेको छ, त्यसैले उठ्न अल्छी लागेको हो ।’ मीनाले मीठो स्वरमा भनी ।  ‘त्यसो भए म जिउ थिचिदिऊँ त ?’ कुमोदले सोध्यो ।  ‘छ्या, मर्दको जात पनि कस्तो †’ बाहिर सुनिरहेकी सावित्रीलाई रिस उठ्यो । उसलाई त्यहाँ बसिरहन मन लागेन, उसलाई बाहिरिनै ठीक लाग्यो ।

 ऊ आफ्नो काममा लागेकी थिई तर उसको मनमा अनेकौं कुरा उब्जिरहेका थिए । उसलाई आफ्नै बहिनी मीनाप्रति रिस उठेको थियो । ‘कत्ति न भिनाजुसँग मस्किनुपरेको । त्यो पातकी किन अर्कैसँग मुन्टिन नसकेकी ? मेरै लोग्नेसँग जिस्किनुपर्ने † अलिकति दिदीको त ख्याल राख्नु नि †’ सावित्री भित्रभित्रै मुरमुरिन्थी । बाहिर भने ऊ केही नभए जसरी नै प्रस्तुत हुन्थी ।

 सावित्री थाकेको ज्यानले आराम गर्दै थिई । कुमोदसँगै मीना आइपुगी । उनीहरूको आवाज बाहिरबाटै गुञ्जियो । अझ जिस्किएको आवाजले सावित्रीको मुटुमा कताकता घोच्यो । ‘नकचरा नकचरी’ उसको मनभित्रै उब्जियो । तर पनि उसले कहिल्यै केही भनिन । बाहिरिँदा कुमोदले मीनाको गाला चिमोटिरहेको देखी । त्यसपछि उसलाई झनै रिस उठ्यो । तर दबाएरै राखी । अब उसलाई माइतीमा नबसौं–नबसौं लाग्यो । बस्ने त के अब माइती कहिल्यै नआऊँ जस्तो लाग्यो ।

 

फागुनको महिना, केही दिन माइती बसौं भनेर आएकी उसलाई अब भोलि नै घर फर्कन मन लाग्यो । ऊ माइतीमा बस्न नसक्ने भएकी थिई । कुमोद र मीनाको उत्ताउलोपन देखेर ऊ डर, पीडा र शंकाको छालमा पौडिरहेकी थिई । उसले कुमोद र आफ्नै बहिनी मीनालाई समेत शंकाको दृष्टिले हेर्न थाली ।

 घर फर्किएपछि कुमोदमा निक्कै परिवर्तन आएको उसले महसुस गरी । उसलाई किन हो कुमोद पनि अरू पुरुषसरह नै हो कि जस्तो लाग्न थालेको थियो ।

हुन पनि कुमोद धेरैजसो समय बाहिरै बिताउन थालेको थियो । सावित्री उसैलाई पर्खेर बसेकी हुन्थी । ऊ भने बिहानै घरबाट निस्किएको मान्छे साँझ अबेला मात्र घर फर्किन्थ्यो । कुमोदकै बारेमा सोचिरहने सावित्री अब झन् दुर्बल हुँदै गएकी थिई । एक्कासि कुमोदसँग मीना वाइकमा आँगनमा आएको देखी । एकपटक सपनाझैं झस्किन पुगी । उसको मन ढक्क फुलेर आयो । रिंगटा लाग्लाझैं भयो । जसोतसो आफूलाई सम्हाली । 

 ‘सावित्री, मीना दुई–चार दिन यतै बस्छिन् है † आज हामी साली–भिनाजु घुमेर आएका । थाकेका छौं ।’ कुमोदले सावित्रीलाई सजिलै भन्यो । सावित्रीको मुटुमा बज्रपात खसेजस्तै भयो ।  ‘खुब घुम्नु परेको यिनीहरूलाई, म भने घुम्न नपाएको महिनौं भैसक्यो । खै, मलाई कहिल्यै घुम्न जाऊँ भन्ने होइन †’ सावित्री भित्रभित्रै मुरमुरिए पनि बाहिर केही भन्न सकिन । बरु कुमोदका अगाडि मुसुक्क हाँसिदिई ।

 आफ्नै बहिनीको व्यवहारप्रति उसलाई रिस उठे पनि मनमनै सहने प्रयास गरी ।

 

कुमोद र मीना कोठातिर लागे । यता मीनाले भने बहिनीप्रति रिस र वैरभाव राख्न थालेकी थिई । चिया बनाएर पुर्‍याई । तर कसैसँग नबोली फर्किदा पनि कसैले उसलाई न बोलाए न त बस्न नै भने । यो देखेर ऊ झन् भित्रैदेखि भतभती पोलेको महसुस गर्न थाली । साँझ पाहुनाहरू आउन थाले । कुमोदले पनि निक्कै सामान ल्याएको थियो । यो देखेर सावित्री झनै अचम्ममा परी । कुमोदको अफिसबाट दुईजना महिला आएका थिए र एकजना पुरुष । तयारी राम्रै गरेका रहेछन् । कोठाको हालत हेर्दा त्यस्तै देखिन्थ्यो । सबै तयारी साली भिनाजुले नै गरेका थिए । यो देखेर सावित्री झन् चकित परी । यो सम्पूर्ण तयारी मीनाको जन्मदिनको पार्टी रहेको बल्ल उसले बुझी । सबैले पार्टीको खुब प्रशंसा गरे । साँच्चै रमाइलो भयो ।

 मीना फर्किएपछि कुमोदको घरमा बास मात्र हुन्थ्यो । न त सावित्रीसँग कहिल्यै घरायसी कामको सल्लाह गथ्र्याे । न त अफिसको कुरा नै गथ्र्याे । कुमोद कुनै बेला भने साली मीनाका बारेमा बखान गथ्र्याे । ऊ भन्थ्यो, ‘बुझ्यौ सावित्री मीना त खुब रमाइली पो छिन् । गफाडी । उनीसँग घुमफिर गर्दा समय बितेको पत्तै हुँदैन ।’ कुमोदको मुखबाट मीनाको प्रशंसा सुन्दा सावित्री मनमनै चिढिन्थी । कुमोदसँग पनि राम्ररी बोल्न छाडी । ऊ बेलाबेला झर्किने गर्न थाली । कुमोद उसमा आएको परिवर्तनको वास्तै नगरी बाहिरिन्थ्यो । ऊ घर कम अफिस ज्यादा बस्थ्यो ।

 कुमोद अफिसतिरै हराउन थाल्यो । सावित्री अझ भित्रभित्रै चिढिन थाली । उसभित्र शंकाको ढ्याङ्ग्रो बज्न थालेको थियो । चिन्ता र शंकाको विषले ऊ थला पर्दै गई । न त भोक न राम्रो निद्रा । 

 कुमोद घर आएन । सधैझैं उसले धेरैबेर पर्खी । अहँ † ऊ आएन । कतिबेला निदाई । भोलिपल्ट पनि कुमोद घर फर्किएन । अब भने उसको मनको बाँध भत्किसकेको थियो । उसले माइतीमा फोन गरेरै बुझ्ने इच्छा बनाई । यतिबेला मीनासँग खुब रिस उठेको पक्का हो । जुरुक्क उठी । मन भतभती पोलिरहेको थियो । मनभरी आक्रोशको ज्वाला दन्केलाजस्तै भयो ।

टेलिफोन गर्न लाग्दा फोनको घन्टी बज्यो । हतारिँदै फोन उठाई । उसलाई लाग्यो कुमोदले गरेको हुनुपर्छ । उताबाट पुरुष आवाज आयो तर कुमोदको होइन । कुमोदको साथी बोल्दै थियो । सावित्रीले फोन उठाउनासाथ कुमोद घर नआएको कुरा राखी । उसको रुन्चे स्वरमा पीडा र भय दुवै थियो । 

 ‘भाउजू, यस्तो कुरा त भन्न नमिल्ने हो । तर तपाईं अझ चिन्ता गर्नुहुन्छ होला ।’ उताबाट भन्दाभन्दै सावित्रीका हातगोडा लुला भैसकेका थिए । उसलाई अचानक रिंगाउन थाल्यो । उताबाट फेरि भनियो, ‘कुमोदले तपाईंकी छिमेकी अस्मितालाई लिएर हिँडिसक्यो । ऊ अब सायद फर्केर आउँदैन होला ।’

 सावित्रीले यतिमात्र सुन्न सकी ।

त्यसै त अघि नै ढल्ला जस्तै भएको उसको शरीर यो सुनेर चेतनाशून्य भएर आयो । ऊ आकाश र जमिन एक भएझैं फनफनी घुमिरहेझैं भई । एकपटक त क्वाँक्वाँ रुन मन लागेर आयो तर सावित्री भित्र रिसको पारो पनि चढेर आयो । उसले अस्मितालाई सम्झी । पोहोर साल त हो उसको लोग्ने मलेसिया तीन वर्षका लागि गएको । उसले अझ सम्झी ।

 

अस्मितासँगको सामीप्यता र हिमचिम । उनीहरू खुब मिल्न थालेका थिए । अस्मिता यहाँ बेलाबेला आइरहन्थी । सावित्रीलाई सघाउँथी । कहिलेकाहीँ भने सावित्रीले नभ्याएको बेला कुमोदलाई चिया अस्मिता आफैले पुर्‍याउँथी । सावित्रीलाई बितेका ती पलहरूको एकएक गरी सम्झना हुन थाल्यो । यतिबेला आफ्नो खुट्टामा आफैले बन्चरो हानेजस्तो लाग्यो उसलाई । धेरैजसो आफैले अस्मितालाई घर बोलाउँथी र अस्मिता उसलाई सघाउँथी । राम्रो पनि मानेकी थिई । तर यसरी आफ्नै भाग खोस्ली भनेर कहिल्यै सोचेकी थिइन । सावित्रीले उसमाथि कहिल्यै शंका पनि त गरेकी थिइन ।  भारी भएको मनमा ठूलो चोट परेको थियो । ऊ आफूलाई सम्हाल्न नसक्ने अवस्थामा पुगी । आँसुका धारा बगाउँदै भनी, ‘थुक्क, साली । नकचरी †’ अनि घोप्टो परेर क्वाँक्वाँ रुन थाली । 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्