पुरुषको नजरमा महिला

उपासना पाण्डे

मंसिर १, २०७३  

आजभन्दा ६७ वर्षअघि धरानमा स्व. आमा पूर्णमाया तथा बुवा जननी प्रसाद रिजालको कोखबाट मेरो जन्म भएको हो । स्कुले शिक्षामै विवाह भएको मेरो थप पढाई विवाहपश्चात् नै पुरा भयो । रिजाल परिवारमा धेरै सन्तान थिए । संयुक्त परिवार थियो । हजुरबुवाको मन पर्ने नाती भएकाले हजुरबुवाकै आग्रहमा मेरो विवाह सानो उमेरमै भयो । 

सानो बेलादेखि अहिलेसम्म मैले धेरैजसो समय महिलासँगै बिताएको छु । मैले लेख्ने गीत तथा बनाउने चलचित्र पनि महिलाकेन्द्रित हुने गर्छन् । महिला हकहितकै लागि लड्ने भएकाले चार वर्षअघि मैले नारीप्रधान चलचित्र गौथली निर्माण गरेको थिए । महिला सहनशील तथा करुणाकी खानी हुन् । अहिले पनि मेरो दिनचर्या महिलाकै सेवाबाट शुरु भएर त्यसमै अन्त्य हुन्छ ।

मेरी आमा– आमा ब्रह्मरुप हुन् । जसले नौ महिनासम्म कोखमा राखेर ठूलो प्रसव वेदना सहेर सन्तानलाई जन्म दिएकी हुन्छन् । म यो अवस्थामा आइपुग्नुमा मेरो आमाको ठूलो हात छ । आफूले दु:ख सहेर, नखाएर पनि सन्तानका लागि मरिहत्ते गर्ने प्रत्येक आमा आफ्ना सन्तानका लागि महान् हुन्छन् ।   

श्रीमती : मेरो विवाह १५ वर्षकै उमेरमा सरलासँग भयो । विवाहपछि नै मेरो चिकित्सकीय अध्ययन सुरुवात भयो । अहिले म जे छु श्रीमतीकै कारण छु । विवाहपछि कत्ति पनि गुनासो नगरिकन पढाईमा हौसला दिदै विषमपरिस्थितीमा आफू एक्लैले सन्तान हुर्काउने जुन काम सरलाले गरिन त्यो सह्रानीय छ । उनको यो गुणलाई म जीवनभर बिर्सन सक्दिन । सरला मेरो सुख, दु:खमा साथ दिने सहयात्री हुन्। 

दिदी बहिनी– मेरो दुइजना दीदी तथा एक जना बहिनी छन् । मलाई दिदीबहिनी भेट्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । म नियमित रुपमा मेरा दिदीबहिनीलाई भेट्छु । अहिले पनि हामी समय–समयमा दिदीबहिनीलाई बोलाएर रमाइलो गर्छौ । 

भान्जीहरू : भान्जाभान्जीलाई हाम्रो समाजमा देवताको रुपमा मान्ने चलन छ । मेरो भान्जीहरू देख्दा म रमाउँछु । चाडपर्व तथा पारिवारिक जमघटमा उनीहरूसँग भेट्न पाउँदा खुशी लाग्छ । 

भाइ बुहारी – मेरो भाइको केही वर्ष अघि मृत्यु भएको थियो । बुहारीले कठिन परिस्थितीमा समेत कत्ति पनि विचलित नभै छोराछोरीलाई शिक्षा दिइन् । उनी साँच्चै नै सहनशील तथा धैर्यवान् छिन् ।  

भतिजी : मेरो एक जना भतिजी छिन् । उनको प्रगती तथा पढाईमा राम्रो गरेको देख्दा मलाई रमाइलो लाग्छ ।

छोरा बुहारी : मेरा तीनजना बुहारीहरू छोरीसरह छन् । उनीहरू आँखामा राखेपनि नबिझाउने छन् । उनीहरूले हामीलाई गर्ने व्यवहार पनि छोरीको जस्तै छ । म उनीहरूलाई बुहारीकोरुपमा होइन छोरीको रुपमा हेर्छु । उनीहरू विदेश भएपनि स्काइपमा दिनहँु कुराकानी हुन्छ । साथै समय मिलाएर कहिले उनीहरू आउने तथा कहिले हामी जाने गर्छौ । 

नातिनीहरू– मेरा नातिनीहरू मेरो मुटु हुन् । उनीहरू विनाको संसार कल्पना नै गर्न सक्दिन । विदेशमा पनि उनीहरूले शिक्षामा राम्रो गरेको सुन्दा खुशी लाग्छ ।  

महिला सहयात्री – मेरो जीवनको अधिकांश समय महिला सहकर्मीकै साथमा बित्ने गर्छ । शिक्षण अस्पतालदेखि अहिलेसम्मसँगै काम गरेको डा. सुपात्रा कोइराला तथा डा. लुइस राजपुत हो । उहाँहरूसँग काम गर्न सहज छ । यसैगरी मेरो कान्छो छोराको जन्ममा डा. कस्तुरी मल्ल तथा डा. विमला अर्याललले लगाउनुभएको गुन म जीवनभर बिर्सन सक्दिन । 

महिला बिरामी– अहिले बिरामीको चाप बढ्दो छ । सबै जनालाई चाहेर पनि समय दिन सकेको छैन । यसैले छनोट गरेर मात्र बिरामी हेर्न पाए सुनमा सुगन्ध हुने थियो । महिला बिरामीको सेवा गरेर रोग निको पार्दा होस् वा निसन्तान महिलाले सन्तान प्राप्त गर्दा होस् मलाई असाध्यै खुसी लाग्छ ।

सर्वप्रथम लिंग पहिचान गरि भ्रुण हत्या गर्ने परिपाटीको अन्त्य हुुनुपर्छ । छोरीलाई पनि छोरासरह शिक्षा दिनुपर्छ । शिक्षाको विकल्प अर्को छैन । आज छोरी शिक्षित भएमा भोलि उज्यालो आउनेछ । 

(वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. भोला रिजालसंगको कुराकानीमा आधारित लेख)

 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्